Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले मुस्लिम समुदायसंग माफी माग्नुपर्छ !


२०७७ कार्तीक १२ गते , बुधवार प्रकाशित

 


शाहिदा बानों 
बांके
आफ्नो धर्म संस्कृति र आस्थालाई अवलंबन गर्ने या नगर्ने हरेक व्यक्तिको अधिकार हो । तर  साम्प्रदायिकता फैलाउने उद्देश्यले कसैको धर्म, संस्कृति,आस्थामाथि ठेस पुर्याउने, अपमान गर्ने खालका गतिविधि गर्नु अभिव्यक्ति स्वतन्त्रता कदापि होईन बरु त्यसको दुरुपयोग हो । इस्लाम धर्मलाई बदनाम गर्ने र मुस्लिम समुदायको आस्थामाथि ठेस पुर्याउने कार्य पटक पटक विभिन्न देशका विभिन्न व्यक्तिले दुस्साहस गर्दै आएका छन् । जबकि मुस्लिम समुदायले एकेश्वरवादमा विश्वास गर्छ जहां अल्लाहको कुनै आकृति छैन  । कुनै आकार छैन, अल्लाह निराकार  र अल्लाहका अन्तिम सन्देष्टा पैयम्बर हजरत मुहम्मद सल्लाहो अलैहे वसल्लमको पनि कुनै आकृति वा तस्वीर छैन । उहांको जीवनी सम्पूर्ण मानव समुदायका लागि उदाहरण हो । उहां संसारमा “रहमतुल लिल मुसलेमीन“ अर्थात मुस्लिमका लागि मात्र रहमत भएर आउनु भएन ,  उहां रहमतुल लिल आलामीन अर्थात संसारकै लागि रहमत भएर आउनुभयो । उहांमाथि अवतरित इस्लामको धर्मग्रंथ पवित्र कुरानपाक मात्र मुस्लिमका लागि नभइ सम्पूर्ण संसारकै लागि मार्गदर्शक एंव संविधान हो जसभित्र मानवहित, मानव उत्थान , राम्रो आचरण, उचित न्यायको व्यवस्थाका साथै संसारलाई चलाउन आवश्यक हरेक कुरा उल्लेख छ । जसलाई उहांले किताबमा मात्र सीमित नराखी व्यक्तिगत जीवनमा लागु गरेर उदाहरण दिनुभयो । अरु व्यक्तिले एक समयमा एक कुरामा सुधार गर्न पहल गरे तर उहांले एक समयमा सबै क्षेत्रमा सुधार गर्नुभयो । जुन पुजींवादले गरीबलाई झन् गरीब र धनीलाई झन् धनी बनाउंछ त्यसलाई हटाउन ब्याजलाई अल्लाहकै आदेश अनुसार हराम करार दिनुभयो । जुन छोरीलाई जिउदैं माटोमा पुरिन्थ्यो ती छोरीहरुलाई जीवन दिनुभयो रहमत भनेर, जुन महिलाको मूल्य जुत्ताको एक डोरी बराबर थियो ती महिलाको गरिमा बढाउन अल्लाहको आदेशले स्वर्ग उसको पैतालामुनि राख्नुभयो ।


उहांकै बारेमा अमेरिकी नागरिक माइकल एच हार्टले पनि लेखे । उनले १९७८ मा ‘दि हण्ड्रेड’ नामक पुस्तक लेखे जुन पुस्तकमा १०० जना विश्वकै सर्वाधिक अति प्रभावशाली व्यक्तिहरूको जीवन प्रस्तुत गरेकाछन् । उनले उल्लेख गरेका सबै प्रभावशाली व्यक्तिहरूलाई उनीहरूको विचार, लक्ष्य, व्यक्तिगत आचरण, सामाजिक न्याय, मानव समुदायको उत्थान र विकासका लागि  उनीहरूले खेलेको भूमिका बारे अध्ययन र विश्लेषण गरी  प्राथमिकता क्रममा राख्दा पैयम्बर मुहम्मद मुस्तफा सल्लाहो अलैहे वसल्लमलाई पहिलोमा राखे ।


जहां विश्व भरी नै इस्लाम धर्म मान्ने मानिसहरु छन् । त्यहीं सामप्रदायिकता फैलाइ वैमनस्यता र अशान्ति फैलाउने सैतानी मानसिकताका सर्पहरु पनि पटक पटक फण उठाउदैं आएकाछन् ।


 यसभन्दा अघि होलैंडले यस्तै खाले दुष्साहस गरेको थियो जसको विश्वभरी नै विरोध गरिएको थियो । अहिले फ्रान्सका राष्ट्रपतिद्वारा इस्लाम धर्मको अन्तिम सन्देष्टा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कार्टून बनाउनेलाई प्रोत्साहित गरी स्वयं कार्टूनलाई सरकारी भवनमा राखेर प्रदर्शनीको रुपमा देखाउने दुष्साहस गरिएको छ । जसको विश्वभरी नै विरोध प्रदर्शन भइरहेछ र म स्वयं पनि यस घट्नाको घोर निन्दा गर्दछु ।
तर लाज पचेका मुस्लिम समुदायका नाममा पद र सेवासुविधा भोग गर्ने,  मुस्लिम मुद्दा बेचेर जीविकोपार्जन गर्ने, हरेक कुरामा विज्ञप्ति निकालेर आफ्नो दायित्व पूरा भएको र विज्ञप्ति निकालेर कति नै ठुलो गुण लगाएको भनी सोच राख्ने, व्यक्तिगत र भौतिक रुपमा घटनास्थलमा उपस्थिति न जनाउने  र पनि मुस्लिम समुदायको ठेकदार हुं भन्नेहरुले जिउदाें मुस्लिम समुदायमा र मरेपछि अल्लाहको सामु  कुन मुख लिएर जानेछन् । जब मुस्लिम मुद्दा र समस्या बारे एक शब्द चुईक्क बोल्दैन् ।


सुन्धाराको मदनी मश्जिदमा तोडफोडको घटना होस् वा सो घटना सेलाउन नपाउदैं भैरहवाको मस्जिदमा आक्रमण होस् । यही मिति २०७७ कार्तिक ९ गते आइतबार राति करिब ३ बजेतिर मोटरसाइकलमा आएका अज्ञात समूहले मस्जिदमा तोडफोड गरेको हो । स्थानीय समुदाय र वडा अध्यक्ष राजन जंग राणाका अनुसार नगरपालिका वडा नम्बर ८ बस्देलिया गाउँमा अवस्थित मदनी जामा मस्जिदमाथि आक्रमण गर्न मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरु थिए उनीहरुले मस्जिदको झ्याल फुटाएर त्यहाँ रगतका तीनवटा टिका लगाए छन् । यसका साथै  पैगम्बर मुहम्मद मुस्तफा सल्लाहो अलैहे वसल्लमको शान व अजमतमा फ्रांसले गरेको गुस्ताखाना हर्कत होस् कुनै पनि विषयमा बोलेको देखिएन । 
सुन्धाराको मदनी मश्जिदको मर्मतका लागि मुस्लिम आयोगका अध्यक्ष समीम मिंयाको अग्रसरता देखियो तर भैरहवाको मश्जिदका विषयमा कसैले केही गरेको छैन । यहांसम्म कि यस कार्यको निन्दा समेत गरेका छैनन्, दोषीको खोजबिन र सजायको कुरा त परै जाओस् । मश्जिद जस्तो आस्थाको केन्द्रमाथिको यो आक्रमणका विषयमा पनि एक शब्द नबोल्नुको कारण के होला ?  

जसको कलिमा पढ्छन् तिनको गरिमा घटाउने दुष्साहस गर्ने एम्यानुएल म्याक्रोंको निन्दा गर्न नसक्नु दुर्भाग्य नै हो । मुस्लिम अगुवाहरुले फेविकोल खाए होलान् तर मुस्लिम समुदायको इमान अझै जीवित छ जसले गर्दा यो समुदायले गलत कार्यको सदैव निन्दा गर्नेछ । 
मुस्लिम अगुवाहरु मात्र मुस्लिम समुदायको नाम र कोटामा अवसर लिनका लागि अगाडि सर्छन् । तर मुस्लिम समुदायको मुद्दामा  सेल्फीधारी मुस्लिम अगुवा र नेतृत्वकर्ताहरु कुन्नि कता हराएर जान्छन् । यी अवसरवादी सेल्फीधारी मुस्लिम अगुवाहरुको मनमा अलि कति पनि अल्लाहको डर बाकी छ भने अल्लाहका रसूल हजरत मुहम्मद मुस्तफा सल्लाहो अलैहे वसल्लमका शानमा गुस्ताखी गर्ने विरुद्ध कम्तिमा लेखेर बोलेर आफ्नो इमान जीवित रहेको भनी प्रमाणित गरुन् ! अनि सबैले लेखून् कि फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले सम्पूर्ण मुस्लिम समुदायसंग माफी माग्नुपर्छ भनेर  । यस घृणित दुष्कर्मको निन्दा समेत गर्न नसक्ने हाम्रा कथित अगुवाहरु । यति पनि गर्न नसक्ने हो भने आफुलाई मुस्लिम समुदायको अगुवा वा मुस्लिम न भने नि हुन्छ !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif