Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

भारतीय अर्थतन्त्र ,चीनको बिकास स्थिति र भारतको भबिष्य


२०७७ आश्विन ९ गते , शुक्रवार प्रकाशित


—लोकनारायण सुबेदी
       

       यद्यपि कोभिड–१९ महामारीले बिश्व अर्थतन्त्रलाई ठूलो नकारात्मक असर पारिरहेको छ । आर्थिक गतिबिधिहरु ठप्प प्राय बनेका छन् । त्यसमा पनि भारत, ब्राजिल र मेक्सिको यो महामारीको चपेटमा नराम्रोसँग परेको कुरा अंकटाड(ब्यापार तथा बिकास सम्वन्धि संयुक्त राष्ट्र सम्मेलन)ले हालै प्रकाशमा ल्याएको छ । त्यस संस्थाले ल्याएको २०२० प्रतिबेदनले बिश्व अर्थब्यवस्थामा ४३ प्रतिशतको कमी आउने कुरा जनाइएको छ । अर्थबिद्हरु यसलाई अत्यन्तै निराशाजनक तस्वीर भनेर चिन्तित देखिन्छन् । यो बिश्व अर्थब्यवस्थाको कमजोर तस्वीरको प्रभाव पनि भारतमाथि परेको छ । यस स्थितिमा भारतको अन्तर्राष्ट्रिय ब्यापारमा २० प्रतिशतले कमी आउने, प्रत्यक्ष बिदेशी निवेशको प्रबाहमा करीब ४० प्रतिशत र बिदेशी धन–प्रेषणमा १०० अरब डलर भन्दा कम हुने अनुमान गरिएको छ ।
  यस स्थितिमा भारतको घरेलु बजार पनि चिनमा बनेका भारतकाभन्दा राम्रा, सुन्दर, टिकाउ उत्पादनका बस्तुहरुले ढाकेको छ । भारतीयहरु भनिरहेका छन् कि होली खेल्दा पनि हामी आजकल त्यो चीनमा बनेको पिच्कारीले खेल्छौ, दीपावली मनाउनदा पनि चीनमा बनेका लक्ष्मी र गणेका मूर्ति पूजा गर्दछौं, चिनीया पटाका र आतशबाजी पड्काउँदछौं । राखी बाद्धा पनि चीनमै बनेका राखी बाध्ने गर्छौं । यसरी अहिले भारतीयहरुलाई आफ्नो देशमा बनेका माल सामानभन्दा बढी चिनीया माल सामान नै मन पर्छन् ।
  हुन पनि चीनले लघु उद्योगको क्षेत्रमा ठूलो जादुगरी नै देखाएको छ । त्यसले गर्दा बिभिन्न किसिमका चिनीया माल सामानले भारतीय बजार लगायत बिश्व बजार आज छ्याप्छ्याप्ती छ । किनकि ती उत्पादनहरु सस्ता, सुन्दर, आकर्षक र नबीनतापूर्ण पनि छन् । चीन यसरी आफ्नो कौशल, सीप र निपूणताले भारत लगायत बिश्व बजार मार्फत घर घरमा पसिरहेको या पसिसकेको छ । चीनको यो बढ्दो अर्थ–प्रभावले बिश्वका कयौ देशहरुका आफ्नो बजार कमजोर भएका छन् । प्रसिद्ध पूँजीबादी अर्थशास्त्री तथा नोबल पुरस्कार बिजेता मिल्टन भारतको पहिलो पञ्च बर्षीय योजनाको शुरुवात हुँदा भारत आएर पञ्जाबको लुधियानामा लघु ताथ मध्यम स्तरका घरेलु उद्योगहरुको अबलोकन भ्रमण गरे । त्यतिबेला उनले के लेखेका थिए भने त्यहाँ क्रान्तिको आरम्भ भएको छ । त्यहाँ आत्मबिश्वासयुक्त, सबल र अनगढ पूँजीवादको लहर आइरहेको छ । भारतको औद्योगिक आकांक्षा टाटा जस्ता अपबादात्मक औद्योगिक दिग्गजबाट पूरा हुँदैन, त्यसको बिपरीत लुधियान जस्ता लघु र मध्यम दर्जाका उद्यमीहरुबाट पूरा हुनेछ । त्यो लुधियानाबाट पूरा हुनेछ, जमशेदपुरबाट होइन । यसरी साना तथा मध्यम उद्योग अर्थब्यवस्थाका मूल आधार अर्थात ढाड हुने गर्दछन् भने ठूला उद्योगहरु त्यही ढाडमा अडिएका अर्थब्यबस्थाका शीर हुने गर्दछन् । 
  हुन त भारतीय बजारमा ब्याप्त चिनीया सामानलाई यो भूमण्डलीकरणको जमाना हो भने पञ्छाउन सकिन्छ । सबै देशले आफ्ना घरेलु उत्पादन बिश्व बजारमा बेचिरहेका छन् भने किन चिनीया सामानका बारेका रुनु कराउनु पर्छ र भनेर टार्न पनि सकिन्छ । अनि चीनले भारतीय सामान चीनको बजारमा बेच्न कुनै प्रतिबन्ध त लगाएको छैन नै । बरु भारतले अहिले चीनसँगको लद्दाख भिडन्त पछि केही चिनीया इलोक्ट्रोनिक सामाग्रीहरु माथि प्रतिबन्ध लगाएको छ ।
  बास्तवमा कुरा के हो भने भारतमा चीनले बनाए जस्ता सुन्दर, आकर्षक र सस्ता त्यस्ता घरेलु उत्पादनहरु ह्ुने गरेका छ्रैनन् । भारतमा एकातिर करोडौं मानिसहरु बेरोजगार छन् र तिनको क्षमताको उपयोग हुन सकिरहेको छैन । त्यसो गर्दा बजारको अभाव र जोखिम पनि भारतमा छैन । बजार भएकैले त चीनले भारतमा आफ्ना उत्पादनहरु धडाधन मजाले बेचिरहेको छ । तर चीनको टक्करमा आउने कुनै लघु तथा मध्यम स्तरको उत्पादन भारतमा हुन छोडेको छ । उल्टै त्यस्ता उद्योगहरु बन्द भएका छन्  या उद्योगपतिहरु अन्यत्र पलायन बनेका छन् । अनि भारतीय अर्थ बिश्लेषकहरु प्रश्न उठाइरहेका छन् कि बिश्वको आर्थिक महाशक्ति बन्ने सपना देखिरहेको भारतले चीनसँग घरेलु स्तरमै किन प्रतिस्पद्र्धा गर्न सकिरहेको छैन ?  एक अर्थशास्त्री अरबिन्द पनगढिया के भन्दछन् भने भारत श्रमोन्मुख म्यानुफेक्चरिङ्ग, लघु र मध्यम क्षेत्रका उद्योगहरुमा मार खाइरहेको छ । भारतका लघु उद्योग जगतका कर्णधारहरु आफ्नो पुरानो ढर्रालाई बदल्न चाहँदैनन् । केवल त्यही पुरानो ढर्रामै काम गर्न चाहन्छन् । उनीहरु उच्च पूँजीयुक्त उद्योगहरु जस्तो अटोमोबायल, अटो पार्ट्स, मोटर साइकल, इञ्जिनीयरिङ्गका सामाग्रीहरु, केमिकल्स या कुशल श्रमोन्मुख सामानहरु ज्स्तै सफ्टवेय, टेलिकम्युनिकेशन, फर्माक्यूटिकल्स आदिमा जस्तो परिबर्तन र परिबद्र्धन गर्न चाहदैनन् ।
  भारतमा जो ठूलो मात्रामा अकशुल श्रमिकहरु छन् तिनलाई उपयोग गर्न र उद्योग चलाउन पनि उद्योगपतिहरु रुची राख्दैनन् । यीनै कारणहरुले गर्दा भारत चीनसँग प्रतिस्पद्र्धा गर्ने स्थितिमा पुग्न नसकेको उनीहरु औंल्याउँदछन् । भारतको बर्तमान बिकासको सबभैन्दा ठूलो कमजोरी नै के औल्याइदैछ भने भारत चीनसँग राखी बनाउने उद्योगमा समेत प्रतिस्पद्र्धा गर्न सकिरहेको छैन । बिकासको उच्च दर हासिल गर्ने गरे पनि भारतले श्रमोन्मुख साना घरेलु उद्योगमा कुनै क्रान्ति ल्याउन सकेको छैन ।
  त्यसैले भारतीय अर्थबिश्लेषकहरु घरेलु तथा बिश्व बजारमा भारत चीनसँग प्रतिस्पद्र्धामा उत्रिन चाहन्छ भने भारतले चीनका घरेलु उद्योग तथा श्रमोन्मुख क्षेत्रमा सफलताको राज के छ त्यो बुझ्नु पर्दछ भन्ने औंल्याइरहेका छन् । त्यसको राज या रहस्य के भने श्रम–प्रधान उद्योगहरुमा पनि चीन ठुला उद्योगहरु सरहनै काम गरिरहेको छ । प्रष्ट छ– साना उद्योगहरु ब्यापकरुपमा स्थापना गरिरहेको छ । त्यसको लाभ के भएको छ भने ती उद्योगहरुले अनुसन्धान मार्फत उत्पादनको गुणस्तरीयता बढाउन सकिएको छ, नयाँ नयाँ अत्यन्तै सुन्दर डिजाइन ल्याउन सकिएको छ र आक्रामक मार्केटिङ्ग रणनीति अपनाएर आफ्नो उत्पादन बिश्वभरी नै बेच्न चीन सफल भएको छ । 
  यस सम्वन्धमा भारत र चीनका बीच के फरक छ त्यो जान्नका लागि यी तथ्यांकमा ध्यान जानु पर्दछ । एउटा अध्ययनका अनुसार ८५ प्रशित भारतीय परिधान उद्योग मजदुर साना इकाईहरुमा काम गर्दछन् जसमा सात या त्योभन्दा पनि कम मजदुरले काम गर्ने गर्दछन् । चीनमा भने ६ प्रतिशत मजदुरले मात्र यस्ता इकाईहरुमा काम गर्ने गर्दछन् । अर्कोतिर ५७ प्रतिशत चिनीयाँ मजदुरहरुले ठूला औद्योगिक इकाईहरुमा काम गर्ने गर्दछन् जसमा न्यूनतम् २०० भन्दा बढी श्रमिक कार्यरत हुन्छन् तर भारतमा भने केवल ५ प्रतिशत श्रमिकहरु मात्र यस्ता ठूला इकाईहरुमा कार्यरत रहेका छन् ।
  के उल्लेखनीय छ भने चीनमा मध्यम दर्जाका कम्पनीहरुको संख्या ठूलै छ । तर भारतमा त्यस्ता खालका इकाईहरु नै छ्रैनन् । यस प्रकार चीनले श्रम–प्रधान इकाईहरुलाई ठूलो संख्यामा स्थापना गरेर चलाएको छ र त्यहाँ ठूलो स्तरमा उत्पादन हुने गर्दछ । अनि संसारभरी तिनको बजारिकरण हुन्छ । त्यसबाट भारत लगायतका देशहरुले सिक्न सक्तछन् । केवल बजेटको सञ्जीबनी बुटी दिएर मात्र पुग्दैन । चीनले त साना उद्योगहरुलाई नयाँ रुप दियो । तिनका सपनालाई ठूलो बनाइदियो । उसले लघु उद्योगका उत्पादनहरुलाई यस्तो आकर्ष र नबीनतापूर्ण बनायो कि जो प्रतियोगी हुनकासाथै आधुनिक जमाना अनुकूलका पनि भए । त्यसैले बिश्व आज चिनीया उत्पादनसँग पागल जस्तै लहसिएको छ । कतिपय जानकारहरुले भन्ने गरेका छन् कि  ग्राहकले चिनीयाँ उत्पादनलाई यस्तो उस्तो भनेर गाली गरे पनि त्यसैलाई किन्ने गरेका छन् । त्यसैले भारत लगायत देशहरुले चीनबाट सिक्नु पर्ने कुरा प्रष्ट छ गुणस्तरीयता, निपुणता, कौशलता,सीप र श्रम–प्रधानता । हाम्रो जस्तो बिकासोन्मुख देशका लागि त झन् चीनसँग सिक्ने कुरा झनै गम्भीर महत्वको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif