Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

गुणस्तर र सुदृढिकरणका साथै साकोसहरुलाई उत्पादनशील क्षेत्रमा अघि बढाउन नेफ्स्कुनको भूमिका अहम्


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को २९ औं वार्षिक साधारण सभासभामा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कँडेलले नेपालको सहकारी अभियानले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको जनाएका छन् । तथापि सहकारी क्षेत्रमा धेरै कमी कमजोरी रहेको उनको स्वीकारोक्ति थियो । सहकारीका सदस्य, अभियन्ता र प्रवर्द्धनकारी निकायले आआफ्नो तर्फबाट भूमिका निभाएर सिंगो अभियानलाई सफल पार्न सकिने उनले विश्वास व्यक्त गरे । सहकारी अभियानका लागि असहज रहेका ऐनका बुँदा तथा सहकारी ऐनसँग बाझिएका संघीय र प्रादेशिक ऐननियमहरुमा संशोधनको लागि महासंघले प्रयास अघि बढाएको उनले जनाए । वित्तीय सेवा प्रदान गर्न सहकारी संस्थाहरु सक्षम भएपनि उत्पादनमूलक क्षेत्रमा जान नसकिरहेको उनले उल्लेख गरे । प्रारम्भिक संस्थाहले पूँजीगत कोषको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तयार हुनुपर्ने उनको भनाई थियो । 



सभाका सभापति नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलल आगामी दिनमा नेफ्स्कुनले दिने सेवाहरुलाई समयानूकुल प्रविधि मैत्री बनाउँदै लैजाने सकिने बताए । साकोसहरुलाई नीति, विधि र प्रविधिको प्रयागका आधारमा सुदृढ र गुणस्तरीय बनाउनु नै संघको उदेश्य भएको उनको भनाई थियो ।  वर्तमान परिस्थितिमा उत्पन्न असहजतालाई अनुकूलतामा पनि सबै सदस्यहरुसँगको सहकार्य र समन्वयलाई नेफ्स्कूनले अझ प्रधानता दिएको उनको भनाई थियो  । 

सहकारी बैंक लिका पूर्व अध्यक्ष राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश कुमार पोखरेलले सामुहिक छलफल र निर्णयबाट अघि बढ्ने परिपाटी नै समाजवादोन्मुख हुने एकल निर्णय र कार्यविधि पूँजीवादी प्रवृत्ति भएको उल्लेख गरे । 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं नेफ्स्कुनले अगाडि सारेका कार्यक्रममा बैंकको ऐक्यवद्धता जनाए । नेफ्स्कुन र बैंकबीच केहि समस्या रहेको बेलाबेला चर्चामा आउने गरेको तर त्यस्तो कुनै जटिल समस्या नरहेको प्रष्ट पारे । सहकारी अभियानलाइ अग्रगति दिन, आइपरेका समस्या समाधान गर्न दुवै निकायबीच अत्यन्तै सौहार्दपूण सहकार्यका लागि हरतरहको प्रयास आफूहरुले गरिरहेको उनको भनाई थियो । 

संघको गएको स्थापना दिवसमा घोषित सर्वोत्कृष्ट संस्था, सर्वोत्कृष्ट व्यवस्थापक, कर्मचारी, सहकारी पत्रकार पुरस्कार लगायतका विधामा पुरस्कृत हुनेहरुलाई सभामा प्रमाणपत्र प्रदान गरिएको थियो । 



त्यसैगरी सभामा साकोस स्तरिकरण कार्यक्रम प्रोबेशन ब्राण्डमा सहभागी भएका ५०० वटा संस्थाहरुमध्ये यस वर्षको ब्राण्ड प्राप्त गर्ने ४० वटै संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


सभामा विशेष अतिथि राष्ट्रिय सहकारी विकास बोर्ड सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, सहकारी विभागका उपरजिष्ट्रार चोमेन्द्र न्यौपाने लगायतले सम्बोधन गरेका थिए । कोभिड–१९ को महामारीका कारण सात वटै प्रदेशमा क्षेत्रगत रुपमा विस्तारित सभा गरी आज नेफ्स्कुनले साधारण सभा सम्पन्न गरेको हो ।


बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वागत मन्तब्य राखेको थिए भने महासचिव दामोदर अधिकारी संघको प्रगति प्रतिवेदन एवं भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif