Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

नयाँ अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्र


२०७७ भाद्र ३० गते , मंगलवार प्रकाशित

नेपालमा समाजवादी आन्दोलनलाई अगाडि बढाएर समाजवाद हासिल गर्नका लागि माओवादी र एमालेले सत्ता सञ्चालन गरिरहेको अवस्थामा समाजवादी आन्दोलनलाई अगाडि बढाउनुको सट्टा कम्युनिष्ट आन्दोलनलाई उदारवादी लोकतान्त्रिक पद्धतितर्फ उन्मुख भएको र कम्युनिष्ट आन्दोलननै विसर्जनको स्थितिमा आउन लागेको अवस्थामा तथा नेकपाभित्र सत्ता तथा पदको संघर्ष भई अन्योलको स्थिति पैदा भएको अवस्थामा नेपालका साना कम्युनिष्ट पार्टीहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता केन्द्र निर्माण गर्न लागेको छन् । अहिले नेपकाले नेपालमा आफ्नो किसिमको समाजवाद भनि वैज्ञानिक समाजवादलाई छोडेको र चुनाव र सत्तामात्रलाई प्रमुखता दिई कम्युनिष्ट विचारधारा र सिद्धान्तलाई विसर्जनमा लगेको अवस्थामा यो अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको स्थापनाको तयारीले कम्युनिष्ट विचारधारा राख्नेहरु प्रोत्साहित भएको देखिएको छ । 

नेपालमा बहुसंख्यक जनताहरु कम्युनिष्टप्रति आकर्षित रहेका छन् । मुलुकको कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि जनता कम्युनिष्टमाथि आकर्षित रहेको छ र समाजवाद प्राप्तिको शोख देखिरहेको छन् । सत्ताधारी नेकपाको बीच देखिएको सिद्धान्तहिन प्रक्रिया र पद्धतिहीन संस्थागत कम्युनिष्ट पार्टीको विकास हुन नसकेको अवस्थामा कम्युनिष्टहरुलाई वैज्ञानिक कम्युनिष्ट आन्दोलनतर्फ अगाडि बढाउनका लागि माक्र्सवाद, लेनिनवाद र माओवादलाई अघि बढाउन अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्र स्थापना गर्न लागिएको हो । नेपालमा सुरु देखिनै कम्युनिष्टबीच टुटफुट हुँदै आएकाले कम्युनिष्टहरु एक हुनुपर्दछ र यसको लाग कम्युनिष्ट एकता केन्द्र आवश्यक छ भनि पहिला पनि नरबहादुर कर्मचार्यको नेतृत्वमा कम्युनिष्ट एकताकेन्द्रको गठन भएको थियो । यसै केन्द्रले निर्माण गरेको कम्युनिष्ट एकताको अभियानले नेकपा बनेको थियो । माओवादी केन्द्रलाई छाडेर अन्यत्र गएकोहरु समेत कम्युनिष्ट एकताकेन्द्रमा सामेल गरिएका थिए । यसबाट नेपालमा कम्युनिष्टहरुबीच एकता गर्ने र समाजवादी आन्दोलनलाई अगाडि बढाउने अपेक्षा गरिएको थियो । त्यसको विपरीत समाजवादी आन्दोलननै विसर्जनको स्थितिमा पुगेकाले गर्दा अहिले नयाँ तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको स्थापना हुन लागेको हो । विश्वका कम्युनिष्ट शक्तिहरु संगठित हुन यो अभियान सुरु भएको छ । 

माओवादी जनयुद्धमा सैद्धान्तिक नेतृत्व गरेको मोहन वैद्य किरणको सक्रियतामा यो विश्व कम्युनिष्ट केन्द्रको स्थापना सुरु भएको हो । अहिले विश्वमा कम्युनिष्टहरु सही मार्ग निर्देशन नहुनाका कारण प्रतिरक्षात्मक र कमजोर स्थितिमा पुगेकाले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको निर्माण गर्न लागिएको हो । 

अहिले वर्तमान विश्वमा कम्युनिष्ट आन्दोलनको लागि अत्यन्त अनुकूल अवस्थामा रहेको र यसलाई संगठीत गरेर अघि बढ्न आवश्यक ठानिएको छ । विश्वमा माक्र्स र एङ्गेल्र्सले पहिलो अन्तर्राष्ट्रिय केन्द्र स्थापना गरी विश्व कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी अगाडि बढाएका थिए । माक्र्सको निधनपछि एङगेल्र्सको प्रयासमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना भएको थियो । यो स्थापनापछि संशोधनवादविरुद्ध क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि बढाईएको थियो भने लेनिनको नेतृत्वमा ‘अक्टोबर समाजवाद आन्दोलन’ १९१७ मा हुन पुगेको थियो । जुन लेनिनको तेस्रो अन्तर्राष्ट्रियको निर्माणको आवश्यकता थियो र यसको लागि पहल सुरु भएको थियो । यसैबाट रुसमा समाजवाद स्थापना भएपछि तेस्रो अन्तर्राष्ट्रियको स्थापना भएको थियो । रुसमा जेभी स्टालिनको निधनपछि सोभियत संघमा दक्षिणपन्थी अवसरवादीहरु सत्तामा पुगेका थिए । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा महाविवाद पैदा हुन पुग्यो । कम्युनिष्ट अन्तर्राष्ट्रिय गठन हुन सकेन । यसै विवादको अवस्थामा मार्सल टिटोको युरो कम्युनिज्म प्रतिपादन भई महान संशोधनवाद अगाडि बढेको थियो । यही टिटोले सुरु गरेको संशोधनवाद अगाडि बढाउने काम निकलो खुरुस्क्षेपले गरी उनले शान्तिपूर्ण सहअस्तित्व र विकासको नारा दिएर नवासंशोधनवादलाई संस्थागत गर्न पुगे । वर्गसंघर्षको ठाउँमा वर्गसह–अस्तित्वको सिद्धान्त प्रतिपादन भयो । अहिलेको नेपालको सत्तारुढ नेकपाले यही खुरुस्क्षेपको संशोधनवादी, दक्षिणपन्थी विचारधारा लिएर वर्गसह–संघर्षको नाममा सह–अस्तित्व, सहमति र शान्तिपूर्ण विकासको घोर दक्षिणपन्थी सिद्धान्तलाई अपनाएर नेपालको कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनको स्थितिमा पु¥याएको छ । नेपालमा विभिन्न गुटमा विभाजन भएर रहेका कम्युनिष्टहरुले समाजवादी अवधारणालाई नछोडेतापनि यसको निश्चित निर्देशनको अभावमा कम्युनिष्ट एकता केन्द्रको अभावमा छुट्टा–छुट्टै दल खडा गर्ने गरेका छन् । नेपालमा रहेको १३ वटा कम्युनिष्ट पार्टीहरुले देशभित्र समेत एकताको प्रयास गरिरहेको छन् । अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको स्थापनाको प्रयास यसको परिणामको रुपमा लिइएको छ । 

ख्रुश्चेवले नयाँ संशोधनवाद, प्रतिक्रियावाद, वर्गसहअस्तित्व र विकासको नीति अघि सारेपछि चीनमा माओत्सेतुङले यसको विरोध गरेपछि पेकिङ एकताको केन्द्र बन्न पुगेको थियो । चीनमा माओत्से तुङले महान सांस्कृतिक क्रान्ति गरेर समाजवादलाई सुदृढिकरण गर्ने प्रयास गरेका थिए । तर, माओत्सेतुङको निधनपछि विश्वमा कुनैपनि समाजवादी मुलुक रहेनन् । यस प्रकारको जटिल स्थितिमा विश्वका कतिपय कम्युनिष्ट पार्टीहरुद्वारा नयाँ अन्तर्राष्ट्रिय निर्माणको लागि आवश्यक पहल गरियो र क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन रीमको स्थापना भएको थियो । तर, साम्राज्यवादी अमेरिकाको घुसपैठले गर्दा यो अन्तर्राष्ट्रियवादी आन्दोलन रीम पनि विघटनको स्थितिमा पुग्यो । यसको साथै, दक्षिण एसियामा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अघि बढाउनका लागि सिमपोशाकको गठन भएको थियो । तर, अहिले यो पनि निष्कृयको स्थितिमा पुगेको छ । यसैले वर्तमान स्थितिमा यो क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय रुपमा नै संगठित गरी अघि बढाउनका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको स्थापना गर्न लागिएको हो । अहिलेको अवस्थामा नेपालमा भएको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन पनि विसर्जनमा पुगेको अवस्था रहेको छ । त्यसैले गर्दा अन्तर्राष्ट्रिय केन्द्रको स्थापनामा ‘विश्व सर्वहारा क्रान्तिको तयारीको लागि अगाडि बढौँ, सर्वहारा वर्गको अन्तर्राष्ट्रिय केन्द्र निर्माण गरौँ’ भन्ने नारा दिइएको छ । 

नेपालमा जनयुद्धबाट आएको माओवादीले आफ्नो बाटो उदार पुँजीवादी, बिचौलिया पुँजीवादतर्फ अगाडि बढाएको छ । बिचौलिया तथा माफियाहरुको हितमा काम गरिरहेको देखिएको छ । यसैले जनतामा निराशा उत्पन्न भएको छ । अहिले माओवादी जययुद्धबाट आएका प्रचण्ड नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय राज्यसत्ता तथा संसदीय व्यवस्थाका रक्षा कवच बनेका छन् । त्यसबेलाका बाबुराम भट्टराई प्रतिगमनको तहमा अहिले सामन्त मधेशवादी बन्न पुगेका छन् । अहिले उनीहरु माक्र्सवाद, लेनिनवाद, माओवाद, जनयुद्ध र क्रान्तिबाट बिमुख भएका छन् । प्रतिगमन तथा विसर्जनबादमा फसेका छन् । नवसंशोधनवादको वकिल बनेका छन् । बाबुरामले त नयाँ शक्तिको नाममा आफूलाई कम्युनिष्ट भन्न समेत बिर्सिएका छन् भने प्रचण्डले नेपालको विशेषताको विशिष्ट समाजवाद भनि समाजवादलाई विकृत पार्ने काम गरेका छन् । हिजो कम्युनिष्ट आन्दोलनबाट आएको एमाले, नेता केपी शर्मा ओली सबै कुरा प्रधानमन्त्रीको कुर्सी हो भनि माफिया पुँजीवादको प्रवक्ता बनेका छन् भने मजदुर किसानविरुद्धको काममा उत्रिएका छन् । 

यसै पृष्ठभूमिमा अमेरिकाले आरसीपी अगाडि सारेको छ । यसलाई कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक आधारको रुपमा अघि सारिएको हो । अहिलेको सत्तारुढ दल यसैलाई कम्युनिष्ट क्रान्तिको गायत्री मन्त्रको रुपमा लिएको छ । यस सन्दर्भमा, आरसीपी अमेरिकाको केन्द्रीय समितिले पारित गरेको ७ प्रस्तावहरुमध्ये पहिलो प्रस्तावमै भनिएको छ,‘बब अभाकियनले ४० वर्षको क्रान्तिकारी कामको आधारमा अगाडि सारेको साम्यवादको नयाँ संश्लेषणले क्रान्ति सम्पन्न गर्ने र मानवतालाई मुक्ति गर्ने वैज्ञानिक दृष्टिकोणमा एउटा गुणात्मक विकास हो । यसले अहिलेको विश्व कम्युनिष्ट आन्दोलनको लागि आधार प्रदान गर्ने काम भएको छ । नेपालको लागि क्रान्ति सम्पन्न गर्नु क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि अनिवार्य आवश्यकता हो । यो कुनै खास देशको सन्दर्भमा मात्र नभई विश्व अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि लागू हुन्छ । 

आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । अहिलेको अवस्थामा एकतर्फ साम्राज्यवाद र अर्काेतर्फ विश्व सर्वहारा वर्ग आमने–सामने भएका छन् । कम्युनिष्ट घोषणापत्रमा विश्वको सर्वहारा एकतर्फ भए । यो अन्तर्राष्ट्रिय सर्वहाराको पक्षमा रहेको थियो । यो नाराले अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठनको केन्द्रको माग गरेको देखिन्छ । रीमको स्थापना भएको सन् १९८४ को समयमा विश्व नवउदारवादले विश्वमा उत्पीडनको प्रक्रिया तीव्र पारेको थियो । त्यसभन्दा पछि अहिलेसम्मको मन्दी र कोभिड–१९ को महामारीले गर्दा नव उदारवाद आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा भयावह संकटमा परेको छ । अब नेपालमा नेकपाले लिएको नवउदारवाद र दलालपुँजीवादको कारणले गर्दा नेपाली कम्युनिष्ट आन्दोलन पनि घोर संकटमा फसेको छ । अहिले विश्वको साम्राज्यवाद भूमण्डलीकृत भएर संगठीत भएको छ । तरपनि ट्रम्पको कार्यकालमा भएको क्रियाकलापले गर्दा अमेरिकालगायत साम्राज्यवादी शक्तिहरु चरम संकटमा फसेका छन् । कुनैपनि देशमा समाजवादको अन्तिम विजयको लागि विश्व क्रान्ति विजयको आवश्यकता रहेको छ । यसको लागि आफ्नो देशको सर्वहारा तथा जनसमुदायको प्रयासले मात्र सम्भव हुँदैन, यसको लागि विश्व क्रान्तिको विजय सम्पूर्ण विश्वभरकै मान्छेद्वारा मान्छेमाथि हुने शोषण व्यवस्थाको अन्त्य हुनु आवश्यक हुन्छ । यसैले गर्दा केही वर्षदेखि कम्युनिष्ट अन्तर्राष्ट्रियको निर्माणको लागि विश्वका विभिन्न देशका क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनबाट  प्रयास गरिरहेकोमा अहिले आएर विश्व कम्युिनष्ट केन्द्र स्थपाना गर्ने काम हुन पुगेको छ । यसले गर्दा विसर्जनतर्फ अगाडि बढेको समाजवादी क्रान्तिले पुनर्जीवन पाएर विश्व कम्युनिष्ट आन्दोलनको रुपमा अगाडि बढ्ने विश्वास बढाएको छ ।  अहिले श्रमिजीवी वर्गसमेत वैदेशिक रोजगारीले गर्दा विश्वमा फैलिएका छन् र एकतृत भईरहेको छन् । कोभिडको संकटले गर्दा उनीहरुमा समेत विश्वश्रमिक एकता तर्फ बढीरहेको छ । 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा फुट र बिसर्जन मात्र नभई एकताबद्ध तथा क्रान्तिको पुनरोत्थान हुने काम पनि भएका छन् । एकता, संघर्ष र विभाजन कम्युनिष्ट आन्दोलनको संगठन निर्माण र संघर्ष प्रक्रिया निर्माण हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासको द्वन्द्ववाद बारे उक्त सारगर्भित तथा संश्लेषित विचार वर्तमान सन्दर्भमा नेपालको लागि पनि सान्दर्भिक रहेकोले नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रले प्रोत्साहित गरी क्रान्तिकारी समाजवादी आन्दोलन अगाडि बढाउने उत्प्रेरणा भएको रुपमा लिएको छ । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट केन्द्रको सन्दर्भको स्थापनाले गर्दा नेपालमा पनि कम्युिनष्ट क्रान्तिको लागि आधार तथा निर्देशन तयार हुने विश्वास समेत गरिएको प्रति गम्भीरतापूर्वक लिनुपर्ने भएको छ । 
क्रान्तिकारी कम्युनिष्टहरुको नयाँ कम्युनिष्ट अन्तर्राष्ट्रिय केन्द्रको माग गरिरहेको अवस्थामा भएको यो कार्यले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि समेत महत्वपूर्ण रहेको प्रति सबैको ध्यान जान जरुरी रहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif