Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

निषेधाज्ञा थपिँदै जाँदा सहकारी संस्था सञ्चालनबारे प्रशासन मौन


२०७७ भाद्र १८ गते , विहीवार प्रकाशित

उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक निषेधाज्ञा थप गर्दा समेत सहकारी संस्था सञ्चालनका बारेमा वेवास्ता गरेका छन् । पहिलोपटक भदौ ३ मा निषेधाज्ञा जारी गरी भदौ ११ र आजबाट लागु हुने गरी पुनः उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयहरु सहकारी संस्था सञ्चालनका विषयमा भने मौन रहेका छन् । आजबाट लागु गरिएको निषेधाज्ञामा एकतिहाइ कर्मचारी खटाएर बैंकका शाखा खोल्न दिने जनाइएको छ । 

सरकारले लकडाउन शुरु गरेको दिन देखिनै विभिन्न माध्यमबाट समुदाय र सदस्यलाई सेवा पुर्‍याउँदै आएको सहकारी क्षेत्रलाई भने प्रशासनले प्राथमिकता दिएको छैन । प्रशासनको यस्तो व्यवहारप्रति सहकारी अभियानले असन्तुष्टि जनाएको छ । 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले निषेधाज्ञाका विभिन्न बुँदाहरुमध्ये बैंकिङ क्षेत्रबाट वित्तीय सेवा प्रदान गर्ने बारेमा आलोपालो गरी निश्चित समय सञ्चालन गर्ने कुरा उल्लेख गरे पनि सहकारी क्षेत्रले सदस्यलाई पुर्‍याउने सेवाका बारेमा प्रष्ट नभएको उल्लेख गरेको छ । 

संघको तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष कृष्ण गोविन्द लाखाजुले आम नागरिक सहकारी संस्थाहरु सदस्य बनि वित्तीय कारोबार गरिरहेका हुनाले उनीहरुको खरखाँचो टार्न असहज बनेको बताएका छन् । विगतको लकडाउनमा समेत सहकारी क्षेत्रलाई अति आवश्यक सेवा क्षेत्रको रुपमा लिइएको उनले जनाए । तर यस पटक भने प्रशासनले निषेधाज्ञा बढाउँदै लैजाँदा समेत सहकारी सञ्चालनका बारेमा केहि नबोल्दा थप अन्यौल छाएको जनाएका छन् । 

अत्यावश्यक सेवाका पसल तथा व्यवसायका साथै विकास निर्माणसँग सम्बन्धित पसलव्यवसाय समेत निश्चित समय सञ्चालन गर्न पाउने व्यवस्था प्रशासनले गरेको तर संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय अवलम्बन गरिरहेको सहकारी क्षेत्रका बारेमा केहि उल्लेख नगरी उपेक्षा गरेकोमा स्थानीय प्रशासनको ध्यानाकर्षण संघले गराएको छ । यसबारेमा स्थानीय प्रशासनले प्रष्ट पारिदिनुपर्ने समेत संघले जोडदार माग गरेको छ । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif