Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

महाकबि देबकोटाले देखेको नेपाली साहित्यको नबीन मोड


२०७७ कार्तीक २९ गते , शनिवार प्रकाशित


शायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ। मानिसले जीवनको मनमोहक र शक्तिशाली पुकार सुन्यो र त्यसको आनन्दलाई युगयुगान्तरसम्म जीवित राख्ने प्रयास ग¥यो। परन्तु साहित्यको इतिहासका प्रारम्भिक चरणहरूमा कृतित्व कम वा बेसी रूपमा आकस्मिक नियमहरूमाथि निर्भर रहन्थ्यो। देवताहरू र दानबहरूको सिर्जना गर्दै रणक्षेत्रका रक्तिम बीभत्सताको चित्रण गर्दै र त्यसका वीरहरूको गाथा गाउँदै, मानिसहरूसमक्ष ईश्वरीय नियमहरूको सहीपनाको पुष्टि गर्दै लोकसाहित्य र परम्पराबाट इतिहास र वीरगाथाहरूबाट तथ्यहरू, किंवदन्तीहरू र काल्पनिक कथाहरूबाट नैतिक नियमहरू खोलत्दै एकाकी ऋषिमुनिहरूले जीवनको निरीक्षण गरे र कल्पनाका प्रतीकात्मक रूपहरूमा त्यसप्रति आफ्नो धारणाको अभिव्यक्ति गरे। उनीहरूले आफ्ना ग्रन्थहरूमा यस्ता काल्पनिक प्रतीकहरूको माध्यमबाट aजीवनको अति व्यापक व्याख्या प्रस्तुत गरे, जसको पछाडि दार्शनिक नीति लुकेको हुन्थ्यो। महाभारतका रचयिता व्यास र रामायणका रचयिता बाल्मीकिले वास्तवमा यसै प्रकार लेखेका थिए।
यी कविहरूले आफ्ना नायकको नाउँ नलिईकनै र आफूले चित्रित गरेका घटनाहरू घटित भएका ठाउँको पनि सङ्केत नदिईकनै आफ्नो कल्पनामा वास्तविकताको सिर्जना गरे। परन्तु वर्णनातीत उत्कृष्टताको बाबजुद पनि यी कृतिहरू पण्डित–पुरोहितहरूका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनको नयाँ साधन बन्न पुगेका थिए। पुरोहितहरूले काव्यलाई आराध्यवस्तुमा परिणत गरे, तर आन्तरिक सारतत्वलाई नबुझीकनै त्यसको बाहिरी रूपतत्वलाई मात्र ग्रहण गरेका थिए। यसले गर्दा यी कृतिहरूको भद्दा आदर्शीकरण हुन गयो। प्रकृतितर्फ फर्कनाका लागि लत र परम्पराको ह्रासोन्मुख असरका विरुद्ध लामो र अथक सङ्घर्षको आवश्यकता पर्दछ। पहिले झैँ प्राचीन अभिव्यञ्जना मौजुद छ, पहिले झैँ परम्परागत प्रतीकहरूको पनि उपयोग हुँदैछ जो ज्यादै नै थोत्रा बनिसकेका छन्, पुरानै ढर्राका वाक्यांशहरूको नै अन्धानुसरण गरिँदैछ। कुनै समयमा तिनले हाम्रो कल्पनालाई सम्पन्न रसबल तुल्याएका थिए तर यसको साथसाथै तिनले हाम्रा बौद्धिक क्षितिजलाई साँगुरो र सीमित पनि पारेका थिए। पुरानै नैतिक शिक्षाको पुनरावृत्ति, धार्मिक भावना र आस्था अनि कामवासना–यो नै लामो अवधिसम्म हाम्रो साहित्यको वास्तविक सार रहेको थियो।
परन्तु रूप र सारको तानाशाही छिचोल्दै विद्रोहको भावना फुटेर बाहिर निस्कियो। मनुष्यको जागृत भावना आफ्नै पुरातन भ्रम र अभ्यस्त सङ्कीर्णताको विरुद्ध खडा भयो। प्रतीकवादको विरुद्ध सङ्घर्ष गर्नका लागि चिन्तन र अभिव्यक्तिहरूका नयाँ रूपहरू खोज्नुपरेको थियो। यसै प्रक्रियाद्धारा साहित्यमा रोमाञ्चवादी धाराको प्रादुर्भाव हुन गयो, यसले सफलतापूर्वक अहिले अस्तित्वमा सबै धाराहरूलाई आत्मसात् ग¥यो। यस धाराले सुरुमा पाश्चात्य साहित्यको गहकिलो प्रभावमा परेर विकास गर्यो ।तर यो धारा पनि वर्तमान जीवनका वास्तविक मूल्यहरू र त्यसका समस्याहरूको व्याख्या गर्न असमर्थ छ भन्ने कुरो छिटै नै स्पष्ट भयो। निरन्तर मधुकणहरू मात्र चुसेर कल्पना पनप्न सक्दैन। चराले जस्तै साहित्यले पनि सुरुमा पृथ्वीमा नै चारा नबटुलीकन आकाशमा उच्च उडान गर्न सक्दैन।
जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पूँजीवादी र सामन्तवादी समाजमा मात्र स्थान पाउँछ जहाँ धनी मानिसहरू कविहरूलाई ऐेशआराममा डुबाउनु र भ्रष्ट पार्न समर्थ हुन्छन्। परन्तु आकर्षणको मिहिन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्न सक्दैन। यसै कारण सर्वसाधारण मानिसहरू व्यक्तिवाद, अन्धराष्ट्रवाद, कूपमण्डुकता र विद्धेषलाई धनीमानीहरूको साहित्यिक खेलबाड र मनोरञ्जनको रूपमा विचार गर्दछन्।



अहिले पनि हामीकहाँ प्राकृतिक सौन्दर्यका धनीमानीहरू तथा सामन्तहरूको उदारताको प्रशंसा गर्ने खालका अनेकौँ कृतिहरू लेखिन्छन्। परन्तु साहित्यका क्षेत्रमा पनि विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ र अभिव्यञ्जनाका जराजीर्ण रूपहरू र माध्यमहरूप्रति असन्तोष पनि व्यक्त गरिँदैछ। व्यक्तिको चेतनामा परिवर्तन आएको छ र त्यो व्यापक पनि भएको छ। परन्तु सामाजिक आदतहरू र रीतिस्थितिहरूका कसिङ्गरहरूबाट त्यसलाई मुक्त तुल्याउन अझै पनि धेरै समय लाग्नेछ। अझै पनि वर्गीय स्वार्थहरूको बोलवाला छँदैछ र मानिसको सामाजिक स्थितिले उसमाथि ठूलो छाप पारेकै छ।
अझै पनि चिन्तन र विचार केही हदसम्म आर्थिक स्थिति, राजनीतिक वातावरण र सामाजिक जीवनपद्धतिबाट प्रभावित रहेकै छन्। लेखकले पनि आफ्नो युगलाई त्यसरी नै प्रभावित पार्नुपरेको छ, जसरी युगले लेखकको चरित्र निर्माणमा प्रभाव पार्दछ।
सम्भवतः हामी नयाँ साहित्यिक युगको सँघारमा उभिएका छौँ। हामी कठिनतापूर्वक प्राप्त गरिएको प्रजातन्त्रद्धारा पूर्ण रूपले सुसज्जित भएर त्यस युगमा पदार्पण गरिरहेका छौँ। हामी पुराना भैसकेका विधिविधानलाई अस्वीकार गर्दछौ। हामी नयाँ रूपको खोजी गर्दछौ। हाम्रा साहित्यको वर्तमान प्रवृत्ति आदर्शवादबाट यथार्थवादतर्फ र कपोलकल्पनाबाट तथ्यतर्फ अभिमुख छ।
यस्तो साहित्यको प्रादुर्भाव भइरहेको छ, जसले व्यक्तिगत र सामाजिक घटनाहरूको मूल्याङ्कनमा उच्चस्तरीय मापदण्डको सहारा लिन्छ। लेखकहरूको विश्वदृष्टिकोण फराकिलो भइरहेको छ। उनीहरूले उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा विशेष ध्यान दिन थालेका छन्। लेखकहरू शान्तिको पुकार सुन्दछन्। विज्ञान र विवेकको आवाजलाई हृदयङ्गम गर्दछन्, विश्वमा घट्ने घटनाहरूप्रति आफ्नो प्रतिक्रिया जनाउँछन्। जीवनका निम्ति र विनाशका विरुद्ध, सहअस्तित्वका निमित्त र सैनिकका आक्रमणका विरुद्ध, राष्ट्रिय स्वाधीनताका निमित्त, उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध आधुनिक मानव जातिका महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ। यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय बन्न सक्दैन।
अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ। साहित्यले अन्तर्रा्ष्ट्रिय स्थितिमा लाभदायी र मानवतावादी प्रभाव पारिरहेको छ। संसार यस्ता कृतिहरूद्वारा भरिपूर्ण छ जसमा इष्ट अथवा अनिष्टको जोडदार चर्चा गरिन्छ। दृष्टिकोणमा परिवर्तन आइरहेको छ। जातिभेदवादको सङ्कटको भावना र नैतिक उत्तरदायित्वको भावनाले आफ्नो अभिव्यक्तिका नयाँ–नयाँ बाटाहरू पैल्याउँदैछन् र साहित्यमा प्रवेश गर्दैछन्। बढी उच्चस्तरीय मापदण्डहरू, नवीनतम बिम्बहरू र ताजा रूपहरूको खोजी गरिँदैछ, नयाँ–नयाँ प्रयोगहरू हुँदैछन्। नेपालको जागृति व्यापक भइरहेको छ र एशियाको नवजागरणका लहरमा नेपालको कला र साहित्यले पनि आधुनिक युगमा प्रवेश गरिरहेको छ।
     धैर्यको भावना बढ्दो छ र यसका साथसाथै धर्मान्धता सङ्कीर्ण राष्ट्रवाद र सामाजिक बन्देजका विरुद्ध अधैर्यको भावना पनि दरिलो हुँदै गइरहेको छ। आधुनिक लेखकले आफूलाई विश्वको एउटा जीवित र सबल अङ्गका रूपमा अनुभव गर्दैछ। संसार साँगुरिँदै गइरहेको छ र एउटा साझा घरमा परिणत भइरहेको छ। लेखकले पनि व्यापक अन्तर्राष्ट्रिय जगत्मा, नयाँ संसारमा उसले भाग लिनुपरेको छ भन्ने कुरा बुझ्दै गइरहेको छ। त्यो संसार मानवतावाद र पारस्परिक समझदारीका सिद्धान्तहरूमा आधारित हुनेछ। व्यष्टिमा समष्टिको खोजी, मानव जातिसँग निरन्तर सम्पर्क बढाउँदै लैजाने प्रयास र स्थानीयताको त्रिपाश्र्वमा विश्वब्रह्माण्डकै भावनाको बोध गर्ने इच्छा यसैको परिणति हो।
नेपाली साहित्यले नयाँ प्रजातान्त्रिक भावनाको विकासमा योगदान र्पुयाएको छ। त्यसले जहानियाँ राणाशासन र समन्तवादका विरुद्ध सङ्घर्षको सुरुआत गरेको थियो। यो सङ्घर्षपूर्ण विजयी भएको छ। वर्तमान समयमा नेपाली साहित्यले मानव अधिकारको उत्तरोत्तर विस्तारका लागि, मानव मूल्यहरूका मान्यताका लागि आवाज उठाइरहेको छ। त्यसका विद्रोही र क्रान्तिकारी स्वरले युगानुयुगको जडता र रुढिबूढीका विरुद्ध, युगौँ पुराना परिस्थितिका विरुद्ध, जातपात र धर्मका भेदभावका विरुद्ध, सामाजिक अन्याय र असामाजिक असमानताका विरुद्ध सङ्घर्षका निम्ति आह्वान गर्दछ। लेखकले अन्यायका विरुद्ध सङ्घर्ष गर्दछ र लाखौँलाख उत्पीडित मानिसहरूप्रति सहानुभूति जगाउँछ, जसका हितहरूप्रति सदैव नै बेवास्ता गरिँदै आएको थियो।
राणाशाहीका विरुद्ध क्रान्तिकारी नाराहरू र प्रचारहरूले तत्कालै आम जनताका चेतनामा जागृति ल्याएका थिए र यस जहानियाँ शासनका उन्मूलनमा योगदान पुग्न गएको थियो। अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नका निमित्त लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ। उसका अगाडि ज्यादै उत्तरदायित्वपूर्ण र ज्यादै कठिन कार्यभार रहेको छ जुन उसले जीवनका कठोर अवस्थाहरूमा आफूले बहन गर्नुपरेको छ। लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ। परन्तु यदि ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन। उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोताल्नुपर्दछ।
राणाखलकको शासनकालमा लेखकले आशा राख्न सक्ने सबभन्दा ठूलो कुरा कुनै थियो भने त्यो थियो– बहुमूल्य जीवनशक्तिलाई साहित्यमा परिणत गर्नु। आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्नु पर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताको तर्फबाट सम्मानका निम्ति सङ्घर्ष गर्नुपर्ने हुन्छ। लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक तथा आर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक, आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणको परिवर्तनमाथि ठूलो आशा राखेका छौँ।
वर्तमान समयमा हामी नेपालमा साहित्यिक क्षेत्रमा निश्चित फल प्राप्त गर्दैछौँ। परन्तु यसको साथसाथै हामीले नयाँ प्रभावहरू र नयाँ प्रयासहरू भेट्टाएका छौँ। नवजागरणले हामीलाई जनताको हृदयसम्म पुग्ने बाटो पहिल्याउने सम्भावना दिएको छ, साथै विविधता, नवीनता र यथार्थता पनि प्रदान गरेको छ जुन उत्कृष्ट गुणहरू हुन्। परन्तु व्यापक अन्तर्रा्ष्ट्रिय साहित्यिक क्षेत्रसँग हाम्रो सम्पर्क छैन, साथै यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव छ। अन्य मुलुकहरूमा देखा परेका र विकसित भएका नयाँ प्रवृत्ति र नवीन बिम्बहरूको छाप हाम्रो साहित्यमा पर्नुभन्दा पहिले धेरै समय बितिसक्दछ। हामी के आशा राख्दछौँ भने नेपालको नयाँ त्रिभुवन विश्वविद्यालय, रोयल नेपाल एकेडेमी यस्तै अन्य संस्थाहरूले यस अभावपूर्तिमा योगदान र्पुयाउने हाम्रो देशमा पनि जुर्मुराएर ब्यूँझिएका छिमेकी देशहरूको पारस्परिक सम्बन्धको विश्वासिलो बाटोबाट एशियाली जागृतिको भावना फैलिँदै जानेछ र बन्धुत्वपूर्ण संस्कृतिहरूको आपसी सम्पन्नतामा मद्दत पुग्नेछ। हामी के आशा राख्दछौँ भने नेपाली साहित्यका निम्ति पनि तासकन्द सम्मेलन ज्यादै नै उपयोगी सिद्ध हुनेछ किनभने नेपालले पनि धेरै कुरा दिन सक्दछ र धेरै कुरा ग्रहण गर्न सक्दछ।
अनन्त हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वतश्रृङ्खलाहरूको भुलभुलैयामा बिलाउने छैन। हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एशिया तथा अफ्रिकालाई परिवेष्ठित गर्ने साहित्यको असीम महासागरमा मिल्न पुग्नेछ। यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलबिन्दुको रूपमा फेरि हाम्रा पहाडहरूमा नै बर्सनेछ।
एकअर्कालाई राम्ररी बुझ्न, एकअर्काबाट राम्ररी परिचित हुन नै हामी यहाँ भेला भएका छौँ। यहाँ उपस्थित प्रत्येक देशले अरुलाई धेरै कुरा दिन सक्दछ। यहाँ हृदय–हृदयको मिलन भइरहेको छ र प्रत्येक व्यक्तिको आत्मामा प्रतिध्वनि गुन्जिरहेको छ। हामी समुद्रको छालझैँ माथि उर्लदैछौँ र आफ्नो स्वर उच्च तुल्याउँदैछौँ। हामी आफ्ना सन्ततिलाई आफ्नो साझा सन्देश पठाउँदैछौँ।
(सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा महाकबि लक्ष्मीप्रसाद देवकोटाले दिएको अंग्रेजी सम्बोधनको नेपाली साहित्यले कसरी नयाँ मोड लिदैछ भन्ने अंशको  अनुवादः  कृष्णप्रकाश श्रेष्ठ)  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif