Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

बढ्दैछ पूँजीको सान्दर्भिकता


२०७७ कार्तीक ६ गते , विहीवार प्रकाशित



  लोकनारायण सुवेदी

  विश्वविख्यात दार्शनिक तथा विश्वलाई आमूल परिवर्तनको दिशाबोध गराउने विश्वका अतुलनीय नेता कार्ल माक्र्सको अमर कृति ‘पुँजी’ अर्थात् ‘दास क्यापिटल’को पहिलो खण्ड आजभन्दा १४७ वर्ष पहिले जर्मनेली भाषामा छापियो । यसको एक हजार प्रति मात्र पाँच वर्षको समयमा बिक्न सक्यो । यसको अंग्रेजी अनुवाद आउन पनि २० वर्ष लाग्यो । त्यसपछि यसको विक्री भने निकै बढ्यो । सेप्टेम्बर १८४७ देखि निरन्तर छापिने गरेको त्यस बेलाको साप्ताहिक पत्रिका ‘दि इकोनोमिस्ट’ मा मार्क्सको देहावसानको धेरै दिनपछि १९०७ मा मात्र यसको उल्लेख छ । वास्तवमा मार्क्सको जीवन कालमा ‘पुँजी’ को पहिलो खण्ड मात्र छापियो । उनको देहावसानपछि उनका अनन्य मित्र तथा सहयोगी एंगेल्सले पुँजीका तीनवटा अन्य खण्डहरू (यदि अतिरिक्त मूल्यको सिद्धान्त अर्थात् ‘थ्योरी अफ सरप्लस भ्यालु’लाई पनि यसमा सामेल गर्ने हो भने) को सम्पादन तथा प्रकाशन गर्ने महत्वपूर्ण काम गरे । आफ्नो महत्वपूर्ण कृतिमा मार्क्सले सामन्तवादबाट पुँजीवादतर्फ संक्रमणको प्रक्रियालाई विस्तारपूर्वक उल्लेख गरेका छन् । यसमा आदिम सञ्चयको प्रक्रियामाथि उनले विशेष रूपमा प्रकाश पारेका छन् । गाउँबाट शहरतर्फ पलायन भइरहेका मजदूरहरूमाथि उनले विशेष ध्यान केन्द्रित गरेका छन् जुन मजदूरहरूको कुनै निजी सम्पत्ति थिएन । उनीहरूसँग केवल मेहनत गर्ने क्षमता मात्र थियो । पुँजीपतिहरूले आफ्ना कल कारखानाहरूमा ती मजदूरहरूलाई काममा लगाउँथे र तिनबाट उत्पन्न मूल्यको अधिकांश हिस्सा हडप गर्ने गर्दथे । हुन पनि मजदूरहरूलाई आफ्नो पेट पाल्न त्यतिबेला अत्यन्तै कठिन थियो । यसकारण उनीहरूले आफ्ना पत्नीहरू र ससाना बालबालिकालाई पनि काममा लगाउन विवश हुनु परिरहेको थियो । यी सबै कुरा माक्र्सका घनिष्ठ मित्र एंगेल्सका ती किताबमा देख्न सकिन्छ जुन कुरा त्यतिबेला उनले इंगल्यान्डका मजदूर वर्गको स्थितिका बारेमा लेखेका थिए । यतिबेला त्यसभन्दा धेरै पछि अर्थात् हालैका घटनालाई नियालौं । फ्रान्सका अर्थशास्त्री थोमस पिकेट्टीले आफू ४३ वर्षको हुँदा एउटा किताब लेखे । जसको शीर्षक छ  : ‘क्यापिटल इन द ट्वेन्टी फस्र्ट सेञ्चुरी’ अर्थात् ‘एक्काइसौं शताब्दीमा पुँजी’ । त्यसको प्रकाशन गतवर्ष भयो र हालै मात्र गएको मार्च महिनामा त्यसको अंग्रेजी अनुवाद पनि हार्डभर्ड युनिभर्सिटी प्रेसबाट प्रकाशनमा आयो । त्यसको अनुवादक हुन् आर्थर गोल्ड ह्याम्मर ।

  आजको पश्चिमा विश्वमा बढ्दो आर्थिक विषमतामाथि लेखिएको यो एउटा अतुलनीय किताब मानिएको छ । भनिरहनु नपर्ला पिकेट्टीले माक्र्सको अध्ययनलाई अगाडि बढाए । उनको किताब ६९६ पृष्ठको छ । अमेरिकामा आज यो कितावले उधूम मच्चाएको छ र यो कुनै पनि उपन्यासभन्दा बढी बिक्री भइरहेको छ । आर्थिक विषमतामा निरन्तर भइरहेको वृद्धिलाई रेखांकित गरेर त्यसलाई आजको विश्वको सबैभन्दा ज्वलन्त समस्या भनिएको छ । वास्तवमा वर्षौंसम्म अमेरिकीहरूले भन्दै आए कि आर्थिक विषमताको समस्या युरोपेली समस्या हो, जहाँ सम्पन्न र विपन्नहरूबीचको खाडल निरन्तर बढ्दै गइरहेको छ । अमेरिकामा बाहिरबाट आएका मानिसहरूले पनि धनवान् बन्ने ‘अमेरिकी सपना’ देख्न सक्तछन् र तिनलाई यसरी सम्पन्नताको दिशामा अघि बढ्न कुनै रोकावट हुँदैन । कुनै बेला साइमन कुज्नेत्सले ‘कुज्नेत्स वक्र(कुज्नेत्स कर्भ)को माध्यमले यो कुरा बताउने कोशिस गरेका थिए कि औद्योगीकरणको आरम्भमा आर्थिक विषमता बढ्छ तर अगाडि गएर यो विषमता तीव्ररूपले घट्ने गर्दछ । सन् १९७१ मा कुज्नेत्सलाई नोबेल पुरस्कारले सम्मानित पनि गरिएको थियो । उनको यो प्रक्रियालाई ‘घण्टी’(बेल)को आधारमा देखाइएको थियो । त्यसमा के भनिएको थियो भने गाउँबाट लगातार मजदूरहरू शहर आउने भएकाले मजदूरहरूको कुनै कमी हुदैन । यसकारण पुँजीपतिले उनीहरूलाई कमभन्दा कम मजदूरी दिन्छन् र मजदूरहको मोलतोल गर्ने क्षमता धेरै कम हुन्छ । तर काल क्रममा एकातिर जहाँ रोजगारीको अवसर बढ्छ त्यही गाउँबाट शहर आउने मजदूरहरूको संख्या घट्छ र तिनको मोलतोल गर्ने क्षमता बढ्छ । परिणामस्वरूप राष्ट्रिय आयको वितरणले विषमतालाई घटाउँछ । कुज्नेत्स वक्र ‘घण्टी’ अर्थात् अंग्रेजी अक्षर ‘यू’लाई उल्टाउँदा प्राप्त हुन्छ तर पिकेट्टीले कुज्नेत्सको यो वक्र सिद्धान्तलाई खारेज गरिदिए । उनका अनुसार वस्तुतः राष्ट्रिय आयको वितरण अंग्रेजी अक्षर ‘यू’लाई सीधा राख्नाले प्राप्त हुन्छ । आयको वितरणको विषमता निरन्तर बढ्दै जान्छ ।

पिकेट्टीले तथ्यांक प्रस्तुत गर्दै बताएका छन् कि १९७० को दशकपछि आयको वितरणमा आएको विषमता पुनः बढ्न लाग्यो । १९८० को दशकपछि अमेरिका, जापान र यूरोपमा मात्र होइन अन्यत्र पनि आयको वितरणको विषमतामा वृद्धि हुन थालेको छ । स्पष्टतः यसरी पिकेट्टीले कुज्नेत्स वक्रलाई नकारिदिए । उनले तथ्यांक अघि सार्दै बताए कि आयको वितरणको विषमतालाई अंग्रेजी अक्षर ‘यू’को माध्यमले देखाउन सकिन्छ । आरम्भमा आय वितरणमा विषमता निश्चय नै घटेको देखिन्छ । तर केही समयपछि यो विषमता निरन्तर बढ्दै जान्छ । अर्थशास्त्री पिकेट्टीको के मान्यता छ भने पुँजीवादको कालखण्डमा विषमता घट्ने कुरा कसैले दावी गर्न सक्तैन। कीन्सद्वारा कल्याणकारी राज्यलाई बढावा दिने कार्य पहिलो र दोस्रो विश्वयुद्ध तथा श्रमिक आन्दोलन त्यतिबेला सबल हुनुको परिणामस्वरूप नै १९१४ देखि १९७४ बीच लागेको थियो कि विषमता कम भइरहेको थियो तर त्यसयता नव उदारवादको बाटो लिएपछि विषमता तीव्र गतिले बढ्न थालेको छ र त्यो लगातार बढ्दै गएको छ । श्रम सुधारको नाममा मजदूर संगठनको शक्ति घटाउने काम गरिदै आएको छ । पिकेट्टीले औंल्याएका छन् कि पुँजीलाई प्राप्त हुने प्रतिफल सामान्यतया आर्थिक समृद्धिको दरभन्दा बढी हुने गर्दछ । यसै कारण काल क्रममा धनवान या पुँजीपतिहरूको सम्पत्ति बढ्दै जान्छ जसबाट समाजमा आर्थिक विषमतामा लगातार वृद्धि हुँदै जान्छ । पिकेट्टीको के सुझाव छ भने सम्पत्तिमाथि सारा संसारमा भूमण्डलीय कर(ट््याक्स)को प्रावधान हुनुपर्दछ । जसबाट विश्वव्यापीरूपमा व्याप्त विषमतालाई कम गर्न सकियोस् । उनको के दावी पनि छ भने विषमतामा वृद्धिको कारण समाजमा अस्थिरता पैदा हुन्छ । कतिपय मानिस के मान्छन् भने सम्पत्तिको पुनर्वितरणका कारण आर्थिक समृद्धि पूर्णरूपले प्रभावित हुनेछ तर पिकेट्टी यस कुराको खण्डन गर्छन् ।

  आफ्नो निकै मोटो किताबमा पिकेट्टीले तीन कुरामा विशेष जोड दिएका छन् । पहिलो कुरा, बितेको तीन सय वर्षको कालखण्डमा युरोप र अमेरिकासँग जोडेर ती तथ्यांकका आधारमा समाजमा व्याप्त आर्थिक विषमतालाई मापन गर्ने कोशिस गरियो । यसमा उनले के पनि रेखांकित गरेका छन् भने १९१४ देखि लिएर १९७० सम्मको कालखण्ड अनेक कारणले गर्दा यसको अपवाद रह्यो । मैले ती कारणको उल्लेख पहिला नै पनि गरिसकेको छु जसबाट आर्थिक विषमतामा तीव्र वृद्धि भएन । तर विरासतमा प्राप्त भएको सम्पत्तिले यो विषमतालाई बढाउनमा ठूलो योगदान दियो । १९५० को दशकमा फान्समा विरासतमा मानिहरूलाई सफल घरेलु उत्पादनको पाँच प्रतिशतभन्दा पनि कम प्राप्त भयो जबकि १९७० को दशकमा १५ प्रतिशतभन्दा कम प्राप्त भयो

दोस्रो ध्यान दिनैपर्ने कुरा के छ भने उनले पुँजीवाद सम्बन्धि एउटा सिद्धान्त प्रस्तुत गरेका छन् जसले विषमतासँग जोडिएका विभिन्न कारणलाई प्रष्ट पार्दछन् । उनले स्पष्ट शब्दमा भनेका छन् कि सम्पत्तिको वितरणमा व्याप्त विषमता समाजका लागि धेरै घातक हुनेछ । उनले के चेतावनी पनि दिएकाछन् भने हामीले नवउदारवादको जुन बाटो पक्रिएका छौं त्यो घातक सिद्ध हुनेछ । ‘दि इकोनोमिस्ट’(३ मई २०१४) का अनुसार उनको प्रमुख दाबी के भने स्वतन्त्र बजार व्यवस्थाको स्वभाविक प्रकृति सम्पत्तिको केन्द्रीकरणलाई बढावा दिनेहुन्छ । किनभने सम्पत्ति र लगानीमा प्राप्त हुने प्रतिफलले आर्थिक समृद्धिको दर उच्च हुन्छ । दुइटा विश्वयुद्ध, महामन्दी र उच्च करले बीसौं शताब्दीमा सम्पत्तिमा मिल्ने प्रतिफल कम गरिदिएको थियो, जब उत्पादकत्व र जनसंख्यामा तीव्र वृद्धिले आर्थिक समृद्धिलाई प्रोत्साहित ग¥यो । अगाडि गएर जनसंख्यामा वृद्धहरूको संख्या बढी हुनाले आर्थिक समृद्धिको दर सुस्त हुन सक्तछ । अनि त्यसबाट पुँजीका लागि मिल्ने प्रतिफल बढ्न सक्तछ । यो निष्कर्षमा पिकेट्टी बितेको जमानाको तथ्यांकका आधारमा पुगेका हुन् । पिकेट्टीले जुन तेस्रो कुरा औंल्याएका छन् त्यो हो पुँजीमाथि प्रगतिशील भूमण्डलीय कर लगाउने सुझाव । यसको पनि उल्लेख पहिले नै भइसकेको छ । कतिपयले यो सुझावलाई अव्यावहारिक मान्दछन् र खारेज गर्न पनि थालेका छन् । पिकेट्टीको पुस्तकको समीक्षा गर्दै नोबेल पुरस्कारले सम्मानित पाल क्रुगम्यानले ‘द न्यूयोर्क रिभ्यू अफ बुक्स(मई ८) मा यो प्रश्न प्रस्तुत गरेका छन् कि हामी एउटा नयाँ सुनौलो युगमा किन पुगिसकेका छौं । स्मरण रहोस् यस्तो पहिलो सुनौले युग अमेरिकामा १८६० को दशकमा शुरु भएर पहिलो विश्वयुद्धसम्म चल्दै रह्यो । त्यतिबेला नवोदित पुँजीपतिवर्र्ग जसलाई ‘‘रबर ब्यारेन्स’’ भनिन्छ, तिनले अमेरिकालाई लुटे । क्रुगम्यानको के मान्यता छ भन्ने लाग्दछ भने पुरानो कालखण्ड तत्काल फिर्ता आइरहेको छ । किनभने एक प्रतिशत जनसंख्याकै हरेक ठाउँमा चल्ती छ । पिकेट्टी र उनका सहयोगीहरूले त्यस्ता सांख्यिकीय प्रविधिलाई प्रस्तुत गरेका छन् जसको आधारमा हामी सुदूर अतीतदेखि लिएर अहिलेसम्मको आय र सम्पत्तिको संकेन्द्रणको अनुमान लगाउन सक्छौं ।


  यद्यपि कतिपय अर्थशास्त्री यस कुरालाई लिएर क्रुद्ध पनि छन् । उदाहरणका लागि शिकागो विश्वविद्यालयका अर्का नोबेल पुरस्कारबाट सम्मानित प्रो. रबर्ट लुकासले आय र सम्पत्तिको बढ्दो केन्द्रीकरणलाई औंल्याउने कुरालाई घातक मानेका छन् । उनी के चाहन्छन् भने त्यतातिर ध्यान दिइनु हुँदैन । क्रुगम्यान मान्दछन् कि पिकेट्टीले साँच्चै नै एउटा उत्कृष्ट किताब लेखेका छन् । यस किताबको दृष्टि फलक धेरै नै विस्तृत छ । उनी बाल्जाक र जेन अस्टिनका औपन्यासिक कृतिको पनि उल्लेख गर्दछन् । बाल्जाकको किताव ‘ओल्ड गोरियो’ र ‘सीजर बिरोत्यु’ तथा आशेनको कृति ‘मेन्सफिल पार्क’को विशेषरूपले उल्लेख गर्दछन् । सन् १९८० को दशकपछि आर्थिक समृृद्धिको प्रतिफल समाजमा उपल्लो तहमा रहने केही मुठ्ठीभर मानिसलाई मात्र प्राप्त भयो । तल्लो तहमा रहेका मानिसको स्थिति अझ खस्किदै र बिग्रँदै गयो । कर्पोरेट सेक्टरको मुनाफामा अतिमन्दीको कालक्रम शुरु भएपछि तीव्र गतिले वृद्धि भएको छ । पुँजीमाथि प्राप्त हुने प्रतिफल श्रमिकलाई प्राप्त हुने आयको तुलनामा कैयौं गुणा वृद्धि भएको छ । यसले दास क्यापिटलको सान्दर्भिकता र महत्वलाई अझ उजागर गरिदिएको छ ।

साभार :
गोरखापत्र २०७१ कार्तिक ५

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif