Wednesday, 20 January, 2021    |    २०७७ माघ ७ गते , बुधवार

बितेको बर्षले नयाँ बर्षलाई थोपरेको कोरोना–बोझ


२०७७ पौष १८ गते , शनिवार प्रकाशित

—लोकनारायण सुबेदी
    बितेको बर्ष २०२० वास्तवमा भयावहकारी र बिनाशकारी रह्यो ।  आज त्यसले थोपरेको बोझबाट नयाँ बर्ष २०२१ पनि बँचेको छैन । सबैभन्दा पहिलो कुरा त बितेका बर्षको डिसेम्बरदेखि शुरु भएको भष्मासुर भाइरस कोरोना अर्थात कोभिड–१९ ले बिश्वलाई नै आज आक्रान्त पारेको छ । यो आलेख लेख्दासम्म बिश्वमा कोरोना भाइरसले ८ करोड ४३ लाख ५६ हजार ९९९ जना मासिलाई आक्रान्त पारेको थियो भने १८ लाख ३४ हजार ५१९ जना मानिसको इहलिला यसले समाप्त पारेको थियो । आक्रान्तमध्ये ५ करोड ९६ लाख २५ हजार ६४१ जना यसको चपेटाबाट निको भएको र २ करोड २८ लाख ९६ हजार ८३९ जना अझै बिमारी नै रहेको र तीमध्ये पनि १ लाख ०६ हजार ५६१ जना गम्भीर अबस्थाबाट गुज्रिरहेको स्थिति छ ।त्यसैले अहिले पनि बिश्वभरीका मानिसहरु यसको सन्त्रास र पीडाबाट सन्त्रस्त नै छन् । यद्यपि यसका बिरुद्ध एक साथ बिभिन्न देशहरुमा बनेका र बन्दै गरेका खोपहरुको प्रचारले मानिसलाई निकै यसबाट सुरक्षित हुने र जोगिन सकिने आशा पलाएको थियो । तर पुनः कोरोना भाइरहेको अर्को नयाँ किसिमको बद्लिएको जाति(म्यूटेड स्ट्रेन) देखापरेबाट अब हतपती यसबाट मुक्ति पाइएला र यसको पिछा छुट्ला भन्ने कुरामा ठूलै सन्देह पैदा भएको छ ।

बेलायतमा सबैभन्दा पहिला फेला परेको  भाइरसको बिकसित यो अर्को स्ट्रेनले पुनः पूरै बिश्वको मन मस्तिष्कमा अर्को ठूलो चिन्ता र सन्देहको बोझ बोकाइदियो । हुन पनि यसो अकारण भएको  होइन ।‘बियूआई २०२०१२÷०१’ नामी यो कोरोनाको नयाँ स्ट्रेन या भनौ कि नयाँ किसिमको पहिलादेखि रहिरहेको यो कोरोना भाइरसलाई ७० प्रतिशत बढी संक्रामक मानिदैछ । अझ खतरनाक र डरलाग्दो कुरा त के छ भने सार्स–कोभ–२ को बर्तमान भाइरसको तुलनामा यो नयाँ स्ट्रेनको कोरोना भाइरसको संक्रमण ३०—६० बर्ष उमेर समूहका मानिसमा बढी तीब्र गतिमा फैलिने क्षमताको भनिदैछ ।यसै डरलाग्दो स्थितिलाई बुझेर यतिबेला बेलायतसँग बिश्वका कयौं देशहरुले हवाई यातायातको उडान नै बन्द या रद्द गरेका छन् । बृटेनले पनि यस नयाँ स्ट्रेनको कोरानालाई नियन्त्रणमा राख्न देशका धेरैजसो भागमा कडा लकडाउन लगाएको छ । अहिलेसम्म यही लकडाउनलाई नै एकबाट अर्कोमा यो भाइरस सर्नबाट रोक्ने प्रभाबकारी उपाय मानिएको छ । यसबाट संक्रमित मानिसहरुले अरु मानिसहरुलाई भेट्न नदिइदा यो फैलिने चक्रलाई तोडिने हुनछ र नियन्त्रणमा ठूलो सहयोग पुग्दछ ।

     अर्काेतिर प्रकृतिले चिकित्स बिज्ञानको प्रगतिको पनि ठूलै परीक्षा लिने सुर कसे जस्तो देखिन्छ । अहिलेसम्मको स्थिति हेर्दा कोरोना भाइरसको खोपको बारेमा चिकित्सा बैज्ञानिकहरुले जे जति सोचिरेका छन् कोरोना भाइरस त्यसभन्दा अझ अगाडि रहेको प्रतीत भइरहेको छ । कोरोनाको नयाँ स्ट्रेनलाई पहिचान गर्न र सार्बजनिक गर्न ढिला भएको कारण पनि शायद यही नै होला । गएको सेप्टेम्बर महिनामा बृटेनको केण्ट काउण्टीमा देखा परेको नयाँ स्ट्रेनको पहिलो यो भाइरस फेला परेको भए पनि त्यसलाई फैलिनबाट रोक्न असफल रहेको देखिएको हो ।

 
यहाँ प्रसंगबश के कुरा पनि उल्लेखनीय छ भने बिश्वमा कोरोना खोपको स्वीकृति दिने सबैभन्दा पहिलो देश बेलायतमै कोरोना भाइरसको यो नयाँ जाति(स्ट्रेन) पनि देखिन आयो । यो नयाँ स्ट्रेनको कोरोना यतिबेला फ्रान्स, डेनमार्क, नीदरल्याण्ड, जर्मनी, इटली, स्वीडेन, क्यानाडा, स्पेन, बेल्जियम तथा अस्ट्रेलिया जस्ता देशहरुमा पनि फैलिन पुगिसकेको छ । शुरु शुरुमा यो नयाँ किसिमको म्यूटोड भाइरहसको कुनै सरुवा रोग फेला नपरेका कतिपय देशहरुले आफुलाई सौभाग्यशाली पनि मानेका थिए । तर पछि जे खतरा सोचेको थियो त्यही भयो । नयाँ स्ट्रेन कोरोना पनि अरु देशहरुमा पनि देखिन थाल्यो । यति हो कि अब अरु देशहरु पनि पहिलेभन्दा अलिक सतर्क र चनाखो हुन थालेका छन् । त्यसले गर्दा बेलायतबाट आउने मानिसहरुसँग सतर्कता अपनाउन थाले । हवाई उडनाहरुको आवत जावत पनि बन्द गरिएका छन् । यो बद्लिएको कोरोनाले यसरी थप चिन्ता थपिदिएकोले यसबाट जोगिने याबत युपाय गरिएन भने दोश्रो किसिमको यो कोरोनाले सताउने कुरा निश्चित छ । 

      बितेको बर्षको दोश्रो कुरा पनि मूलतः कोरोना सिर्जित ठप्प भएको अर्थतन्त्र र ब्यापक मन्दी हो । लकडाउन गर्नुपर्दा बन्द भएका कलकाराखाका कारणले करोडौ करोड मानिस कामबिहीन भएकै छन् । उत्पादन गर्ने कलकारखाना क्रियाशील हुन नपाए पछि यो समस्या चर्केको मात्रै छैन, त्यसबाट आगामी दिनमा आर्थिकरुपले देशहरु झन झन कठिन स्थिति कसरी  सम्हालिने हो त्यो चिन्ताको बिषय हो । किनकि थप लकडाउनले थप आर्थिक मन्दी बढाउने कुरा नै भयो ।

हुन त एकथरी चिकित्सा बैज्ञानिकहरु कोरोनाको यो बद्लिएको दोश्रो चक्रको अझ कडा भाइरस कुनै जेनेटिक म्यूटेशन(आनुबांशिक परिबर्तन)लाई इन्कार गरिरहेका छन् ।उनीहरु के भनिरहेका छन् भने सधैजसो हुने गरेको मौसमी रुघाखोकीका भाइरसमा पनि बेला बेलमा एक दुइ बर्षमा केही न केही परिबर्तन हुने गर्छ । अझ कतिपयले त जैबिक बिशेषताहरुमा आउने परिबर्तन भएका कारण नयाँ स्ट्रेन भन्ने शब्दको प्रयोग गर्नु  उचित होइन पनि भनेका छन् ।यद्यपि यस के कुरामा सबै चिकित्सा बैज्ञानिकहरु सहमत छन् भने कोरोना भाइरसका १७ म्यूटेड – परिबर्तित स्ट्रेनहरु देखापरेका छन् । तीमध्ये सबैभन्दा ठूलो परिबर्तन स्पाइक प्रोटिनमा भएको भनिएको छ ।

यस प्रकार बिज्ञ बैज्ञानिकहरु के स्पष्ट पारिरहेका छन् भने यो बद्लिएको भाइरस स्पाइक प्रोटिन नै एक किसिमले मानिसको शरीरमा पस्न प्रबेशद्वार हो । त्यसमा पनि यो सबैभन्दा चाँडो फैलिने भाइरसकै एउटा प्रकार हो । त्यस कारण अहिले पनि मास्क लगाउने, सेनिटाइजरको उपयोग गर्ने , साबुनले हात धुने  र भौतिक सामाजिक दूरी कायम राख्ने ‘स्वास्थ्य प्रोटोकल’को अनुसरण गर्नु पर्ने कुराको परिपालना अत्याबश्यक छ । यही नै कोरोनाका पुराना र नयाँ दुबै स्ट्रेनबाट बच्ने उपाय हो भनेर बिज्ञहरु औंल्याइरहेका छन् । त्यसैले यस सम्वन्धमा लापरबाही गर्नु नहुने स्थिति सर्बत्र रहेकैछ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif