युवा साकोसले गत आवमा गर्यो ८२ लाख नाफा
युवा बचत तथा ऋण सहकारी संस्थाले गत आ.व. २०७६/७७ मा कुल नाफा ८२ लाख आर्जन गरेको छ । संस्थाले लकडाउन अवधिभरको ऋणको ब्याजमा सदस्यहरुलाई २० लाख रुपैया छुट दिएको छ भने हर्जाना शत्प्रतिशत छुट गरेको जनाएको छ । हर्जाना र ब्याज छुट दिँदा समेत संस्थाले सो मात्रामा नाफा आर्जन गर्न सकेको संस्थाका व्यवस्थापक निश्चल सापकोटाले बताए ।
लकडाउनको अवधिमा पनि सुरक्षा सतर्कता अपनाउँदै सदस्यहरुलाई निरन्तर सेवा दिएको उनले जनाए । संस्थाले समयानुकुल आधुनिक प्रविधिको प्रयोगलाई समेत अगाडि बढाएको छ । मोबाइल एप चलाउने सदस्यहरुलाई संस्थाले सदस्यको बैंक खातामा नै रकम ट्रान्सफर गरिदिएको र नेपालभरबाट बैंक तथा एटिएमार्फत निकाल्न मिल्ने सुविधा मिलाइएको समेत उनले जनाए ।
६ हजार ८ सय सदस्य रहेको संस्थामा ८ सय सदस्यले विभिन्न व्यवसाय सञ्चालनका लागि ऋण लिएका छन् । संस्थाले गत आ.व.को असार मसान्तसम्म २९ करोड बचत संकलन ३० करोड २० लाख ऋण लगानी, ४ करोड ३८ लाख पूँजी संकलन र ३ करोडको हाराहारीमा विभिन्न कोषहरुमा रकम जम्मा गरेको छ । संस्थाले सो अवधिमा ३९ करोड ८७ लाख कुल कारोबार गरेको छ ।
संस्थालाई थप प्रविधिमैत्री बनाई सदस्यहरुलाई सेवा दिने, युवा पुस्तालाई सहकारीतर्फ आकर्षित गर्न युवा मैत्री कार्यक्रम सञ्चालन गर्ने र कोरोनाको प्रभावबाट संस्था र बचतलाई सुरक्षित गर्न सदस्यमैत्री भएर कारोबार गर्ने योजना संस्थाको रहेको उनले बताए ।
कोभिड १९ ले असर पुर्याएका क्षेत्रलाई मलम लगाउन सञ्चालक समितिमा छलफल गरेर केहि नयाँ योजना अघि सार्ने तयारी गरेको सापकोटाले बताए ।