Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

देशका दुइ स्वप्नदर्शीका दुइ दृष्टिकोण !


२०७७ श्रावण १० गते , शनिवार प्रकाशित

आधुनिक नेपलका दुइ बेग्ला बेग्लै दृष्टिकोण, बिचार र सिद्धान्तको पक्षपोषण गर्ने कमरेड पुष्पलाल र बीपीको अर्थ–सामाजिक प्रगतिको पक्ष पनि भिन्ना भिन्नै किसिमको थियो । तर कतिपय मिल्दाजुल्दा कुराहरु पनि थिए । जस्तो बिर्ता तथा जमिन्दारी प्रथाको उन्मुलन त्यस्ता मिल्दा जुल्दा कुराहरु मध्येकै कुरा हुन् । त्यस्तै मोहीयानी हकको सुरक्षा, त्रिखण्डीको ब्यबस्था पनि तत्कालीन अबस्थामा बीपी र पुष्पलालको कुरा मिलेको देखिन्छ । बीपीले योजना आयोगमा गरीब किसानको फोटो राख्न जुन निर्देशन दिएका थिए त्यसले पनि उनको आर्थिक दिशाबोध गरीबी उन्मूलन तर्फ उन्मूख भएको प्रष्ट हुन्छ । तर पुष्पलाल भने जमिन जोत्नेकै हुनुपर्दछ भन्ने कुरामा प्रष्ट र दृढ थिए । उनले  नेपाली किसानको समस्या नेपालको मूल राष्ट्रिय समस्या हो भन्ने निष्कर्शमा पुगरै दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको प्रस्थापना गरेका थिए र कृषि क्रान्तिको स्वरुप दीर्घकालीन प्रकृतिको हुने दर्शाएका थिए । 

  यद्यपि बिपीको कुनै आर्थिक सिद्धान्त र दर्शन प्रष्टरुपमा अगाडि आएको थिएन ।  उनले समाजवादी प्रजातन्त्रको वकालत गरेबाट त्यसले लोक कल्याणकारी राज्यको माग गर्ने कुरा प्रष्ट छ । यसबाट उनका आर्थिक कदमहरुका बारेमा अनुमान गर्न सकिन्छ । त्यसले सामाजिक न्याय र जन कल्याणको कुरा अबलम्बन गर्नुपर्ने हुन्छ र त्यसका लागि पनि भूमिसुधार गरेर प्रति इकाई जमिनबाट कृषि उत्पादन  र किसानको आमदानी बढाउने, किसानको क्रय शक्ति बढाउने कुरा अनिवार्य हुनजान्छ जसको अभावमा राष्ट्रिय बजारको अभिबृद्धि र राष्ट्रिय औद्योगिकरणको आधार निर्माण हुन सक्तैन । फलस्वरुप रोजगारी पैदा गर्ने खालको औद्योगिक बिकासले दिशा  लिन सकिदैन ।

  यो कुरामा पुष्पलाल भने एकदमै प्रष्ट देखिन्छन् र उनले कम्युनिष्ट पार्टीमाथि २००८ सालमा प्रतिबन्ध लागेपछि चलाएको किसान आन्दोलनबाट नै कुरा एकदमै प्रष्ट हुन्छ कि पुष्पलाल सामन्ती उत्पादन पद्धतिका सबै तानाबानाको अन्त्य गरेर बैज्ञानिक भूमिसुधार मार्फत राष्ट्रिय औद्योगिकरण गर्न चाहन्थे र त्यसका लागि ऊर्जा खाशगरी जलबिद्यूतको बिकास अनिवार्य छ भन्ने कुरा उनले राम्रोसँग बुझेका थिए । त्यसैले पुष्पलालले पार्टी कार्यकतालाई शिक्षा दिदा सोभियत समाजवादको उदाहरण दिदै भूमि सम्वन्धि लेनिनको आज्ञाप्ति, शान्ति स्थापना र बिद्यूतिकरणको जहिले पनि निकै जोडदाररुपमा उठाउने गर्दथे। अनि लेनिनले जुन किसान बर्गलाई मुक्ति चाहिएको हो त्यो नै ‘सामन्ती अन्धबिश्वास, कुरीति, अशिक्षा र अभावले आक्रान्त छ’ भनेको कुरा औल्याउने गर्दथे ।यस स्थितिबाट मुक्त नभै वास्तवमा देश औद्योगिकरकणको दिशामा सही किसिमले अघि बढ्न सक्तैन भन्ने उनको प्रष्ट निष्कर्श थियो । आज पैसठ्ठी बर्ष बित्नलागेको हाम्रो योजनाबद्ध बिकास पछि पनि देश किन पछौटे अबस्थाबाटै गुज्रिरहेको छ भन्ने यथार्थले पनि पुष्पलालको निष्कर्शको पुनर्पुष्टी गरिरहेको छ ।

  अहिले पनि केवल कृषिको ब्यवसायीकरणको मात्र कुरा गर्ने तथा यान्त्रिकीकरण र आधुनिकीकरणबाटै जमिनको स्वामित्व, किसानको त्यसप्रतिको ममत्व र अपनत्वको कुरा पनि स्वतः हल भइहाल्छ भन्ने मनोगत धारणा एकथरी कम्युनिष्ट, काग्रेस र कर्मचारीतन्त्रमा देखिन्छ । तर त्यो आंशिक र यान्त्रिक  कुरा मात्र हो । यस्तो सोचले जमिनको स्वामित्व, सामुहीकता र समाजको हितको निमित्त उत्पादनको कुरा उठाउँदैन । जुन कुरा कमरेड पुष्पलालले जोडदाररुपमा उठाउने गर्दथे । वास्तवमा  पुष्पलाल र बीपी पनि बद्लिएको राजनीतिक पद्धति र प्रणाली अनुरुपको उत्पादन पद्धति हुुनुपर्ने कुरामा जोड दिन्थे । अझ पुष्पलाल त आधार नबदलिकन केवल उपरी ढाँचाको परिवर्तनले मात्र आम जनतालाई  कुनै ठोस परिवर्तनको अनुभूति गराउँदैन भन्ने कुरामा एकदमै प्रष्ट थिए । वास्तवमा ०७ सालदेखि २०६३ सालका उपरी ढाँचामा आएका निकै ठूल्ठूला राजनीतिक परिवर्तनले पनि आम जनताको जीवनमा खाशै कुनै परिवर्तन ल्याउन नसक्नु र देश अल्पबिकसित चरणमै घस्रिरहनु पछाडिको मूल कारण यही नै हो । उत्पादन पद्धतिमा आमूल र अग्रगामी परिवर्तन गरेर मात्रै बद्लिएको राजनीतिलाई सबल, सक्षम र कार्यकारी बनाउन सकिन्छ र जनताको जीवनमा साच्चै सार्थक परिवर्तन आएको बोध र  अनुभूति गराउन सकिन्छ भन्ने प्रष्ट माक्र्सवादी मान्यता क. पुुष्पलाल राख्दथे । यो कुरा अहिले पनि उत्तिकै मननीय, अनुकरणीय र ब्यवहारिक पनि छ ।

  बिश्वमा ज्ञान बिज्ञानको आजको अतुलनीय प्रगति र खाशगरी बिज्ञान र प्रबिधिमा आएको ठूलो क्रान्तिकारी परिवर्तनका बाबजुद बिश्वभरी नै र बिशेषगरी हाम्रो देशमा जुन असमानता, गरीबी, बेरोजगारी, अभाव, असुरक्षा र अनिश्चित भबिष्यको चिन्ता ब्याप्त छ, देशलाई पराश्रित तुल्याइएको छ त्यसले पुष्पलालको चिन्तन र चिन्ता कति दूरदर्शी रहेछ भन्ने कुरा प्रष्ट पार्दछ । वास्तवमा पुष्पालाल र बीपी, यद्यपि बेग्ला बेग्लै किसिमले, देशको अग्रगामी परिवर्तको आधुनिक स्वप्नदर्शी थिए भन्न कसैले कञ्जुस्याँई गरिरहनु पर्दैन ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif