Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

वृद्ध साँढे फेर्नुपर्छ (दिक्पाल)


२०७७ श्रावण १२ गते , सोमवार प्रकाशित



—इन्द्रनारायण सुबेदी


  बाँझो छ खेत साँढे मिल्दैन जोत्न साथी। हुङ्कार डुक्रिएको देखिन्छ माथि माथि। उन्मत्त नग्न छाडा बोक्छन् सधैँ घमण्ड। बेकाम पालिएका छन् क्रुद्ध चण्ड मुण्ड।१।
    पाल्छौँ परन्तु हामी जानेर हो नजानी। बन्लान् कि भोलि राम्रो भन्छौँ गएन बानी। चल्दैन नित्य गाडा चल्दैन झन् जहाज। विश्वासहीन साँढे गर्छन् अनन्त राज।२।
    यी पापका भकारी व्यर्थै लडाइँ गर्छन् । बाच्छाहरू मिचिन्छन् कैँयौँ अकाल मर्छन्। खानेकुरा मिलेमा यी भित्र भित्र मिल्छन्। एकाधिकार राखी सर्वस्व देश निल्छन्।३।
    छाडा सदैव हिँड्ने उन्मत्त बेलगाम। खाएर ढाडिएका सिन्को रहेन काम। भौँतारिएर कैले निर्लज्ज उफ्रिँदैछन्। कोरेर गाँड कैले चौखण्ड टुक्रिँदैछन्।४।
    फिर्दैन बुद्धि कैल्यै उद्यान मासिँदैछन् । छन् वाटिका उदाङ्गै सर्वस्व नासिँदैछन् । पर्खेर हुन्न साथी रोकेर घेर्नुपर्छ। साँढेहरू पुराना सम्पूर्ण फेर्नुपर्छ।५।
    चल्दैन काम जोत्ने पालेर हुन्न राँगा। यी घाँसका भकारी पोसेर हुन्न डाँगा। खोलेर दिव्य आँखा सर्वत्र हेर्नुपर्छ। फेरिन्छ वृद्ध साँढे सङ्कल्प फेर्नुपर्छ।६। -------------------------------------------- १२ साउन २०७७ इलाम। -----------------------------------------  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif