Friday, 05 March, 2021    |    २०७७ फाल्गुन २१ गते , शुक्रवार

एकिकरण र प्रविधिलाई आत्मसात गर्दै अघि बढ्यो बंगालमुखी साकोस


२०७७ पौष १२ गते , आईतवार प्रकाशित

uploads/media/

सहकारी ऐन २०७४ ले सहकारी क्षेत्रमा पनि एकिकरणलाई उच्च प्राथमिकता दिएसँगै सहकारी संस्थाहरु पनि एक अर्कामा गाभिन थालेका छन् । मुलुकमा सहकारीको संख्या अत्याधिक हुँदा सदस्यहरुले गुणस्तरीय र प्रभावकारी सेवा पाउन नसकेको गुनासो उठिरहेका बेला संस्थाहरु एकिकरणभई सदस्यहरुलाई आधुनिक र गुणस्तरीय सेवा दिन लागिपरेका छन् । 

ऐनमा व्यवस्था भएको एकिकरणलाई सघाउन पु¥याउन भक्तपुरको बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले गत आ.व.मा २ वटा संस्थासँग एकिकरण गरेको छ । संस्थाले भक्तपुरमा नै रहेका सुलभ महिला साकोस र ललितपुरमा रहेको हार्दिक प्रतिक बहुउद्देश्यीय सहकारी संस्थासँग एकिकरण गरेको छ । ऐनमा भएको व्यवस्थालाई सघाउ पु¥याउन र एकिकरणमार्फत संस्था ठूलो बनाई कार्यक्षेत्र समेत विस्तार गरी धेरै सदस्यलाई सेवा दिने उद्देश्यले संस्था एकिकरण गरिएको प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठले बताए । एकिकरण अघि संस्थाको कार्यक्षेत्र सूर्यविनायक नगरपालिकामा मात्र सीमित रहेकोमा एकिकरणपछि बढेर भक्तपुर र ललितपुर जिल्लाभर पुगेको उनले बताए । संस्थाले एकिकरण प्रक्रिया पूरा गरेसँगै शंखधर चोक र ग्वार्कोको बीएण्ड अस्पताल अगाडि सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा दिन थालेको छ । 

मध्यपुर थिमी र काठमाण्डौका दुई संस्थाबीच एकिकरणका लागि छलफल चलिराखेको र ती संस्था पनि एकिकरण गरी बृहत संस्थाको रुपमा बंगलामुखीलाई विकास गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । राज्य र विभागको नीति अनुसार आफूहरु एकिकरणमा गएको भन्दै उनले थपे “एकिकरणसँगै सदस्य सेवा केन्द्र विस्तार भएकाले सदस्यहरुले घर छेउबाटै सेवा लिन पाएका छन् ।” 

“सदस्य सेवा केन्द्र नहुँदा थिमीका सदस्य पनि वित्तीय कारोबारका लागि संस्थाको मुख्य कार्यालयमा नै आउनुपथ्र्यो । यसले सदस्यको समय खपत भइरहेको थियो । सेवा केन्द्र विस्तारले सदस्यलाई सहज सेवा प्राप्त गर्न सुविधा मिलेको छ,” उनले थपे ।  

संस्थाले समयसापेक्ष सूचनाप्रविधिको प्रयोगलाई पनि बढाउँदै लगेको छ । कोरोना महामारीले गर्दा यसको महत्वलाई झन् बढाएको उनको भनाई छ । संस्थाले सदस्यहरुलाई प्रविधिका विभिन्न माध्यम प्रयोग गरी सुविधाजनकरुपमा सेवा लिन सक्ने व्यवस्था मिलाएको छ । 



संस्थाले बंगालमुखी मोबाइल एपको प्रयोग सदस्यहरुले घरमा नै बसेर बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय शुल्क लगायतका बील भुक्तानीको सुविधा मिलाएको छ भने त्यसबाहेक कनेक्ट आइपीएस सिस्टममा आवद्ध भई संस्थामा रहेको खाताबाट सदस्यले जुनकुनै बैंकमा रकम ट्रान्स्फर गर्न सक्ने सुविधा दिएको छ । त्यसैगरी मोबाइल रिचार्जको आवश्यकता परेमा एक मिस्कलमा १०० र दुई मिस्कलमा २०० रुपैया ट्रान्स्फरको व्यवस्था समेत मिलाउनुका साथै ब्यालेन्स इन्क्वायरी गर्न सकिने सुविधा दिएको छ । 

संस्थाले क्यू आर कोड समेत प्रयोगमा ल्याएको र सदस्यहरुले डिपार्टमेन्टल स्टोरमा सामान खरिद गर्दा र रेष्टुरेन्टहरुमा बील तिर्दा उक्त कोडमार्फत गर्न सकिने प्रबन्ध सञ्चालक श्रेष्ठले बताए । संस्थाले इसेवासँग सहकार्य गरिसकेको र भिषा कार्ड प्रयोगमा आएपछि एटिएम सेवा समेत थालनी गर्ने तयारी गरेको छ ।

महिला सदस्यहरुमा उद्यमशीता विकास गर्ने उद्देश्यले लघुवित्तको थालनी गरिएको र कृषि, घरेलु उद्योग र व्यापार व्यवसायको क्षेत्रमा लगानी गरी उनीहरुको आयस्तरमा वृद्धि गर्ने संस्थाको लक्ष्य छ । तरलता र ऋणको माग बराबरी भएकाले तरलता व्यवस्थापनमा संस्थालाई खासै असर नपरेको उनले बताए । संस्थाले यस आ.व.को मंसीर सम्ममा ३३०० शेयरसदस्य, ९४ करोड ३३ लाखको कुल वासलात, ७५ करोड बचत संकलन र ७२ करोड ४३ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा तथा ऋन्य कोषहरुमा १ करोड २० लाख रुपैया पुगेको छ । ५ वर्ष भित्रमा ५ करोडमाथि कोषहरु पु¥याउने लक्ष्य संस्थाको छ । 

संस्था नेफ्स्कुनले सञ्चालन गरहेको प्रोबेशन ब्राण्डमा सहभागि भएको र ४ वर्ष भित्रमा ब्राण्ड प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको छ । 

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैत्र महिनादेखि असारसम्म गरेको लकडाउनका कारण सदस्यहरुले त्यस अवधिमा ऋणको साँवाब्याज भुक्तानीमा समस्या परेको उनले बताए । दशैंपछि सदस्यहरुले ऋणको साँवाब्याज भुक्तानी राम्रै गर्न थालेको र पुष मसान्तसम्म संस्थाको कारोबार सन्तुलित हुने उनले बताए । अशोज देखि मंसीरसम्म संस्थामा ९ करोडको हाराहारीमा बचत थपिएको समेत उनले बताए । 

दुई संस्थासँग एकिकरणपछि साधारणसभासमेत सम्पन्न गरेको र तीनवटै संस्थाबाट सञ्चालक समितिमा सहभागिता रहेको उनले जानकारी दिए । 

सहकारी ऐननियमको परिधिमा रहेर संस्थाले बचत संकलन र ऋण लगानी गर्दै आएको छ । एकिकरण र प्रविधिलाई आत्मसात गरी एक नमूना संस्था बनाउने संस्थाको लक्ष्य छ । सञ्चालकहरुलाई सहकारी सम्बन्धी तालिम तथा गोष्ठीमा सहभागि गराउने, सदस्यहरुलाई सहकारी शिक्षामार्फत सहकारीको महत्वको बारेमा बुझाउने र कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थाको दैनिक कारोबारलाई छिटोछरितो र प्रभावकारी बनाई सदस्यमैत्री बनाउनेतर्फ आफूहरु लागिपर्ने उनले सुनाए । 

संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका अतिरिक्त अन्य सुविधा समेत दिँदै आएको छ । शेयर सदस्यको मृत्यु भएमा किरिया खर्च उपलब्ध गराउँदै आएको छ भने विभिन्न निकायहरुसँग सरसफाई, बातावरणमैत्री, बालमैत्री, खेलकूद, हनुमन्ते सफाई जस्ता अभियानमा सहकारी संलग्न हुँदै आएको छ ।  संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी सदस्यहरुलाई विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ ।

लोकप्रिय

uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

uploads/media/9f5e7db1d677b1906a34b1e17e0be317.gif