Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

आऊ मुट्ठी कसेर दिग्विजयको यो लाल झन्डामुनि !


२०७७ भाद्र २७ गते , शनिवार प्रकाशित


—इन्द्रनारायण सुबेदी

नेपाली इतिहासका कलुषता मैला कहानीहरू।
हत्या शोषण वर्गभेद धमिला कुण्ठा निसानीहरू।
गर्दै अन्त्य उचाल्न देश जनता बन्नेछ सञ्जीवनी।
आऊ मुट्ठी कसेर दिग्विजयको यो लाल झन्डामुनि।१।


यो गल्दैन हिमायती कदमले उक्लिन्छ आकाशमा।
यो चल्दैन दबाबले दमनले झुक्दैन सन्त्रासमा।
यो थाप्दैन झुकेर हात कहिल्यै गल्दैन निम्झो बनी।
आऊ मुट्ठी कसेर दिग्विजयको यो लाल झन्डामुनि।२।


यो चोखो उपहार हो सहिदको हो मुक्तिको बाहक।
नेपालीहरूको ध्वजा विजयको सत्मार्गको द्योतक।
हाम्रै जीवन फर्फराउँछ यहाँ नेतृत्व हाम्रै बनी।
आऊ मुट्ठी कसेर दिग्विजयको यो लाल झन्डामुनि।३।


फेरिन्छन् षडयन्त्र शोषकहरू बन्छन् खरानी सब।
यो झन्डा इतिहास लेख्दछ नयाँ साझा सबैको अब।
यो चढ्नेछ उचाइमा शिखरको नौलो सुनामी बनी।
आऊ मुट्ठी कसेर दिग्विजयको यो लाल झन्डामुनि।४।



=================================          
शार्दूलविक्रीडित छन्द,
भाद्र २७ गते २०७७                              
इलाम   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif