Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

छेउ न टुप्पोको गन्थन


२०७७ भाद्र २६ गते , शुक्रवार प्रकाशित


“हाम्रो देशमा पटक पटक गरेर धेरै पटक उथल–पुथल भइसकेका छन्, भन्न त एक युगमा एक पटक उथलपुथल आउँछ र त्यसले सबै ठाउँमा उलटपुलट ल्याउँछ भनेको सुनेको थिएँ । तर खै, पटक–पटक उथलपुथल आएको पनि देखेँ तर साँच्चैको उलटपुलट नै आएको भने देख्न पाइनँ ! 

त्यस बेलाका पार्टीका मानिसहरूले भनौँ, नेताहरूले आफ्ना सबै कुरा त्यागेथे; सम्पति, परिवार, सब कुरा त्यागेथे; अरू त के आफ्नो ज्यान समेत त्यागेथे । शुक्रराज शास्त्रीले भारतको इलाहावाद(प्रयाग)मा खाइपाइआएको प्रधानअध्यापकको जागिर छोडेर नेपालमै किन आउनु पथ्र्यो ? आफ्ना कितापहरू छाप्न पैसा दिने अनि सरकारका जागिरे समेत हुन पाएकाले राणा प्रधानमन्त्रीकै विरुद्धमा नागरिक हकका लागि किन प्रवचन दिई हिँड्नु परेको होला ? नारायणहिटी दरबारमा खरदार हुन पाएका धर्मभक्तले किन प्रजापरिषद्मा लाग्नु परेको थियो होला ? सरकारी छात्रवृति पाएर पढ्न पाएका होनहार विद्यार्थी गङ्गालाल किन खोजी खोजी प्रजा परिषद्मा लाग्नु परेको होला ? अनि आफू माथि उक्लिनाका लागि राणा परिवारहरूसित गाँसिने माध्यम जुराउन सक्ने दशरथ चन्द किन ज्यानकै जोखिम मोलेर हिँड्नु परेको होला ? उहाँहरूले ‘माफी माग्, माफी पाउँछौ’, भन्दा पनि ‘माफी होइन, न्याय चाहियो’ भनेर ज्यानै अर्पण गरे, हैन त ? आजसम्मका सङ्घर्षको क्रममा हाम्रा कैयौँ वीर सपुतहरूले हाम्रा लागि, जनताका लागि सुदिन ल्याउन भनेर हाँसी हाँसी आफ्नो ज्यान दिएथे । धन्य ! उहाँहरू जसले नेपाली जनताका लागि सब कुरा त्यागे । हुन पनि, ती पार्टीहरूले आआफ्ना बेला गर्न त गरेकै हुन् ! त्यसपछिका पार्टीहरूका कैयौँ कार्यकर्ताहरूले पनि जनताका लागि, न्यायपूर्ण समाजको निर्माणका लागि भनी आफ्ना ज्यान दिएथे । पटक पटक जनता स्वयं पनि उठे, उथल–पुथलहरू नै भए । आजका हाम्रो देश निर्माताहरू तिनै क्रान्तिकारी पार्टीहरूकै होनहार कार्यकर्ताहरू थिए । तर खै ? समाज फेरिएन, जनताको स्थिति बदलिएन, झन् ओरालो लागिरहेको छ ! त्यसबेला हाम्रा नेताहरूले क्रान्ति गरेकै हुन् । त्यसमा शङ्का गर्ने कुनै ठाउँ हामी देख्तैनौँ, तिनै नेताहरूका पछि लागेकाहरू, भनौँ तिनकै सहयोद्धाहरूका हातमा बागडोर पनि आएको प्रष्ट नै देख्यौँ, तर खै ? जस्ताको तस्तै, अझ जनतालाई हेर्दा हिजोको भन्दा आज स्थिति झन् बिग्रँदो छ, झन् झन् खस्किँदो छ ! किन ? लौ, एउटा पार्टी त निकम्मा भयो रे ! अर्को आयो । त्यो पनि खै त ? मानिसहरू जुन जोगी आए पनि कान चिरेकै भन्थे नि, ठीक त्यस्तै किन भइरहेका होलान् ! राम्रो काम गर्न पनि हामी शुभ मुहुर्त हेरेर मात्र गर्ने भएकाले शुभ साइतका लागि कुरिरहेका पो हौँ कि ?

“राणाकालको कुरा गरौँ, एउटा प्रधानमन्त्री भनौँ श्री ३ पछि अर्को श्री ३ आउँथ्यो अनि धुमधामको सिन्दुरजात्रा हुन्थ्यो । त्यसबेलाको खुशियालीमा प्रजाहरूलाई परस्परमा लुछाचुँडी गर्न लाउन केही पैसा फालिन्थ्यो अनि प्रजाहरू परस्परमा लुछाचुँडी गर्थे, पैसा हात पार्नेहरूलाई जय जय भनी कराउन लगाउँथ्यो । त्यसै बेला नयाँ युगकै उदय भएको भनी विद्वान् भनाउँदाहरूलाई पनि स्तुति गान लेख्न लाउँदै ढ्वाङ फुकिन्थ्यो, सिंहदर्वारका पुराना कामदारहरूका ठाउँमा नयाँ प्रधानमन्त्रीका विश्वासपात्रहरूको प्रवेश हुन्थ्यो । चाकडीबाजहरूले दीपावली गरेर नयाँ प्रधान मन्त्रीको जय गान गर्थे । तर नयाँ सूर्यको उदय भयो भनी जतिसुकै बखान गरेपनि आखिर जनताका लागि भने कुनै फरक पर्दैनथ्यो, जताततै अँध्यारोको अँध्यारै रहिरहन्थ्यो !


“हेर्नोस्, उहिले राणाहरूको जमानामा केटाकेटीहरूलाई पनि यस्तो एउटा खेल सिकाइन्थ्यो– त्यस खेलमा एकजनाले अर्को एकजनाको आँखा छोप्थ्यो र आँखा चिम्मपारिएको केटोलाई हात थाप्न लाउँथ्यो । त्यसबेला अर्को एक जनाले थापिरहेको हातमा केही कुरा राखेर ‘कसले दियो ?’ भनी सोध्थ्यो । आँखा चिम्म गरेर हात थापिरहेकाले ‘द्यौताले दियो ।’,भनी भन्न पर्थ्यो । फेरि हातमा थमाइएको बस्तु अर्कोले टिपेर लिन्थ्यो र ‘कसले लग्यो ?’ भनी सोध्थ्यो । त्यसबखत उसलाई ‘कागले लग्यो !’ भन्न लगाउँथ्यो । केटाकेटीहरूलाई यसरी खेल खेल्न सिकाइन्थ्यो र केटाकेटीहरू यस्तै खेल खेलिरहन्थे । कसले दियो, ‘द्यौताले’, कसले लग्यो, ‘कागले’।

हाम्रा क्रान्तिहरू पनि ठीक यस्तै यस्तै खेल पो हुन् कि जस्तो भइरहेछ । कसले ल्यायो ? फलाना पार्टीले ल्यायो । कसले लग्यो ? कागले । हामीले ‘काग’ भने देखेनौँ, थुतेर लाने देखाइएन । उहिले उहिले प्रजाहरूलाई मरेको सामन्तलाई ‘काग’ र नयाँ सामन्तलाई ‘द्यौता’ भन्न सिकाइने खेलजस्तै अहिलेको हाम्रा पार्टीहरूले पनि हाम्राअगाडि ठीक त्यस्तै खेल खेलेर प्रदर्शन गरिरहेका छन् । अब हामीले पनि यही खेल हाम्रा नयाँ पुस्तालाई खेल्न सिकाइरहनु ठूलो गल्ती हुनेछ । हाम्रो एक गल्तीले हाम्रो नयाँ पुस्ताले दशकौँसम्म असङ्ख्य दुःख बेहोर्नु पर्ने हुन्छ । त्यस्तो गल्ती हामीहरूले दोहोर्‍याइरहनु हुन्छ त ? त्यसैले ती गल्तीहरू कहाँ कसरी हुन पुगेका हुन् ? कसरी भएका हुन् ? हाम्रो अगाडि आज देखा परेको भनौँ तेर्सिएको काम तिनको जरो खोजेर पत्तो लाउने र उखेलेर फाल्ने हो, तर कसरी ?....

“यौटा कुरो, हाम्रा गाउँघरमा मात्र किन, सहरमा पनि ब्याजखोरहरू छ्याप् छ्याप्ती होलान् । तिनीहरू आफैले ‘म ब्याजखोर हुँ’ भनेर त किन चिनाउलान् र ? सके आफूलाई समाजको दुःख निवारक भनी आफ्नो परिचय दिइरहेका होलान् । कोही पनि जन्मँदै ब्याजखोर भएर जन्मेका पनि हुँदैनन् फेरि, हैन र ? हो, व्याजखोरका घरमा जन्मेकाहरू सजिलै ब्याजखोर भएर हुर्किने वातावरण भएकोले ब्याजखोरी नै भएर हुर्किने बढी सम्भावना रहन्छ । 


मैले भन्न खोजेको कुरा के भने हाम्रो समाजमा आज एक जना ब्याजखोरको साहु–लागेको र ब्याजखोरबाट हुनसम्मको दुःख खेपेर हिँड्नु परेको मान्छे भोलि ब्याजखोरबाटै सिकेर आफैँ पनि नम्बरी ब्याजखोर बनेका दृष्टान्तहरू खोजे जति पनि भेटिन्छन् । यो कुरा धेरैलाई थाहा छ । हेर्नोस् न, एक ताका साहुलागेर हुनसम्मको दुःख पाएको एक जना मानिसले ब्याजखोरलाई सरापेर हिँड्थ्यो । उनले भोगिरहनु परेको दुःख देखेर र उनका रोइकराइ सुनेर ब्याजखोरीको विरोधमा उनलाई धेरै आफन्तहरू र सहृदयीहरूले सहयोग गरे भनौँ उनका लागि गाउँभरि आन्दोलन नै चल्यो । यसरी आन्दोलन नै चर्केपछि ब्याजखोरको चङ्गुलबाट उसले सजिलै उम्किन पायो । तर केही समयपछि, उही मान्छे तिनै ब्याजखोरबाट भोगेर सिकेका कुरामा टिकेर ‘ब्याज खानै हुन्न भन्ने कहीँ नियम कानून छ र !’ भन्दै आफैले आफूलाई ढाढस दिँदै आफै ब्याजखोर भई हिँडेको भेट्टियो । 


त्यसपछि उसका मुखबाट ब्याजखोरहरूको विरोधमा कुनै शब्द निस्केनन् । हेर्नोस्, खोज्यौँ भने यस्ता नयाँ खालका नव ब्याजखोरहरू गाउँघरमा मात्र हैन, सहरमा पनि जताततै भेटिन्छन् । ओहो ! समाजमा बढार्नु पर्ने यी फोहोर बढारेर कहिलेसम्ममा बढारीसक्ने हौँला ! यता बढार्‍यो उता सर्छ उता बढार्‍यो फेरि त्यो धूलो उडेर अन्तै पुगेर प्रदूषित पारिसकेको हुन्छ.........!

“समाजमा रहेको धूलो बढार्ने कुचो समेत आफै पनि धूलाम्य हुन पुग्नु स्वाभाविक हो । जसरी ब्याजखोरका विरुद्धमा रोइकराइ र सराप्दै मानिसहरू बटुल्दै हिँडेको साहुलागेको मान्छे केही समयपछि आफै ब्याजखोर बन्न पुग्यो । त्यसैले कुचो लिएका हातहरूले कुचोलाई धूलो रहित पार्न भित्तोमा पटक पटक हान्दै भनौँ बजार्दै त्यसमा लागेका भनौँ टाँसिएका फोहोर कसिङ्गर झारिरहनु पर्ने खाँचो रहन्छ, र तपाईले त्यसो गर्न बिर्सनुभयो भने धुलो झार्ने कुचोद्वारा तपाईमा समेत सबैतिर फेरि प्रदूषण फैलिने डर हुन्छ ।

कोरोनाको त्रासपूर्ण बेला छेउ न टुप्पोको यस्ता कुरा किन आइरहेका हुन् ? त्यसै आएका त हैन होला ! महिनौँसम्मको त्रासपूर्ण स्थितिले यस्ता कुरा उमार्दो रहेछन् कि त ? आः, छेउ न टुप्पोको यस्ता कुरामा किन फेरि बढी गन्थन ! 

२०७७ भदौ, २६  

साभार : शान्तदास मानन्धरको मुहारपुस्तिकाबाट

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif