Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बुडोल सामुदायिकले बनायो वार्षिक कार्ययोजना, आगामी आवको वासलात १६५ करोड पुर्याउने


२०७७ असार २९ गते , सोमवार प्रकाशित

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संस्थाले आगामी आवमा १ अर्ब ६५ करोडको कुल वासलात बनाउने, २४ हजार २ सय सदस्य पुर्याउने र एकिकरणलाई प्राथमिकतामा राखेर कार्ययोजना तय गरेको संस्थाका बरिष्ठ कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । 

संस्थाले यस आवमा एक अर्ब ४६ करोड कुल वासलात पुर्याउने लक्ष्य लिएकोमा कोरोनाका कारण १ अर्ब २६ करोड मात्र पुगेको उनले बताए । गत वर्षको तुलनामा यस आवमा कुल वासलात २१ प्रतिशतले वृद्धि भएको र लक्ष्यको ४५ प्रतिशत मात्र पूरा गर्न सकिएको ठकुरीले जनाए । “सामान्य अवस्थामा २१ प्रतिशत वृद्धि राम्रो हो तर हामी आक्रामक ढंगले अघि बढेका छौं,” उनले भने “आगामी आवका लागि लिएको लक्ष्य पूरा गरेरै छाड्ने तयारी छ ।”

संस्थाले चालु आवमा १ अर्ब २६ करोड कुल वासलात, ९१ करोड ४२ लाख बचत संकलन, ९६ करोड ४ लाख ऋण लगानी र ७ करोड ४० लाख संस्थागत पूँजी पुर्याएको छ । संस्थामा १९ हजार ४९४ सदस्य आवद्ध रहेका छन् । 

सबै सदस्यले समयभित्रै ऋणको साँवाब्याज तिर्ने अवस्था नरहेकाले संस्थाको नाफा केहि घट्न सक्ने उनले बताए । “कृषि उपजले मुल्य पाएको छैन, व्यापार व्यवसाय र सार्वजनिक यातायात बन्द छ, यसले गर्दा ऋणी सदस्यले समयमा किस्ता बुझाउन सकेका छैनन् ।” उनले भने “हामीले बैंकले जस्तो किस्ताका लागि दबाव दिएका छैनौं तर सम्भावना भए ब्याज छुट सहितको लाभ लिन सबै सदस्यलाई आव्हान गरेका छौं ।”

संस्थाले चैत्र र बैशाख महिनाको ब्याजमा १५ प्रतिशत, जेठको ब्याजमा १० प्रतिशत र असारको ब्याजमा ५ प्रतिशत छुट दिएको छ । सदस्यहरुको व्यवसायलाई सुचारु गर्न अवस्था हेरेर हाल कायम रहेको ऋणमा १० प्रतिशतसम्म ऋण थप गर्ने व्यवस्था संस्थाले मिलाएको छ । 

लकडाउन शुरु भएको केहि दिन पछिदेखिनै सम्पर्क व्यक्ति तोकेर र आंशिक समय कार्यालय सञ्चालन गरी सेवा दिँदै आएकोमा असार १ देखि संस्थाले पूर्णकालिन सेवा दिन थालेको छ । सुरक्षा सतर्कता अपनाएर सेवा दिँदै आएको संस्थाले सदस्यहरुले कोरोना बीमा गर्दा २५ प्रतिशत शुल्क संस्थाले नै बेहोरिदिँदै आएको छ । हालसम्म २ हजार भन्दा बढिले कोरोना बीमा गरेको र क्रम निरन्तर रहेको ठकुरीले जनाए । संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीको कोराना बीमा गरिएको उनले बताए ।

त्यसैगरी संस्थाको मोबाइल एप प्रयोग गर्न चाहने सदस्यहरुलाई असार मसान्तसम्म रजिष्ट्रेशन शुल्कमा पूर्ण छुटको व्यवस्था गरेको छ । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै बनेपा, पनौति र धुलिखेल नगरपालिकालाई ५० हजारका दरले विपद् कोषमा आर्थिक सहयोग समेत गरेको छ । 

समुदायमा आधारित संस्था भएकाले बचत बढे पनि ऋणको माग न्यून हुँदा तरलता २५ प्रतिशतमाथि कायम भएको ठकुरीले जानकारी दिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif