Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

बिश्व खाद्य दिवस : नारा र अहिलेसम्मको पारा


२०७७ आश्विन ३० गते , शुक्रवार प्रकाशित


–लोकनारायण सुबेदी 


आज बिश्व खाद्य दिवस । यस बर्षको संयुक्त राष्ट्र संघको नारा छ – ‘बढौ, पोषणयुक्त बनौ र साथ रहौं’ । आजको कोरोना भाइरसको महोलामा बिश्वले पक्कै महसुश गरेको होला कि भोजनको कति ठूलो महत्व छ र यसले कति ठूलो भूमिका मानिसका लागि खेलेको छ । त्यसैले माथि उल्लिखित नारा संयुक्त राष्ट्र संघले पनि दिएको र बिश्वको ध्यान केन्द्रित गरेको  होला । त्यसले आज बिश्वले यस्तो एउटा संयन्त्र बनाउनु पर्ने ज्वलन्त आवश्यकता बनेको छ जसले केवल कृषिको संकटको मात्रै समाधान खोज्ने होइन कि खाद्यतन्त्रलाई पनि त्यस दिशामा लैजान सकोस्, जहा सबैका लागि पोषणयुक्त भोजन प्राप्त हुन सकोस् ।    हुन पनि कोरोनाको आजको बिश्वब्यापी पीडादायक समयमा सारा संसारलाई नै कृषि क्षेत्र एउटा महत्वपूर्ण आधारकोरुपमा देखिन थालेको छ । यस अघिसम्म कतिपय अपबादलाई छोडेर कृषि क्षेत्रलाई सर्बत्र उपेक्षा, तिरस्कृत र नगन्य जस्तो गरेर ब्यवहार गरिदै आएको हो र बर्षौदेखि एक या अर्कोरुपमा यही प्रबृत्ति चल्दै आएको हो । तर कोरोनाका कारणले यो सोचमा परिबर्तन गर्नु पर्ने आवश्यकता महसुस भएको देखिदैछ । यस सम्वन्धमा कृषि तथा खाद्य संगठनका निर्देशक क्यू दोंग्यूले भनेका छन् — ‘अहिलेसम्म हामीले सोच्ने गरेका थियौं कि सम्पन्न मानिसकासँग पैसा आउँछ र त्यसलाई उसले तल तल पुराउँदछ र तर यो सोच अपर्याप्त रहेको सिद्ध भइसकेको छ । अब समय आइसकेको छ कि यो सोच बद्लिनु पर्दछ’ । यस यथार्थ कुराले पनि कृषि क्षेत्रमा आज ध्यान केन्द्रित गर्नु पर्ने कुरा नै प्रष्टसँग औंल्याउँदछ । किनभने बिश्वमा अन्य आज आर्थिक क्षेत्रमा आर्थिक बृद्धिमा अपूर्ब स्खलन आएको छ तर कृषि क्षेत्रमा प्रायः स्थिरता नै कायम छ । त्यसैले यस क्षेत्रको महत्व बुझ्न मानिसलाई यतिबेला सहज भएको छ । झन देशको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएका देशहरुका लागि त यो झन ठूलो शिक्षा हो ।    निश्चय नै आज बिश्वमा कृषिमाथि ध्यान केन्द्रित गरिनु पर्ने दुइ तीनवटा स्पष्ट कारण छन् । कयौं देशका लागि कृषि क्षेत्र नै सर्बाधिका रोजगारी प्रदान गर्ने क्षेत्र रहेको छ । नेपालमा अहिले पनि ६६ प्रतिशत कृयाशील श्रमको खपत कृषि क्षेत्रमै हुन्छ । हाम्रो ८० प्रतिशत ग्रामीण क्षेत्र घर–खेतीसँगै जोडिएको छ । अब समय आइसकेको छ हामीले कृषि क्षेत्रलाई राष्ट्रिय हितमा आम जनताको लागि बैज्ञानिक किसिमले सही बाटोमा खडा गरौं र अघि बढाऔं । बिज्ञहरु भनिरहेका छन् कि कृष क्षेत्रलाई अब आर्थिक बृद्धिको ‘पावर हाउस’बनाउन सकिन्छ । यो कोरोना भाइरसको सन्देशको रुपमा आएको कुरा हो ।

  बिकासोन्मुख र बिकासशील बिश्वका कयौं देशहरुमा कयौं दशकदेखि खेतपातीबाट मानिसहरुलाई निकालेर शहरतिर लग्ने गरियो । यो कुरालाई बिश्व बैंक, आइएमएफ जस्ता बिश्वका बित्तीय निकायहरुले पनि बढावा दिए ।  यो बास्तवमा उनीहरुकै नीति थियो र बिल्कुलै गलत नीति थियो । तर कोरोनाले गर्दा जब लक डाउन शुरु भयो मानिसहरु शहर छोडेर गाउघरतिरै लागे । यसैबाट स्पष्ट भयो कि यत्रो ठूलो जनसंख्यालाई गाउँघर छोडाएर शहरतिर ल्याउने नीति बिल्कुलै गलत थियो । अब अहिले यसको बिपरीत कोशिश भइरहेको छ कि मानिसहरुलाई गाउँघरमै रोक्नु पर्दछ । तर यो काम सोचे जस्तो सहज र एकै झट्कामा हुने छैन । ग्रामीण क्षेत्रलाई बिस्तारै बिस्तारै यस योग्य बनाइनु पर्ने आवश्यकता छ कि त्यसले त्यहाँका प्रायः सबै मानिसहरुलाई सम्हालेर राख्न सक्ने क्षमता बिकास गरोस् । यसका लागि ग्रामीण कृषिलाई सक्षम र सबल बनाउनु पहिलो र प्राथमिक आबश्यकता छ । सम्पूर्ण कृषि क्षेत्रलाई यसरी उच्च प्राथमिकतामा राखेर ‘क्रान्तिकारी बैज्ञानिक भूमिसुधार, आम बिद्यूतिकरण र राष्ट्रिय औद्योगिकरणको आधार तयार गर्ने किसिमले एकसाथ अघि बढेमा मात्र बर्तमान र आगामी दिनका समस्या हल गर्ने दूरदर्शी दिशामा अघि कृषि क्षेत्रलाई सही दिशा दिन सकिने  स्थिति बन्दछ । अनि मात्र पोषणयुक्त खानाकासाथ अघि बढ्ने कुराले साकार रुप लिन्छ ।     ओइसीडी(अर्थात अर्गनाइजेशन फर इकोनोकमिक कोअपरेशन एण्ड डेभलपमेण्ट)को एउटा अध्ययनले के बताएको छ भने बितेको बर्ष २००० र २०१७ को बीचमा किसानहरुलाई झण्डै २ लाख करोड रुपैया नोक्सान हुन पुगेको छ । यसबाटै प्रष्ट हुन्छ कि किसानसँग जोडिएको अर्थब्यवस्थामाथि जानी जानी प्रहार गरिएको छ । 
  अर्कोतिर ग्लोबल हंगर इण्डेक्सले बताएको छ कि दक्षिण एशियाका जति पनि देशहरु छन तिनले कृषिमा भारतकोभन्दा राम्रो प्रदर्शन गरिरहेका छन् ? यद्यपि भारत अन्नको भण्डार हो तर  पनि भारतमा नै भोका मानिसहरुको संख्या पनि सबैभन्दा बढी भएको इन्डेक्सले औंल्याएको छ । यी सबै कुराले प्रष्ट पार्द छ कि बिश्वब्यापीरुपमा कृषिलाई उपेक्षा गरिएको छ र यसलाई तल्लो दर्जाको कामकोरुपमा बेवास्ता गरिएको छ । त्यस स्थितिबाट देशको नेतृत्वलाई कोरोना महामारीले ब्यूँझाइ त दिएको छ तर अझै पनि किसान र कृषिमाथि आबश्यक ध्यान दिइएला, त्यसमा रहेका भूमि स्वामित्वको समस्या, उत्पादन र उत्पादकत्वको समस्या, जल उपयोगको समस्या, तथा बजारको समस्या, कृषि बातारणको समस्या हल गरिएला र किसानको सर्बतोमुखी आधुनिकीकरण गरेर किसान बर्गका समग्र जीवनलाई उठाउन मद्दत गर्ने किसिमले नबीन बैज्ञानिक दृष्टिकोण, नीति र कार्यक्रम अघि सारिएला भन्ने कुरा बिगतका गतिबिधिलाई हेरेर बिश्वास गर्न सकिने आधार बन्दैन । बिगतका अनुभबका आधार  अब नयाँ सोच आयो भने बिश्व खाद्य दिवसको उपादेयता सार्थक ठहर्ला कि !   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif