Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

पर्वतका राजा कसरी 'मल्ल' थरले चिनिए ?


२०७७ कार्तीक १४ गते , शुक्रवार प्रकाशित

राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानमा वाईसे चौविसे राज्यहरुलाई नेपाल अधिराज्यमा बिलय गराउनु पूर्व अत्री गोत्रिय, चन्द्र वंशीय मल्ल ठकुरी राजाको अधिनस्थ चौविसे राज्य भित्र पर्ने पर्वत एक शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो । यसको सिमाना पूर्वमा मोदी नदी, पश्चिममा रुकुम, दक्षिणमा गुल्मी र उत्तरमा भोटसम्म फैलिएको थियो। गलकोट, ईस्मा र प्यूठान पर्वत राज्यकै अधिनस्त थिए र मलेवमका वंसजहरुले शासन गरिरहेका थिए । यसलाई १६ हजार पर्वतको रुपमा पनि चिनिन्थ्यो । वहादुर शाहको लगातार आक्रमण पछि १८४३ को माघ महिनामा पर्वत राज्यको अस्तित्व एकीकृत विशाल नेपालमा अधिनस्त भएको ईतिहाँस छ ।

वि.सं. १४९३ मा स्थापित चन्द्र वंशी, अत्री गोत्र, मल्ल थरका आनंपृय (आनन्द) वमदेखि– कीर्तिवम सम्म १४ पुस्ता (लेखक टेक वहादुर श्रेष्ठ, पर्वत राज्यको ऐतिहासिक रुपरेखा पृ. ५– त्रिविवि अनुसंधान केन्द्र कीर्तिपुर)शासन काल भएको पाईन्छ । जुम्लाका राजा मले वमका माहिला छोरा पीताम्वरले रुकुम राज्य पाएका थिए । पीताम्वरका छोरा जैतु वमले रुकुममा राम्रो वन्दोवस्त गरेको सुयशवाट लोभिएर निसेल भूजेल भनिने निसी भुजी ४ हजार पर्वतका अगुवा मगरहरुले जैतुका माहिला छोरा(क)आनन्द वमलाई मागी ल्याई आफ्नो राजा वनाएको भनाई छ ।

निसेल भुजेल भनिने चारहजार पर्वतका अगुवा मगरहरु रुकुमका राजा जैतुबमसंग राजा माग्न गए । राजासंग कुरा मिल्यो, राजाज्ञ भयो-'युवराज यशो बम बाहेक अरु सात भाई मध्य रोजेर लिजानु' (मोहन बहादुर मल्ल-'पर्वत राज्यको इतिहाँस्' प्राचिन नेपाल)। पर्वत राज्यको राजनीतिक इतिहासमा निसी-भुजीका मगरहरुले महत्व पुर्ण भूमिका निर्वाह गरेको कुरा योगी नरहरिनाथबाट सम्पादित इतिहाँस प्रकाश अंक १-२०१२ पृष्ठ६९मा उल्लेख गरिएको छ । यस पुस्तकमा रुकुम राज्यबाट एउटा राजकुमार मागेर ल्याई पर्वत राज्यको सुभारम्भ गरेको वर्णन गरिएको छ । ॐकार गौचनद्वारा प्रकाशित-‘पर्वते राजाहरुको' इतिहाँसमा रुकुमका डोरजे नामका राजाका आठभाई छोरा मध्य एक भाईलाई निसीभुजीका भुजेलहरुले चोरी ल्याई आफ्नो राजा बनाएको लेखेकाछन । हामीले सुन्दै आएको कुरा किम्वदन्ती(जनश्रुति) अनुसार -'पर्वते राजा निसन्तान भै मरेछन । राजाको मृत्यु पछि उन्का भाईभारदारहरु जम्मा भै सल्लाह-मसौरा गरी, तान्त्रिकको निर्देशन अनुसार शुभसाइत निकाली राजाको खोजिमा हिडेछन । तान्त्रिकले भनेका थिए-"मध्य रातमा तिमीहरुले वालकहरु सुतिरहेका भेट्ने छौ। ती बालकहरु मध्य जस्को निधारमा मणी बलिरहेको हुनेछ त्यसैलाई लिएर आउनु । त्यो बालकलाई राजा बनाएमा सबैको मंगल हुनेछ।" -यसरी राजाको खोजिमा रातमा हिडिरहेका राजाका सिपाहीहरुले अगाडि कुनै वत्तीको उज्यालो जस्तो देखेछन। र त्यहाँ पुग्दा त गाई गोठ रहेछ, गाईहरु उग्राई रहेका थिए । गोठको एक कुनामा तीनवटा बालकहरु मस्तले सुती रहेका थिए । सबै भन्दा सानो बालक वीचमा सुती रहेको थियो । उसको निधारमा मणी बलिरहेको थियो । त्यसैको उज्यालो गाई गोठ हुँदै परपरसम्म फैलिएको रहेछ । राजाका सिपाहीहरुले निधारमा मणी बलेको बालकलाई कुनै बिलम्व नगरी उचालेर पिठ्युँमा हाली बोकी दरवार पुर्याए । यतिबेला रातको अन्त्य भै बिहानीको उज्यालो हुने तर्खरको प्रहर थियो । नवमी तीथि समाप्त भै दशमी तीथिको उदय हुने शुभघडी थियो । यहि शुभ घडीमा बालकलाई राज गद्धिमा बसाले । नयाँ राजाको राजगद्धी आरोहणको शुभ मुहुर्तको स्वागतमा बाजागाजा-नगरा बजाईयो । यसै शुभ घडीपललाई पर्वते मल्लहरुले आफ्नो कुल देवताको पूजाआज गर्ने गर्दछन । यसैले पर्वते मल्लहरुले आफ्नो कुलदेवतालाई तलको मन्त्र उच्चारण गरि स्तुति गर्ने प्रचलन छ।

'ॐ शिद्ध रक्तवर्ण महाकाली दाह्रे मष्ठ नृशिंह ।
गोठम्मा पिठाम्मा, ढ्याम्म ढुम्म, नमोनम: ।।'


शिद्ध भनेको गणेशको एउटा रुप्-'शिद्धी बिनायाक्', इष्टदेवी रगत जस्तो अनुहारको रंग भएकी महाकाली, इष्ट देवता दाह्रा नंग्रा भएका नृशिंह्, तीनै गोठ् (वा रुकुमको गोथाम्मा भन्ने तत्कालिन राजधानी रहेको स्थान)बाट पिठ्युँमा बोकी ल्याइएका जस्लाई गद्धिमा राख्दा हर्षबडाई गरियो,नगरा बजाईयो ड्याँगा-डुँगाको भयंकर आवाज निस्किएको थियो, त्यस्ता इष्ट देवी देवता, कुलदेवता, पित्री देवता हजुरहरुमा हाम्रो नमस्कार छ भन्ने मन्त्र उच्चारणका साथ् पूजा अर्चाना गरिने चलन छ ।

उपरोक्त कुरा मिथक जस्तो भएता पनि पर्वते राजाको आगमन गाई गोठबाटै भएको हुनु पर्दछ । तत्कालिन राजाहरुको सम्पत्तिको श्रोत भनेको पनि पशुपालन र खेती नै थियो । राजकुमारहरु गोठ्मा सुत्नु स्वभाविक थियो । बालकलाई राज्य सत्ताको महत्व ज्ञान हुने कुरो पनि भएन । आफना बाबुआमा साथी संगिको बिछोड्को मुल्य राजा बन्नुले दिन पनि सक्दैनथ्यो। यसरीनै बाबु आमालाई आफ्नो सन्तानहरु जती धेरै किन नहुन, उनिहरुलाई जति असल पर्योजनको लागि लागिएको किन नहोस, अन्यत्रीलाई सुम्पनु सहज थिएन । यसैले गोठमा मस्त निदाएको बेला लैजानु, उसले निद्रामा चाल पनि नपाओस, हामीले देखन पनि नपरोस भन्ने हेतुले सुतेको समयमा लैजानु भनेका होलान र यी कथाहरु रचिएका थिए ।

दिल्लीका सुल्तान अल्लाउद्धीन (इश्वी संवत १२६६-१३१६)ले आफनै ससुराको हत्या गरि दिल्लीको सत्ता हत्ताई सुल्तान बनेको थियो। सुल्तान बने पछि असाध्य रुपवती रानी पद्मवतीको निमित्त चित्तौड माथि आक्रमण गर्यो। त्यस लडाईमा चित्तौडका राजा रत्न सिंहका मामाका छोरा जयमलले ठुलो बीरताका साथ लडेका थिए। जयमलका दाजु मठिमल रायठौर कन्नोजका राजा थिए। यहि रिसमा अल्लाउद्धीनले कन्नौजमाथि पनि बिक्रम संवत १३६१मा आक्रमण गर्दछ र राजा मठिमल रायठौरको हत्या गर्दछ। राजा मठिमलका रानीहरु सती जाने समयमा आफ्नो काशीदास नाम गरेका बालक छोरालाई आफ्ना गुरुआमालाई यसको हेरबिचार गर्नु होला भनि जिम्मा लगाएका हुन्छन। काशी दास युवा भए पछि गुरुआमा र गुरु काशिदासलाई साथ् लिएर जुम्लाको बाटोगरि मानसरोवर तिर्थ यात्रा निस्कनछन् । जुम्लामा त्यस बखत राजा आदित्य मल्लको शासन चलेको हुन्छ। गुरु र गुरु आमाको ज्ञानका कुरा सुनी जुम्ली राजा ज्यादै प्रभावित भै केहि समय जुम्लामाने बस्ने आग्रह गर्छन। यस क्रममा राजा आदित्यले बिस्तारै युवा अवस्थामा प्रवेश गर्दै गरेका काशी दासको शिल स्वभाव रुपबाट पनि प्रभावित हुन्छन र गुरु-गुरुआमासंग आफ्नी छोरी काशी दाससंग विवाह गरिदिन चाहेको इच्छा जाहेर गर्दछन। कुरा मिले पछि काशी दास रायठौरसंग बिक्रम संवत १३७० तिर आफ्नी छोरीको बिवाह गरिदीइ आफुसंगै जुम्लामा राख्छन ।

आदित्य मल्ल तत्कालिन प्रतापी राजाका रुपमा गनिन्थे। पाल वंशीय आदित्यले आफ्नो राज्य बिस्तार भएसगै मल्ल लेख्न थालेको पाइन्छ। विक्रम संवत १३८५ मा आदित्य मल्लले नेपाल उपत्याकामा समेत हमला गरी त्यहाँका राजा जयरुद्र मल्ललाई मारेका थिए। यिनका छोरा पुण्य मल्लले जुम्ली नाग वंशीय प्रतापी राजा प्रताप मल्लको सन्तान नभएकाले अपुताली राज्य समेत प्राप्त गरेका थिए। आदित्य मल्लले आफ्नी छोरी र कन्नोजका राजकुमारबाट नाति देवचन्द्र जन्मे पछि नातिलाई आछाम बूढी चर्पूकोटको राज्य दिइ 'बम" पद समेत दिन्छन। पछि मामा पुण्य मल्लले भान्जालाई शाही पद समेत दिन्छन। यसरि चन्द्र वंशीय रायठौर बम शाही कहलिन थाल्दछन।

पालवंशी राजाहरु हिन्दु बौद्ध दुवै धर्म मान्दथे। शाहीहरु भने हिन्दु धर्म मात्र मान्दथे। पुण्य मल्लका छोरा पृथ्वी मल्ल ठुलो धर्मात्मा राजा निस्के । राज्यसंचालनमा भन्दा धर्मकर्ममा यिनको बेशी रुची हुदा आफ्नो शासनकालमा धेरै धार्मिक कार्य, पुण्य कर्म गरेका छन्। यिनका खन्जन माला र शकुन माला नामका दुईटी रानी थिए, दुवै तिर सन्तान हुदैनन्। आखिर उनले क़्विनप्रिय शाही नाम धारण गरेका देवचन्द्र शाहीका छोरा भिम शाहीलाई जुम्लाराज्य पनि दिए र आफू रानीहरुलाई समेत लिई विक्रम संवत १४१७ तिर बद्रि तपोवन तर्फ लागे। (बम शाही र कल्याल शाही दुबैका वंशावलीले यस कुरालाई समर्थन गरेको छ - मोहनबहदुर मल्ल) । यसरि पाल मल्लको समग्र कर्णाली क्षेत्र माथि रहेको राज्य शासन छोरी तर्फका सन्तान वम शाहीलाई प्राप्त भएको देखिन्छ ।

भिम बम पछि उनका छोरा मलेबम विक्रम संवत १४२९ तिर जुम्लाको राजगद्धीमा बसे। यिनले पुराना राजाहरुले शित कालिन दुर्लुङ्गनगर (दुल्लु) र ग्रिष्म कालिन गेला राजधानी बनाउने परम्परालाई बदलेर खाँडाचक्र भन्ने ठाउँमा स्थाई दरवारको रुपमा स्थापना गरेका थिए। खाँडाचक्र हालआएर कालिकोट जिल्लामा नगरपालिकाको रुपमा बिध्यमान छ। मलेबमले कसैले चलाउन नसकेका कतिपय राज्य रजौटाहरूलाई पनि जितेर सम्पूर्ण कर्णाली प्रदेश भरिनै शासन गरेका थिए। यिनले तराई देखि खाँडाचक्र सम्म हात्ती हिड्ने बाटो बनाएका थिए। रैकासाधुको अभिलेखमा यो कुरा उल्लेख गरिएको छ। यिनका चार भाई छोराहरु थिए। जेठी रानी पट्टि मेदनी जसलाई जगती पनि भनिएको पाईन्छ र पिताम्बर दुईभाई र यसरिनै कान्छी रानी पट्टि पनि सुमेरु र संसारी दुईभाई छोराहरु थिए।

विक्रम संवत १४४९ मा बाबुको अन्त्यपछि मेदनी बम राजा भए। यिनको अधिनमा ४६ सामन्तहरु थिए। आजको सम्पूर्ण कर्णाली प्रदेश तत्कालिन जुम्ला राज्यको भूभाग रहेको थियो। तर मेदनी बमले बिशाल जुम्ला राज्यलाई पाँच भाग लगाई चार दाजुभाई र बहिनी ज्वाईलाई समेत एक भाग दिए। बीचको भाग आपनो नामबाट बनाएको जगतीपुर(जाजरकोट) आफुले लिए भने, पूर्व पट्टिको रुकुम माहिला भाई पिताम्वर दिए। यसरीनै दक्षिण पट्टिको सल्यान साहिला भाई सुमेरुलाई दिए भने पश्चिम तिरको विलाशपुर् (दैलेख ) कान्छा भाई संसारीलाई दिए। उत्तर पट्टिको जुम्ला चाहिं ज्वाई बलिराजलाई दिए। ज्वाईंलाई यत्रो बिशाल राज्य दिएको देखेर प्रजाले मेदनी राजाको तारिफ गरि गीतनै बनाई गाउन थाले

धन्य धन्य मेदनी बम्ब धन्य तम्रो हियो।
सात दिन्को हिड्ने बाटो दताब्यमा दियो।।


मले बमका माहिला छोरा पिताम्बर पछि रुकुमका राजा उनका छोरा जैतु बम राजा हुन्छन। जैतुले पनि रुकुमको बन्दोबस्तीको उन्नतीको लागि वाबुले झैँनै मेहनेत गर्छन। खेतिपाती,पशुपालन, सिलाईबुनाइमा रुकुमले प्रगति गरेको देखेर रुकुम पूर्वका निसेल भुजेल भनिने चारहजार पर्वतका मगरहरु लोभिन पुग्छन।

पर्वतका पुराना बासिन्दा मगरहरु बेग्ला बेग्लै समयमा चारै दिसाबाट बेग्ला बेग्लै जातिहरु आई पर्वतमा भरिएका हुन्। जसरी काठमान्डू उपात्यकामा विभिन्न जाति आई नेवार जातिमा परिणत भए, त्यसरी नै गण्डकी प्रदेशमा विभिन्न जातिहरु आई मगरमा परिणत भएका हुन। यो जाति तिब्बतमा भृकुटीले तिब्बतमा गई बुद्ध धर्म प्रचार गर्नु भन्दा पहिले देखि गण्डकी प्रदेशमा आई बसोवास गर्न थालेको कुरा ईतिहांसविदहरु बताउछन।

आठौँ, नवौं शताब्दिदेखि मगरहरु पशुपालनबाट खेतिपातीमा प्रवेश गरेतापनि खेतिपाती गर्ने ज्ञानको अभावमा एकठाउँबाट अर्को ठाउँमा उनीहरु सरिरहन्थे। जंगलमा डढेलो लगाई बोटबिरुवा डढाली जमिन खाली गराएर त्यसमा खेति गर्दथे र अर्को साल अन्यत्र सरि त्यसै गर्दथे। यसरी जंगल नासिनेक्रम बढ्दो र उनीहरुको लागि खेति योग्य जमिन बर्षेनी कम हुदै जादै थियो। रुकुमेलीले एकै ठाउँमा मलजल गरी उत्पादन राम्रो गर्दथे र सरिरहने झन्झट उनीहरुलाई थिएन। मगरहरुले जनावरका छाला लगाउथे भने रुकुमका जनताले कपासको खेती गर्ने, जल खेती गर्ने, कपास र जनवारका रौँको धागो काती कपडा बुन्न पनि सिकेका थिएर त्यही लगाउँथे। काठ र धातुका भाडाकुँडा निर्माण र प्रयोग गर्न समेत जानेका थिए। जबकी निसी भुजीका मगरहरु यी सीपबाट अनभिज्ञ थिए। उनीहरुको जीवन कष्टकर थियो। रुकुमका वासिन्दाको जीवन धेरै व्यवस्थित थियो । त्यहाँका जनताहरुको स्थायीरुपमा घरगोठ ब्यवास्थिथित थियो र सबैको खुसहाली थियो। यसबाट निसेल भुजेलहरु लालायित भएका थिए, आफुहरुको पनि रुकुमका जनताहरु कै जस्तो उन्नति खुसहाली र सहज जीवन हुने विश्वास गरी आपसमा सल्लाह गरि भुजेल मुखियाहरुले जैतु बमका नाबालक छोरा आनंपृय(आनन्द) बमलाई मागी ल्याएर राजा बनाएका थिए ।

(१) आनन्द प्रिय बम विक्रम संवत १५१० मा निसी भुजी चारहजार पर्वतका राजा बने। आनन्द बमको शासन काल २० वर्षको मानिएको छ।

(२) चन्द्र वम, यिनी विक्रम संवत १५३०-३१ तिर राजा बनेका थिए। आनन्दका छोरा चन्द्र बमको शासन काल जम्मा १० -१२ वर्षको मानिन्छ चन्द्रका छोरा डिम्वका नामले प्रख्यात दिलिप बम, चन्द्र बमका दुई रानीहरु मध्य मुसिकोटे पट्टिका डिम्व बम थिए।

(३) डिम्व बम- राजा डिम्व बमका दुई छोराहरु थिए, युवराज नाग बम र नरसिंह ।

(४) नागबम मल्ल, युवराज मै मृत्यु

(५) प्रतापी नारायण मल्ल वि.सं. १५९०, मा राजा भए।

(६) राजवम मल्ल वि.सं.१६३१ मा राजा भए।

(७) शिव मल्ल १६४५ मा राजा भए।

(८) नाग मल्ल, द्वित्तीय १६५५ मा राजा भए।

(९) नारायण मल्ल १६ ७९ मा राजा भए।

(१०) शाहीवम मल्ल वि.सं.१६९०मा राजा भए।

(११) घनश्याम मल्ल वि.सं.१७१५-दिवंगत १७४३

(१२) मले वम मल्ल - मले बमले विक्रम संवत १७९१ मा आफ्ना छोरा शाहबमलाई राजगद्धीमा बसाली आफु काँशी वास जान्छन। उनको काँशीमै विस १७९३मा देहावसान हुन्छ।

(१३) शाहवम मल्ल वि.सं.१७९१मा राजा भए।

(१४) कीर्तिवम मल्ल वि.सं.१८१५मा राजा भए।

नागबम मल्ल युवराज छदै मृत्यु भएको कुरा ईतिहासमा उल्लेख पाईन्छ ।

पिता राजा दिलिप (डिम्व)को शासन कालमा उनले बाबुको शासनकाललाई सुद्रिढ,सम्पन्न मात्र होइन यसको बिस्तार गराउन पनि ठूलो भूमिका निभाएका थिए। जसको कारण पर्वत राज्यले आफ्नो सिमा मात्र बढाएँन कृषि,ब्यापारमा पनि फड्को मार्यो। उनी शाहसी र चतुर युवा व्यक्तित्वका धनी थिए– नाग वम युवराज छदै उनलाई दिल्लीका मुगल सम्राट मोहमद सिकन्दर लोधी (लोधीको शासनकाल विसं १५४६-१५७४)को दरवारमा पर्वत राज्यको तर्फबाटआफ्नो राज्यमा हुने कस्तुरीको बिना, डाँफे मुनाल, बाज, न्याहुर, चितुवाको छाला र पश्मिनाको सल आदि सौगात उपहार दि पुर्र्याउन उनका बाबु राजा डिम्व बमले पठाएका थिए । त्यस बेला पांच-पांच वर्षमा सिर्तो(उपहार ) लैजाने चलन थियो, यस वापत पर्वतेहरुले नयाँ सीप सिक्ने र औजारहरु प्राप्त गर्दथे । सोहि बेला उपाहार लिएर आएका पाहुना युवराज नाग बमलाई राज्यका नामुद पहलवानहरुको कुस्ती देखाउने सिकन्दरले चाँजो मिलाए। युवराजले निकै चाख लिइ कुस्ती हेरेको देखेर-"तिमी पनि कुस्ती खेल्नेकि ?" भनी लोधीले सोध्दछन। "हजुरको राज्यको सबै भन्दा बेशी कहलिएको पहलवान पाए उसंग खेल्ने" भनि कसिलो र फुर्तिलो शरीर भएका युवराजले जवाफ दिएछन। युवराजको चाहाना अनुसारको पहलवान झिकाई कुस्ती शुरु हुन्छ। उक्त पहलवानले यो पहाडियालाई उचालेर एकै पटकमा चित पारी दिन्छु भनेर सोची नागबमको टाङ्गमुनि टाउको घुसारेछ। बिजुली जस्तै फुर्तिला नागबमको पालो आफ्ना दुवै साँप्राले पहलवानको घेक्रो अठ्याई पछाडि हात लगी दुवै पन्जाले टाउको निचारी गिदिनै निकाली दिएछन। यसरि लोधीको देशको नामुद पहल्वानको ईहलिला सकिएछ। लोधीले, कहलिएको नामूद पहलवानलाई कुश्तीमा टाउको पक्री गीदी निकाली मारेकोले सोहि समयमा 'मल्ल' भनी नाग वमलाई पदवी दिइएका थिए। कुनै पनि विजेतालाई 'मल्ल' पदवी दिईने पहिले देखिकै चलन रहेकोले पहलमानीमा बिजयी भै मान पदवी पाएर नाग वमले आफ्नो नामको पछि 'मल्ल' लेख्न शुरु गरे । यद्यपि उनको युवराजकालमै मृत्यु हुन्छ तर उनका छोरा प्रतापी नारायण मल्ललाई आफु जिउँदो हुदै राजा डिम्वले शासन सुम्पनछन। यसरी युवराज नाग वमदेखि सबै पर्वते राजाका सन्तानहरु वम शाही हुदै आखिर 'मल्ल' थरले नै चिनिन थाले। ईति :

cpnsharan@gmail.com
Jordan Springs, Sydney, Australia

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif