Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

इतिहास उधिन्दा : बिशु मल्लको ब्रह्मलीन - लुँखेली मल्लहरुको एक शताब्दी अन्त्य !


२०७७ भाद्र २० गते , शनिवार प्रकाशित



शरणबिक्रम मल्ल


 
चतुर मल्लका जेठा छोराको रुपमा बिष्णु मल्लको जन्म बिक्रम संवत १९४०को साउन १४ गते लुँखु 'चाक्ली पाताल' भन्ने ठाउँमा भएको थियो। बाल्यकालमा माया गरी 'बिशु' भनि बोलाउने गर्दा पछि त्यहि नामले प्रख्यात भए। बिशु मल्ललाई लुँखेली मल्लहरुको वंशावली कन्ठै थियो। उनी पर्वते मल्लको मुखाहरा ईतिहांस थिए। आफ्ना पुर्खाहरुको रमाइलो कथा भन्न उनलाई हमेसा जाँगर आईरहन्थ्यो।
    
पर्वतका बाह्रौ पुस्ताका राजा मलेवम मल्लका छोराहरु शाहवम, अरिमर्दन, शत्रुशाल, कलिमर्दन, रमेश, रघुदत्त र रघुनारायण गरी ७ भाई भएता पनि एकभाई युवा अवस्थामानै मरेकाले छ भाई खलकहरु भनी चिनिन्छन । शाहवमको १८१५ वि.सं.मा देहवसान भए पछि उनका जेठा छोरा कीर्तिवम पर्वतका चौधौं पुस्ताका प्रतापी राजा भए । कृतिवमका पाँच भाई छोराहरुमा जवरजंग(जंजाल) मल्ल, जामुनी मल्ल र वौद्धमल्ल ३ भाई छोराहरु गोर्खालीहरुसंगको युद्धमा वीरगति प्राप्त गरे वाँकी दुईजना नरसिंह(वनायरी) र वीरनारायण गोर्खालीले पर्वत माथि विजय पाए पछि कीर्तिवमसंगै बनारस तिर गए। पर्वतको हार भएको एक वर्ष पछि नै कीर्तिवमको १८४४ तिर वनारस, काशीराज्यको मदनीपुरमा देहावशान भयो ।

कीर्तिवमका माहिला काका अरिमर्दन ज्यामरुकमा, साहिला शत्रुशाल दांगमा, काहिला कलिमर्दन कुहुँमा, ठूलोकान्छ रघुदत्त देउपुरमा र कान्छा रमेश माजकोटमा वसेको कुरा ईतिहाँसकार मोहन वहादुर मल्लले 'प्राचिन नेपाल' नामक पत्रिकामा पर्वतको ईतिहाँस शिर्षकमा उल्लेख गरेका छन् । कृतिवमका जेठा छोरा जवरजंग(जंजाल) मल्लले नुवाकोटे(श्यांजा) शाहकी छोरी विवाह गरेका थिए , छ भाई छोरा भए , पर्वत गोर्खालीसंग हारे पछि जवरजंग(जंजाल) मल्लका छोरा वि.सं. १८४६ तिर बाच्छा बिहादी हुदै लुँखु आई बस्न थालेका हिमु मल्ल , ऋखु मल्ल दुई भाई, मल्लाज बस्न थालेका दुर्गा मल्लका सन्तान र हर्पेकुता हुँदै बुर्तिवाङ झरी बसेका पुड्के मल्ल ठकुरीका सन्तानहरु, एकभाई हाल म्याग्दी जिल्लाको छिस्वाङ्गमा वसोवास गर्नथालेको भनिन्छ - एक भाई चाहीं युद्धमै मारिएको जनश्रुती छ, लाई हामी ६ भाईखलक र नुवाकोटे रानी पट्टिका भन्ने चलन छ । 

बिशु मल्ल ऋखु मल्लका पलाती इन्द्र वीरका नाति र चतुर मल्लका छोराहुन्. उनको प्रथम विवाह धरादी,(पैयुँ खोला)शाही ठकुरीकी छोरी लालु कुमारीसंग भएको थियो । उनि युवा अवस्थामा भारतको शिलांगमा गई गाई पालन गरी बसोबास गर्न थालेका थिए । त्यती बेला सन्तानको रुपमा ३ भाई छोरा कबिर मल्ल, तिलु मल्ल र पदम बहादुर मल्ल र एउटी छोरी नर कुमारी जन्मेका थिए। त्यहि बेला अप्रत्यासित घटना घट्यो, गाई गोठमा सुतेका उनका माईला छोराको बाघको आक्रमणबाट मृत्यु भयो । यो घटनाले उनलाई सिलाङ्ग बस्ने मन भएन, नेपाल आए । लुँखुआए पछि फेरि उनको जीवनमा अर्को बज्रपात पर्यो। महामारीको कारण श्रीमती र कान्छो छोराको मृत्यु भयो। उनले गुल्मी, भुर्तुंकी मनकुमारी शाहीसंग दोश्रो बिबाह गरे ।कान्छी पट्टि पनि दुई बहिनी छोरीहरु धन कुमारी र हरी कुमारी र एक छोरा टेक बहादुरको जन्म भयो ।

धर्मकर्म र समाजसेवामा रुची राख्ने उनि गरीब, दुखीको सहयोगमा अग्रसर भै रहन्थे । लुँखु चाक्लिपात, पूर्वी गाउँ लामे,दुक्तान, कुर्घा, ठाना, भंगारा , आरुचौर आदि ईत्यादि ठाउँबाट भोक्सिंग, पाखुरे, बाच्छा बिहादी, तर्फ जानेहरुको लागि बाटैमा र वीचमा जस्तै पर्दथ्यो । त्यसैले ओहोर दोहोर गर्नेहरु उनको घरमा अक्सर बास माग्न आईनै रहन्थे । त्यति बेला आजको जस्तो होटेल, भट्टी, होमस्टेका चलन थिएन । बिशु मल्लका घरका महिलाहरुको लागि,पाहुनाहरुको सेवा एक किसिमको दैनिकी नै जस्तो हुन्थ्यो, पैसा लिने चलन थिएन दिएमा चामल, मकै , पिठो जे बोकेका हुन्थे त्यो सम्म दिन्थे । सेवा नै परम धर्म हो, पाहुना भगवानका रुप हुन् भन्ने पारिवारिक संस्कार र अनुशासन बिशु मल्लको घरको जीवन थियो । 

उनको मुख्य पेशा चाहि खेतीपाती र पशु पालन नै थियो ।खेति र पशुपालकमा बिशु मल्ल उदहरणीय थिए , गोठका गाई भैसी, खोरबाट निस्कदै गर्दा भेडाबाख्राका ताँती हेर्न लायकका हुन्थे। लामे, दुक्तान, नुवाखर्क, लामतुन, बालाकोट, अर्गाउदि,भोक्सिंग, देउरालीखोला जस्ता गुरुङ गाउँमा राडी पाखी बुनिने चलन हुँदा भेडाको उन किन्न आइरहन्थे, यसबाट पनि उनलाई केही राहतनै हुन्थ्यो।  

जडिबुटीका पारखी :

बिशु मल्लको कोखत( आँतको ज्वरो -टाइफाइड जस्तै )को औषधिनिकै प्रसिद्ध थियो । कोखतको मात्र होइन, बालरोग ,घाउ खटिरा, सर्पदंश आदिको औषधी लिन, लुँखु लगाएत,सिम्ले पाखापानी,, आरुचौर , बालाकोट, होस्रांदी, कुर्घा, फलेबास, ठाँना भगरा, भोकसिंग, बाच्छा बिहादी, पान्ग्रांग, कालीपार सम्मबाट मान्छेहरु आउंथे । यिनले कहिलै औषधिको पैसा लिएनन् , ओखतीको पैसा लिए धर्म भूटिन्छ भन्थे।

उनका औषधीमा समाबेश हुने जडिबुटी थिए - टोपरे झार, हाडे बदाम, रुदिलो, सतुवा, कछुवाको हड्डी, दुम्सीको भुँडी, फिट्कीरी, तीनपोरे हाडे ओखर, बाघको हड्डी, मयुरको प्वाख पोलेको भष्म, बन्कपासको जरा, चिप्लेकीरा, हुटीट्यान्गको फूल, धमिराको गोलाको माटोअंश, मिश्री, गोबानको जरा आदि । यी जडीबुटीको निश्चित मात्रामा घोटेर औषधि आफै तयार पार्थे।

बिशु मल्लको हिन्दु सनातन धर्म सस्कृति प्रति आस्था मात्र थिएँन उनको जीवन पद्धति, जीवन शैली र जीवन चरित्र यसैमा आधारित थियो। हाम्रो हिन्दु धर्म ग्रन्थहरुमा चर्चा भए अनुसार जीवनका चार आयु-चरण, चार आश्रम : ब्रह्मचर्य (छात्र), गृहस्थ (गृहस्थ), वानप्रस्थ (सेवानिवृत्त) र संन्यास (त्याग) भिन्न भिन्न आयु चरणमा उनले आफ्नो जीवन शैली अपनाए । उनले आफु कहिले मर्ने, मरेपछि सन्तान र आफन्त जनले के गर्ने सबै तय गरेका थिए। ९७ वर्षको उमेरमा २०३६ साल पुस १८ गते समाधि लिई उनी ब्रह्मलीन भए। यसरी लुंखेली मल्लहरुको एक शताब्दीको अन्त्य भयो। ईति :


cpnsharan@gmail.com

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif