Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

सचेत होऔं ई–फोहोर मैलाले ल्याउन गम्भीर खतराबाट !


२०७७ श्रावण १६ गते , शुक्रवार प्रकाशित

लोकनारायण सुबेदी

आज बिश्वमा मोबाइल फोनको संख्या मानिसको जनसंख्यभन्दा बढी भइसकेको तथ्यांक छ । सबैभन्दा बढी जनसंख्या भएका चीन र भारतको कुरा गर्ने हो भने ती देशहरुमा मोबाइल ग्राहकहरुको संख्याले दुइ अर्ब नाघिसक्यो । भारतमा चार बर्ष अघि नै  यो संख्या एक अर्ब पुगेको हो । मोबाइल सेवा आरम्भ भएको २० बर्ष पछि भारतले ४ बर्ष अघि २०१६ को जनवरीमा यस सम्वन्धि एउटा तथ्यांक प्रकाशमा ल्याएको थियो । अझ हाम्रो उत्तरी छिमेकी देश चीनले त झन् ८ बर्ष अघि २०१२ मै एक अर्बभन्दा बढी मोबाइल ग्राहकको  सीमा पार गरिसकेको तथ्य प्रकाशमा ल्याएको थियो । चीन र भारतको जनसंख्याको साथै बिश्वमा ३ बर्ष अघि २०१७ तिरै जनसंख्याभन्दा बढी मोबाइलको संख्या भइसकेको अर्थात ८ अर्ब नाघिसकेको थियो । त्यतिबेला यो तथ्यांक इण्टरनेशनल टेलिकम्युनिकेशन यूनियन (आईटीयू)ले दिएको थियो । यो तथ्यांकले एकातिर के आशा जगाएको छ भने अब गरीब देशका मानिसहरुका लागि पनि सञ्चार सेवाहरुका बहुतै जरुरी बनेको छ र त्यसको लाभ लिन थालेका छन् भनिदैछ भने अर्कोतिर यी बिद्यूतीय सामाग्रीहरुमा आएको क्रान्तिले बिश्वमा यस्तो गम्भीर खतरा पनि खडा गर्दैछ कि जसमाथि त्यत्ति धेरै ध्यान दिएको पाइदैन ।        त्यो खतरा हो – इलेक्ट्रोनिक फोहोर मैलाको  अर्थात ‘ई–वेष्ट’को । यद्यपि चीन, भारत जस्ता  बिशाल जनसंख्या भएको देशहरुमा – जहाँ बजारमा सस्तो मूल्यमा मोबाइल ह्याण्ड सेटहरुको बिकासको इतिहासले मानिसलाई यस्तो अथाहा र नजानिएको मोडमा पु¥याइसकेको छ जहाँ पुगेर पनि –मानिसलाई केही अत्तोपत्तो छैन कि आगामी दिनमा यसबाट के कस्तो खतरा कत्तिको बढ्ने हो ? हुन त यस बारेमा केही अनुसन्धान गर्ने काम बिल्कुलै नभएको भने होइन । जसबाट समस्या समाधानका केही उपाय बिकसित होला कि भन्ने आशा र भरोसा देखिने पनि गर्दछ । ७ बर्ष अघि २०१३मा नै भारतको ‘इन्स्टीच्यूट अफ टेक्निकल एजुकेशन एण्ड रिसर्च’ ले ‘म्यानेजमेण्ट अफ हेण्डलिङ्ग अफ ई–वेस्ट’ बिषमा आयोजित गोष्ठीमा पर्याबरण तथा बन मन्त्रालयका बैज्ञानिकहरुले एउटा आकलन गरेर के बताएका थिए भने भारतले प्रत्येक बर्ष ९ लाख टन ‘इलेक्ट्रिोनिक फोहोर’ उत्पन्न गरिरहेको छ । यद्यपि भारतले के कुरा पनि स्वीकारेको छ भने यो बिषयमा चीन भारतभन्दा धेरै किलोमिटर अगाडि छ ।      ल्याप्टप, स्मार्टफोन, माइक्रोवेभ, फ्रिज आदि चीजहरु जब बेकार हुन्छन् भने ती चीजलाई हामी फ्याँकिदिन्छौ या कुनै कबाडीलाई बेचिदिन्छौ । तर के हामीले सोचेका छौ कि यी बिग्रेका इलोक्ट्रोनिक या बिद्यूतिय उपकरणले पछि बातावरणमा के कस्तो असर पार्ने गरेका छन् ?

बिद्यूतीय फोहोर(इ–फोहोर)बाट पार पाउनु आज निक्कै ठूलो समस्या बन्दै गएको छ । यस प्रकृयाको एउटा दृष्य चीनको दक्षिणी किनाराका केही गाउँहरुमा देख्न सकिन्छ ।गुइयू नामको यस क्षेत्रमा कम्तिमा तीन हजार वर्कसपहरुमा हजारौं  महिलाहरु यस्तै इ–फोहोरलाई सम्हाल्ने, छाट्ने र ठेगान लगाउने काम गर्दछन् । चीनमा इलोक्ट्रोनिक बस्तुहरुको उत्पादनमा जुन उछाल आएको छ त्यसले गर्दा त्यहाँ २०१२ मा नै ७० लाख टन यस्तो इ–फोहोर जम्मा भएको थियो । यसका अतिरिक्त संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र यूरोपबाट जहाज भरीभरी इ–फोहोर चीन पुग्ने गरेको छ । त्यसो त चीनमा यस्तो इ–फोहोर आयातमा प्रतिबन्ध छ, तर चोरी छिपाई यो फोहोर त्यहाँ पु¥याइने गरेको छ ।इ–फोहोर वास्तवमा कतिपय बहुमूल्य धातुहरुको खजाना हुने गर्दछ । जसमा सुन, ताबो, चाँदी र सीसा यस्ता प्रमुख धातुहरु पर्दछन् । यी धातुहरुका अतिरिक्त इ–फोहोरमा यस्ता अन्य तत्वहरु पनि प्रसस्त हुने गर्दछन् जसलाई ‘दुर्लभ मृदा’ या दुर्लभ माटो भन्ने गरिन्छ । यिट्रियम, यूरोपियम, डिसप्रोसिशम जस्ता नामूद यी तत्वहरु त्यत्तिका दुर्लभ त होइनन् तर यिनको भण्डार केही इलाकामा मात्र सीमित रहेको छ । खाशगरी यस्ता तत्वहरु चीनमा बहुतायत पाइने गरिन्छ ।


   तर यी बहुमूल्य तत्वहरुलाई फोहोरबाट अलग गर्ने प्रकृयामा पर्यावरणमाथि घातक असर पर्ने गर्दछ । उदाहरणका लागि, इ–फोहोर जलाउँदा जुन प्लास्टिक आदि जल्दछन् त्यसले गर्दा हावा प्रदुषित हुने गर्दछ । फेरि ती फोहोरहरुलाई तेजाबमा पकाइने र त्यो तेजाब वरिपरीको नदीनालमा खन्याइने र बगाइने हुँदा नदीको पानी पनि प्रदुषित हुनजान्छ ।गूइयोको वरिपरीको पानीका माछाहरुमा पोलीक्लोरिनेटेड बाइफिनाइल (पीबीसी) जस्ता बिषालु पदार्थ भेटिएका छन् । त्यस क्षेत्रका बाल बालिकाहरुको रगतमा सीसाको ठूलो मात्रा पनि पाइएको छ । यी समस्याहरुलाई मध्यनजर गरेर संयुक्त राष्ट्र संघले एउटा महत्वपूर्ण कार्यक्रम आरम्भ गरेको छ –इ–‘रिसाइक्लिङ्ग’वेस्ट प्रोब्लेम(स्टेप)। यस अन्तरगत ई–फोहोर थुप्रिने कुरालाई कम गर्ने प्रयास गरिदै छ । खाशगरी इलेक्ट्रोनिक निर्माताहरुसँग यस सम्वन्धमा के आग्रह गरिदैछ भने उनीहरुले आफ्ना उत्पादनहरुमा हानीकारक रसायनहरुको उपयोग कमभन्दकम गरुन् । यसका अतिरिक्त उनीहरुलाई यस कुरामा पनि राजी गराइएको छ कि त्यस्ता इलोक्ट्रोनिक उत्पादन बेकार भए पछि आफ्नो उत्पादनको ‘रिसाइक्लिङ्ग’ गर्ने कुरालाई पनि उनीहरुले सम्हालुन् ।     संयुक्त राष्ट्र संघको एउटा प्रतिबेदन अनुसार चीन बिश्वको सबैभन्दा ठूलो ‘ई–वेस्ट ग्राउण्ड’ हो ।  यो चिन्ता भारत–चीन जस्ता बिश्वमै शक्तिशाली बन्दै गएका एशियाली   मलुकहरुका लागि धेरै नै बढेको छ । किनभने कबाडीमा बद्लिने यस्ता चीजबीजहरुले बृटेन र अमेरिका जस्ता बिकसित सम्पन्न देशहरुको स्वास्थ्यमा  कुनै असर परिरहेको देखिएको छैन । यसको एउटा कारण के हो भने झण्डै झण्डै जसो सबै बिकसित देशहरुले यो ई–फोहोर मैलाको सामाना गर्नका लागि ब्यबस्थापन निकै पहिलादेखि नै गर्दै आएका छन् । तिनले त्यस्ता इ–कबाडी अर्थात फोहोर मैलाहरु  गरीब मुलुकहरु तर्फ धकेलिरहेका छन् । त्यसो गर्दा बिपन्न देशका जनताको स्वास्थ्य खराब हुने र मानब स्वास्थ्यलाई बलीको बोको बनाइदै आएको छ भने सम्पन्न देशहरु जोगिने या अहिलेको बर्तमान अबस्थाभन्दा खराब नहुने स्थिति कायम रहिरहेको स्थिति छ । मोबाइल फोनको मात्र कुरा गर्ने हो भने पनि कबाडीमा फ्याँकिएका यी फोनहरुमा उपयोग हुने प्लास्टिक र बिकिरण पैदा गर्ने कल पूर्जाहरु सयौं बर्षसम्म जमिनमा स्वाभाविकरुपले घोलिएर नष्ट हुदैनन् ।          यस सम्बन्धमा के भनिन्छ भने केवल एउटा मोबाइल फोनको ब्याट्रीले मात्रै पनि ६ लाख लिटर पानीलाई प्रदुषित गर्ने क्षमता राख्दछ । यसका अतिरिक्त एउटा पर्सनल कम्प्यूटरमा ३.८ पौंड घातक सीसा तथा फस्फोरस,केडियम र पारो(मरक्यूरी) जस्ता तत्वहरु हुन्छन् र तिनलाई जलाउँदा सोझै बातावरण घुल्दछन् र बिषालु असर उत्पन्न गर्दछन् । कंप्यूटरहरुको स्क्रिनकोरुपमा उपयोग गरिने ‘केथेड–रे पिक्चर ट््यूब’ले जुन मात्रामा शीशा(लेड) पर्याबरणमा छोड्दछ त्यसले पनि अत्याधिक नोक्सान पु¥याउँदछ । जल जमिन अर्थात हाम्रो वरिपरीको बातावरणमा बिद्यमान यी खतरनाक रसायनहरुले क्यान्सर लगायतका अनेक किसिमका गम्भीर रोगहरु उत्पन्न गर्दछन् ।          आधुनिक हुदै गएको हाम्रो समाजको लागि ती इलेक्ट्रोनिक कबाडीका बस्तुहरु बातावरणमा स्वभाविकरुपमा घुल्थे या बिघटित हुन्थे भने चिन्ता उत्पन्न हुने थिएन । तर ती ई–कबाडी चीजहरु सजिलैसँग बिघटित हुदैनन् । त्यसले गर्दा समुच्चै पर्याबरणमा घातक असर पु¥याउँदछन् । इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कम्पनीहरुहरुले आफ्ना उपोभक्ताहरुबाट खराब भइसकेका सामानहरु फिर्ता लिने जिम्मेवारी पनि बहन गर्दैनन । किनभने त्यसो गर्नु खर्चिलो हुने गर्दछ । सरकारको तर्पmबाट पनि यसलाई बाध्यकारी बनाइएको पाइदैन । यसरी नै उपभोक्ताहरु पनि यस्ता कुरालाई लिएर सजग रहेको देखिदैन कि खराब थर्मामिटरदेखि लिएर सीएफल बल्ब तथा मोबाईल फोन आदि यसरी कबाडी बस्तु सरह जथाभावी फालिदिनु कत्ति धेरै गम्भीररुपमा हानी कारक छ । यसरी बिकास नै मानिसको बिरुद्ध हुन जाने खतरा बिद्यमान छ ।       अझ हाम्रो जस्तो अल्प बिकसित देश त यो ई–फोहोर मैलाको डम्पिङ्ग साइट या ग्राउण्डमा परिणत भएर नजाओस् भन्ने गम्भीर कुरामा सरकार र जनता दुबै सचेत हुनु अत्याबश्यक छ । अन्यथा केही नाफा र केही पैसाको चाहना नै हाम्रो गलाको पासो बन्ने भयंकर ठूलो खतरा छ । समय रहँदै पर्याबरण बिगार्ने र रोग निम्त्याउने यो खतराबाट जोगिन र जोगाउन सिकौं ! अन्यथा पछुताउनु बाहेक अरु बाँकी रहने केही कुरा हुँदैन ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif