Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

कोरोना कालमा गरीब झन गरीब धनी झन धनी किन ?


२०७७ कार्तीक ३ गते , सोमवार प्रकाशित


—लोकनारायण सुबेदी


बिश्वमा  सधै कुनै सफलताको मात्रै चर्चा परिचर्चा हुने गर्दैन । असफलता र बर्बादीले पनि कुनै समयमा बहुतै ठूलो चर्चा पाउने गर्दछ । अहिले कोरोना कालमा बढ्दो गरीबी र असमानताले बिश्वब्यापीरुपमा त्यस्तै चर्चा पाएको छ ।

  आज जब कोरोना महामारी फैलियो यस काल खण्डमा गरीब अझ गरीब बन्दै गए र गइरहेका छन् भने मुठ्ठीभर सम्पन्नशालीहरु अझ सम्पन्न बन्न पुगे र पुगिरहेका छन् ।बर्तमान आर्थिक परिदृयमा ती मुठ्ठीभर सम्पन्नशालीको होइन, तिनको भन्दा गरीबीको लाचारीले आक्रान्त  मानिसहरुको हृदयबिदारक चर्चा बढी छ । 

  यो कोरोना कालभन्दा पहिला बिश्वमा जुन तीनवटा चूनौतिको चर्चा चलिरहेको थियो ।  ती चर्चित बिषयमा सबैभन्दा बढी चर्चा बिपन्न र सम्पन्न बीचको खाडलकै चूनौतिको कुरा थियो । त्यसपछि जलबायु परिबर्तनको कारण पर्याबरणको बढ्दो संकट तथा बिकराल हुदै गएको बेरोजगारीको समस्या उच्च चर्चाका बिषय बस्तु थिए । 

     कोरोना कालमा लकडाउनका कारणले बरु पर्याबरण संकटमा त केही कमी नै आयो होला तर यो कालमा बेरोजगारीको भयावह संकट सुरसाको मुख जस्तै बिकराल बनेर खडा हुन पुग्यो । यस समयमा बिपन्न र सम्पन्न बीचको बढ्दो खाडल निरन्तर अझ बिशाल र फराकिलो बन्दै जान थाल्यो । बास्तवमा आमदानीको हिसाबले हेर्ने हो भने यस क्रममा भर्च्यूअल बिश्व अर्थात आभासी दुनियाको सत्यको रचना गर्ने कम्पनीहरुले बिश्वलाई नै चकित पार्ने कमाई गरेका छन् । यसको  एउटा उदाहरण भारतको टेलिकम सेक्टरको दिग्गज कम्पनी मानिएको रिलायन्सको मालिक मुकेश अम्बानीले आफ्नो ३३ प्रतिशत शेयर बेचेर यस कोरोना कालखण्डमा झण्डैझण्डै भारतीय रुपैया डेढ लाख करोड कमायो । यतिबेला मुकेश अम्बानी ८९ अर्ब डलर सम्पत्तिकासाथ बिश्वका पाँचौ सबैभन्दा धनाढ्य ब्यक्ति बन्न पुगेका छन् । 

  संकटको यो घडीमा बिश्वका केही मुठ्ठीभर धनाढ्यहरुको सम्पत्ति ७०० अर्ब डलर जति पुगेको दर्शाइएको छ । अमेरिका जस्ता देशमा जहाँ लाखौ लाख मानिस कोरोना महामारीको चपेटामा परेर असमयमै काल कलबित भइसकेका छन् र त्यहाँ लाखौंलाख मानिसहरुलाई बेरोजगारीले डसिरहेको छ त्यही देशमा यतिबेला सम्पत्तिशालीहरुको कमाई यतिका धेरै र आश्चर्य चकित पार्ने खालेको छ । त्यहाँ अमेजनका सिईओ जेफ बेजासको सम्पत्ति ६० अर्ब डलरले बढ्यो । ध्यान केन्द्रित गर्नु पर्ने कुरा के छ भने अमेरिकाका पाँच अर्बपतिमा जेफ बेजास, बिल गेट्स, मार्क जुकरबर्ग, बारेन बफेट र ओरेकलका ल्यारी एलिसनको सम्पत्तिमा १२०  अर्ब डलरको बृद्धि दर्ज गरिएको छ । ती सम्पत्तिशालीहरुको धेरैजसो आमदानी भर्च्यूअल दुनियाको सत्यलाई बास्तबिक जस्तो देखाएका कारणले बृद्धि भएको औंल्याइएको छ ।     बिश्व बैंकको एउटा हालैको रिपोर्ट अनुसार यस समयाबधिमा पूरै दक्षिण एशियामा कूल ११ हजार करोड डलर जतिको नोक्सानी भएको छ । यति मात्रै होइन, यस क्षेत्रमा प्राथमिक र माध्यमिक स्तरका झण्डै ४० करोड बाल बच्चाहरु बिद्यालय बाहिर परिसकेका छन् । यी बाल बालिकाहरु उमेर पुगेर रोजगारी गर्न समर्थबान हुँ दा तिनले लगभग ६४ हजार डलर अर्थात् करीब ५ लाख रुपैयाभन्दा कम कमाउने छन् । यसबाट यही निष्कर्श निस्कन्छ कि बिश्वमा सम्पत्तिशालीहरुको आमदानी कोरोना महामारीको कालमा पनि बढिरहेको छ जबकि दक्षिण एशियाली मुलुकहरुका बालबच्चा यो कोरोना संकटका कारणले उनीहरु जवान हुञ्जेलसम्म आमदानी कम हुँदै जानेछ । यद्यपि प्रकट र प्रत्यक्षरुपमा यी बाल बच्चाहरुको यसमा कुनै दोष छैन र हुन सक्तैन पनि ।
      अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा रिपोर्टले हालै बताएको छ कि कोरोना संकटका कारणले नै असंगठित क्षेत्रहरुका ४० करोडभन्दा बढी मजदूरहरु प्रभावित भएका छन् । त्यो बिश्व संगठनको दोश्रो त्रैमासिक रिपोर्टमा भनिएको छ कि यस क्रममा झण्डै ७ प्रतिशत  कामका घण्टाहरुको समय र लभग २९.५ करोड नोकरी समाप्त भइसकेका छन् । यसको मनोबैज्ञानिक असर के भएको छ भने मानिसहरु भबिष्यको अनिश्चितता, आमदानीमा कमीले खानपिन र रहन–सहनको खर्च कटौति गर्न बाध्य भएका छन् या त्यसकारणले उनीहरु अत्यन्तै तनाबमा छन् ।  

  बिग्रदो यो स्थितिलाई सर्सरी हेर्दा अब ग्रामीण कृषि क्षेत्रमा पनि पैसावाल धनाढ्यहरुकै बर्चश्व कायम हुँदै जाने र किसान बर्ग उजडाडिने स्थिति देखिदैछ । यसले गर्दा किसानहरुलाई बाच्नै धौ धौ पर्ने स्थिति बिकसित हुन थालेको प्रतीत हुन्छ । यी सबै कारणले समग्र बिश्वब्यापीरुपमै आम जनताको स्थिति अझ नाजुकतर बन्दै जाने छ भने सम्पन्न मुठ्ठीभर मानिसहरुको स्थिति अझ सुदृढ ।

   नेपाल पनि यस बढ्दो असमान प्रबृत्तिको अपबाद रहन सक्तैन । यहाँ पनि मुठ्ठिभर मानिसहरु अझ धेरै सम्पत्तिबान बन्ने र अधिकाश मानिसहरुको जीवन गुजारा गर्न पनि धौ धौ पर्ने नाजुक स्थितिको सामना गर्नुपर्ने अनुमान सहजै गर्न सकिन्छ । यसले बर्ग संघर्षलाई तीब्र बनाउने कुरा पनि त्यत्तिकै निश्चित छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif