Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

मोतिका दानाजस्ता अक्षर : प्रिय गुरु यम 'घायल' प्रति समर्पण


२०७७ आश्विन २५ गते , आईतवार प्रकाशित

विक्रम संवत २० २८-२९ को नयाँ शिक्षा योजनाको बिरुद्धको आन्दोलन तत्कालिन भूमिगत हुन बाध्य भएका नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी समर्थक विद्यार्थीहरुको आपसी झगडाले त्यसै तुहेर गएको थियो। त्यस पछि आनन्दले चलेको नयाँ शिक्षा प्रणालीले बिद्यार्थीहरुलाई छछ महिनामा हुने सेमिस्टर प्रणालीको परीक्षा महिनै पिच्छे दिनु पर्ने क्लास असेस्मेंट, होम असेस्मेंटले बर्षको एकपटक वार्षिक परीक्षा दिएर लामो समयसम्म फुर्सदमा रमाउने बानी परेकालाई हैरानी पारेको थियो। त्यस माथि प्रत्येक पेरीयेडमा सरहरुले हाजिर लिने हुनाले कक्षामा अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यताको झमेला अर्कै थियो। त्रिचन्द्र कलेजलाई नयाँ शिक्षा प्रणाली शुरु भए देखि त्रिचन्द्र क्याम्पस भन्न थालिएको थियो। देश भरिका सबै कलेजका साइन बोर्डहरु धमाधम कलेजबाट क्याम्पसमा फेरिएका थिए । हामी बिएको ठाउँमा डिप्लोमा भनिने  आर्टस "ह्युमनिटिज' पढ्ने विद्याथीहरुलाई प्रत्येक घन्टी पिच्छे पाइन्टको पछाडिको पकेटमा एउटा पातलो कापी घुसारेर कहिले '' ब्लक कहिले 'बी' ब्लक, घण्टाघर मनिको भवन सरस्वती सदनको आडमा बनेको चाइनिज ईटाले बनाइ रातो गेरुरंग पोतेको नयाँ भवनमा ओहोर दोहर गरिरहनु पर्थ्यो। अनिबार्य विषयहरु नेपाली अंग्रेजीको पदाई हुने कक्षा कोठा अरुभन्दा ठुला हुन्थे। किनकि त्येसमा इकोनमिक्स, जोग्राफी, गणित,  ईतिहांस जे मेजर बिषय पढेका भए पनि सबै आउथे। कहिलेकाहि त अली पछि हल्लिदै क्लासमा पुगियो भने झ्यालको डिलमा आढेस लगाई सरको  लेक्चर सुन्न पर्दथ्यो । सबै अनुभव रमाइलै थियो। 

हुलहालमा उपस्थित नभएका साथीहरुको "प्रिजेन्ट सर' भनेर प्रोक्सी हाजीर लगाईदिने पनि त्यत्तिकै चलन थियोउपस्थित भएको साथि कोहि ढिलो बोल्यो भने "एब्सेण्ट" सर भनेर भन्न पनि भ्याउथे। 

साढे
चार दशक अगाडिको कुरा धेरै साथीहरुको नाम पनि भुलियो। ह्युमेनेटिज एउटै वर्षका कुङ्गा शेर्पा, विश्व बिक्रम शाह, गजेन्द्र लामा, मोहन खरेल, तारा न्यौपाने जस्ता मिलनसार साथीहरु सदाकोलागि हामीलाई छोडेर गईसके, नरेन्द्र खालिङ्ग, तिलक पराजुली, प्रकाश सापकोटा, मुक्ति पाठक, मणि भट्टराई, अमर सिंह शाह ,लाक्मा लामा, ईन्दु नेपाल श्रेष्ठ, भुपाल भट्टराई, महेन्द्र सापकोटा, कृष्ण मल्ल, राजेन्द्र कार्की, सुरेन्द्र रायमाझी, बसन्त राई, सरोज अर्याल, बिरेन्द्र शर्मा, विजय बिक्रम शाह, बद्रि खनाल, कृष्ण प्रसाद पौडेल, शरद अधिकारी, लोक भक्त राणा, मुरारी अर्याल'कर्मचण्डाल', बाल कुमार अर्याल, किरण देव पन्त, सामसंग जंग राणा, उदय सिलवाल, गोबिन्द टन्डन, जीवन श्रेष्ठ, मुकुन्द गिरी, शिव रिजाल, श्रवण राजभण्डारी, रमला श्रेष्ठ, रोशनी बैद्य, शैलु मैनाली, वृन्दा पौडेल सम्झनामा  आई रहने नामहरु हुन् , यी प्राय: धेरै जसोले  विभिन्न विधामा उत्कृष्टता हासिल गरेर जीवनको उत्तरार्धको अनुभूति गरिरहेका छन्। यिनीहरु धेरै रमाईला अन्तरंगी साथीहरु थिए. धेरैसंग त्रिचन्द्र छाडेपछि भेट हुने मौका पनि मिलेन, अहिले भेट भै हालियो भने झट्ट चिन्न पनि सकिदैन होला? मीठो सम्झना मात्र जीवित छ । 

कृष्ण चन्द्र गौतम कडा र गम्भीर स्वभावका नेपाली विषयका प्राध्यापक थिए। कद मझौला, ठाडो शीर गरि पढाउदै गर्दा हामी सबै माथि उनको नजर भने दौडी रहेको हुन्थ्यो। एक दिन क्लास असेस्मेंट चलिरहेको थियो, पिन ड्रप साइलेन्ट, केवल एक छेउबाट अर्को छेउ गर्दै गर्दा कृष्ण चन्द्र सरको जुताको आवाज मात्र सुनिन्थ्यो।  टक्क मेरो आडमा आएर उभिए ,पदचाप  बन्द भयो। मेरो ढुकढुक चाल बढ्यो सोच्दै थिए -"अब बुढाले के भन्ने हुन्।" मेरो कपी माथि आँखा गाडदै बोले- ''आहा कति सुन्दर अक्षर मोतीका दाना जस्ता " कोठा भरिका साथीहरुको आँखा म माथि पर्यो।  मेरो ढुकढुक गरेको छाती खुसीले बडेमानको भयो । 

'मोतीको दाना मैले महेन्द्रोदय हाई स्कूल
, भोक्सिंगमा पढ्दा यम प्रसाद सरबाट सिकेको कला थियो। यम प्रसाद सरको पूरा नाम थियो यम प्रसाद गुरुङ। कला साहित्य प्रतिको मोहका कारण "घायल", यम "घायल"को नामले पर्वत जिल्ला भरि प्रख्यात थिए। प्रथम विश्वयुद्धमा ईस्ट ईन्डिया कम्पनीको सेनाको रुपमा लडेका मेजर धन सिंह गुरुंगका नाति। 

मेजर धन सिंह गुरुङ गाउँका मुखिया पनि हुन।  धनाड्य धनसिंह मुखियाका नामले यो भेकै भरी प्रशिद्ध थिए। "यिनको त टीनको होईन सुनकै बाकस छ" भन्थे। कास्की ऊल्लेरिबाट यिनका पुर्खा  पर्वत भोक्सिंग र देउराली खोलाको वीच भाग पर्ने खोलाखर्कमा आई बसेका रहेछन।  धनसिंह मुखियाको बाबुको नाम थियो सिंह वीर गुरुङ। धनसिंहले आफ्नो बाबुको मृत्यु पछि बाबुले कसैको ऋण  खाएर मर्नु भन्दा आगाडि भन्न नपाएको कुनै मानिस भए केकति छ लिन आउनु भनि घोकनै हाल्न लगाएका थिए। उनका दुईटी पत्नीहरु थिए सुवा गुरुङ र फुन्का गुरुङ।  यिनीहरुको चार भाई छोराहरु भए  धन काजी, रण बहादुर, चित्र बहादुर र कान्छा बम बहादुर गुरुङ। जेठी पट्टि धनकाजी र बम बहादुर , कान्छी तिर रण बहादुर र चित्र बहादुर। धनकाजीको पत्नीको नाम कृष्ण कुमारी गुरुङ, माहिला रण बहादुरको सावित्री , साहिला चित्र बहादुरका दुइटी पत्नी थिए दुर्गा र दिल सुवा, कान्छा बम बहादुरको पत्नी धन कुमारी गुरुङ थिईन। धन सिंह मुखियाका जेठा छोरा धन काजी र कान्छा बम बहादुर दुई भाईले  दोश्रो विश्वयुद्धमा एकै दिन ईटालीमा वीरगती प्राप्त गरेका थिए।  धन काजी गुरुङका  भारतीय राष्ट्रपति ज्ञानी जेल सिंहका पर्सनल सुरक्षा अधिकारीको जिम्मेवारी पाएका  कप्तान नर प्रसाद गुरुङ एकल छोरा हुन् भने यम प्रसाद  गुरुङ कान्छा बम बहादुरका एउटै सन्तान हुन्। माहिला छोरा रण बहादुरले पनि दोश्रो विश्वयुद्धमा नै वीरगति प्राप्त गरेका थिए।  धनसिंह मुखियाका नातिहरुमा जेठा ठाकुर प्रसाद गुरुङ हुन्।  उनी माहिला  छोरा रण बहादुरका छोरा थिए । धनसिंह मुखियाले तीनतीन जना छोराहरु युद्धमा सहदात भए पछि अति विक्षिप्त भै साहिला छोरा जमदार चित्र बहादुर गुरुङलाई बिचैमा पेन्सन निकाली घर लिएर आफ्नो काममा सहयोग गर्न लगाउछन। 

जमदार चित्र बहादुरका कुनै सन्तान हुदैनन्।  दाजु भाइका तीन जना छोराहरु ठाकुर प्रसाद
, नर प्रसाद र यम प्रसादको लालन-पालनमा आफ्नो समय खर्चगर्न थाल्दछन।  गाउँमा स्कूल पाठशाला हुदैन, गोरखपुर गएर कपडा पसल खोलि व्यवसाय शुरुगर्न थाल्छन र यी नाबालकहरुलाई शिक्षादिक्षा दिने काम गर्छन। यस दौरान जमदारसाबले काली गण्डकीमा स्टिमर हिडाल्ने, गोरखपुर सुनौली मोटर चलाउने देखि जहानिया राणा शासन बिरोधी भिम दत्त पन्त हुदै कुवंर ईन्द्रजीत सिंह डा.के.आई. सिंहको नामले  प्रख्यातको  साथमा लागी  सशस्त्र पश्चिम नेपाल कमान्डर पनि भए।  पछि के.आई. सिंहसंग राजनीतिक मतभेद भए पछि एकदेव आले, गुण बहादुर घले आदि भएर नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी, संयुक्त जन आन्दोलनका प्रणेता शहीद गंगालालका माहिला भाई कमरेड पुष्पलालको दाहिने हात भएर बसिरहे । पुष्प लालको नीति, कार्यक्रम र मार्गदर्शनलाई जीवन प्रयन्त बोकिरहे।  कमरेड पुष्पलाललाई उनका अनुयायी सबैले महिला दाई भन्थे र पुष्पलाल स्वयम्ले जमदार चित्र बहादुर गुरुंगलाई ठुल्दाई भनेर हृदय देखिने सम्मान दिन्थे। यसैले त घरको साहिला छोरा भएपनि नेपाली कम्युनिष्ट आन्दोलनमा चित्र बहादुर ठुल्दाईको रुपमा जीवित छन्। 

कप्तान  नर प्रसाद गुरुङको बिवाह केश  कुमारी गुरुङसंग भएको हो र उनीहरुको सन्तानमा तीन छोरीहरु छन्  बुद्ध  गुरुङ, दुर्गा (दृश्य ) ध्रुव (प्राची) गुरुङ।  जेठी बुद्धको पर्वत ठानाका बिष्णु गुरुङसंग बिवाह भएको हो , बिष्णु गुरुङ नेपाली सेनाका अवकाश प्राप्त जर्नेल हुन् ।अरु छोरीहरुको पनि बिवाह भै सकेको छ र सबै  काठमाडौँमा वसोवास गर्छन। 

धनसिंह मुखियाका तीन भाई नातिहरुमा नर प्रसाद भारतीय सेना तर्फ लागे
, ठाकुर प्रसाद तत्कालिन पंचायती राजनीति तिर लागी  पर्वत जिल्लाको सभापतिसम्म भए। पर्वत जिल्लाकै पहिलो फलेवासको भवानी विद्यापीठ पछिको दोश्रो हाई स्कूल महेन्द्रोदय आफ्नो गाउँ भोक्सिंगमा खोले।  यस विद्यालयको स्थापनाले पर्वतको दक्षिणी भेकको मात्र होइन पर्वत जिल्लाको दक्षिण तिर छोईएका  श्यांग्जा जिल्ला र गण्डकी पश्चिम पारी गुल्मी जिल्लाका गाउँहरुको समेत शिक्षाको स्तरलाई ह्वात्तै माथि उचाली दियो। ठाकुर प्रसाद आफ्नो सभापति कार्यकाल मै हृदयघात भै दिवंगत हुन्छन। उनलाई चिन्ने सारा उनको मृत्यु सुनेर नरुने कोहि थिएनन् । उनको आल्पायुमा भएको मरणले यस भेकलाई मात्र नभई समग्र पर्वत जिल्लालाई नै अपुरणीय क्षती भयो। ठाकुर प्रसादको देहावसान हुँदा उनका छोराहरु राजा र मिमिजङ सानै  थिए।  यिनीहरु साहिला बुढो हजुरबुवा चित्र बहादुर गुरुङको काखमा हुर्किए। राजाको शान्ता गुरुङसंग विवाह भयो।  यिनीहरुको सन्तान डा.सजना र प्रार्थना गुरुङ छन्।  मिमिजङ 

त्यस बखत यम प्रसाद  महेन्द्रोदय मिडिल स्कूलका हेडमास्टर र साथसाथै भोक्सिंग गाउँ पंचायतका प्रधानपंच पनि थिए ।  त्यति बेला अहिलेको जस्तो स्थानीय निकायका पदाधिकारीलाई भत्ता मिल्दैनथ्यो । अधिकांश पदहरु पूर्णत सेवामुलक थिए, अहिलेको जस्तो पदको लागि हानथाप पनि थिएन।  घरलाई कंगाल बनाएर गाउँको सेवा गर्नु पर्थ्यो।  राजनीति नितान्त सेवा थियो।  भत्ता र तलब बुझ्ने राजनीति पेशा, जागिर जस्तो थिएन।आजको गणतान्त्रिक नेपालको जस्तो वडा अध्यक्ष बन्दा साथ  शहर बजारमा घडेरी किन्ने महल बनाउने, आफ्ना छोराछोरीलाई महंगा स्कूलम पढाउने, शक्ति केन्द्र र दुतावासका ढोका कुरेर भए पनि डाक्टर इन्जिनिएर बनाउने कसैको सपना हुदैनथ्यो। यम प्रसादले विद्यालयको मास्टरी र प्रधानपंच घर खंगारेर धानीरहेका थिए। नैतिकता, आचरण, आदर्शलाई कायम राखी 'सेवानै परम धर्म हो' भन्ने अन्तर्निहित धारणाका कारण उनी सबैका मान्य र प्रिय थिए। 

लुन्खेली मल्लहरुको  लुँखु गाउँ वरिपरिका गाउँलेहरुसंग सम्बन्ध सधै मधुर रह्यो।  बिद्यालयको हेडमास्टरको लागि बिए पास गरेको मानिस चाहिने हुँदा २०२२ सालमा सिलाङ्गबाट बिदामा आएका बेला  चितु मल्लले  भोक्सिंग स्कूलमा दुईमहिना भोलेण्टेरली अंग्रेजी पढाइ दिन पुग्छन। असाध्य राम्रो अंग्रेजी
, उनले शिलाङ्गको पव्लिक  स्कूलबाट  मेट्रिक पास गरेपछि त्यहाँको नामुद  सेन्ट अन्थोनिज कलेजबाट आईए , बिए दुवै तह त्यही अध्ययन गरी  सन् १९६४ मा बिए पास गरेका थिए । चितु मल्ल लुँखु माझ्घर त्रिभुवन वीर मल्लका पलाती, प्रेम (पेम) मल्लका नाति र बाबु नरुमल्ल र आमा शरणकुमारी मल्लका कान्छा छोरा थिए।  यो परिवारबाट पनि मेजर धनसिं मुखिया झैँ  सन् १९१३ देखि १९ सम्म चलेको प्रथम विश्वयुद्धमा ईष्ट इंडिया कम्पनीको तर्फबाट स्वयम् उनका बुबा नरु मल्ल र जिजुबुवा अजिटेण्ट हल्दारमेजर अमृत (भोटु) मल्लले समेत लडाई लडेका थिए। 

यमप्रसाद गुरुङ र  चितु मल्ल समकालीन  भएकाले छोटो समयमा नै मित्रता गाढाहुन्छ। यिनीहरु दुवै दोश्रो विश्वयुद्ध काल सन् १९३९ -१९४५ का वीच जन्मेका थिए।  चितु मल्लको जन्म सन् १९४० मा भएको थियो भने यमप्रसाद १९३९को शुरुमै। यसरी हाईस्कूलको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाउन आफ्नो शैक्षिक प्रमाण पत्र यम प्रसादलाई दिएर शिलाङ्ग फर्कन्छन। यता हाई स्कूलको स्वीकृति हुन्छ, तर चितु मल्ल शिलाङ्गबाट फर्कन बिलम्व हुन्छ।  किनकि उनले आईए पास गर्न साथ इन्डियन सेन्ट्रल डिफेन्स सर्भिस अन्तरगत स्थायी लोअर डिभिजन क्लरकको रुपमा काम गर्न थालिसकेका थिए जसको कारण यम प्रसादले तारन्तार पत्र पठाउँदा पनि उनको राजिनामा स्वीकृति नभएकोले आउन बिलम्ब हुन्छ । 

यम प्रसाद गुरुङले काम चलाउ हेडमास्टरका रुपमा आफ्ना श्यांग्जा
,आरुचौरका साथि उमाकान्त नेपालीलाई लिएर आए।  उनी थरमा पौड्याल थिए त्यति बेला 'जातपात केही होइन हामी सारा नेपाली हौ' भन्ने संदेश दिनका लागि नयाँ सोंच राख्ने युवाहरुले हामी सबै "नेपाली" या जातको ठाउँमा उपनाम लेख्ने चलन आगाडि सार्दै थिए । बाल कृष्ण सम , केदार मान "व्यथित" पिताम्बर नेपाली आदि।  यम "घायल " पनि यही अभियानको उपज थियो। तर आजको नेपालमा यो चरित्रका संदेश दुला पस्यो र जातपात तीन पुस्ताको परिचय दिन हामी उद्धत छौ, विवश छौँ । 

उमाकान्त नेपाली पनि बिए पास भै नसकेकाले हेडमास्टरको समस्या जिउका तिउँ थियो।  त्यति बेला सम्म जिल्ला सभापति दाजु ठाकुर प्रसाद गुरुङ जीवित नै थिए।  एकदिन सांझा बस्ने गरि मेजर हरि बहादुर मल्ल, तत्कालिन लुँखु देउराली गाउँ पंचायतका प्रधानपंचको घरमा ठाकुर प्रसाद आई पुग्छन।  ठाकुर प्रसादका भाई नर प्रसाद गुरुङ र मेजरका कान्छा छोरा गणेश बहादुर मल्ल 'मीत' भएकाले र राजनीतिका कारणले पनि यो बाटो पर्दा र रातअकाल पर्दा ठाकुर प्रसाद प्राय: बसी रहने घर थियो। तर यस पटकको बास मेजरका भतिजा पर्ने चितु मल्ललाई कसरी शिलाङ्गबाट नेपाल ल्याउने भन्ने सल्लाहगर्न ठाकुर प्रसाद माझघर आएका थिए। 

भारतीय सेनाबाट अवकाश भएपछि लुँखु गाउँको स्कूल महेन्द्र ज्योतिमा पढाई रहेका चितु मल्लका दाजु हल्दार रामु मल्ललाई भाईलाई लिन शिलाङ्ग पठाउने सल्लाह हुन्छ।  रामु मल्ल शिलाङ्ग पुग्छन
, नेपालबाट दाजु आएपछि चितु मल्ललाई दवाव बढ्नु स्वाभाविक नै हो। भाईलाई लिएर नेपाल आई पुग्दा हाई स्कूल स्वीकृति भै नयाँ सत्र शुरु भएको छ महिना बितिसकेको हुन्छ।  महेन्द्रोदय हाई स्कूलको रजिस्ट्रमा प्रधानाध्यापकको स्थानमा शुरु देखि नै चितु मल्ल ठकुरीको नाम यम प्रसाद "घायल"का सुन्दर सक्कली मोतीका दाना जस्ता अक्षरले लेखिएको थियो। 

हामीले भन्ने गर्छौं ढिलो भयो भने 'नेपाली समय', यम प्रसाद खाटी नेपाली भएर पनि समयको अति महत्व राख्ने उदाहरणीय व्यक्तित्व थिए। विद्यालयको घन्टी एक सेकेन्ड तलमाथि बज्न हुदैनथ्यो। जब कहिले काही घन्टी समयमा बज्दैनथ्यो आफै गएर घन्टी हिर्काउथे। घन्टी बजाउने जिम्मा लिएको मान्छे लाजले भुतुक्कै हुन्थ्यो। यम प्रसाद सरले नौ र दश कक्षामा भूगोल पढाउथे र हेडमास्टर चितु मल्लले अंग्रेजी।  आफ्ना बिषयका उम्दा टिचरहरु ।  चितु मल्लका  अंग्रेजी कर्सिप राइटिङ्ग्स त्यस्तै सुन्दर थिए जति यमप्रसाद  सरका नेपाली छापा समान अक्षर। 

युवा यम प्रसाद बहुआयामिक व्यक्तित्वका धनी थिए। निर्णय क्षमता भएका
, उनको प्रधानपंच कालमा भोक्सिंग वासी कसैले अन्यायको मार खप्नु परेन। त्यो भेकको हिसाबले एउटा धनी परिवारमा जन्म भएका, एक रति घमण्ड नभएका मृदुभाषी, शान्त, सुसंस्कृत, नम्र झुकेको, यस्तो मानिस बिरलै पाइन्छ। प्रशासकीय क्षमता पनि उनको अनुकरणिय थियो। आत्मा अनुशासित व्यक्ति यम प्रसाद गुरुङको मार्ग निर्देशनमा, उनको कार्यकालमा भोक्सिंग गाउँ पंचायत एउटा आदर्श पंचायतको रुपमा स्थापित मात्र भएन, विद्यालयका  मेरुदण्ड शिक्षकहरु हेड मास्टर चितु मल्ल लगायत रुद्रप्रसाद अर्याल(पाखुरे), पिटीमास्टर रन बहादुर गुरुङ, गणित शिक्षक गोपाल श्रेष्ठ (पोखरा ) बिज्ञान शिक्षक मुरारी प्रसाद गुप्ता(गोरखपुर )नेपाली शिक्षक लेख नाथ भट्ट गुरु (फलेवास), नारायण सिंह गुरुङ, नरेश कुमार शर्मा (बिहादी), आदि शिक्षक साथीहरुलाई लिएर, भोक्सिंग जस्तो बिकट ठाउँमा महेन्द्रोदय हाई स्कूललाई स्तरीय शिक्षा प्रदायक नमुना विधालय बनाउन उनको योगदान अनुकरणिय रह्यो । 

राष्ट्रिय पंचायत सदस्य स्व. मन बहादुर विश्वकर्मा , नेपालका बरिष्ट चित्रकार आई.वि. मल्लपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती , शिक्षाविद कुल प्रसाद गुरुङअमेरिकी  University of Delaware  का भूगर्भशास्त्रभूभौतिकीवातावरण  बैज्ञानिक प्रोडा. देव जैशी, प्रोडा. प्रेम शर्मा, वरिष्ठ महामारी सरुवा रोग विशेषज्ञ डा.बासुदेव पाण्डे  लगायत महेन्द्रोदय स्कूल भोक्सिंग पर्वतबाट प्रारम्भिक शिक्षा लिई आफ्नै मुलुक लगायत संसारका विभिन्न कुनामा गएर उत्कृष्ट सेवा दीई नाम कमाएका धेरै महानुभावहरु रहेको यथार्थ छ । 

यम
"घायल" कला, साहित्यका अनुरागी, अग्रगामी सकरात्मक सोंच भएका व्यक्ति थिए। आफ्ना पुराना साथी उमाकान्त नेपाली र उनी भएर पोखरामा माछापुच्छ्रे छापाखाना खोली "नौलो डाँको" समाचार प्रधान संदेश मुलक पत्रिका पनि चलाएका थिए। उनको बिग्रदो स्वास्थ्यको कारण छापाखाना र पत्रिकाले लामो समय सम्म निरन्तरता भने पाएन।  उनका लोकार्पण हुन बाँकी चित्र कला र अप्रकाशित कथा, कविता लेख रचनाहरु प्रकाशित हुन जरुरी छ। उहाँको सम्मानमा प्रतिष्ठान स्थापना हुन सके अझै बेश हुन्थ्यो। साहिला बाजे जमदार चित्र बहादुर गुरुङ "ठुल्दाई"को काख र लालन-पालनमा हुर्केका कारण पनि बर्गीय शोषण र विभेदको अन्त्य नभए सम्म समान अवसरको कल्पना गर्न नसकिने कुरामा उनि प्रष्ट थिए।  यसको लागि लडाई उठाउन आम शोषित पीडित निमुखा जनतामा  चेतनाको आवश्यकता छ र चेतनाको अभिवृद्धिको लागि शिक्षा पहिलो सर्तहो भन्ने उनको ठमाई  थियो। 

पर्वत जिल्लामा कमरेड पुष्पलालले प्रतिवादन गर्नु भएको कम्युनिष्ट आन्दोलनलाई बिजारोपण गर्ने काम  यम "घायल"को पहलमा, भुपेन्द्र सिंह पौडेल  क्षेत्री ज्ञादी, खड्ग बहादुर गुरुङ दुर्लुङ्गदयाराम भुसाल, प्रमानन्द शर्मा, रामप्रसाद घिमिरे मुड्कुवा, टंक भुसाल उराम, बिकास गौचन बिहादी , अम्बिका थैवा सेतिबेनी, प्रेम दास बैरागी मोदिबेनी , तोयानाथ चालिसे कुश्मा, बाबुराम सुबेदी तिल्मी पकुवा, आदिको सक्रियतामा भएको । पर्वत जिल्ला नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालको पहिलो पार्टी सेक्रेटरीको जिम्मेवारी याम ‘घायल’ले निभाएका थिए । पछिल्लो समयमा यसलाई बिस्तार गर्ने काम युवाहरु तिलक पराजुली बिहादी, शरण बिक्रम मल्ल लुँखु , गणेश कुवंर  सिर्कांग, राम प्रकाश अधिकारी, यम प्रसाद अधिकारी लुँखु, राम प्रसाद पौडेल, गोबिन्द पौडेल, विश्व पराजुली, तिलक पराजुली, गंगा भट्टराई-बिहादी, लाल बहादुर गुरुङ, हाई कुमार गुरुङ बाच्छानर बहादुर राना गेप्तांग, मदन श्रेष्ठ, रामहरी शर्मा , अशोक सिंह पाण्डे सेतिबेनी, भविश्वर भुषाल होश्रान्दी, बद्रि श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, माधव गौडेल फलेवास, रुद्र क्षेत्री भोक्सिंग, चन्द्र बहादुर श्रेष्ठ लामे आहाले, रत्ना बस्याल डांडाथोक, बाल मुकुन्द घिमिरे मुड्कुवा, सोम प्रसाद पाठक, थानेश्वर पाण्डे पान्ग्रांग, चन्द्र प्रकाश मल्ल,दल बहादुर मल्ल बाजुंग, इक्षा बहादुर गुरुङ दुर्लुङ्ग आदिले महत्व पूर्ण भूमिका निभाएका थिए। 

२०३६ सालको ऐतिहासिक संयुक्त बिद्यार्थी आन्दोलनको दवाबका कारण राजा बिरेन्द्रले एक दलिय पंचायती व्यवस्थालाई "सुधार सहितको पंचायती व्यवस्था कि बहुदलीय व्यवस्था " वीच रोज्न जनतालाई जनमत संग्रहमा भाग लिन आह्वान गरेका थिए।  तत्कालिन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव
, श्रध्येय नेता कमरेड पुष्पलालको निधन २०३५ सालमा नै भै सकेको थियो र  पार्टीका प्रवक्ता बलराम उपाध्याय चयन भएका थिए  । शीर्ष  नेतृत्वमा रहेका बलराम उपाध्याय ,चित्र बहादुर गुरुङ, सहाना प्रधान, गुण बहादुर घले, गोबिन्द ज्ञवाली लगायत भिम  सेढाई, भदेश्वर शाह, बोधराज काफ्ले , तिलक पराजुली, एकराज पाण्डे , प्रभु नारायण चौधरी, आर.वि.भण्डारी, राम चन्द्र चापागाई, वीर बहादुर महर्जन, शिव भट्टराई, हरिहर यादव, दुखिलाल चौधरी, भोजराज सत्याल, शिवहरि घिमिरे, एकदेव ज्ञवाली, सुरथ बहदुर केसी, विजय राज गौतम, भरत सुबेदी, हरि  राउत, हिरण्यलाल श्रेष्ठ, रुद्रहरि काफ्ले, झंकनाथ दाहाल, बुद्धराम श्रेष्ठ, हरि भट्टराई, यादव उपाध्याय, दधिराज सुबेदी, भरत बिश्वकर्मा नेपाल , मान्ध्वोज गुरुङ, केशब खड्का, महेन्द्र मान व्यथित, प्रेम कुमार श्रेष्ठ ,जगन्नाथ आचार्य, भिम कुमार वान्तवा, मोहमद अमिद , हरिदयाल महतो, महादेव साह, गंगा कार्की, प्रताप कुमार राई, तेजराज खतिवडा, पूर्ण विश्वकर्मा, भुषण मानन्धर, कमल निरौला, बुद्धि घिमिरे, सुरेन्द्र कार्की, धर्म निरौला ,हिरालाल चौधरी, कोशिलाल चौधरी, ध्रुब राज ज्ञवाली, मुरारी कार्की, प्रदिप खनाल, टोमलाल पाण्डे, हरि भट्टराई, सीता सुबेदी, कमला भट्टराई, बालकृष्ण शिवाकोटी, शरण बिक्रम मल्ल आदिलाई कमरेड पुष्पलालको अभावमा विद्यमान समस्या र नयाँ चुनौतीसंग जुझ्न ठुलो शाहस र सुझबुझको आवश्यकता थियो।  निरङ्कुश पंचायती व्यवस्थाले बिरोधिहरुलाई कारावासको सजाय र हत्या मृत्यु दण्ड पनि दिइरहेको थियो।  नेपाल कम्युनिष्ट पार्टीका युवा नेताहरु लोकनारायण सुबेदी, राम सिंह रावल, लोक कृष्ण भट्टराई, धनप्रसाद मणि, चतुर्भुज आत्रेय, हरिश्चन्द्र आचार्य, श्याम मानन्धर आदिले  १०-१० बर्षको कठोर कारावास सजाय  भोगिरहेका  थिए। सयौं साथिहरुलाई वारेन्ट जारि थियो। यस्तो अवस्थामा  जनताको वीचमा गई बहुदलको पक्षमा आफ्नो मत प्रदान गर्न  जनतालाई बुझाउन  सक्रिय भूमिका खेल्नुको साथै जनमत संग्रहलाई  निष्पक्ष र धाँधलीरहीत सम्पन्न गर्न नेपाल कम्युनिष्ट पार्टीले  पाँच पूर्ब शर्तहरु  सार्वजनिक रुपमा राखेको थियो : 

१. पञ्चायतका माथिदेखि तलसम्मका सम्पूर्ण निकायहरु भंग गरिनु पर्ने


२. पञ्चायत नीति ताथ जाँचबुझ समिति र गाउँफर्कको नाममा चलाइएका जनबिरोधी तथा नियन्त्रणमुखी संस्थाहरु खारेज गरिनु पर्ने

३. सम्पूर्ण राजबन्दीहरु रिहाई गरिनुपर्ने र राजनीतिक नेता तथा कार्यकर्ताहरुमाथिको वारेण्ट रद्द गरिनु पर्ने


४. १८ बर्ष उमेर पुगेका सम्पूर्ण नेपाली नागरिकले जनमत संग्रहमा भाग लिन पाउनु पर्ने, र 

५. कम्युनिष्ट काग्रेस पार्टी लगायत सम्मिलित राष्ट्रिय सरकार गठन गरेर त्यसले जनमत संग्रह गराउन पर्ने 

यस समयको केही वर्ष पूर्व,  कमरेड पुष्पलालको जीवनकालमै  पार्टी केन्द्रलाई सुइँको सम्म नदीई लुम्बिनी प्रदेशका साथीहरुले लुम्बिनीको हर्रेवर्रे र गण्डक प्रदेशका साथीहरुले पर्वत जिल्लाको चुवाको चर्चित डकैत काण्ड मच्चाएका थिए। "बल जफती जनताको सियो सम्म पनि लिनु हुदैन " भन्ने कमरेड माओजेदुङ्गको बिचार बोकेर हिड्ने पार्टीका साथीहरुको यो हर्कत माथि पार्टी केन्द्रको  अनुशासनको कार्यबाही परेपछि यसलाई थेग्न नसक्ने र अप्रिय मान्ने साथिहरु बेग्लै गुँड खोजी हिड्ने र पलायन हुने स्थिति रह्यो। यस घटनाले पार्टीको गरीमा जनताको नजरमा गिरी सारा संगठन  छिन्नभिन्न अवस्थामा पुगेको थियो। 

यम प्रसाद गुरुंगले नेपाल कम्युनिष्ट पार्टीको एउटा ईमान्दार अनुशासित सदस्यको हैसियतले उपरोक्त घटना प्रति असहमति मात्र होईन तिब्र बिरोध पनि गरेका थिए। यस घटना पछि पनि उनको पार्टी केन्द्रसंग जिवन्त सम्बन्ध रहिरह्यो।  जनमत संग्रहको घोषणापछि पर्वत जिल्ला भरि छिरलिएर बसेका नयाँ पुराना साथिहरुको आफ्नै निवास भोक्सिंग खोलखर्कमा भेला गराई आफूलगायत  धेरै साथिहरुलाई बहुदलिय व्यवस्थाको पक्षमा सक्रिय बनाएका थिए।
बहुदलको प्रचार अभियानमा गाउँ गाउँ जाँदा मण्डले पंचहरुसंग र उग्र बाम पन्थीसंग सधै ज्यानको बाजी लागाउनु पर्थ्यो, बहुदलको तत्कालिन चिन्हआकाशे  "नीलो " रंगहामीलाई आकाशे कम्युनिष्ट र भोट बाकसमा हाल्नु पर्ने भएकोले "बाकसे कम्युनिष्ट " भनेर ढुंगामुढा गर्दै नारा लगाउथे। सहाना भाउजुको सेतिबेणीमा आमसभा भएको बेला मसालका नेता मेरा मावाली बाजेका मीतका छोरा  उरामका मामा राम प्रासाद भुसालले कट्टु मात्र लगाएर पेट ठटाएर उधुम गरेका थिए । त्यस बेला पनि जनमत संग्रहको बहिष्कार गरेर यिनिहरुले  निरङ्कुश पंचायती व्यवस्थाको आयु लाम्बाइदिने कामगरेर पंचायतलाई ठुलो गुण लगाउने काम गरेका थिए। अहिले जसरि नाङ्गो रुपमा राष्ट्रिय ढुकुटी ब्रह्मलुट गर्ने, पैसा भनेपछि थुकले टिप्ने र मुलुकको अस्मिता बेच्न पछि नपर्ने, अति कमजोर चरित्र भएकाहरुले ईमान्दार कम्युनिष्टलाई ठाडो शिर पारेर हिड्न लाज लाग्ने स्थिति बनाईरहेका छन् । यिनिहरुनै हुन् त्यतिबेला  पनि कम्युनिष्टका नाममा  चर्का  क्रान्तिकारी बहिष्कारको कुरागर्दै  जनमत संग्रहमा जनपक्षीय मतलाई रोकी पंचायतलाई मृत्युसंजीवनी  दिएर लोक हँसाएका थिए ! 

क्यान्सर जस्तो असाध्य रोगका कारण यम प्रसाद सरको ४१ वर्षको अल्पआयु उमेरमा २०३७ सालमा देहावसान भयो।  उनले साथीहरु माथि अत्यधिक विश्वास राख्ने बानि थियो जसको कारण कहिले काही धोखा पाउनु पनि परेको घटनाहरु छन्। तत्कालिन राष्ट्रिय पंचायतको निर्वाचनमा उनको हारको पछिको कारण पनि साथीहरु माथि आवश्यकता भन्दा बेशी बिश्वास गर्नु थियो।  जातिय, लैंगिक, धार्मिक विभेद र  बर्गीय शोषण थिचोमिचोको  बिरोधि, कुरीति अन्धविश्वासलाई बैज्ञानिक चेतना र ज्ञानको माध्यमबाट उन्मुक्ति गराउन सकिन्छ भन्ने बिश्वास, मानिस जातले होइन ज्ञान र सीपले श्रेष्ठ हुन्छ भन्ने मान्यता उनको थियो। उनको मृत्युबाट यस भेकका उत्पिडीत र गरिब निमुखाहरुको साहरा, प्रगति र प्रेरणाको  एउटा दीप निभेको अनुभूति यध्यपि छदैछ । 

उनि बित्दा जेठी छोरी देवु जम्मा चार कक्षामा पढ्दै थिईन
, छोरा खगेन्द्र र सानी छोरी उमा धुलोमा खेल्दै थिए।  तर विवेकी र सहनशिलता र धैर्यताकी पर्याय पत्नी प्रेम कुमारी, देउराली खोला जेठा साहुकी जेठी नातीनीले सबै सन्तानलाई हुर्काइन। अहिले तिनी पर्वत,भोक्सिंग खोलाखार्कबाट  सपरिवार पिपलटारी, भरतपुर चितवन आएर बसेकी छिन। जेठी छोरी देवुको पोखराका लिला गुरुङसंग विवाह भएको छ। अहिले  उनका  सन्तानहरुमा जेठो नाति  डा. सविन गुरुङ एमडि , बुहारी डा. निकिता  अर्को नाति नबिन गुरुङ-चार्टर्ड अकाउटेण्ट, साना नातिनीहरु अनुजा, वर्षा र आसिम हुर्कदै छन्। विश्वास छ यिनीहरुले पनि एउटा आदर्श पुरुष बाजे यम प्रसादको पद चिन्ह पच्छ्याउने छन्।

यम प्रसाद सरले भूगोल पढ़ाउदा पहिला विद्यार्थीको हाजीरी लीईसके पछि  ब्ल्याक बोर्डमा मिति, त्यस पछि त्यो दिनपढाउने बिषयको शीर्षक लेख्थे र  नक्सा बनाउथे। नक्सा नबनाई भूगोल कहिलै पढाएनन।  उनको सुन्दर अक्षर र नक्सा हुवहु उतार्ने हामीले प्रतिस्पर्धा गर्थ्यौ।  एकदुई वर्ष जजसले उनको कक्षामा पढ्ने अवसर पाए, सबैले सुन्दर अक्षर बनाए। दाजुका अक्षर हेरेर भाई बहिनीले सिके, हस्तान्तरण पनि हुदै गयो। भोक्सिंग स्कूलको हावा मात्र लागेका धेरै परिवारका समकालीन सन्तानहरुका नेपाली अक्षर हेर्नलायक सुन्दर बने। 

शारीरिक रुपमा जति उनी सुन्दर थिए त्यतिनै उनको व्यक्तित्व र मन सुन्दर थियो। मैले उनलाई देख्दा सधै सोच्थे यम प्रसाद सर जस्तै  हुन पाए
? तर त्यो कहाँ सम्भव थियो ? कमसे कम सरको प्रिय बिद्यार्थी बन्न सम्म पाए हुन्थ्यो। म जस्ता धरैको उनि मोडेल व्यक्ति थिए , उनले कहिलै कसैलाई भन्दैनथे यो बिचार यस्तो हो।   उनको समग्र व्यवहार जीवन शैलीले अव्यक्त संदेश दीई रहन्थ्यो र हामी आकर्षित र प्रेरित भै रहन्थ्यौ। 

एउटा सुसंकृत
, सरलमृदुभाषी र सकारात्मक सोंच राख्ने, बहुआयामिक व्यक्तित्वका धनी, आदर्श पुरुषको चेलो बन्ने मौका पाएकोमा मलाई गौरव छ। त्रिचन्द्र क्याम्पसका प्रोफेसर  कृष्ण चन्द्र गौतमले ''आहा कति सुन्दर अक्षर मोतीका दाना जस्ता" भनि गरेको प्रशंसा सुनेर मलाई लागेथ्यो  सरको अरु गुण नआए पनि कम्तिमा अक्षर सम्म राम्रा लेख्न सिकेछु, यो प्रसंसालाई उनी प्रति कै सम्मान सम्झी मेरा प्रिय गुरु यम "घायल"लाई नै सभक्ति अर्पण गर्दछु। ईति !


cpnsharan@gmail.com      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif