Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

आभाष साकोसले सदस्यहरुलाई दियो व्याज छुट, लकडाउनमा पनि थपियो बचत


२०७७ असार २९ गते , सोमवार प्रकाशित

सदस्यप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आभाष बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ब्याजमा छुट दिएको छ । संस्थाबाट ऋण लिएका सदस्यहरुलाई २०७६ चैत्र देखि ०७७ असार मसान्तसम्म हर्जानामा शत्प्रतिशत र ब्याजमा १० प्रतिशत् छुट दिइएको प्रमुख प्रबन्धक सुवास बैद्यले जानकारी दिए । 

संस्थाले कर्जा असुलीमा सदस्यका लागि सहज प्रक्रिया अपनाएको उनले बताए । सदस्यहरुलाई व्यवसायको आधारमा ऋणको साँवाब्याज भुक्तानीका लागि अनुरोध गरेको तर भुक्तानीका लागि दवाब भने नदिएको उनले जनाए ।

सदस्यको व्यवसाय उत्थानका लागि आवश्यक परे पुनर्कर्जा दिएर संस्थाले सघाउने उनले जानकारी दिए । लकडाउन अवधिमा पनि संस्थाको बचत संकलन बढेको र सो अवधिमा १ करोड ५० लाख बचत थपिएको उनले बताए । लक डाउन भएको तीन महिना अवधिमा खासै लगानी विस्तार नभएपनि असार १ गतेबाट भने ऋण लगानीको क्रम चलेको उनले जनाए । संस्थाले असार महिनाभर ५० लाखको हाराहारीमा लगानी गरेको र सदस्यहरुको मागको आधारमा लगानी बढाउँदै लगिने प्रबन्धक बैद्यले बताए । 

“लकडाउनमा बचत फिर्ताका लागि प्राथमिकता दिएकाले लगानीमा केहि कमी भएको हो,” उनले भने, “त्यस अवधिमा ऋणको माग पनि खासै आएन ।” कोरोनाका कारण ऋण असुलीमा केहि प्रभाव पारेको भएतापनि समुदायमा आधारित संस्था भएकाले विकराल अवस्था भने नआएको उनले बताए । 

संस्थाले लकडाउन शुरु भएको एक साता पछि प्रत्येक दिन २ घण्टा र त्यसको केहि समय पछि दैनिक ४ घण्टाका दरले सदस्यहरुलाई सेवा दिँदै आएकोमा असार १ गतेबाट भने पूर्णकालिन सेवा दिन थालेको छ । हाल संस्थाले बचत संकलनका लागि घरदैलो कार्यक्रम समेत शुरु गरेको छ । संस्थामा २५ प्रतिशतको हाराहारीमा तरलता विद्यमान रहेको छ । 

संस्थाले हालसम्म ५१ करोडको कुल वासलात बनाएको छ । संस्थाको बचत ४५ करोड नजिक पुगेको छ भने लगानी पनि ३९ करोडको हाराहारीमा रहेको छ । संस्थाले बचत राख्न र झिक्नका लागि कुनै सीमा तोकेको छैन । 

कोरोना भाइरसबाट बच्न पूर्ण स्वास्थ्य सावधानी अपनाएर सदस्यलाई सेवा दिइरहेको संस्थाले सम्पूर्ण कर्मचारीहरुको भने कोरोना बीमा गरिदिएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif