Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो


२०७७ आश्विन २६ गते , सोमवार प्रकाशित



–इन्द्रनारायण सुबेदी

(मन्दाक्रान्ता)

मेरोआस्था अटल छ सधैँ चेतना चिन्छ माटो 
बस्ती पाखा समथर गरा शैल कान्लो र आँठो
यो धर्तीका अनुपम छटा स्वच्छ पानी पँधेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।१।



पुर्खा मेरा अमर धरती पुत्र हुन् शक्तिशाली
बोकी हिँड्थे मुलुक अघि ती काँधमा यो उचाली
यो नासो हो अटल तिनको नाघ्न मिल्दैन घेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।२।



गिद्धे आँखा अलिकति यता तेर्सिए त्यो सहन्न
मेरै माटो मसँग नरहे भोलि आफैँ रहन्न
अत्याचारीसँग शिर कतै झुक्न मान्दैन मेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।३।




नेपाली हूँ कठिन पलको सामनाका निमित्त
लड्ने वाचा प्रखर छ कतै हार्न मान्दैन चित्त
माफी गर्ने कुट कपटमा छैन अभ्यास मेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।४।



जप्दै आएँ जय जय भनी नित्य नेपाल आमा
मेची काली सरहद छुने गर्छ जो हात लामा
पुग्ला चाँडै मिति अघि बढे खोज्न मौका अँधेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।५।



आआफ्नै छन् परिचय सबै देशका स्वाभिमान
श्रद्धा निष्ठा अविचल रहे बन्दछन् ती महान
जिस्क्याएमा जहर छ कडा सर्पको रूप मेरो
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो।६।

==================================
आश्विन २५ गते २०७७ शीर्षक साभार:-प्रतिभा निकुञ्ज

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif