Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

नेपाली क्रान्तिको मुल बाटो


२०७७ मंसीर २ गते , मंगलवार प्रकाशित

हिजोआज नेपाली समाजमा नेपाली क्रान्तिको बाटोका बारेमा चर्चा चल्ने गरेको छ । आजसम्मका राजनीतिक परिवर्तनहरु अधुरा रहे, पुरा कसरी होला ? पुरानो सत्तासँग सम्झौता गरेर हुने गरेका परिवर्तनहरुले समाजको परिवर्तनशील आकांक्षालाई सम्बोधन गर्न पनि सकेन । केही मुठ्ठीभर नेता तथा उनीहरुका वरिपरि भुन्भुनाउनेहरु अनि विस्तारवाद र नवउदारवादका स्वार्थपूर्ण चासोहरु मात्र सम्बोधन भयो । नेपाली जनताको हितको सम्बोधन हुन सकेन । जनताका हितहरुको रक्षा र विकास हुन नदिइएकाले नै अब टालेटुले संघर्ष र परिवर्तनको पछाडि नलागेर आमुल परिवर्तको बाटोको खोजी गर्न थालिएको छ । यो भनेको नेपाली समाजको विकासक्रम अनुसारको बाटो हुनुपर्ने भएकाले नेपाली जनतामा नयाँ जगमा नेपाली जनवादी क्रान्तिको मुल बाटोको बारेमा चासो बढ्दै गएको हो ।

क्रान्तिका चरित्रहरु

क्रान्ति भनेको भइरहेको भन्दा बिल्कुल फरक र नयाँ व्यवस्थाको स्थापना भन्ने हो । जसले समाज विकासमा अग्रगामी दिशा र गति पैदा गर्दछ । जंगली युगबाट दास युगमा, दास युगबाट सामन्ती युगमा, सामन्ती युगबाट पूँजीवादी युगमा, पूँजीवादी युगबाट समाजवादी युगमा र समाजवादी युगबाट वैज्ञानिक साम्यवादी युगमा प्रवेश गर्दाका बखत भएका क्रान्तिको चरित्र पनि सोही अनुरुप हुने हुन्छ । अहिले मानव जगतको ठूलो हिस्सा सामन्तवादबाट पूँजीवाद तर्फ, त्यसपछि पूँजीवादबाट साम्राज्यवाद तर्फ त केही हिस्सा समाजवादको स्थापना तर्फ लम्किरहेका छन् । नेपाली समाज सामन्तवादबाट पूँजीवादको संक्रमणमा रहेको छ । समाजवादी राज्यव्यवस्थाको स्थापनाको आधार तयार गर्न नयाँ जनवादी क्रान्तिको चरण पार नगरी सम्भव छैन । अहिले यहाँ सामन्ती दलाल नोकरशाही पूँजीवादी व्यवस्था चलिरहेको छ । यसैको वरिपरि संसदवादीहरु रहेका छन् । यस्तो संसदवादी व्यवस्थाको अन्त्य गरेर नेपालमा नयाँ जनवादी व्यवस्थाको स्थापना अनिवार्य बनेको छ ।

नेपाली क्रान्तिको परिवेश

नेपालमा वैज्ञानिक दृष्टिकोणको आधारमा कम्युनिष्ट पार्टी स्थापना भएको २००६ मा हो । कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीले नेपाली क्रान्तिको परिवेशलाई वा वर्ग संघर्षको अवस्था र चरणका बारेमा व्याख्या गरेको छ । मुल परिवेशलाई सुत्रात्मक रुपमा भन्नु पर्दा नेपाली समाजमा लामो अवधि सामन्तवादी राज्य प्रणाली रहे तापनि यो मरणासन्न रहेको र पूँजीवाद जाग्दै गरेको अवस्था रहेकाले यसलाई अर्ध सामन्ती राज्यप्रणाली भनिएको हो । शक्ति राष्ट्रहरुको प्रत्यक्ष उपनिवेश नभए तापनि नेपाली अर्थ राजनीतिक लगायतको परिवेश अप्रत्यक्ष भएकाले यसलाई अर्ध औपनिवेशीक अवस्था भनेको थियो । यस्तो अवस्था वा परिवेश वा सम्बन्धको अन्त्य गरी नेपाली जनताको जनवादी अधिनायकत्व रहेको राज्य व्यवस्थाको स्थापनाका लागि गरिने क्रान्ति नै नेपाली जनवादी वा भनौं नयाँ जनवादी क्रान्तिको मुल बाटो भनेको थियो ।

अहिले पुरानो शोषण र विभेदमा परिवर्तन भई यो नवसामन्ती तथा नवऔपनिवेशिक शोषण विभेदमा फेरिएको छ । यस्ता प्रकारका शोषण विभेदको अन्त्य र समाजवाद स्थापनाको आधार तयार गर्न हिडेका कम्युनिष्टहरु वा कम्युनिष्ट पार्टीहरुको गति मति ठिक नभएको ठहर्छ ।

आज यहाँसम्म आइपुग्दा के आफुलाई कम्युनिष्ट भन्ने नेपालका कम्युनिष्टहरुले यो मुल बाटोमा हिडे ? गम्भीर समिक्षाको विषय बनेको छ र मुल बाटोको खोजी गरिन थालिएको छ ।

परिवर्तनका उपलब्धी

आजसम्म भएका विद्रोह वा संघर्षले भएका परिवर्तनहरुले मात्रात्मक परिवर्तन गरेको तर गुणमा परिवर्तन गर्न नसकेकाले यसलाई क्रान्तिकारीहरुले क्रान्ति भन्दैनन् । यथास्थितिवादीहरुले मात्र यसलाई क्रान्ति भन्न सक्दछन । राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना रुपमा हेर्दा क्रान्ति नै हो भन्न सकिन्छ तर सारमा उही पुरानै व्यवस्थाका असफल अवयवहरुकै निरन्तरता लोकतान्त्रिक गणतन्त्रमा रहेकाले नेपाली जनमानसमा ठूलो भ्रम सिर्जना भएको छ । यसले एउटा उपलब्धी भने भएको छ त्यो हो यो संसदीय व्यवस्थाका सञ्चालक वा हिमायती कम्युनिष्ट क्रान्तिकारी हुन सक्दैनन । व्यवस्थामा सुधार गरेर जानुपर्छ भन्नेहरु कम्युनिष्ट होइन रहेछन् । सहअस्तित्व स्वीकार गर्नेहरु कम्युनिष्ट होइन रहेछन् । बल प्रयोगको सिद्धान्तलाई गलत ढंगबाट प्रयोग गर्नेहरुबाट पनि कम्युनिष्ट आन्दोलनलाई गम्भीर धक्का लागेको छ । सम्झौताको संसदीय प्रणालीको प्रयोगबाट मन्द बिषको रुपमा समाजको अग्रगामी परिवर्तनको आकाङ्छालाई निमोठि दिएको छ । दुई अतिवादी एउटा एमाले र अर्को माओवादीको एकताबाट प्राप्त शक्तिको प्रयोगले उनीहरुको क्रान्तिकारीता आज आएर जनस्तरमै उजागर भएको छ । 

२२ दलीय मोर्चाको आन्दोलन

संयुक्त जनआन्दोलन नेपाली जनवादी क्रान्तिको एकमात्र बाटो हो । देशी तथा विदेशी दलालहरुबाट निर्मित आन्दोलनले उनीहरुकै सेवा गर्ने रहेछ भन्ने कुरा प्रष्ट भई सक्यो । आज नेपाली जनताको प्रधान अन्तरविरोध भनेको सामन्ती दलाल नोकरशाही पूँजीवादसंग हो । यसको नेता सरकार र सरकारी पार्टी हो । यो वर्गीय रुपमा संगठित मोर्चा नभए पनि सत्ताका विरोधीहरु तथा आलोचकहरुको मोर्चा हो । यसलाई वर्गीय रुपमा विकास गर्नु पनि क्रान्तिकारीहरुको दायित्व हो । जसको बलमा नेपाली क्रान्तिको मुल बाटो नयाँ जनवादी क्रान्तिको बाटो टुङ्गोमा पुग्न सक्छ । नेपाली जनताको स्वाभीमान र आत्मसम्मानको रक्षा हुन सक्छ । बतासे गफ हैन साँचो अर्थमा समृद्ध र सुखी नेपाल बन्न सक्छ ।

नेपाली जनताको मुक्तिको एउटै मात्र मुल बाटो नयाँ जनवादी क्रान्तिको बाटो भएको तथ्य झनझन स्थापित भएको छ । उग्रबामपन्थी तथा उग्रदक्षिणपन्थी रुझान नयाँ जनवादी क्रान्तिका बाधक रहेको तथ्य पनि उत्तिकै उजागर भएको छ । जनसंघर्ष जनविद्रोह हुँदै जनयुद्धको नीति कम्युनिष्ट पार्टीको नीति हुनु पर्ने यथार्थ पनि स्थापित भएको छ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हुन् ।)  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif