Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

कोरोनाबाट नेपालमा आज ४ जनाको मृत्यु थप २२४ जना संक्रमित


२०७७ श्रावण १६ गते , शुक्रवार प्रकाशित

 नेपालमा एकै दिन कोरोनाभाइरस सङ्क्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपरान्ह जानकारी गराएको छ ।

    यस तथ्यांकसँगै कोरोना महामारी शुरु भएयता अहिलेसम्म यसबाट ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँदछ ।


    साथै शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    यो थप समेत गर्दा हालसम्म पुष्टि भएका सङ्क्रमितको कूल सङ्ख्या १९,७७१ पुगेको छ ।

    सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको र विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना यो रोगबाट मुक्त भएका छन्।


  मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरीमा सक्रिय सङ्क्रमितको संख्या  कूल ५,३१६ रहेको छ ।
    पर्साका चार जनाको मृत्यु

    शुक्रवार मन्त्रालयले मृत्यु पुष्टि गरेका तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला भएको डा. गौतमले जनाए।

    वीरगञ्ज नगरपालिकाका ५६ वर्षीय पुरुषको सघन उपचार कक्षमा भेन्टीलेटरमा उपचारको क्रममा गण्डक अस्थायी कोरोना अस्पतालमा बिहीवार राति मृत्यु भएको हो। उनलाई मुटुको समस्या रहेको बताइएको छ ।

    त्यसरी नै अर्का ३५ वर्षीय पुरुषको पनि बिहीवार बेलुकी निधन भएको हो भने ६५ वर्षीय अर्का पुरुषको बिहीवार बिहान निधन भएको बताइएको छ । बिहीवार निधन भएको पुरुषको मृत्युपश्चात् गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए ।

    ललितपुर बस्दै आएकी ६५ वर्षीया महिलाको भने पाटन अस्पतालमा आज शुक्रवार बिहान निधन भएको हो।
    उनी १० दिन अगाडिदेखि उपचाररत रहेको र मधुमेहको बिरामी रहेको थाहा भएको छ ।
   
पर्सामा शुक्रवार थप ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 
काठमाण्डू उपत्यकामा ५०० भन्दा बढी सङ्क्रमित

  काठमाण्डू उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५२७ पुगेको छ।

  शुक्रवार काठमाण्डूमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

  कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डूमा ४२२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ।   सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको छ।


    डा. गौतमले भने, “काठमाण्ठूमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। हामीले जारी गरेको निर्देशिकाहरू राम्ररी पालना भएको छैन, यसले दुर्घटना निम्त्याउन सक्छ।'
 
सबैभन्दा बढी दैनिक परीक्षण


विगत २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।     अअिलेसम्म कूल पीसीआर परीक्षणको सङ्ख्या ३,७५,४१६ रहेको छ भने अहिले देशभरि १२,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्।       

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif