Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

पुष्पलाल : नेपाल–भारत सम्वन्धका असल परम्परा


२०७७ भाद्र २९ गते , सोमवार प्रकाशित



नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले नेपालमा १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको बिधिबत – बिधान, घोषणपत्र र केन्द्रिय संगठन समिति(सीओसी)का साथ – स्थापना गरेर कम्युनिष्ट आन्दोलनको सुत्रपात गर्दा नै प्रष्टरुपमा नेपाल सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादबाट मुक्त हुनु पर्ने कुरा एकदमै प्रष्टरुपमा राख्नु भएको थियो । बेलायती साम्राज्यबाद बिरोधी आन्दोलनमा नेपाली जनताले भारतीय जनतालाई सहयोग पुर्याएको थियो भने बृटिश भारतीय शासक बर्गलाई नेपालको शासक बर्ग(ततकालीन राणा शासन)ले सहयोग पुर्याएको थियो । यसरी शासक बर्गको एक किसिमको साम्राज्यबाद परस्त सम्वन्ध थियो भने जनताको साम्राज्यबाद बिरोधी सम्वन्ध रहेको थियो । दुइ देशका जनता बीचको यो असल परम्परालाई कायम राख्नु र अझ अघि बढाउनु पर्दछ भन्ने कमरेड पुष्पलालको मान्यता थियो । यस क्रममा उहाँले पछिल्लो समयमा नेपालमा ०७ सालमा आएको सीमित प्रजातन्त्रलाई पनि राजाले लत्याएर निर्दलीय पञ्चायती ब्यबस्थाको नाममा सामन्ती अधिनायकबादी पञ्चायती ब्यबस्था बलात् लादेर पार्टीहरु र तिनका जन बर्ग संगठनहरुमाथि प्रतिबन्ध लगाए पछि पुष्पलाल निर्बासनमा रहँदा नेपाल–भारत जन–मैत्री संघ खोलबाट उहाँ  दुइ देशका बीचका जनतको सम्वन्धका असल परम्परालाई अघि बढाउन सक्रिय हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ । उहाँ भन्ने गर्नु हुन्थ्यो — भारतीय एकाधिकार पूँजीवादले भारतीय र नेपाली दुबै देशका जनताको शोषण गरिरहेको छ । त्यसैले दुबै देशका जनता त्यस शोषणकारी बर्गका बिरुद्ध एकजुट हुनु अनिबार्य र अपरिहार्य छ ।

यसै क्रममा पुष्पलालले तत्कालीन भारतीय शासक बर्गको नेपालप्रतिको दृष्टिकोण र रबैयाको भण्डाफोर गर्दै लेख्नु भएको थियो — ‘‘भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत र नेपाल सम्वन्ध सही गोरेटो समात्न सकेको छैन । दुई छिमेकी देशहरुका बीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलताहरु थपिदै गएका छन् । १९४७ अघि भारत र नेपाली जनताबीचको सम्बन्ध सौहाद्रपूर्ण र क्रान्तिकारी उदेश्यमा आधारित थियो । नेपालले विशेषगरी १९४२ को आन्दोलन कालमा कैयौं क्रान्तिकारी भारतेलीहरुलाई आश्रय दिएको थियो । तीनमा श्री जयप्रकाश नारायण र डा. लोहिया प्रमुख थिए । साथै नेपाली जनताले पनि राणाशाही विरोधी आन्दोलनताका भारतबाट मैत्रीपूर्ण मद्दत प्राप्त गरेको कहिल्यै बिर्सन सक्दैन ।तर, स्वतन्त्रतापछि यस सुमधुर सम्बन्धले आशा बिपरित मोड लियो र धेरै कुराहरुमा विरोधाभास पैदा गर्यो ।

.. बृटिशहरुले नेपाललाई संरक्षित राज्यको रुपमा मान्दथे । तर, भारतेली नेताहरु यसको अझ एक कदम पर पुगे । तिनीहरुको नजरमा नेपाल भारतको एक भाग मात्र थियो । जवाहरलाल नेहरुले आफ्नो ‘भारतको खोज’ नामक लेखमा लेखेका छन्, ‘उत्तरपूर्वी सीमानामा रहेको नेपाल नै भारतको एक मात्र सच्चा स्वतन्त्र राज्य हो ।’ निसन्देह यो उनको गजबको खोज थियो । उनको नजरमा नेपाल एक स्वतन्त्र सार्वभौमसत्तायुक्त देश नभई, मात्र भारतको
 एक राज्य थियो । त्यस्तो उच्चस्तरको राजनीतिज्ञको त त्यस्तो गलत दृष्टिकोण हुनसक्दछ भने आजसम्म भारतीय जनता गलत सोचबाट बशिभूत हुनु कुनै आश्चर्यको कुरा होइन । यस गलत सोचाईको प्रतिबिम्ब नेहरु स्वययंले नेतृत्व गरेको भारत सरकारकोे बैदेशिक नीतिमा प्रष्ट झल्केको थियो । उनले हमेसा संसदभित्र होस् या बाहिर पटकैपिच्छे ‘भारतको सीमाना हिमालयसम्म फैलिएको छ’ भनी पुष्टि गर्न खोज्दथे । यसरी नै उनले भन्न पुगे, ‘नेपालमा भारतका विशेष स्वार्थहरु रहेका कारणले नेपाललाई बाह्य आक्रमणबाट बचाइराख्न रक्षा गर्नु नै भारत सरकारको मूख्य जिम्मेवारी हो ।’ यो दुःखलाग्दो कुरा हो कि भारतमा बृटिश शासनको अन्त्य हुँदा पनि नेपालप्रतिको भारतीय आधिकारिक विचारधारामा कुनै असर परेन । १९५१ मा राणाशाहीको अन्त्य हुने वित्तिकै नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप सर्वविदितै छ । श्री गोविन्द नारायणलाई भारतीय राजदूतावाशको अतिरिक्त राजदरवारमा समेत नियुक्त गरियो । आधिकारिक भनाई अनुसार उनको काम राजा र जनताको बीच भेटघाटको वन्दोवस्त गर्नु थियो ।

तत्कालिन राजदूत सी.पी.एन. सिंहको हस्तक्षेपले हद नाघ्नाले राणाशाहीको अन्त्यपछि बनेका अन्तरिम मन्त्रिमण्डलका गृहमन्त्री बन्नुभएका वी.पी. कोइराला स्वयंले यसको खुलेआम विरोध गर्नुभएको थियो । उहाँले श्री सिंहलाई नेपालको आन्तरिक मामिलामा नचाहिँदोरुपमा चासो लिएको बताउनु भएको थियो । नेपालको मन्त्रिमण्डल हेरफेर सम्बन्धी प्रत्येक योजना श्री सिंहको सिफारिशमा नयाँ दिल्लीमा बन्दथ्यो । न्यूयोर्क टाइम्सका श्री रबर्ट ट्रमबुलको त्यसताकको रिपोर्ट अनुसार नेपाल उत्तरी छिमेकी देशबाट हुने कम्युनिष्ट घुसपैठभन्दा प्राचिनकालदेखि प्राप्त स्वतन्त्रतामाथि भारतेली अतिक्रमणबाट त्रसित भएको बुझिन्छ । काठमाडौंमा खुुलेआम भनिन्थ्यो कि नेपालको सच्चा शासक भारतीय राजदूत हो । क्रमशः भारतीय हस्तक्षेप सैन्य क्षेत्रमा पनि हुनथाल्यो । नेपाली सेनालाई पुनर्गठन गर्ने नाममा भारतले एक भारतीय सैनिक मिशन काठमाडौंमा खटाएको थियो । यसको पहिलो मूख्य काम राष्ट्रिय सेवामा पजनी गर्नु थियो । यो नेपालको इतिहासमा नभएको सबैभन्दा ठूलो पजनी थियो । सेनाको संख्या २५००० बाट ६००० पुर्याइयो । यस मिशनले तिव्वत नेपाल सीमानामा भारतीय सैनिक चेकपोष्ट स्थापना गर्ने चाँजोपाँजो मिलायो । आजसम्म(कमरेड पुष्पलालले यो लेख लेख्दै गर्दा भारतीय सेनाहरु उत्तरी चेकपोष्टमा थिए, ती हटिसकेका छन् तर कालापानी क्षेत्रबाट भने अहिलेसम्म पनि भारतीय सेना हटेका छैनन) । पनि यी चेकपोष्टहरु यथावत भारतीय फौजी जवानहरुद्वारा नियन्त्रित छन् र जसको सम्वन्ध भारत सरकारको सैनिक बिभागसँग प्रत्यक्षरुपमा जोडिएको छ ।

नयाँ दिल्ली नेपालको राजनीतिक तथा सैनिक मामिलामा आफ्नो पूर्ण आधिपत्य जमाउन खोज्दैछ ? एक भारतीय पत्रकार गिरीलाल जैनको भनाई अनुसार—‘केवल चिनियाँ सरकारका गतिविधिहरुले मात्र नेपालमा भारतको प्रतिष्ठामा खतरा पैदा हुने होइन, कम्युनिष्टहरुको स्थानीय प्रभावको प्रादुर्भावले चीनलाई सघाउ पुर्याई भारतको विरोधमा नेपाललाई खडा गर्नेछ । गोर्खा सिपाहीहरुलाई एक विचार र बन्दुक बोकाई दिनुले भारतको सुरक्षामा खतरा पैदा हुनसक्छ ।’ यस प्रकारको सोचाई अनुसार, ‘नेपालमा आन्तरिक स्थिरता कायम राख्नु नै भारतको मूख्य स्वार्थ हो, निसन्देह भारतको राष्ट्रिय स्वार्थ नेपालमा सुरक्षित गर्नुछ ।’

..नेपाल र भारतबीच सांस्कृतिक एकता एक यस्तो बिषय हो जसको महत्व भारतीय नेताहरुले धेरै जसो औल्याउने गर्छन् —एउटै सांस्कृतिक परिपाटी भएका दुई ‘हिन्दू’ देश भारत र नेपालमा किन धेरै मत भिन्नता हुन गएको हो यो उनीहरुले बुझिरहेका छैनन् । तर यसरी भारतीय संस्कृतिलाई हिन्दू संस्कृति भन्नु सरासर गलत ठहरिनेछ । बृद्ध मार्ग र जैन मार्ग अवश्य पनि हिन्दू मार्ग होइनन् । न त वैदिक र सिन्ध उपत्यका संस्कृति नै हिन्दूमार्गी हुन् । भारतमा हिन्दूमार्गी विचारधारा त परसियन, अफगान र टर्कीसहरुले आक्रमण गर्दा विकास हुन आएको हो । हिन्दूमार्गी विचारलाई अरु जातिका जमिन्दारर प्रतिद्वन्दीहरुको विश्वासहरुका विरुद्धमा हिन्दू जमिन्दार तथा कट्टर ब्राम्हणहरुले हतियारका रुपमा अपनाएका छन् । नेपालको संस्कृतिमा भारतीय संस्कृतिको छाप बिल्कुलै छैन हामी भन्दैनौं । तर, भारतीय संस्कृति निश्चय पनि हिन्दूमार्गी होइन । हिन्दूमार्ग पूरै भारतीय संस्कृति अनुरुप छैन । बाह्य र आन्तरिक कारणहरुले गर्दा यसमा परिवर्तन आइसकेको छ । निरन्तर परिवर्तन आइरहेको छ ।

‘कथनी र करनीमा कुनै मेल खाएन । नेपालप्रति भारतीय सरकारको नीतिमा कुनै आधारभूत परिवर्तन आएको छैन । केही महिनाअघि भारतका विदेशमन्त्री दिनेश सिंह नेपाल आउँदा उनले भारत नेपालसँग ‘बिशेष सम्बन्ध’ राख्न चाहन्छ भन्न बिर्सेनन् । आज नेपाली जनता यस बिशेष सम्बन्धको अन्दरुनी अर्थ के हो भन्ने कुरा राम्रैसँग बुझ्ने भइसकेका छन् । यसबाट यही बुझिन्छ कि नयाँ दिल्लीले बृटिश साम्राज्यद्वारा संस्थापित तथा हुर्काइएको ठूला दाजु अथवा ठूलो राष्ट्रको अहंकारको परम्परावादी नीतिलाई छाड्न सकेको छैन ।’’   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif