Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

महिलाको साख बढेको हो त सम्पन्न अमेरिकी निर्बाचनमा ?


२०७७ मंसीर ७ गते , आईतवार प्रकाशित


—लोकनारायण सुबेदी 
  अहिले के चर्चा गरिदैछ भने अमेरिकी चुनावमा जनतन्त्र र महिला नेतृत्वको साख बढेको छ । यसको प्रमाणका लागि सधै किनारामा धकेलिएका  अमेरिकी आधा जनसंख्याको हिस्सेदारकोरुपमा रहेका महिलाहरुले अमेरिकी इतिहासमा पहिलो पटक उपराष्ट्रपति पाएको कुरालाई औंल्याइदैछ । यसभन्दा अघिल्लो अमेरिकी राष्ट्रपतीय निर्बाचनमा रोधाम हिलारी क्लिण्टन राष्ट्रपति बन्ने अपेक्षा गरिएको थियो र त्यसबेला पहिलो महिला राष्ट्रपति उनको हात पर्ने अपेक्षा पनि राजनीतिक बिश्लेषकहरुले गरेका थिए । तर अमेरिकी जनताले उनको सामथ्र्य र नियतमा पूर्ण भरोसा गर्न सकेको दखिएन ।  अहिले कमला ह्यारिसको दाबी पनि राष्ट्रपतिकै लागि थियो । त्यो प्राथमिक मतदातालाई मान्य भएन । उनलाई अमेरिकाको दोश्रो महत्वपूर्ण राजनीतिक पद उपराष्ट्रपतिका लागि निर्बाचित गरियो भन्ने आधारमा यो साख र हैसियतको कुरा गरिदैछ ।
  कमलाको यो बिजयलाई उनले इतिहासको सबैभन्दा ठूलो ब्यबधान दूर भएको भन्ने किसिमले प्रस्तुत गरेकी छन् । उनले भनेकी छन् कि  उनी आफ्नो देशका हरेक स–साना बच्चीहरुलाई भरोसा दिलाउँदछिन् कि यो अवसर जुन मिलेको छ अब यो अन्तिम अबसर हुने छैन र अब सबै बच्चीहरुका लागि यसले भावी आशाको ढोका खोलेको छ । शायद उनको यो कुराले आधुनिक समाजको आँखामा चमक पैदा पनि गर्दो होला । यसकारणले कि जुन खुट्टा र सोच स्वयंलाई कमजोर मानिरहने बन्देजमा रहने गरेको थियो अब त्यो दोब्बर हौसालले अगाडि बढ्ने बिश्लेषण गर्न थालिएको छ । 
  अमेरिकामा आजभन्दा एक सय बर्ष पहिला भएको १९औं संबिधान संशोधन र पचपन्न बर्ष पहिला मात्र हासिल गरिएको महिलाको भोट दिने अधिकारको सम्झना गराउदै महिलाहरुको आफ्नो हक र सुनवाईको पर्बाह गरिने उल्लेख गरिएबाट स्पष्ट छ कि उनले उपराष्ट्रपतिको पद पाउनुले अमेरिकालाई बिश्वको हरेक मञ्चमा कतिपय मामिालाहरुमा मुखर हुने अबसर दिने पनि औंल्याइएको छ । उनले के पनि उल्लेख गर्न छोडेकी छैनन् भने अश्वेत, एशियाई, श्वेत, ल्याटिन र आदिबासी महिलाहरुको संघर्षको साझेदारीले उनलाई यस पदमा पुग्न सफल तुल्याएको छ । तथापि यतिबेला दुइटा कुरामा ध्यान दिन आवश्यक छ । महिलाहरुको राजनीतिक नेतृत्वको महत्व र महिला मत बैंक स्वयमलाई किनाराबाट तानेर केन्द्रमा लिएर आउने अदम्य मेहनत र साहस । हुन पनि महिला मतदाताको बढ्दो हस्तक्षेपको सिलसिला अमेरिकामा १९८० तिर पनि देखा परेको थियो र त्यतिबेला महिलाहरुले पुरुषकोभन्दा बढी मतदान गरेका थिए । बितेको चार दशकमा अमेरिकी महिलाहरुले आफु खुशी नै मत निर्णय गरेको देखिएको हो । यसले स्पष्ट गर्दछ कि आफ्ना चाहनाहरुसँग कुनै सम्झौता नगरिकन अब राजनीतकि निर्णयहरुमा महिला स्वयं आफ्नो जीवनको अनुभव र असरहरु बुझ्न थालेका छन् । यस पटक पूर्ब अमेरिकी राष्ट्रपति ओबामाले बाइडेनका लागि महिलाहरुसँग दोहोराएर फोनमा मत मागे र के दर्शाए भने यो आधा जनसंख्यालाई उपेक्षा र अनदेखा गर्नु राजनीतिक समझदारीको कुरा पनि होइन र इमानदारीको कुरा पनि होइन ।
  चुनाबी भिडन्तका बेला पनि डेमोक्रेटिक र रिपब्लिकन  दुबै दलका दाबेदारले महिलाहरुलाई आ–आफ्नो किमिसले लोभ्याउने कुरामा कुनै कसर बाँकी राखेका थिएनन् । चार बर्ष अघि २०१६ को राष्ट्रपति निर्बाचमा श्वेत महिलाहरुको भोट बैंकले ट्रम्पको तुलनामा हिलारी क्लिण्टलाई बढी मत दिएको देखिन्थ्यो ।
      जे भए पनि  ती दुबै अमेरिकी चुनावको परिणाममा महिलाहरुको मत प्रतिशतले पुरुष मत प्रतिशतलाई लगातार पछाडि पार्दै आएको देखिएको छ । यसमा करीब चार प्रतिशत अगाडि रहेर महिला मतदाताहरुले आफ्नो राजनीतिक कद उच्च पारेको बिश्लेषण पनि गरिदैछ । बितेको तीन दशकयता त्यहाँका अफ्रिकी पुरुष मतदातारुको तुलनामा अफ्रिकी महिला मतदाताहरुले सधैं नै बढी मत खसालेका छन् । महिलाहरु राजनीतिक जिम्मेवारी राम्रोसँग बहन गर्न र समस्या समाधान गर्न पछि छैनन् भन्ने कुराको आधार अमेरिकामा एउटा यसलाई  पनि मानिदै आएको देखिएको छ ।
  अमेरिकी महिलाहरुले के पनि भ्रमलाई पनि तोड्न चाहेको देखिदैछ भने उनीहरुका समस्यालाई बाँकी संसारका समस्यासँग अलग गरेर हेर्ने तरीमा मुनासिब छैन । उनीहरुको चिन्ताको बिषय देश तथा समाजको आर्थिक, सामाजिक स्वास्थ्यबाट मात्रै जेलिएका छैनन् अझ अगाडि बढेर नयाँ भाबी पिढीलाई सुम्पिने चेतनासँग पनि उनीहरुको गहिरो सम्वन्ध रहेको औंल्याइदै छ ।
      कुनै एउटा महिला नेतृको हार जीतले आधा जनसंख्या र देशको भाग्य बदल्ने कुरा निश्चय नै निर्धारण हुने कुरा नहोला तर राजनीतिक मैदामा तिनको उपस्थितिले मात्र पनि के आशा जगाउँदछ भने महिलाहरुले पनि आफ्नो सम्बाद–सम्बेदनाको शक्तिलाई खेर जान दिने छैनन् । त्योभन्दा ठूलो परिबर्तनका लागि हरेकले प्रभाबकारी भूमिका खेल्नै पर्दछ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडर्नले चुनाव जितेर पहिलै पटक जब ‘वेल बिङ्ग’ अर्थात् समाज कल्याणकारी बजेट प्रस्तुत गरिन् त्यसले सबैलाई निकै आश्चर्य चकित तुल्याएको उदाहरण पनि छँदैछ । उनका प्रभावकारी नीतिहरुले गर्दा नै उनलाई दोश्रो पटक पनि त्यहाँका जनताले आफ्नो शीरमा राखिराखेका छन् ।
  यद्यपि असल कुरा अघि सार्दैमा कसैले सफलता प्राप्त गरिहाल्छ भन्ने कुरा पनि होइन । त्यो भन्दा महत्वपूर्ण कुरा हो समयको सही किसिमले नाडी छाम्न सक्ने, चलन चल्तीका धारको बिपरीत सही धारमा अघि बढ्ने हौसला राख्ने र काम गरेर इज्जत हासिल गर्ने कुरा यथार्थमा ठूलो बिजय र सफलताको द्योतक कुरा हो । राजनीतिलाई रातारात मालामाल बन्ने ब्यबसाय नबनाउनेहरुले सोच्ने कुरा पनि यही नै हो ।
  अहिलेको अमेरिकी राजनीतिक ढाँचा भित्रको राजनीतिले कमला ह्यारिसको बिजयको ठूलो चर्चा हुनु असमान्य कुरा होइन तर आउदा दिनमा उनी कसरी प्रस्तुत हुन्छिन् आफ्नो पद र हैसियतबाट अनि लिङ्ग भेद मेट्न र लोकन्त्रको दीयो जलाई राख्न के कस्तो भूमिका निर्बाह गर्न सक्छिन् त्यसले नै अमेरिकी समाज र बिश्वका महिलामा समेत निकै सार्थक या समान्य के कस्तो  प्रभाव पार्ने हो निर्धारित हुनेछ । अनि मात्र साँच्चै नै पहिलो पटक अमेरिकी महिला अमेरिकाको दोश्रो बरीयताको पद उपराष्ट्रपतिमा निर्बाचित हुँदा महिलाहरुको साख बढेको हो कि होइन निक्र्यौल पनि हुनेछ । यो कुरा भावी दिनहरुले प्रष्ट पार्दै जानेछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif