Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

मिलिजुली कालिञ्चोक साकोसको विज्ञप्ति, संस्थामा कुनै अनियमितता नभएको दावी


२०७७ कार्तीक २६ गते , बुधवार प्रकाशित

दोलखामा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाका बारे प्रकाशित समाचारको खण्डन गरेको छ । केहि दिन अघि संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतका विषयमा अनलाईन सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्थाले सो विषयमा विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

समाचारमा नेफ्स्कुनद्वारा संस्थालाई प्रदान गरिएको एक्सेस ब्राण्ड तथा उत्कृष्ट व्यवस्थापक घोषणामा आर्थिक चलखेल भएको, सीइओले सदस्यबाट रकम लिएर मात्रै ऋण स्वीकृत गर्ने गरेको, सीमा भन्दा माथि एउटै सदस्यलाई करोडौं ऋण लगानी गरेको जस्ता आरोप संस्थालाई लगाइएको छ ।  

तर संस्थाका कुनै सञ्चालक र कर्मचारीसँग आधिकारिक धारणा नलिई कपोलकल्पित समाचार सम्प्रेषण गरिएको भन्दै विज्ञप्तिमार्फत त्यसको खण्डन गरिएको छ । 

संस्थाले सीइओले ऋण लगानी गर्दा आन्तरिक लुट मच्चाएको कुरा निराधार भएको, ऐननियम, ऋण नीति, ऋण समिति र सञ्चालक समितिको निर्णय अनुसार मात्रै ऋण लगानी गर्ने गरेको संस्थाले जनाएको छ । 

त्यसैगरी एक्सेस ब्राण्डिङ कार्यक्रमका ८६ वटा इण्डिकेटर पूरा गरेर मात्र संस्थाले ब्राण्ड प्राप्त गरेको र नेफ्स्कुनले आवश्यक मापदण्ड पूरा गरेर संस्थाका सीइओलाई उत्कृष्ट व्यवस्थापक घोषणा गरेको संस्थाले जनाएको छ । 

संस्थाले एकिकरण अभियानलाई अगाडि बढाएको र त्यसक्रममा कुनै आर्थिक लेनदेन नभएको, कार्यालय प्रयोजन बाहेक व्यक्तिगत उद्देश्यका लागि संस्थाका सवारीसाधन प्रयोग नभएको र संस्थाको भवन निर्माण प्रक्रिया सार्वजनिक टेण्डरमार्फत गरिएको र बढाबढकामा निर्माण कम्पनीको छनौट गरिएको संस्थाले प्रष्ट पारेको छ । 

संस्थाले विज्ञप्तिमार्फत नियामक निकायबाट समयसमयमा सघन अनुगमन भइरहेको जनाउँदै सहकारी एननियम र आन्तरकि नीति तथा नियमावलीमा अनुसार संस्थाको दैनिक कारोबारलाई अगाडि बढाएको जनाएको छ । 

समाचार प्रकाशित भएपछि पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्थाभित्र कुनै अनियमिता नभएको जनाउँदै विज्ञप्ति जारी गरेका हुन् । 

यता नेफ्स्कुनले समेत एक विज्ञप्ति जारी गर्दै मिलिजुली कालिञ्चोक साकोससँग जोडेर प्रकाशित समाचारमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता एवं बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै संघले साकोसहरुको स्तरीकरणका लागि काम गर्दै आएको र कुनै आर्थिक लेनदेन विना साकोस अभियानलाई व्यवस्थित र सुदृढिकरण गर्ने काममा अनवरता लागेको जनाएको छ । एक्सेसर ब्राण्ड पनि नेफ्स्कुनले नभई एशियाली ऋण महासंघका प्रतिनिधिहरु स्वयंको भौतिक उपस्थितिमा मात्र प्रदान गरिने उनले जनाएका छन् । त्यसैगरी योग्यता, अनुभव र योगदान आधारमा उत्कृष्ट व्यवस्थापक छनौट हुने हुँदा त्यसमा कुनै आर्थिक लेनदेन नहुने उनले प्रष्ट पारेका छन् । 

सहकारीहरुको नियामक निकाय सहकारी विभागले मिलिजुली साकोस र नेफ्स्कुन दुवैसँग प्रकाशित समाचारमा उठाइएको विषयमा स्पष्टिकरण सोधेको छ । 

जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले मिलिजुली कालिञ्चोक साकोसका विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा चिनिएको मिलिजुली कालिञ्चोक साकोस नीति र विधिमा सञ्चालित भएको विश्वास संघको छ । यदि संस्थामा कमीकमजोरी रहेको भए निष्पक्ष छानविन गरी यथार्थ बाहिर ल्याउन संघले सुझाएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif