Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

ब्रह्माण्डको अस्तित्वको आधारको खोजीमा बैज्ञानिकहरु


२०७७ आश्विन २१ गते , बुधवार प्रकाशित

  हाम्रो अस्तित्व छ र हाम्रो वरिपरीको संसारको पनि अस्तित्व छ । यदि हामीले अद्वैत बेदान्तका आधारमा संसारलाई ‘माया’ मान्ने हो भने पनि ‘माया’ जस्तो त हम्रो अस्तित्व छ नै । शंकराचार्यले के भन्दछन् भने ‘संसारको पारमार्थिक अस्तित्व छैन तर ब्यवहारिक अस्तित्व छ’ । बिज्ञान त झन भौतिकबादी कुरा भयो त्यसले गर्दा त्यसमा यस प्रश्नका लागि कुनै स्थान नै रहेको हुनु हुदैनथ्यो   । पहिला त यो प्रश्नै थिएन पनि तर अब यो कुरा बैज्ञानिकहरुले पनि भन्न थालेका छन् कि आखिर यो ब्रह्माण्डको अस्तित्व किन छ  र यसमा जीवन कसरी पैदा हुन्छ ? के हामी कुनै दुर्लभ संयोगबाट अस्तित्वमा आएका हौं ? यो प्रश्नसँग प्रत्यक्षीकरण हुने र सामना गर्नुपर्ने कतिपय कारणहरु छन् । सबैभन्दा ठूलो कारण बिज्ञानका दुइटा सबैभन्दा ठूला सिद्धान्तहरुको बिरोधाभास हो । आधुनिक बिज्ञानलाई बदल्ने एउटा सिद्धान्त हो – अलबर्ट आइन्स्टाईनको सापेक्षताको सिद्धान्त । यसबाट हामीले ब्रह्माण्डका घटनाक्रमहरुको ब्याख्या गर्न सक्तछौ अर्थात् स्पेस,(अन्तरिक्ष) समय, गुरुत्वाकर्षण, तारामण्डल, ग्रह आदिको गतिबिधि र कामकाज बुझ्नका लागि यो सिद्धान्त सबैभन्दा महत्वपूर्ण छ । दोश्रो सिद्धान्त हो क्वान्तम सिद्धान्त जसले भौतिकबादको संसारलाई बदलिदियो ।क्वान्तम भौतिकीका आधारमा  हामी परमाणु तथा तीभन्दा पनि सुक्ष्मतम कणहरुको र तिनको स्तरमा ऊर्जाका  बारेमा कुरा बुझ्न सक्तछौ । 

    यी दुबै सिद्धान्त आपसमा धेरै हदसम्म मेल खान्छन् । तर बृहत हदसम्म दुबै महत्वपूर्ण सिद्धान्तका बीच सामाञ्जस्यता कायम गर्ने बैज्ञानिकहरुका धेरै  प्रयत्नहरु सफल हुन सकेका छैनन् । एकातिर बैज्ञानिकहरु सावधानीपूर्वक दुबै सिद्धान्तका मेलखाने तत्वहरुलाई छानेर तिनको उपयोग संसारका सबै रहस्यहरुलाई बुझ्नका लागि गर्दछन् । तर अर्कोतिर क्वान्तम भौतिकीका नियमहरुलाई बिराट ब्रह्माण्डमा लागु गर्ने प्रयत्न गरिदा बैज्ञानिकहरुले के पाए भने ती नियम अनुसार त कुनै जीवनको अस्तित्व नै सम्भव छैन । क्वान्तम भौतिकीको हिसावले ब्रह्माण्डमा कूल जति पनि ऊर्जा छ त्यो आवश्यकताको लाखौ–करोडौ–अर्बौ–खर्बौ अंशभन्दा पनि कम छ ।यस प्रकार ‘हिग्ज–बोसोन’, जो हाम्रा समुच्चै ब्रह्माण्डमा पदार्थको उपस्थितिको आधार छ, त्यो आवश्यकताभन्दा कयौं खर्ब गुणा सानो छ । तर यी स्थीरांकहरुलाई हिसाव मिल्ने गरी अलिकति पनि तल माथि गर्ने हो भने ससार त बन्दछ तर त्यो जीवनका लागि उपयोगी हुन सक्तैन । यी सारा समीकरण बहुतै जटील छन् र हामी जस्ता आम मानिसहरुको ज्ञानभन्दा धेरै टाढा छन् । तर बैज्ञानिकहरु यस कुरामा पनि जुधिरहेका छन् कि के यो संयोग मात्र हो कि यत्तिका नाजुक सन्तुलन भएका स्थीरांकहरुले नै यो संसार बन्यो, जसमा जीवन सम्भव भयो । यो सम्भावना त खर्बौमा एक हो, त्यसो हो भने के हाम्रो अस्तित्व यत्तिका दुर्लभ संयोगमा आधारित छ ? यो त प्रायः प्रायः असम्भब कुरा जस्तै लाग्छ ।

    प्रसिद्ध बैज्ञानिक स्टिफन हकिन्स र एलन ग्रुथले यस समस्यामाथि काम गरे र अन्य कतिपय बैज्ञानिकहरु पनि यो समस्यासँग जुधिरहेका छन् । उनीहरुको धारणा के छ भने ‘बिग ब्यांग’ अर्थात ‘ठूलो फड्को’ पछाडि एउटा मात्र होइन,असंख्य ब्रह्माण्डहरु बने । जस्तो कि पानीमा अचानक खलबली मच्चिदा थुप्रै बुलबुले थोपाहरु बन्ने गर्दछन् । अझ कुरा त के भने यी ब्रह्माण्डहरु बन्ने क्रम अहिले पनि जारी नै छ । यी सारा ब्रह्माण्डहरुको भौतिक स्थीरांक र नियम बेग्ला बेग्लै छन् । अर्थात् सबै सम्भव गुणहरु र नियमहरु भएका बिभिन्न ब्रमाण्ड उपस्थित छन् ।तीनै मध्येको एउटा हाम्रो ब्रह्माण्ड हो ।  जसका भौतिक गुणहरु जीबनका लागि उपयुक्त र अनुकूल छन् । के पनि सम्भव छ भने यस्ता कतिपय ब्रह्माणडहरु होलान् जसमा बेग्ला बेग्लै नियम भएका अर्कै किसिमका जीवहरु हुर्किरहेका हुन सक्तछन् अर्थात् यस्ता बिभिन्न संसारहरु हुन सक्तछन् जहाँ हाम्रो ब्रह्माण्डका कुनै नियम लागु नै हुदैनन् । यो कुरा टाउको खाने खालको अबश्य लाग्दछ । तर यत्रा ठूला बैज्ञानिकहरुले निरन्तर खोजी गर्दै  यो कुरा भनिरहेका छन्, त्यसैले यो कुराका पछाडि केही दम त हुनै पर्दछ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif