Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

बिश्वमा कोरोना कालमा पनि बिषमताको खाडल बढ्दो


२०७७ कार्तीक १८ गते , मंगलवार प्रकाशित

 
—लोकनारायण सुबेदी

यस बर्षको अप्रिलदेखि जुलाईको बिचमा जति बेला बिश्वमा कोरोना महामारी उत्कर्षमा पुगिरहेको थियो बिश्वका अर्बपतिहरुको सम्पत्ति मा त्यही समयमा २७.५ प्रतिशतले बृद्धि भएको थियो । गएको जुलाई महिनाको आखिरीमा तिनको सम्पत्ति १०२ खर्ब डलर अर्थाता ७८ खर्ब पाउण्डको अहिलेसम्मकै उच्च रेकर्ड स्तरमापुगेको तथ्यांक सार्बजनिक भएको छ । यसभन्दा पहिला ती अर्बपतिहरुको सम्पत्ति तीन बर्ष अघि २०१७ को अन्त्यतिर पनि उत्कर्षमा पुगेको प्रकाश पारिएको थियो । त्यतिबेला यो सम्पत्ति ८९ खर्ब डलर थियो । त्यसपछि अर्बपतिहरुहरुको संख्या त मामोली किसिमले मात्रै बढेर २१५८ बाट २१८९ पुगेको यिो भने तिनको सम्पत्तिमा भने उल्लेखनीय बृद्धि भएको थियो । यथार्थतः २०१७ को अन्तिम र अहिले जुलाई २०२० का बीच अर्बपतिरुको प्रतिअर्बपति सम्पतिमा पूरै १३ प्रतिशतको बृद्धि भएको दर्शाइएको छ । 


यस सन्दर्भमा अलिक पुरानो इतिहासलाई कोट्याउने र  हेर्ने हो भने पनि २००८ को महामन्दीको बीचमा समेत पनि बिश्वब्यापीरुपमा सम्पन्न र बिपन्न बीचको खाडल निकै फराकिलो हुँदै आएको देख्न सकिन्छ । बास्तवमा बिश्वमा धन कुवेरहरुका लागि लगातार पैसाको बर्षा नै भइरहेको पाइन्छ भने बिपन्नहरुका अबस्था अझ तल तल खस्किदै गएको देखिन्छ । पूँजीवादी बिश्वकै एउटा आधिकारिक अनुसन्धान संस्था ‘अक्सफाम’ले आफ्नो केही बर्ष अघिको प्रतिबेदन ‘इभिनिङ्ग इट अप ः टाइम टु एण्ड एक्स्ट्रिम इनइक्वालिटी’ मा प्रष्टसँग बताएको थियो कि बितेका १२ बर्ष पहिला २००८ मा आएको  मन्दीदेखि लिएर यता पाँच–छ बर्षमा बिश्वमा अर्बपतिहरुको संख्या दोब्बरभन्दा बढी भइसकेको छ । मार्च २००९ मा बिश्वमा ७९३ अर्बपति रहेका थिए भने यता मार्च २०१४ मा आइपुग्दा तिनको संख्या दोब्बरभन्दा बढी बढेर १६४५ पुगेको अक्सफामले औंल्याएको थियो । 


  वास्तवमा यो त्यस्तो कालखण्ड थियो जतिबेला बिभिन्न देशहरुमा भोकमरी र बेरोजगारी चरम उत्कर्षमा थियो । त्यति मात्र होइन, सम्पन्नहरुको सम्पत्ति त्यतिबेला प्रतिमिनेट पाँच लाखका दरले बढोत्तरी भइरहेको औंल्याइएको थियो । संसारका आधा गरीबहरुसँग कूल मिलाउँदा जत्ति सम्पत्ति छ त्यति त आज सामान्य गणना गर्न सकिने संसारका ८५ जना सम्पत्तिबानहरुसँग मात्रै सम्पत्ति छ भन्ने कुरा त्यतिबेलै  अक्सफामले औंल्याएको थियो । सम्पन्न र बिपन्न बीचको बढ्दो यो खाडलले त्यतिबेलैदेखि आफ्नो भयावह असर देखाउन थालिसकेको पनि अक्सफामले बताएको थियो । साधारण जन समुदायमा यसले गर्दा ठूलो आक्रोश पैदा भएको र त्यसको अभिब्यक्ति अपराध र हिंसक प्रदर्शनहरुमा भइरहेको अक्सफमाले प्रष्टसँग औंल्याएको थियो  ।
 केही बर्ष अघिसम्म त असमानता अर्थात धनी र गरीब बीचको खाडलका बारेमा कुरा गर्नु पछौटेपनाको पर्याय र द्योतक मानिने गरिएको थियो । यसलाई किनारामा धकेलिएका मार्क्सवादीहरुको सनकको रुपमा हेरिने गरिएको थियो । तर अहिले त पूँजीवादको जोडतोडले वकालत गर्नेहरुकै भाषा पनि पहिलाभन्दा धेरै नै बद्लिएको छ ।
 बस्तुतः २००८ को पछिल्लो ठूलो महामन्दीले पूँजीवादको बिद्यमान बिकास मोडेलको यथार्थको र्छलङ्ग पोल खोलिदिएको थियो । जसले हिजोसम्म ‘बजार अर्थब्यबस्था’लाई सबै समस्याका लागि रामबाण बताउने गरेका थिए तिनै आज असमानताको रोइलो गाइरहेका देखिन्छन् । उनीहरु हिजोसम्म बिकासको ‘ट्रिकल डाउन थ्योरी’को हावाला दिदै के भन्दथे भने माथिको (पूँजीपति बर्गको) समृद्धि रसाउदै रसाउदै गएर तल (श्रमजीवी बर्गसम्म) पुग्दछ र  समाजको तल्लो बर्गमा पनि खुशियाली आउँदछ । तर यथार्थले त्यो कुरा बिपन्नहरुका लागि ‘बीरबलको खिचडी’ र हावादारी सावित गरिदियो । बिकासको यो बजार पूँजीवादी ढाँचाले सम्पन्नलाई झनझन सम्पन्न बनायो भने बिपन्नलाई झनझन बिपन्न बनायो । जसले गर्दा गरीबहरु जिउँदो रहन सक्ने स्थितिमा पनि रहेनन् । आज यसै कारणले बिकसित देशहरुमा उत्पन्न भएको बेरोजगारीले त्यहाँका शासक बर्गको दिमाग खराब गरिरहेको प्रष्टै देखिन्छ । त्यसैले बर्षैपिच्छ रोजागारी बृद्धि र आर्थिक बृद्धिको चर्चा बिकसित देशहरुमा पहिले कहिल्यैभन्दा जोडतोडले हुने गरेको हामी देखिरहेका छौं ।


  आफ्नो राष्ट्रपतीय कार्यकालमा ट्रम्पभन्दा  पहिलाका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजमा बढ्दो असमानताकाप्रति चिन्ता ब्यक्त गरेका थिए । अरु त अरु इर्साई धर्मगुरु पोप फ्रन्सिससम्मले पनि त्यतिबेला पूँजीवादमाथि आक्रमणका शब्द प्रहार गर्दै भनिरहेका थिए कि ‘पैसाको पूजाले एउटा नयाँ निरंकूशतालाई जन्म दिन्छ’ । यस प्रकार आज बिश्वमा बढ्दो असमानताको आँच जो कसैले पनि महसुश गर्न थालेको प्रतीत हुन्छ ।


  अक्सफामको त्यो उतिबेलाको प्रतिबेदनले बिश्वको बढ्दो असमानता सम्वन्धि त्यस स्थितिमा सुधार ल्याउनका निमित्त पनि केही उपायहरु समेत सुझावकोरुपमा दिएको थियो । मूलतः यसले सरकारमा इच्छा शक्ति भएमा उसले यो असमानता घटाउन सक्तछ भनेको थियो र यसका लागि ठूला कारोबारी घरनाहरुमाथि कर लगाएर सार्बजनिक सेवाहरुका लागि रकम जुटाउन सकिने उपाय बताएको थियो । अक्सफामका अनुसार बिश्वका  ६५ धनकुवेरहरुसँग केवल १.५ प्रतिशत सम्पत्ति कर लगाउने हो भने ९ करोड मानिसहरुलाई गरीबीको खाडलबाट माथि उठाउन सकिने सुधार हुने औंल्याएको थियो । तर यो कुरासम्म पनि लागु गर्न  त्यति सहज थिएन र अद्यापि छैन । किनभने राजनीतिक निर्णयहरु पनि पैसावालाकै नियन्त्रणमा हुने गर्दछन् । तर यो बिषमताले समाजमा उत्पन्न गर्ने अराजकताको बाढी आउनुभन्दा पहिला नै नसोच्ने हो भने त्यसले कसकसलाई बगाएर कहाँ पु¥याउने हो भन्न सकिन्न भनेर अक्सफामले खबरदारी गरेको थियो । अनि बिश्वका शक्ति राष्ट्रका  सरकारहरुले यो बिकराल बन्दै गएको बिषमता दूर गर्ने बिषयलाई प्रमुख बिश्व मुद्दाको रुपमा अघि सार्नु पर्ने आजको बिश्वब्यापी आवश्यकता बनेको अक्सफामले त्यतिबेलै औल्याएको थियो ।


यस बीचमा खाशगरी १९८० को दशकपछि चीनले आफ्नो देशमा रहेको बिषमतालाई ब्यापकरुपमा घटाएर गरीबी उन्मूलनमा बिश्वमा अभूतपूर्ब रेकर्ड कायम गरेका तथ्यहरु बिश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र संयुक्त राष्ट्र संघले समेत पनि स्वीकार गरेको देखिएको हो । तर बिश्वका अरु देशले गरीबी निबारणको गीत चर्कै स्वरमा गाएको देखिए पनि बास्तवमा कता कति सानोतिनो अपबाद बाहेक केही कतै सिन्को भाँचेको देखापरेन । गरीबी उन्मूलन र बिषमता घटाउने नारा एउटा दोहोर्याइराख्ने खोक्रो कुरा मात्रै रहँदै आयो । अहिले बिश्व ब्यापी संकटकोरुपमा देखापरेको कोरोना कालमा पनि बढेको अर्बपतिहरुको अकूत सम्पत्ति र आम जनताको बढ्दो गरीबीले बिश्वको बास्तबिक तस्बीरको यथार्थलाई राम्रैसँग उजागर र खुलस्त पारेको देखिन्छ । यो तस्बीर नबदलेसम्म श्रमको सामाजिकीकरण र पूँजीको संकेन्द्रीकरण हुने ब्यबस्थामा कुनै परिबर्तन नआउने तथ्य यसले प्रष्ट दिग्दर्शन गराउँदछ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif