Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

सदस्यलाई बिन्धबासिनी साकोसको राहत, ब्याजमा १ करोड २३ लाख छुट


२०७७ श्रावण २० गते , मंगलवार प्रकाशित

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई १ करोड २३ लाख ५५ हजार रुपैया व्याजमा छुट दिएको छ । सरकारले कोरोना भाइरसको महामारी फैलन नदिन चैत्र ११ देखि गरेको लकडाउनका कारण सदस्यहरुको आर्थिक क्रियाकलाप ठप्प हुन गएको भन्दै संस्थाले चार महिना अवधिको ऋणको ब्याजमा छुट दिएको हो । ब्याजमा १० देखि १५ प्रतिशतसम्मका दरले छुट दिँदा सो परिमाणको रकम भएको हो । 

सहकारी भनेकै सदस्यका लागि भएकाले अप्ठ्यारो परेका बेला सदस्यहरुलाई केहि सहुलियत पुगोस् भन्ने हेतुले ब्याजमा १० देखि १५ प्रतिशतसम्म छुट दिएको संस्थाका प्रमुख व्यवस्थापक के.बी. लामाले बताए । संस्थाबाट १० हजार ६ सय ९२ जनाले ऋण लिएको र असार मसान्तसम्म ब्याज तिर्ने सबै सदस्यलाई छुट दिइएको उनले बताए । त्यस अवधिमा ब्याज नतिर्ने २५÷३० जना मात्र रहेको उनले जनाए । त्यसैगरी संस्थाले सदस्यहरुको ऋणको किस्ता अनुसार ऋण तिर्ने समय समेत थप गरिदिएको छ । सदस्यबाट कुनै शुल्क नलिइ बाँकी किस्ताका आधारमा ६ महिनासम्म ऋण तिर्ने म्याद थप गरेको हो । संस्थाले असार मसान्तसम्म सदस्यबाट भाका नाघेको ऋणमा समेत कुनै हर्जाना नलिएको जनाएको छ । 

लकडाउनका कारण प्रभावित भएका होटल व्यवसाय, गाडी, पर्यटन जस्ता क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन सदस्यले लिएको कुल ऋणको २० प्रतिशतसम्म १० प्रतिशत व्याजदरमै संस्थाले व्यवसाय पुनरोत्थान कर्जा प्रदान गर्ने भएको छ । 

लकडाउनका कारण सदस्यहरुको व्यवसाय प्रभावित भएको भएतापनि असार मसान्तमा अधिकांश सदस्यले ब्याज बुझाएकाले कोरोनाको खासै ठूलो प्रभाव संस्थामा नपरेको प्रमुख व्यवस्थापक लामाले बताए । 

सदस्यहरुलाई व्याज छुट दिएकाले गत वर्षको तुलनामा नाफामा भने केहि घटेको उनले बताए ।  

संस्थाले असार मसान्तसम्म २ अर्ब ३८ करोड ४६ लाख बचत संकलन २ अर्ब ३४ करोड ६० लाख १४ हजार ऋण लगानी र ३२ करोड ५२ लाख ४१ हजार शेयर पूँजी संकलन गरेको छ । संस्थाले गत आ.व. मा ३ अर्ब १८ करोड ४९ लाख कुल कारोबार पुर्‍याउने लक्ष्य लिएकोमा ३ अर्ब १५ करोड कारोबार पुर्‍याएको छ । संस्थामा ३७ हजार १११ सदस्य र ७ हजार ७५८ बाल बचतकर्ता गरी करिब ४५ हजार आवद्ध रहेका छन् ।

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif