कलाकारी तिम्रो अमर छ सधैँ हे अरनिको
अझै गर्छौँ पूजा सुललित कलाको प्रगतिको
कलाले नेपाली परिचय दियो चीन भरमा
छिमेकीको श्रद्धा मुलुकसँग गाँस्यौ रहरमा।१।
लगी शैली हाम्रो जतनसित बिस्तार गरियो
कला नेपालीको विकसित बनी चीन भरियो
थियो तिम्रो चोखो श्रम र पसिना उन्नत अति
त्यसैले डोर्यायो अनि लिन गयौ सार्थक गति।२।
थियो तिम्रो बानी अविचल र निर्धक्क रहने
बुझेका सम्झेका विषय मनका प्रष्ट कहने
कसैको सामुन्ने शिरनत हुँदै दास नहुने
स्वयं हर्ताकर्ता सरह मनमा त्रास नहुने।३।
अनेकौँ शैलीका भवन अथवा मन्दिरहरू
बनायौ निष्ठाले यश पनि बढायौ अझ अरू
दियौ नेपालीको परिचय बढ्यो गौरव पनि
तिमी चम्केका छौ भुवनभर तेजोमय बनी।४