Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

आज १५ सेप्टेम्बर ! नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस !


२०७७ भाद्र ३० गते , मंगलवार प्रकाशित



१९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बिधिवत - घोषणापत्र, बिधान र सीओसी-(सेण्ट्रल अर्गनाइजिङ्ग कमिटी)-का साथ स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न कमरेड पुष्पलालको अगुवाईमा २२ अप्रिलका दिन भारतको कलकत्ता श्याम बजारमा एउटा ५ सदस्यी संस्थापन कमिटी बनाइएको थियो । त्यसले २४ अप्रिलका दिन एउटा पर्चा निकालेर नागरिक स्वतन्त्रताका निमित्त लड्न पर्दछ र सोभियत संघ, चीन र हिन्दचिनको बाटो हिडनु पर्दछ भन्ने आह्वान नेपाली जनतालाई गरेको थियो । त्यसपछि गृह कार्य गर्दै गएर १५ सेप्टेम्बरका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो ।
यसबारे पहिलो पर्चा, घोषणा पत्र मात्र पढे पनि बास्तबिक यथार्थ थाहा हुन्छ । त्यसपछि २००८ सालमा भएको पार्टीको प्रथम सम्मेलनले नेपाली क्रान्तिको कार्यक्रम - नयाँ जनवादी कार्यक्रम र पार्टी थापना दिवस १५ सेप्टेम्बर हो भन्ने कुरा बिधिवत - सम्मेलनले अनुमोदन गरेर - प्रष्ट पारेको थियो । यसमा कसैको कुनै बिवाद थिएन पार्टीमा बिभाजन नआउञ्जे २०१९ सालसम्म ।
१५ सेप्टेम्बरकै दिन सोभियत संघ, चीन, भियतनाम, भारत लगायतका भाइचारा कम्युनिष्ट पार्टीले शुभकामना सन्देशहरु पठाउने गर्दथे । तर पछि पार्टी बिभाजन आउदै गए पछि यस सन्दर्भमा भ्रम सिर्जना गर्न थालियो र पार्टी कार्यक्रम र जन्म दिनको बिवाद ल्याइयो । त्यो बिबाद कमरेड पुष्पलालका बिरुद्ध अर्थात नयाँ जनवादी क्रान्तिको कार्यक्रम र संयुक्त जन आन्दोलनको कार्यनीति बिरुद्ध सोझ्याइएको थियो भन्ने कुरा ऐतिहासिक तथ्य प्रमाणहरुले प्रष्ट पारेका छन् । आज पुष्पलालको नाम नलिने कुनै कम्युनिष्ट घटक छैन । तर यी तथ्यहरुलाई अझै पनि ढाकछोप गर्ने र यथार्थ उजागर गर्न भने धेरैजसोले अझै पनि सकेका छैनन् ।
इतिहासलाई जस्ताको तस्तै - तथ्यहरुमा मनोगत कुरा केही नथपिकन र ती तथ्यहरुबाट कुनै कुरा आफुखुशी नघटाइकन, प्रस्तुत गर्नासाथ यथार्थ सबैका सामु छर्लङ्ग हुन्छ । द्वन्दात्मक ऐतिहासिक भौतिकबादी सिद्धान्तलाई अंगीकार गर्ने कम्युनिष्ट क्रान्तिकारीहरुले कुनै पूर्वाग्रह, भ्रम र भ्रान्ति पालेर पाखण्ड प्रदर्शन गर्ने कुरा आउदैन । तर कम्युनिष्ट आन्दोलनलाई नै पथ बिचलन र पाखण्डपूर्ण बाटोमा धकेल्ने कम्युनिष्ट नामधारीहरु यो कुरा मान्दैनन् र कम्युनिष्ट पार्टी नाम र चिन्ह प्रयोग गरेपछि कम्युनिष्ट भइन्छ भन्ने भ्रान्त धारणा राख्दै जनता र देशलाई गुमराह गर्दछन् ।
वास्तवमा बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिका लागि कम्युनिष्ट आन्दोलनको बिश्वमा र नेपालमा पनि सुत्रपात भएको हो । यसले समाजमा ब्याप्त सबै किसिमका बिषमता, बिकृति, बिभेद र बनावटी कुराको अन्त्य गरेर नयाँ, उच्च र सुसँस्कृत समाज निर्माण गर्ने बाटो खोल्दछ । यसरी राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक समानतामा आधारित र शोषणरहीत समाजको निर्माण गर्दछ । त्यसैले यो अरु राजनीतिक ब्यवस्थाभन्दा गुणात्मकरुपले नै भिन्न र उच्चकोटीको राजनीतिक ब्यवस्था हो भन्ने कुरा प्रष्ट छ ।
यसै दिशातर्फ नेपाली समाजलाई अग्रसर गराउने मूलबाटो - नयाँ जनवादी क्रान्ति - का पथ प्रदर्शक कमरेड पुष्पलालाई उच्च सम्मानका साथ स्मरण गर्दै तथा नेपालको परिवर्तनका लागि आफ्नो जीवनको बलिदान गर्ने महान बीर शहीदहरुलाई लालसलाम अर्पण गदै आजको दिन - १५ सेप्टेम्बरबाट सही प्रेरणा लिदै अघि बढ्न सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुमा अपिलकासाथ शुभकामना ।
उन्नत परिवर्तनका लागि छटपटइरहेका नेपाली श्रमजीवी जनताहरु - मजदुर, किसान, राष्ट्रिय पूँजीपति, महिला, यूवा बिद्यार्थी, बिभिन्न जाति जनजाति, अल्पसंख्यक, सीमान्तिकृत जन समुदायलाई यो दिनले क्रान्तिकारी मार्गमा लाग्न र मुक्तिको खोजगर्न प्रेरणा मिलोस् ,बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको खोजी गरिरहेका सबै सबैलाई अभिनन्दन !
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif