Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसः सामाजिक र बातावरणीय न्याय प्राप्तिका लागि सहकार्य


२०७७ आश्विन ३० गते , शुक्रवार प्रकाशित

“सबैका लागि सामाजिक र बातावरणीय न्याय प्राप्तिका लागि सहकार्य” भन्ने आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै छ । 

विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पुर्‍याउन संयुक्त राष्ट्र संघले सन् १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेपश्चात् विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ । 

विश्वव्यापी महामारीको रुपमा रहेको नोवेल कोरोना भाइरसका कारण गरिबीको दुष्चक्र झनै बढेको अवस्था छ । 

दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तर्फबाट सन्देश दिँदै मन्त्री पदमा अर्यालले गरिबी नै विकासको प्रमुख चुनौति बनिरहेको वर्तमान अवस्थामा गरिबी र यसका कारक तत्वलाई नेपाली समाजबाट निमिट्यान्न नपारुन्जेल नागरिकको सुख तथा समृद्धिको चाहना सम्भव नहुने हुँदा गरिबीको बुझाइमा एकरुपता कायम गरी गरिबी निवारणको सबै प्रयासलाई प्रभावकारी बनाउन आवश्यक रहेको जनाएकि छिन् ।

शुभकामना सन्देसमा भनिएको छः “मुलुकले योजनाबद्ध विकासको प्रयत्न गरेको छ दशक नाघि सक्दा समेत १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिवीको रेखामुनी रहनु भनेको नेपालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने यथार्थ तर्फ संकेत देखिनु हो । नागरिकले आधारभूत आवश्यकता सहज रुपमा पूर्ति गर्ने व्यवस्थाको सूनिश्चितता नहुन्जेल नेपाली जनताको तिब्र आर्थिक विकासको चाहना सम्भव हुने देखिदैन । यी तथ्यहरुलाई मध्यनजर गरी नेपाल सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यन्वयन गर्न मार्गदर्शनका रुपमा गत आर्थिक वर्षमा नै गरिबी निवारण नीति ल्याएको छ । यस नीतिलाई कार्यान्वयनमा लैजानु हामी सबैको साझा दायित्व हो । विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमहरुलाई गरिबमुखी बनाई समन्वयात्मक ढङ्गबाट सञ्चालनमा ल्याउन गरिब परिवार पहिचान हुन आवश्यक हुने विषयलाई ध्यानमा राखी आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढेको छ । पहिचान भएका गरिबहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु तीनै तहका सरकार र यी मातहतका सबै निकायहरुको दायित्व भएको हुँदा सबैको सामूहिक प्रयास आवश्यक छ । आगामी दिनमा यसतर्फ सबैको सार्थक प्रयत्न रहने विश्वास लिएको छु । मुलुक संघीय शासन प्रणालीको अभ्यासबाट आर्थिक एवं सामाजिक समृद्धि प्राप्त गर्ने दिशामा अघि बढिरहेको छ । यसै विषयलाई मध्यनजर गरी नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली”को दीर्घकालीन सोच तय गरी व्यवहारमा रुपान्तरण गर्न पन्ध्रौ आवधिक योजनाको कार्यान्वयन गरिरहेको छ । त्यसैगरी नेपाल सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा चिनाउने अठोट गरेको छ । मुलुकका यी योजनाहरु सफल पार्न साझा चुनौतिका रुपमा रहेको गरिबीबाट मुलुकलाई मुक्त गर्न आवश्यक छ । यसका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रुपमा सशक्त प्रयास सञ्चालन गर्न आग्रह गर्दछु । ”


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif