Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

नयाँपाटी साकोसले १० प्रतिशत व्याजदरमा व्यवसायिक ऋण दिने


२०७७ श्रावण १५ गते , विहीवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले १० प्रतिशत ब्याजदरमा सदस्यहरुलाई व्यापार व्यवसाय कर्जा दिने भएको छ । कुनै पनि व्यवसाय गर्न चाहने सदस्यहरुलाई उक्त व्याजदरमा ऋण दिन लागेको संस्थाले जनाएको छ । कोरोना महामारीका कारण कतिपय सदस्यहरुले व्यापार व्यवसाय गर्न नसकेको र कतिपयले बन्द नै गर्नुपरेको अवस्थामा सदस्यहरुलाई सहुलियत दरमा ऋण दिएर व्यवसाय प्रवर्द्धन गर्न लागिएको संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिए ।

“राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुनरोत्थान कर्जाको व्यवस्था गरेको छ ।” उनले भने “हामीले भने व्याजदर नै घटाएर ऋण लगानी गर्न थालेका छौं ।” विगतमा ऋण लिएका सदस्यहरुले पनि पहिला लिएको ऋण चुक्ता गरेमा नयाँ दर अनुसार नै ऋण पाउने उनले जनाए । संस्थाले १ प्रतिशत सेवा शुल्क र ०.५ प्रतिशत ऋण जोखिम कोषमा रकम जम्मा गर्ने गरी ऋण प्रदान गर्नेछ । संस्थाले सो ब्याजदरमा एक व्यक्ति बराबर अधिकतम ५० लाखसम्म र चालु आ।व। कुल ५ करोड रुपिया लगानी गर्ने भएको छ ।

त्यसै गरी संस्थाले अन्य ऋणको ब्याजदर १ प्रतिशतले घटाएको छ । संस्थाले लघुवित्त समुहमा बाहेक अन्य सबै प्रकृतिका ऋणमा १४ प्रतिशत भन्दा माथि ब्याज नतोकेको अध्यक्ष श्रेष्ठले जनाए । संस्थाले लघुवित्तमा बिना धितो ऋण प्रवाह गर्ने भएकाले १५ प्रतिशतमा ऋण दिने गरेको छ । संस्थाले व्यापार व्यवसायमा १२ प्रतिशत, सवारीसाधन खरिद र वैदेशिक रोजगारमा १४ प्रतिशत, शैक्षिक एवं घरायसी ऋणमा १३ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थाले कृषि ऋणमा विगतमा ९ प्रतिशत ब्याजदर तोकेको भएपनि यस आवमा ८ प्रतिशतमा नै ऋण दिने भएको छ । संस्थाले प्रतिव्यक्ति १५ लाख र समुहमा ३० लाख गरी यस आवमा २ करोड ५० लाख कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि ११ प्रतिशत व्याजदरमा प्रतिव्यक्ति १५ लाख सम्म १ करोड ५० लाख र प्राविधिक शिक्षा अध्ययनका लागि पनि ११ प्रतिशत व्याजदरमा नै प्रतिव्यक्ति ५ लाखसम्म १ करोड रुपैया लगानी गर्ने योजना अघि सारेको छ ।

संस्थाले चालु आ.व.मा ७९ करोड ५८ लाख कुल लगानी गर्ने योजना बनाएको छ । संस्थाले यस आ.व. ७६ करोड ९५ लाख र शेयर पूँजी १२ करोड ९५ लाख ९१ हजार पुर्‍याई कुल वासलात १ अर्ब ८ करोड पुर्‍याउने भएको छ। 

गत असार मसान्तसम्म संस्थाको शेयर पूँजी १० करोड ५० लाख ३८ हजार, बचत ६६ करोड ६४ लाख ७६ हजार र लगानी ६४ करोड ९२ लाख ९६ हजार रहेको छ । 

संस्थाले ऋण लगानी गर्दा हुनुपर्ने न्यूनतम शेयर पूँजीको मात्रालाई समेत हटाएको छ । विगतमा १७ हजार ५०० शेयर पूँजी हुने सदस्यले ३ लाखसम्म ऋण लिन पाउँथे । त्यसैगरी २० लाख सम्म ऋण लिनका लागि ५ प्रतिशत र सो भन्दा माथिका लागि पनि सोही मात्रामा शेयर पूँजी राख्नुपर्ने व्यवस्था रहेको थियो । सदस्यको सल्लाहसुझाव मनन गरी उक्त व्यवस्थालाई परिमार्जन गरिएको संस्थाले जनाएको छ ।

संस्थागत तथा शेयर पूँजी बलियो हुनुका साथै, बचतमा दिने व्याजदर बैंकहरु सरह भए ऋणी सदस्यलाई कम व्याजदरमा ऋण दिन सकिने संस्थाका प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिए । संस्थाको गुणस्तर कायम गर्न सके सदस्यहरुले बैंक सरहकै व्याजदरमा बचत गर्न आउने उनले बताए । महँगोमा बचत उठाएर ऋण लगानी गर्दा सदस्यबाट पनि महँगै ब्याज लिनुपर्ने अवस्था आउने उनको भनाई छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif