Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

ती पुष्पलाल र यी पुष्पलाल


२०७७ श्रावण २४ गते , शनिवार प्रकाशित


—शिब भटराई

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भएको ज्ञान मलाई २००७ साल पछि पाल्पामा कमलराज रेग्मीद्वारा सञ्चालित बिभिन्न आन्दोलन र प्रदर्शनको क्रममा गरेका भाषणहरुबाट भएको थियो । तर प्रत्यक्ष उहाँसितको चिनारी भने ०१७ सालको राजनीतिक घटनाले निर्वासित भएर भूमिगत रुपमा बनारस आउनु भएपछि भएको हो ।

संयोग नै भनुँ, बनारसको दशपुत्र गल्लीमा उहाँको डेराको बस्ने बन्दोबस्त मिलाउने काममा पनि क. बलराम उपाध्याय, म र मेरा भाई रामप्रसाद भटराई थियौं । यही डेरा तेश्रो महाधिवेशन पछि नेपाल कम्युनिष्ट पार्टीको मूख्य कार्यालय भयो । क. पुष्पलालको सम्पूर्ण निर्वासित जीवन र पछि अर्थात २०४६ साल पछि पनि यो नेकपाको मूख्य कार्यालय रह्यो ।
गँहुगोरो रंग, हृष्ठपुष्ट शरीर, ठूलो निधार, कालो कपाल, तेजिलो अनुहार र प्रभावशाली सौम्य ब्यक्तित्वका धनी पुष्पलाल बनारसमा अध्ययनरत पच्चहत्तर जिल्लाकै बिद्यार्थीहरु बीच निकै सहज र सरल ब्यक्तिका रुपमा परिचित थिए । पाइण्ट र कमिजको साधारण भेषभूषा, पान, चीया र चुरोटका प्रेमी थिए पुष्पलाल ।
२०४६ साल पछि काठमाण्डौमा प्रचारित र प्रसारित फोटो र स्थापित प्रस्तर मूर्तिहरुभन्दा नितान्त भिन्नै थिए पुष्पलाल । बनारस प्रवासको मेरो २० बर्षको अवधिमा राजनीतिक निर्वासनले बनारस बस्नु भएका क. पुष्पलालसितको लामो सानिध्यता मेरो पनि राजनीतिक निष्ठा र आस्थासित जोडिएको थियो ।
  त्यति लामो समयमा उहाँमा काठमाण्डौका संभ्रान्त परिवारका वा भारदारहरु बडाकाजी, काजी, सरदार, मीरसुब्बा, गुरुघराना आदिको बेशभूषा, धाकरवाफ आदिको गन्ध सम्म पनि थिएन उनमा । न त मयलपोस, कोट र टोपीमा सजिएको आजको पुष्पलालको स्वरुप र आकृतिको कुनै पनि छाया नै त्यसमा देखिन्थ्यो ।
  भनिन्छ, झरी, बादल, जाडो, गर्मी, हिउँद, बर्षा जस्ता प्राकृतिक घटनाचक्रहरुलाई पनि बर्गीय रुपमा बिश्लेषण गर्न खप्पिस बामपन्थी मार्क्सबादीहरुले पुष्पलालको यो रुपलाई कसरी केलाउने हुन् ।
  हाम्रो पुस्ता पछिको पुस्ताले हाल प्रसारित फोटाहरु र स्थापित प्रस्तर मूर्तिहरु देखेर साधारण र पार्टी जीवनभन्दा बाहिरको आफ्नो निजी जीवन नभोगेका पुष्पलाललाई बिर्सने छन् । इतिहास यस्तै हो । आफैले आफ्नो इतिहास लेख्न सकिन्न । अरुले लेखिदिने इतिहास मरेपछि मात्र लेखिन्छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif