Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

बीस बाम दलले संयुक्त आन्दोलनलाई सशक्त बनाउने


२०७७ आश्विन १८ गते , आईतवार प्रकाशित

काठमाण्डौ । एक भर्च्युअल संयुक्त अन्तरक्रियाको आयोजना गर्दै  हिजो सत्ता इतरका २० बाम दलले राष्ट्रमा उत्पन्न गरिएका राष्ट्रियता, जनतन्त्र र जन जीबिका सम्वन्ध चौतर्फी समस्याका निकासका लागि संयुक्त आन्दोलनलाई सशक्त र ब्यापक बनाउन जोड दिएका छन् । त्यसका लागि कार्यगत एकता, सहकार्य, संयुक्त मोर्चा र पार्टी एकतासम्मका बिषयहरुमा उनीहरुले संयुक्त छलफल शुरु  गरेका छन् र त्यसमा आ–आफ्ना दल तथा संगठनका दृष्टिकोणहरु राख्दै संयुक्त आन्दोलनलाई तत्कालीन र दीर्घकालीन सही दिशाबोधका साथ अघि बढाउन अग्रसर हुने निष्कर्श निकालेका छन् ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सह संयोजक लोकनारायण सुबेदी, देशभक्त जनगाणतान्त्रिक मोर्चाका नेता सीपी गजुरेल (क्रान्तिकारी माओबादी)का नेता रामसिंह श्रीस, नेकपा(मालें)का नेता सीपी मैनाली, नेकपा(मशाल)का नेता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका नेता भैरबराज रेग्मी, राष्ट्रिय जागरण मञ्चका नेता गुणराज लोहनी, नेकपा(संयुक्त)का नेता केदारचन्द्र शर्मा, जन समाजबादी पार्टीका नेता सुभाषराज कफ्ले, नेकपा मार्क्सबादी (पुष्पलाल)का नेता अच्यूतराज ज्ञवाली, नेकपा(मार्क्सबादी)का नेता रामहरि पोखरेल, नेकपा(बोल्शेभिक) नेता रबिन्द्र श्रेष्ठ, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराई, एमसीसी खारेज अभियानका नेता नारायण शर्मा, मार्क्सबादी एकता अभियानका अध्यक्ष डा. शम्भू कट्टेल, नेकपा (माओवादी केन्द्र)का नेता कर्णजीत बुढाथोकी, राष्ट्रबादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापा, राष्ट्रिय जागरण परिषदका नेता सूर्य रेग्मी र नेपाल सर्बहारा कम्युनिष्ट पार्टीका नेतृ भावना बिद्रोहीले आ–आफ्नो संंगठनको बिचार राख्दै संयुक्त आन्दोनलमा जोड दिएका थिए ।


सीपी गजुरेलको सञ्चालन र डा. शम्भू कट्टेले प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा बिगतका आन्दोलनहरुका सबल र दुर्बल पक्षको समीक्षा गर्दै र सही शिक्षा लिदै बर्तमानका ज्वलन्त आबश्यकता आधारमा ब्यापक जनताको साथ र सहयोगमा आन्दोलन उठाएर राष्ट्र जनता र जनतान्त्रिक हक अधिकारको रक्षा र अग्रगामी आमूल परिबर्तको दिशामा आन्दोलन बिकसित गर्नुपर्ने सहभागी सबै दल तथा संगठनहरुको सर्बाधिक जोड रहेको थियो ।

  सहभागीहरुले बर्तमान सामान्ती दलाल पूँजीवादी नोकरशाही सत्ताले जनताका समस्या हल गर्न नसक्ने आफैले उत्कृष्ट भनेको संबिधान अनुपालन नगर्ने र उल्टै उलंघन गर्ने, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पञ्छिने तथा हरेक क्षेत्रमा भ्रष्टाचार,कमिशनखोरी, माफियागिरी चलाएर देश र जनतामाथि खेलबाड गर्दै जनता र देशको भबिष्यलाई अनिश्चित तुल्याउने र खतरामा पार्ने गरेको औंल्याउँदै यसले कम्युनिष्ट आन्दोनलको गरीमा र गौरब शोषित उत्पीडित जनताको मुक्तिको बाटो अर्थात् जनतन्त्र, जनजीबिका र राष्ट्रियताका समस्या समाधान गर्ने सामन्तबाद तथा साम्राज्यवाद बिरोधी जन आन्दोलनसँग गाँसिएको एक मात्र मूल बाटोलाई बद्नाम गरिरहेको औंल्याए  ।



कुनै पनि जनबिरोधी र राष्ट्रघाती गतिबिधिमा प्रत्यक्ष परोक्ष संलग्नता  कहिले पनि र कीमार्थ कम्युनिष्ट आन्दोलनसँग सपनाको साइनो पनि हुदैन । तर आज देशमा कम्युनिष्टको खोल ओढेर के कस्ता गतिबिधि भइरहेका छन्, कसरी जनतालाई एक पछि अर्को भ्रम, भयावह भ्रष्टाचार र भयको चक्रब्यूहमा फँसाइएको छ यसले प्रष्ट पार्दछ कि कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने, यसबाट जनतामा ब्यामोह र बितृष्णा पैदा गर्ने र अन्ततः जनतालाई सँधै शोषित र शासित नै राखिरहने भयंकर ठूलो बैचारिक, सैद्धान्तिक र राजनीतिक षडयन्त्र भइरहेको छ । यस्ता कृयाकलापको निरन्तर भण्डाफोर र पर्दाफास नगरी समय सापेक्षरुपमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्तैन । त्यसैले, यी समस्याहरुलाई लिएर आन्दोलन ब्यापक बनाउनुको बिकल्प नभएको सबै सहभागी बक्ताहरुले प्रष्ट पारेका थिए । आन्दोलन सम्वन्धि कार्यक्रम तय गर्न आगामी शनिवार २० दलको बैठक बस्ने बुझिएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif