Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

साच्चै गम्भीरुपमा सोचौं !


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित


बैध अबैध भ्रष्टाचारले आज देश र समाजलाई खोक्रो पारिरहेको छ । जसले जति लुट्न सक्छ लुट्ने काम भइरहेको छ । यसको तत्काल अन्त्य नितान्त आवश्यक छ । यसका बिरुद्ध सम्पूर्ण जनता जाग्नु पर्छ,,उठ्नु पर्छ र लडनै पर्छ । अनि बेरोजगारी, महँगी, भोकमरीको अन्त्य गर्नु पनि त्यत्तिकै आवश्यक छ । तर भन्न र सुन्नलाई यी कुरा जति सजिलो लाग्छन् ब्यवहारमा खरो उतार्न भने कम कठिन छैन । किनभने बर्षौंदेखि हामीले, हाम्रो समाजले यस्ता राम्रा कुरा भन्दै सुन्दै आएको छौं तर न भ्रष्टाचार घटेको छ न रोजागारी बढेको छ । न भोकमरी र अभाव नै समाप्त भएको छ । यसले के प्रष्ट हुन्छ भने यी समस्यालाई 'ब्यापार ब्यवसाय' बनाएर सत्तामा पुग्ने र अनि तिनै प्रकृयालाई चाल्नु राख्ने प्रपञ्च भइरहेको छ र त्यसलाई हामीले स्वीकारी रहेका छौं । समाजका सर्ब साधारण मानिस पनि ती कुरा सुन्न अभ्यस्त भइरहेका छन् । त्यसैले तिनको अन्त्य ब्यवहारमा परिणत भएको देख्न पाइरहेका छैनन् ।अनि यी समस्या निराकरण गर्ने कुनै ठोस, बस्तुगत र ब्यवहारिक कदम चालिएको छैन र चालिने लक्षणहरु पनि अहिलेसम्म देखिएका छैनन् । यस्तो किन भइरहेको छ भने हामीले परिबर्तनको प्रतिनिधित्व गर्ने राजनीतिक अभ्यास, संस्कार र सँस्कृतिको निर्माण गर्न पटक्कै सकेका र सिकेका छैनौ । त्यसले गर्दा पुरानै, असान्दर्भिक, त्याज्य र भ्रष्ट सत्ता शक्तिकै नबीन सँस्करण मात्र चलाईरहेका छौ । फलतः जनताले परिवर्तनको बोध त के त्यसको कुनै गन्धसम्म पाउन सकेका छैनन्, अनुभूति गर्न बिल्कुलै सकेका छैनन् । राजनीतिमा जतिसुकै ठूलो परिबर्तन भएको मानिए पनि आजको जीवन्त र कटु यथार्थ यही नै हो । सत्य बोल्नेहरुले निकाल्ने एक मात्र निष्कर्श नै यही नै हो ।

वास्तमा आज यस्तो लाग्छ कि आज हाम्रो देश आन्तरिक र बाह्य दुबै किसिमले भ्रष्टाचारको अभिन्न अंग बनेको छ । जसले गर्दा आज नेपाल र बिश्वकै बहुसंख्यक गरीब, निमुखा,असक्त र कमजोर बर्ग तथा समुदायका लागि भने कुपोषण, बिमारी, बेरोजगारी महँगी आदि सबै वास्तवमा कमजोर आय बर्गका लागि साच्चै नै ठूलो अभिशाप बनिरहेका छन् । सहश्राब्दी लक्षले पनि यी समस्या समाधानका लागि एक दुइ अपबाद बाहेक कतै कुनै सिन्को भाँचेको देखिदैन । यसरी हाम्रो देश लगायत बिश्वकै असंख्य बहुसंख्यक जनताको स्थिति नाजुकबाट अझ नाजुकतर बन्दै गएको छ । हुन त तेश्रो बिश्व युद्ध टरेको जस्तो देखिन्छ तर जैबिक, रासायनिक, परमाणबिक, आणबिक अनेक किसिमका अत्यन्तै घातक र खतरनाक हात हतियारको उत्पादन र बितरण रोकिएको छैन । बिश्वमा हतियारको ब्यापार सबैभन्दा फाइदाजनक रहेको बताइन्छ । आतंकबाद र प्रतिआतंकबादको जुन माहोल बिश्वमा उत्पन्न गरिएको छ, त्यसले मानबताका बिरुद्ध उत्पात मच्चाइरहेको छ । त्यसले गर्दा कुनै पनि बेला कहि पनि भयंकर ठूलो युद्ध भड्किन सक्ने र निर्दोष मािनसहरुको जीवन लीला समाप्त हुने भयंकर भयावह स्थिति बिद्यमान छ । यस्तो अमान्य र अस्वीकार्य स्थितिले गर्दा हामीले हाम्रो भावी पिढीको भबिष्यलाई दिनानुदिन खतरामा पारिरहेका छौ र उनीहरुको भबिष्य झन पछि झन अनिश्चित बन्दै गएको छ । यसरी बिश्वको भावी सन्ततिको भबिष्यमाथि निरन्तर खेलबाड भइरहेको छ । फलतः हामीले तिनका लागि सुन्दर, शान्त, प्रदुषणहीन समाज छोडेर जाने स्थिति बिकसित हुन सकिरहेको छैन । अनि यस्ता शब्दहरुको आजकल अर्थ लाग्न छोडेर निरर्थक बन्ने खतरा ब्याप्त छ र सर्बत्र मडारिइरहेको छ ।

बिज्ञान र प्रबिधिको अपूर्ब र उच्चतम् बिकासले पृथ्वीबासी हामी मानिसको जीवनलाई जति सहज, शान्त र सुखमय तुल्याउने भूमिका खेल्न सक्छ र सक्नु पर्छ आज त्यसो हुन सकिरहेको छैन । २१औं शताब्दी पनि अत्यन्तै चूनौतिपूर्ण र खतरनाक बन्दै गएको छ । बिश्व समुदाय आज पनि हुने खाने र हुँदा खाने जस्तो घोर बिषमताका बीचबाट गुज्रिरहेको छ । वास्तवमा आज फरान्सेली क्रान्ति र महान अक्टोबर समाजवादी क्रान्तिका मानब समाजले गरेका अभूतपूर्ब उपलब्धीहरुलाई निरर्थक साबित गर्न र संसारलाई पुरानै यथास्थितिमा चलाउने अनेक दाउपेच र षडयन्त्रहरुको चक्रब्यूहमा फँसाइएको प्रतीत हुन्छ ।

यस्तो प्रकारको चक्रब्यूहलाई तोड्न र न्याय, समानता र सुनिश्चित भबिष्य भावी पिढीलाई छोड्नका निमित्त आज बिश्व मानब समुदाय खाशगरी शोषण, अन्याय, थिचोमिचो, दमन र दबाबमा परेका अत्याधिक ठूलो जन समुदाय जागरुप, सचेत, संगठित र संघर्षशील बन्नुको कुनै बिकल्प छैन । सोचौ संसारलाई सुन्दर बनाउन साच्चै गम्भीरुपमा सोचौं !

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif