Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

ठुलो मुमाको कटरस र मसीको भाँडो


२०७७ आश्विन ११ गते , आईतवार प्रकाशित

लुँखु माझ्घर, पानी-पँधेरोको पायक, पाहरिलो खेतबारी, गाईबस्तुको लागि निकास, सबैथोक  मिलेको, पर्वते मल्ल राजा कीर्ति बम मल्लका नातिहरु हिमु मल्ल र ऋखु मल्ल दुई भाई आई बसेको पहिलो थलो हो यो । जेठा छोरा जवरजंग(जन्जाल)वीर बम मल्लका छ भाई छोराहरु मध्ये यी दुई भाई लुँखु आईपुगेका थिए। जेठा हिमु मल्ल गाउँको मुखिया बने पछि आफ्ना दुईभाई छोरा जेठा  बहादुर मल्ल र कान्छा दिवाकर मल्ललाई लिएर केहि पूर्व पारी पट्टि सर्छन। मुखिया हिमु मल्ल बस्ने ठाउँलाई त्यस बेलादेखि पारिमुखिया भन्न थालियो। ऋखु मल्लका सन्तान चार भाई बस्ने ठाउँ, जेठा डिमु मल्ल-मुलाबारी, माहिला चन्द्र वीर-भेडीखोर, साहिला ईन्द्र वीर-डुंडे भन्ने ठाउँले चिनिदै गयो। माझमा रहेको घरमा ऋखु मल्लका कान्छा छोरा त्रिभुवन वीरका सन्तानलाई बस्न जुर्यो । फेरि पनि त्रिभुवन मल्लका छोराहरु प्रेम(पेम) मल्ल, मन्दिर मल्ल र अमृत(भोटु) मल्ल, यी तीन भाई कोहि माझ घरबाट  माथितिर सरे माथि-माज्घर, त्यही रहे माझ्घर र जो तलतिर झरे तल्लो-माझ्घर, भनी चिनिन थाले। 

त्रिभुवनवीरका कान्छा छोरा अमृत(भोटु)मल्ल सन् १९१४ पूर्वनै इष्ट ईन्डिया कम्पनीको, त्यस भेककै पहिलो सिपाही हुन पुगे। प्रथम विश्वयुद्धमा लडाई लडी अजिटेन्त हल्दारमेजर भएर पेन्सन आएका भोटुमल्लले आफ्ना छोरा लगायत, सारा दाजुभाइका तन्नेरी छोरा जतिलाई कम्पनि सेनाका सिपाही बनाए। अन्य गाउँलेहरुलाई पनि कतिलाई त मल्लथर लेखाउदै  सिपाही बनाई दिए ।  दोश्रो विश्वयुद्धको तयारीमा लागेका चलाख अंग्रेजहरुले सबै बहादुर गोर्खाली ठिटाहरुलाई लाहुरे बनाउने अभियानै चलाएका थिए । भोटु मल्लले आफ्ना  माहिला दाजु मन्दिर मल्लका पाचै भाई छोराहरु भद्रु मल्ल, चंद्रु मल्ल, नरु मल्ल, तुलु मल्ल, हरि बहादुर मल्ल, सबैलाई लाहुरे बनाएका थिए ।  हरि बहादुर मल्लले पल्टनमा नाम कमाई मेजर भए पछि  सबै मल्लहरुले आफ्नो नामको पछि बहादुर लेख्ने प्रचलन शुरु भयो। 

जेठा भद्रु मल्लका पनि छोराहरु पांच भाई थिए, पाचै भाई लाहुरे बने। नायक  भिम बहादुर, नर बहादुर, टिकु, कप्तान भक्त बहादुर र कप्तान  पदम बहदुर, पाचै जना लाहुरे।  बाबु भद्रु मल्ल पहिलो विश्व युद्धमा घुडामा  गोली लागि घाइते भए, जीवनभर उनको घुडा खुम्चाउन मिलेन, बदलामा उनको पेन्सन साबिक भन्दा दुई तीन रुपियाँ बेसी  थियो। 

भिम बहादुर दोश्रो विश्वयुद्धमा आफ्ना कान्छा बुबा मेजर हरि बहादुरसगै जापानीहरुको युद्ध बन्दि भएका थिए। उनको बिवाह  सिम्ले उपल्लो डांडा माईती भएकी मैना कुमारी सेनसंग भएको  थियो । यिनीहरुको पनि लालबहादुर, धुमेमाहिला धुपेंद्र र कान्छो थमन, दुई  छोरीहरु गीता र बेली गरी पांच जना सन्तान हुन्छन। मैना कुमारीले आफ्ना कान्छा ससुरा मेजर हरि बहादुरको जेठो नाति दलिपलाई  पनि खाने कुरामा छुट्टाउनै हुदैनथ्यो।  खाने बेलामा टुप्लुक्क आई पुग्थ्यो। ठुलो मुमाले पकाएको रोटी होस् या भुटेको मकै, घिउ हाली तताएको बासि भात होस् या मकैको आँटो, उसलाई नखाई हुदैनथ्यो। ठुलो मुमाले भन्थिन "यसको जन्मदाको नाइटो काटेर अंगेनामै गाढेको हुनु पर्छ" उनको खानामा मायाले भरिएको मगमग बास्ना हुन्थ्यो।  

लाहुरेको परिवार हिन्दुस्थानी फिलिमको ठुलो प्रभाव, न्वारनको नाम (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशि 'से' बाट 'शेर बहादुर' नाम जुरे पनि अभिनेता दिलिप कुमारको जादु चलेको बेला, काका-फ्यानहरुले भतिजाको  नाम पनि दिलिप कुमार राखी दिए।  तर जिब्रो लरबरिदै जाँदा 'दि'को इकार हराउदै गयो र "दलिप" मात्रले गाउँ भरि चिनिन थाल्यो उ। बिस्तारै दिलिप, दलिप, शेर, कहिले काही कवि बन्दा "सागर" हुदै एसएलसी दिदासम्म उसको नाम शरणमा बदलियो।  नयाँ पुस्ताका लागि यी  विभिन्न नाम कथा जस्तै लाग्छन ।  सुन्ने र सुनाउने दुवैको फुर्सद मिल्दा सुनाउदा रमाइलै होला

यो बाहेक दलिपलाई ठुलो मुमाले प्रत्येक पटक कटरस पार्दा एक भाँडो मसिदानी भरि कटरस अनिवार्य दिने पर्थ्यो ।  फलफूललाई पास भनिन्थ्यो र त्येही पासले भरिएको माटोको घैटोपातको बिर्को कोची  मज्जाले कसिन्थ्यो, झन्डै एक माहिना अँगेनाको डिलमा बोराओढाएर आगोको रापमा सेकाए पछि  रक्सि बनाउनको लागि ठिक्क हुन्थ्यो। त्यस पछि लघु डिस्टिलरी उद्धोगको प्रक्रियाबाट कटरस तयार गरिन्थ्यो। 

मल्ल ठकुरीहरुले लुँखु आएको चार पुस्ता बित्दासम्म रक्सि खाएको थाहा  थिएन।  यहाँ सम्मकि आफ्नो दाजुभाई -पत्नीले पकाएको बाहेक अन्य जातिले पकाएको पनि खादैनथे। त्यतीबेला त्यहाँ भएका गौतम उपाध्याय ब्राह्मणहरु जसलाई गोताये भन्थे, उनीहरुले पकाएको पनि चलाउदैनथे।  स्वयम पाक्य थिए।  गोतायेहरु अधिकारीहरुका भान्जा खलक हुन्।  अधिकारीहरु रातामाटाबाट माथि लुँखु गाउँमा सर्नु भन्दा पहिले देखि नै यी गोतायेहरुको  लुँखु गाउँमा बसोवास थियो।  पर्वते राजाका छोराहरुलाई बाच्छा-बिहादीबाट यिनीहरुलेनै लुँखु लगेको भनिन्छ। यिनीहरु र  मल्लहरु  स्वगोत्रीय 'अत्री गोत्रीयपनि मानिन्छन। यसको कथा जोड्दा लम्बिन्छ।  हालमा लुँखुमा गोतायेंहरु छैनन्, गोतायेंको खेतबारी नामलेले भने प्रशिद्ध छ,  मल्लहरुलाई नै जिम्मा लागाई पूर्व तिर्शुली तिर बसाई सरे भनिन्छ।  हुवास-पैयुँ खोलाका  गौतमहरुसंग यिनीहरुको के नातापर्छ यो खोजबिनको  कुरा भित्र पर्दछ। 

हिन्दुस्थानमा आएका अंग्रेजहरुले कसैको धार्मिक आस्थामा सिधै आक्रमण गर्दैनथे।  छेत्री-ठकुरी गोर्खालीहरुको छुट्टै ९ गोर्खा राइफल्स पल्टन बनाईदिएका थिए। धार्मिक आस्था संवेदनशील हुन्छ र यसलाई छुनु हुदैन भन्ने कुरा उनीहरुलाई पूरै थाहा थियो।  अंग्रेजहरु धेरै चलाख थिए। ती  पल्टनमा सिपाहीलाई खाना पकाउन, मन्दिरमा पुजा गर्न नेपालबाटै ब्राह्मणहरु लैजाने चलन शुरु भयो।  लुँखुबाट पनि भान्से बाहुन र पण्डित लैजान शुरु भयो। लुँखुबाट दोश्रो विश्वयुद्ध पूर्व नै  माटाखानी-चिप्लेटीका 'बटु अधिकारी पाध्य' भान्से ब्राह्मणको रुपमा गएका पहिलो व्यक्ति हुन्। त्यस पछि बिस्तारै सिपाहीमा पनि यहाँका अधिकारी, पौड्याल आदि थरका ब्राह्मणहरु भर्ती हुन थाले।  पल्टनमा बाहुनहरुले पकाएको खाने, गाउँमा आएर नखानुको अर्थ रहेन।  यसरि ब्राह्मणहरुले पकाएको भान्सा बल्ल मल्लहरुले चलाउन थाले। 

ठकुरीहरुले कुखुराको मासु परदेशमा खाए पनि गाउँमा आएर खान थालेको नयाँ पुस्ताले,यही ३० को दशक पछि मात्र सरावारी बनाएको हो भन्दा पनि हुन्छ। यस भन्दा पहिला ठकुरीका छोरी बुहारीले आफ्नो पेवा बनाई चुरापोते गर्न कुखरा पाल्ने चलन थियो। तिनताका लुँखु गाउँबाट लामे, दुक्तान, बालाकोटका गुरुङहरुले लौराको दुवैपट्टि भार जस्तो बनाई कुखुराका रहरलाग्दा भाले झुन्ड्याई लगेको प्राय: देख्न पाईन्थ्यो।  तर आजभोलि गाउँमै भाले बासेको पनि सुन्न मुस्किल छ, ठकुरी ठिटाहरुले कीरकीर गर्न नपाउदै सीतान बनाई  हाल्छन।    

दोश्रो विश्वयुद्धमा मल्लहरुले बर्मा, मलायाको जंगलमा धेरै हण्डर खाए। महिनौ, वर्षौंसम्म मलयाली, बर्मेली  आदिवासीसंग जंगलमा घुलमिल भएर बसे।  उनीहरुको भाषा सिके, खानपीन खेतीपातीको तरिका सिके र युद्ध समाप्त हुँदा बाँच्नेले आफुसितै जानेको सीप लिएर गाउँ फर्किए।  लाहुरेहरुले धेरै उपयोगी कुराहरु लिएर आए , शिक्षाको महत्व बुझेर आए स्कूल खोले, खेतिपाति पशुपालनको तरिका सिकेर आए,  वर्षको एकवालीको सट्टा दुईतीन बालि लगाउन शुरु गरे, गहुँ बाली थपे, खेलकुद, ब्यायाम मनोरंजनको उपाय सिकेर आए , सरसफाई बसोवास र खानपीनमा सुधार गरे, घोडा कुदाउने बाटो बनाए , बनजंगलको संरक्षण गरे , पाटी पौवा चौतारी-पोखरी बनाए, घरआँगनमा फलफूल लगाउने काम गरे, नयाँनयाँ सीप सिकेर आए, एकअर्कालाई सहयोग, मेला-पर्म, सामुहिक कार्यको महत्व बुझेर आए। 

तर साथमा कटरस बनाउन पनि सिके जुन उनीहरुको लागि आभिसाप जस्तै भयो। यसैबेला देखि चिया पिउने चलन र  रक्सि बनाउने चलन लाहुरेसगै लुँखु भित्रियो। जाड़ो हुने ठाउँ, दुवै पेयपदार्थले शरीरलाई न्यानो बनाउने हुदा बिहान उठे देखि नसुतुन्ज्याल यसको सेवन व्यापक हुदै गयो।  पहिला चियामा दुध चिनी हालेर खाने चलन थिएन।  कालो मरीजको धुलो हाली चिया पकाउने भने  शुरु देखिकै  तरीका हो। लाहुरेले घर नासो पठाउँदा पैसा मात्र होइन चिया पत्ती र जिरा मरिज मसला पनि पठाउने चलन थियो। 

रक्सी नभनी कटहर, बेलौती (अम्बा),काफल, केरा, धएंराको रातो फुल, मौवाको फूल-बोक्रा जे मिल्छ त्यो हाली बनाएको शुद्ध भनि कटरस (कडारस , शुरुमा बानि नपरुज्यल मुखै बटारिने टर्रो भएकोले होला) नाम दिए।  प्रत्येक घरमा लाहुरे, उनिहरु छुट्टी आउँदा, पाहुनालाई स्वागत गर्दा यो नभई नहुने भयो।  बाह्रै महिना बार्है काल प्रत्येक ठकुरीका घरमा कटरस बन्न थाले।  यो नबनाउने घर बिरलै भए।  अब फलफुलको अभावले भेली(गुंड)बाट बन्न शुरु भयो।  लाहुरेले छुट्टी आउदा बटौलीबाट भरियालाई भेली बोकाएर घर फर्किन थाले। पेंसेनरले गोरखपुरमा पेन्सन बुझी फर्कदा चिया, मरिज, जिरा, मसला, यी चीजका साथै भेली पनि बोकेर आउन शुरु गरे। धेरै लाहुरेको पैसा, पेन्सनरको पेन्सन, कटरसमा सिद्धिन थाल्यो।  लाग्दथ्यो अन्न नखाए पनि हुन्छ, फाटेको कपडा लगाए पनि हुन्छ तर कटरस नभई हुदैनथ्यो। कटरसको लतले धेरै लुन्खेली ठकुरीलाई कंगाल बनायो।   

अपवाद, मेजर हरि बहादुरको घरमा कटरस बनेन, मेजरनीले कहिले-काही खान्थिन, लाहुरे छोराहरुलाई नभई हुन्नथ्यो। तर मेजरले भने पेन्सन आउनु भन्दा अगाडिनै पल्टनमै रक्सी छाडेर आएका थिए। मेजरले धेरै पटक गाउँमा यो कटरस पार्ने चलन रोक्न कोशिस गरे, केहि मत्थर हुन्थ्यो फेरि जाग्थ्यो, तर रोकिएन। उनको अम्मलमा काचोपातको सुर्ती भने थियो।  चुरोट बिढि तान्दैनथे,आफ्नै सरल  जीवन शैली थियो। पहिलो नाति दलिप जिजुमुमाको पुच्छर, एकपटक  सानैमा  जिजुमुमाको काखमा बसेर कटरसले भरिएको काँशको बटुकोमा औलो चोपी जिब्रोमा  लगाएको थियो, कस्तो टर्रो मुखै बटार्ने।  त्यहाँ देखि त्यो चीज कहिलै मुखमा लगाउने हिम्मत गरेन। यसले शरीर, श्रीसम्पत्तिको क्षय गराउछ भन्ने जानेर होईन, नमीठो मानेर। दलिप धेरै पछि शरण विक्रमको नामबाट साथी भाईमा चिनिन थाले पछि  जर्नेल नीरजंग राणा, धेरै ठाउँमा बडाहाकिम भैसकेकाकी कान्छी  छोरी मन्सुरीसंग सानु मुमा बिष्णुकुमारी सेन मल्लले उसको मागी बिवाह गरिदिईन। ससुरा र उसको जिजुबुबा हरिबहादुरको जीवन शैली, आनी-बानि, स्वभावमा धेरै समानता थियो, शान्त, मधुर, मानवीय, प्रेरणादायी । तर नयाँ युगका हुनेखाने राणाजी जेठानहरु सुवर्णजंग, माधवजंग, महेशजंग र सालो मदनजंग- कोहि सचिव, कोहि जीएम, कोहि डाइरेक्टरले  कान्छो बहिनी ज्वाईलाई महँगो अंग्रेजी रक्सि खुवाई छाड्छौं भन्दै ठट्टा गर्थे, तर सबैले हारखाए , अहिले हाईसन्चो छ। 

उसको जन्मसगै बि.स २००९ सालमा. लुँखु गाउँमा औपचारिक पढाईको पाठाशाला शुरु भएको थियो। त्यो भन्दा आगाडि ठकुरीका  पुस्ताले गुरु स्थापना गरी  घरमै अक्षर-अंक चिन्ने, लाहुरबाट चिठी लेखि पठाउनेसम्मको ज्ञान लिन शुरु गरेका थिए। यो काम छुट्टी आउदा सिपालु लाहुरेहरुले आफ्ना छोराहरुलाई सिकाउने पनि गर्थे । 



काठको पाटी, सिलटको पाटीमा खरीढुंगाले लेख्ने देखि, सिसाकलम-कापी, हाडे उन्न्यु र निगालाको कलम हुदै मसिदानीमा कलम चोप्दै धर्के  कापीमा लेख्ने चलन पनि आयो। हाडे ऒखरदानाको बोक्रा पकाई कालो अली ध्वाँसे  मसि तयार गर्ने जमाना पनि थियो।  पछि विभिन्न केमिकल चक्की, धूलो आउन थाल्यो, पानीमा  फिटे पछि पग्लने कालो, नीलो , हरियो , रातो विभिन्न रंगको।  हाडे उन्यु  र निगालाको कलमले लेख्दा अक्षर छापा जस्तै हुन्थे।  दिलीपका जिजुबुबा मेजर हरि बहादुरका अक्षर पनि राम्रै थिए । क, , बर्णमाला उसले पहिला आफ्नै जिजुबुबाबाट पढ्न-लेखन सिक्यो। हामीले अहिले लेख्ने अक्षरमा '' भन्दा  काका, बुबाहरुले लेख्ने  '' भने अलि भिन्न अंग्रेजीको अंक आठलाई  तेर्सो पार्दा देखिने '' जस्तो लेखिने चलन थियो। बर्षे पिच्छे छिटछिटो भएको यो परिवर्तनको अनुभव दलिपको लागि सुखदै रह्यो ।  उसको यो हाडे उन्न्यु र निगालोको कलमले लेख्ने गरेको सीप पछिका दिनमा जुलुस आदिमा 'प्ले कार्ड' लेख्दा संगीहरुले तारिफै गर्थे। 

छ सात कक्षामा उक्लिए पछि एकदिन  दलिपले मौका छोपेर  ठुलो मुमासंग चाख्ने बहानामा एक कचौरा 'कटरस' माग्यो।  ठुली मुमाले पत्याइनिन, जोड गरे पछि- "अझसम्म नखाएको कुन साथीलाई दिने होला ? " -शंका गरिन।  तर सानो कचौरामा दीईन -"तैले नखाएस है "। उसले मसिदानीमा 'कटरस' भर्यो र त्यसमा एक पुडिया निलो मसीको धुलो खन्यायो।  मसी तयार भयो।  त्यस बेलासम्म मसि भर्ने 'फाउन्टेन पेन' भन्ने  कलमको चलन आईसकेको थियो।  फाउन्टेन पेनमा भर्यो, लेखि हेर्यो सलल बगे जस्तो लाग्यो।  कटरसमा मसी बनाउन थाले पछि कलमको चुच्चो (नीब ) जाम भएर नचल्ने समस्या हल भयो।  

एसएलसी  दिनेबेलासम्म ठुलो मुमाको कटरसमा मसी बनी रह्यो, 'चेलपार्क' को रेडीमेड मसी आए पछि यो झंझट  विस्थापित भयो, एक दुई रुपियाँ खर्च बढ्यो, यसको पैसा पनि लाहुर तिरै गयो। 

ईति : cpnsharan@gmail.com

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif