Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

बाल–श्रमको सबैभन्दा प्रमुख कारण नै गरीबी


२०७७ मंसीर ६ गते , शनिवार प्रकाशित

 सन्दर्भ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस  

लोकनारायण सुबेदी

 हरेक बर्ष २० नोभेम्बरका दिन बाल दिवस मनाइने गरिन्छ । प्रत्येक बर्ष यो दिन बाल अधिकारको चर्चा गर्ने गरिन्छ । तर बिभिन्न जोखिमपूर्ण काममा लागेका, पढ्न लेख्न नपाएका र बिभिन्न किसिमले अपहेलित बन्न बाध्य पारिएका तथा शोषण उत्पीडनमा परेका बाल बालिकाका निम्ति हामीले के ग¥यौ प्रश्न जीवन्त छ  । यतिबेला अरु कुरालाई छाडेर बाल श्रमको कुरा गर्ने हा भने बाल मजदुरीको इतिहास शायद त्यत्तिकै पुरानो हुनसक्दछ जत्तिको पुरानो स्वयम मानब समाजको इतिहास रहेको छ । समाजमा के देखिदै आएको पनि छ भने प्रायजसो आमा बाबुले नै आफ्ना बाल बच्चाहरुलाई आर्थिक उपयोगको लायक बस्तु सम्झिने र बुझने गर्दछन् । अनि त्यही आधारमा उनीहरुवाट काम लिने पनि गर्दछन्  । हाम्रो जस्तो कृषि आधारित अर्थब्यबस्थाहरुमा पशुहरु चराउने, घास दाउरा ल्याउने, या मल, बिऊ बोक्ने, छर्ने पिउने पानी ओसार्ने आदि जस्ता कामका लागि बाल–बच्चाहरुको उपयोग सामान्यरुपमा हुने गर्दछ । यसका साथै गरीब देशहरुमा आज बिद्यालय जाने उमेरका लाखौलाख बालकहरु या त होटेलमा भाडा माज्दै गरेको देख्न पाइन्छ या सडक किनारामा ढुङ्गा कुट्रदै गरेको या शहरका पेटीहरुमा खातेको संज्ञा पाएका सडक बालकाको रुपमा अलपत्र परिरहेको । औद्योगिक कल कारखानाहरुमा पनि गरीब देशहरुमा  बाल श्रमिकहरुबाट धेरै काम लिने गरिन्छ । अब त धनी देशहरुमा पनि यस्ता बाल बच्चाहरुको आर्थिक उपयोग गरिनु पर्ने माग निकै नै बढ्न थालेको छ र यस सम्बन्धी आवाज समेत उठ्न थालेको देखिदै आएको छ ।     बिकसित पहिलो बिश्वका कतिपय प्रबुद्ध नागरिकहरुको मान्यता के रहेको पाइन्छ भने ‘भूमण्डलीकरणका केही प्रमुख पापहरुमध्येमा एउटा ठूलो पाप वास्तवमा  बाल मजदुरी नै हो । तिनीहरुको बिचार के छ भने जुन बाल हातले उनीहरुका लागि सस्तो कपडा, खेलौना र ह्याण्ड ब्याग आदि बनाउदछन् तिनले त बिद्यालयहरुमा र खेलकूदका मैदानहरुमा आफ्नो क्षमता र सीप देखाउन पाउनु  पर्ने हो तर त्यसबाट उनीहरु बिमुख र बञ्चित छन् । केही भूमण्डलीकरण बिरोधी अमेरिकी नागरिकहरुको के भनाइ पनि रहेको पाइन्छ भने बाल मजदुरीका कारणले अमेरिकाले अब गरीब देशहरुसँग स्वतन्त्र ब्यापारको नीतिमा पुनर्बिचार गर्नु पर्ने भएको छ । उनीहरु के मान्दछन् भने तेश्रो बिश्वका देशहरुमा अन्यायपूर्ण तलब भत्ताहरुभन्दा पनि बढ्ता ध्यान बाल मजदुरीको समस्यामा दिइनु पर्ने आबश्यकता अझ बढेको छ । यसलाई उपेक्षा गरिनु वा वेवास्ता गरिनु हुदैन भन्ने कुरा उनीहरुले उठाउने गर्दै आएका छन् ।


    हुन पनि आज बिश्वस्तरमा बाल मजदुरीको बिरुद्ध सबैभन्दा बढी आवाज घन्काउने शक्तिशाली संस्था संयुक्त राष्ट्र संघको अन्तर्रा्ष्ट्रिय श्रम संगठन नै देखापरेको छ । यो संगठनले अहिलेसम्म नैतिकताको आधारमा बाल श्रमको बिरोध गर्दै आएको देखिन्छ । तर अब संगठनको के तर्क छ भने बाल श्रमिकहरुबाट मजदुरी गराउनु आर्थिकरुपले पनि ठूलो घाटाको सौदा हुन्छ । संगठनको त्यस अबधारणाका अनुसार पाँचदेखि सत्र बर्ष उमेरका बिश्वका प्रत्येक छैटौ बालक आज बिश्वमा बाल मजदुरकोे रुपमा रहेको तथ्य छ । अफ्रिका तथा एशियाका गरीब देशहरुमा यो अनुपात अझ धेरै दयनीय छ । धनी देशहरुमा लगभग एक शताब्दी पहिला नै बाल मजदुरीलाई कानुनीरुपले प्रतिबन्धित गरिदिएको थियो । अब के ती देशहरुले पनि गरीब देशमा हुने बाल श्रम प्रतिबन्ध लगाउन आबाज उठाउनु पर्ने होइन — एकथरिको तर्क छ पर्दैन । कुनै पनि आमा बाबुले बच्चालाई तब मात्र मजदुरी गर्नका लागि लगाउने गर्दछन् जब उनीहरुसँग अरु कुनै उपाय हुदैन । बाल श्रमको जनक र संसारको सबैभन्दा डरलाग्दो बिमारी गरीबी नै हो । आजका धनी राष्ट्रहरुको अनुभवले पनि यही बताउदछ । १९औ शताब्दीमा जब आजका धनी देशहरुको आर्थिक अबस्था राम्रो थिएन त्यतिबेला भने बाल श्रम मजाले फलि फुलिरहेको थियो । हुन त मूख्य धाराका सबैजसो अर्थशास्त्रीहरु आज बाल श्रमको बिकल्पलाई गलत बिकल्पहरुमध्ये सबैभन्दा उपयुक्त पनि मान्ने गर्दछन् । तर अब केही अर्थशास्त्रीहरुले यस तर्कलाई नकार्न थालेका छन् । उनीहरुको के मान्यता छ भने गरीबी बाल मजदुरीको कारण होइन त्यसको परिणाम हो । यसलाई अनेक किसिमले हेर्न सकिन्छ । पहिलो, यदि एउटा बच्चालाई काममा लगाइयो भने ऊ पढाईसँगै कुनै काम बिशेषमा योग्यता हासिल गर्नबाट बञ्चित हुन्छ जुन योग्यताले उसलाई भबिष्यमा राम्रो नोकरी वा रोजगारी पाउने सम्भावना हुनसक्दथ्यो । दोश्रो, कामदारहरुसँग बिशेष योग्यता नहुनुका कारणले लगानीकर्ताहरुले त्यो देश बिशेष वा क्षेत्र बिशेषमा आफ्नो लगानी लगाउन चाहदैनन् । यसका अतिरिक्त, बच्चाहरुबाट काम लिन सकिने स्थितिमा बयस्कको बेतन वा पारिश्रमिक पनि घटाइने गरिन्छ ।

   केही बर्ष पहिलाको संयुक्त राष्ट्र संघको एउटा प्रतिबेदनमा के भनिएको थियो भने बाल श्रमलाई समाप्त पार्ने हो भने अर्थात त्यसको मूल्य चुकाउने किसिमले नयाँ बिद्यालयहरुको स्थापना गर्नु पर्ने छ तथा बाल श्रमिकहरुका परिबारहरुको आम्दानीमा हुने घाटाको परिपूर्ति गरिनु पर्ने हुन्छ । त्यति बेला आउने बीस बर्षमा  यस कार्यक्रमको लागि कुल बजेट मात्र १२ सय करोड डलर हुने अनुमान पनि गरिएको थियो । जुन अमेरिकाको सकल घरेलु उत्पादनको केबल सात प्रतिशत मात्र हो । अन्तर्रा्ष्ट्रिय श्रम संगठनको के मान्यता रहेको छ भने बाल श्रम समाप्त हुनाले हुने आर्थिक लाभ यसभन्दा सात गुणा बढी हुने छ । यदि यस प्रकृयालाई समाप्त पारियो या पार्न सकियो भने राम्रो स्वास्थ्यको कारण तथा दुर्घटना आदिमा कम ज्यान जाने हुनाले मानब पूँजी बढ्ने छ । संगठनको के भनाई पनि रहेको छ भने बाल बच्चाहरुको पढाई लेखाईबाट हरेकको आम्दानी बढ्ने छ । यस नयाँ तर्ककासाथ बाल श्रम–समस्याको बिरोध गर्नाले शायद राम्रो परिणाम प्रकट हुन सक्ला । जे भए पनि यस सन्दर्भमा गरीवी निवारण र सामाजिक सुरक्षाको सुनिश्चिततालाई प्राथमिकता दिन सक्ता मात्र बाल श्रम उन्मूलन गर्न सकिने ठोस आधार तयार हुने कुरालाई भने सम्वन्धित सबैले आत्मसात गर्नु आजको पहिलो अपरिहार्य आवश्यकता हो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा यति कुरालाई मात्र बुझ्ने बुझाउने र तदनुपको आचरण गर्ने हो भने पनि तुलनात्मकरुपमा बाल बालिकाको हितमा निक्कै अघि बढ्न सकिने छ । वास्तवमा ध्यान यसैमा केन्द्रित हुनुपर्ने आजको समयको ज्वलन्त माग हो । तर न राज्य, न नीजी क्षेत्र कोही पनि जिम्मेवारीपूर्वक यस दिशामा अग्रसर हुने र बाल बालिकाको भाग्य र भबिष्यलाई खतरामा पार्ने कुराका बिरुद्ध दृढतापूर्वक उभ्भिने इच्छा शक्ति देखाउन सकिरहेको पाइदैन । यो भने बिडम्बनापूर्ण कुरा छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif