Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

हवाई उडान र पर्यटन गतिविधि सुचारु गर्न व्यवसायीको माग


२०७७ श्रावण २ गते , शुक्रवार प्रकाशित

पर्यटन व्यवसायीहरुले सुरक्षात्मक उपाय अवलम्बन गरी हवाई यातायात र पर्यटन व्यवसाय खुलाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम गर्न अपनाइएको बन्दाबन्दीले आफूहरु संकटमा परेको उनीहरुले जनाएका छन् । उनीहरुले लामो समयको लकडाउन पछि आंशिक रुपमा अन्य व्यवसाय र गतिविधि गर्न खुकुलो गरिएपनि हवाई उडान सुचारु नहुँदा पर्यटन व्यवसाय मारमा परेको भन्दै अगष्ट १ बाट राष्ट्रिय र अगष्ट १५ गतेबाट अन्तर्राष्ट्रिय उडान सुचारु गरिनुपर्ने माग सरकार समक्ष राखेका हुन् । 

वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्षको शुरुवातमा नै पर्यटन व्यवसायमा मन्दी शूरु भइसकेको थियो । नेपालमा २०७६ चैत ११ गते देखि पूर्ण रुपमा बन्दाबन्दी भई हाल आंशिक खुलापन आए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द नै छन् । आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व बहनसँगै ऋणात्मक भई १०औं लाखको रोजगारी तथा खर्बौंको लगानी समेत संकटमा परेको छ ।

कोभिड–१९ ले विश्वमा पारिरहेको प्रभाव आँकलन गर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने स्पष्ट देखिन्छ । पर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै विस्तार विस्तारै कोभिड–१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको पर्यटन व्यवसायीहरुको भनाई छ । 

अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेतलाई आत्मसात गर्दै नेपालले पनि नेपाल सरकार, पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गर्दै हवाई यातायात र अन्य सम्भावित पर्यटकीय गतिविधिलाई अघि बढाउने बातावरण बनाउन सरकार सँग माग गरेका हुन् । 

हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार समेत भएको साथै नियमित उडान नहुँदा विभिन्न मुलुकबाट आउने नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको उनीहरुले जनाएका छन् । 

त्यसैले पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने एवं हवाई सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्नुपर्ने उनीहरुले जनाएका छन् । 

नाटा, हान, टान, इकोन लगायत ३० वटा पर्यटन क्षेत्र सम्वद्ध संघसंस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif