Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन र एमसीसी


२०७७ असार २४ गते , बुधवार प्रकाशित

दुइ तिहाइ बहुमतको कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार र विपक्षी समेत मिलेर भित्राउन खोजिएको एमसीसी र यसको निर्णय प्रकृया केन्द्रीय बहसको विषय अहिले बनेको छ । नेपालमा राजनीतिक पार्टीहरूको गठन परचक्रीहरूको हितका लागि थियो ? नेपाली किसान मजदुरका लागि थिएन ? नेपाली जनताका लागि थिएन ? नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि थिएन ? वा जनतन्त्र, जनजीवीका र राष्ट्रियताका लागि थिएन ? भन्ने प्रश्नहरु गम्भीर रुपमा उठान भएको छ ।

काँग्रेस पार्टीको स्थापना राणाको स्थान लिन मात्र थियो । उसको गतिविधिले यो भन्दा माथिको संकेत गर्न सकेन । समाजवादको कुरा गरे तापनि उदार पूँजीवादको स्थापना मुल लक्ष रहेकोमा त्यो कार्यभार पुरा गर्ने स्तरमा समेत आफुलाई विकास गर्न काँग्रेसले सकेन । तर कम्युनिष्ट पार्टीको स्थापना राणाको स्थान लिनमात्र थिएन । व्यवस्था परिवर्तनका लागि मात्र पनि थिएन । जनताको अवस्था परिवर्तन गर्ने सम्मको थियो । जनताको अवस्था परिवर्तनमा बाधक बनेका सम्पूर्ण राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको परिवर्तन थियो । सामन्तवादी, भारतीय विस्तारवादी प्रभुत्व तथा दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादी शोषण उत्पीडन र विभेदका विरुद्ध राष्ट्रिय स्वाधीनतामा आधारित नयाँ जनवादी क्रान्ति स्थापना गर्दै समाजवाद सम्यवादको यात्रा पुरा गर्नु थियो । सात दशक पुरा गरेको नेपालको स्वतन्त्रताको आन्दोलन तथा कम्युनिष्ट आन्दोलन आज सबैको छिछि र दुर्दुरको स्थितिमा पुगेको छ । जनताबाट अनुमोदित भएर पनि जनविरोधी हुन पुगेको छ । राष्ट्रियताको बारेमा प्रतिवद्धता जनाए पनि राष्ट्रघातीको पहिचान बनाएको छ । आखिर किन यस्तो हुन्छ बारम्बार ? खोजीको विषय बनेको छ । 


विचारबाट भन्दापनि शक्ति केन्द्रबाट निर्देशित भइ नेपाली काँग्रेसको स्थापना र विकास भयो । जसका कारणले गर्दा जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताको पक्षमा भन्दापनि शक्ति केन्द्रको चाहानामा काम गर्नु परेको यथार्थ नेपाली राजनीतिक मञ्चमा देखिन्छ । जसका कारणले यो त गलत भयो भनेर ठान्ने र भनेको अनुसार गर्नु पर्छ त्यसमा पनि राज्यसत्ता वर्गीय हुने र जनताले आफ्नो वर्गको हितका लागि वर्गीय पार्टी निर्माण गर्नु पर्ने निष्कर्षसहित प्रवासमा नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेपालमा यो संगठन र आन्दोलनको विकास भयो । यहाँ वर्तमान सत्ताधारी दल डब्बल नेकपा र कम्युनिष्ट आन्दोलन तथा कम्युनिष्ट पार्टीको सन्दर्भ समेतमा रहेका विचलन, विभाजन, पुनर्गठनका श्रृंखलाहरूका बारेमा केही चिहाएर हेरौं ।

विचलनको शुरुआत

नेकपाको पहिलो अधिवेशनबाटै कम्युनिष्ट पार्टी र आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको प्रवेश भएको देखिन्छ । पुष्पलाललाई गलहत्याइ बनेका महामन्त्री मनमोहन अधिकारीले केन्द्रीय समितिको तर्फबाट महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा ‘पार्टी कार्यक्रममा परिवर्तन किन ?’ भनेर गत सम्मेलनमा पारित गरिएको कार्यक्रममा ‘बामपन्थी भुल’ रहन गएको चर्चा गर्दै ‘हिन्दुस्थान र विदेशी पूँजीपति’ प्रति गलत नीति रहेकाले ‘खालि आफ्नो पार्टी मात्रको दृष्टि राख्नु हुँदैन’ भनी ‘चीन र रुसपट्टिमात्र झुकाव देखाउनु’ गलत भएको निर्णय पहिलो अधिवेशनले गरेको थियो । (नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, पुष्पलाल, पुष्पलाल स्मृति प्रतिष्ठान पृष्ठ ८८) यसरी हेर्दा नेपालमा कम्युनिष्ट चरित्रको पार्टी र संघर्ष ज्यादै थोरै अवधिको रहेछ भन्न सकिन्छ ।

यो विचलनले ‘राजाको वैधानिक नेतृत्व स्वीकार्ने’ मनमोहन अधिकारीको जाहेरीलाई टंकप्रसादको सरकारले सका¥यो । यो कार्यले कम्युनिष्ट पार्टी ‘राजतन्त्र कि गणतन्त्र’ मान्ने भन्ने भ्रम सिर्जना ग¥यो । यतिमा मात्र यो आन्दोलन सीमित रहेन । रायमाझीले संविधानसभाको साटो संसदको निर्वाचन गराउने र स्थापित संसद विघटन गराउने षड्यन्त्रमा राजाको तावेदारी गरे । १७ को राजाको फौजी काण्डलाई स्वागत गर्दै ‘संसदीय व्यवस्थाले दश बर्षमा गर्न नसक्ने काम राजतन्त्रमा दश दिनमा गर्ने’ भन्दै दरबार पसे । (उही)

दोश्रो विश्व युद्ध पछिको विश्व राजनीतिमा आएको नयाँ शक्ति सन्तुलनको प्रभाव र विस्तारका साथै स्टालिनको मृत्यु पछि फणा उठाएको संशोधनवादको लपेटामा विकास भएको नव संशोधनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षत्विक्षत् नै बनायो । माझीलाई गलत भन्नेहरूमा पनि पछि संशोधनवादी रुझान देखाप¥यो । तेश्रो महाधिवेशन त भयो । यसले पनि राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम पास ग¥यो । तर टिएल नेतृत्वको टिम पास भएका कतिपय नाराहरूलाई संशोधन गर्ने, नीतिहरूलाई परिवर्तन गरी माझीलाई सहयोग हुने किसिमका षड्यन्त्र गर्ने र संघर्ष भन्दापनि समन्वय र सम्झौतापरस्त भइ क्रियाविहिनताको अवस्थामा रह्यो । जसका कारण पार्टी दिशा विहिन तथा नेतृत्व विहिन हुन पुग्यो ।
यसरी नेतृत्व विहिन पार्टी र आन्दोलनदाई नेतृत्व र दिशा दिनु अनिवार्य हुन्थ्यो । गोरखपुर सम्मेलन गरेर यो काम भयो । तर यसलाई नस्वीकारेर फेरी अर्को विचलनको सुत्रपात भयो । परिणाम स्वरुप धेरै रंगरोगनका गुटहरू देखा परे । त्यसमा उग्रवामपन्थी, छद्म अवसरवादी र संसदवादीहरूमा आज आइपुग्दा कम्युनिष्ट नाम धारी भएपनि यसको ठिक बिपरित घोर दक्षिणपन्थी प्रतिकृयावादमा पतन हुन पुगे । 

पार्टी स्थापना दिवसको तिथिमितिका बारेमा समेत बेइमानी गर्ने कार्य अर्को बिचलन हो । २००६ अप्रिल २२ मा पहिलो पर्चा प्रकाशन र सेप्टेम्बर १५ मा पार्टीको विधान, कार्यकारिणि समिति, कार्यनीति, कार्यक्रम र सिद्धान्त सहित पार्टी स्वरुपको घोषणा गरिएको थियो । यसलाई तोडमोड गर्ने कार्य पनि विचलनको द्योतक हो । 

विभाजन

सैद्धान्तिक रुपमा कम्युनिष्ट पार्टीमा विभाजन २००८ साल देखिनै भएको हो । जसको शुरुआत मनमोहनले ‘कार्यक्रममा संशोधन’ गरेर शुरु गरेका थिए । तर सिद्धान्त र संगठन प्रति प्रतिवद्धहरू देखिने गरी अन्तरपार्टी संघर्षमा थिए । तेश्रो महाधिवेशन पछि गलत नीति नेतृत्व र नेतृत्वदायीहरू निष्कृय, दिशाहीन र नेतृत्वहीन भएपछि २०२५ मा गोरखपुर सम्मेलन हुन पुग्यो । जसले नेपाली क्रान्तिको कार्यक्रम ‘नयाँ जनवाद’, ‘पार्टीको १८ बर्षे सिंहावलोकन’, ‘संगठनात्मक नीति’ लगायतका प्रस्ताव पारित गर्दै कम्युनिष्ट पार्टी र आन्दोलनलाई सहि नीति, नेतृत्व र दिशा दिने काम भयो । यो सम्मेलनले व्यवस्थित रुपमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई ‘नयाँ जनवादी क्रान्ति’ को मार्ग दर्शक सिद्धान्त स्थापित ग¥यो । यसबाट देशिविदेशी प्रतिकृयावादी र छद्म अवसरवादी क्रान्तिकारीहरूमा ठूलो हलचल पैदा हुन्छ । प्रत्यक्ष र परोक्ष रुपमा राजा र राजतन्त्रको नजिक हुन खोज्नेहरू जेलमुक्त हुन्छन । ‘गद्दार पुष्पलाल’, ‘सम्मेलन अवैधानिक हो’ जस्ता लिखित अलिखित प्रचारवाजी गराइन्छ ।

कोके, श्रमिक सर्वहारावादी पार्टी, नेमकिपा, झापा विद्रोह, सन्देश समुह, रातोझण्डा, चौम, माले आदि नामले पार्टीमा विभाजन हुन पुग्यो । यी समुहहरू के हुन र के हैनन भन्ने बारेमा उनीहरूको तत्कालिक दस्तावेजहरूले बोल्दछन् र त्यस पृष्ठभूमिबाट बनेका एमाले माओवादीहरू र अन्य दलहरूको उपस्थिति र क्रियाकलापबाट पनि स्पष्ट हुन सकिन्छ । दुइ तिहाइ बहुमतको सरकारले गरेका काम हेर्दा लाग्छ देशीय आवश्यकता पुरा गर्न भन्दापनि विदेशीको निहित स्वार्थ पुरा गर्न यी दलहरू सञ्चालित त छैनन् ? त्यहाँ भित्रका इमान्दारहरूले प्रश्न उठ्न थालेका छन् ।

यहाँ मुलतः दुइ प्रवृत्ति हावी भएको देखिन्छ । दक्षिणपन्थी संशोधनवादी अवसरवाद र उग्रवामपन्थी दुश्साहसवादी आत्मसमर्पणवाद ।

झापा विद्रोहलाई सकारात्मक रुपमा लिने हो भने पनि यसको अवसान दक्षिणपन्थी अवसरवादमै पतन हुन्छ । र यो गलत भयो भनेर फेरी विद्रोहको टुटेको कडी जोड्ने भन्दै गरिएको माओवादी जनयुद्धको नियति पनि उही नै हुन पुग्दछ । बाँकी छद्म क्रान्तिकारी अवसरवादमा अलमलिए भने क्रान्तिकारीहरू अस्तित्व रक्षाको संघर्षबाट माथि उठ्न सकेनन् ।
कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने दुइ अतिवादी उग्रवामपन्थी र उग्रदक्षिणपन्थी धारा आपसमा प्रतिस्पर्धी रहेकाहरू एक्लाएक्लै आफ्नो अस्तित्व रक्षाको संकट हुने देखेपछि दुवै हठात् मिलेर घोर दक्षिणपन्थी अवसरवादलाई संस्थागत गर्न पुग्दछन् । र देशको अर्थतन्त्र देशी विदेशी दलालको नियन्त्रणमा सुम्पन पुग्दछन् । परिणमतः देशका राष्ट्र गौरव आयोजना र ठूल्ठूला आयोजनाहरू, सार्वजनिक सेवाका क्षेत्रहरू लुट, भष्टाचार र ढिलासुस्तिका आयोजनामा परिणत गरिन्छ । जलश्रोत जलविद्युत लगाएतका देश धनी हुनसक्ने आयोजनाहरू कौडीको भाउमा विदेशीलाई बेचिन्छन् ।

एमालेको नौ महिने सरकारले नेपाली काँग्रेसले भित्राएको निजीकरण, उदारिकरण, भूमण्डलिकरणलाई विकास गर्दै थप भ्रष्टिकरण र दलालिकरणलाई संस्थागत गर्न पुग्यो । परिणामस्वरुप महाकाली जस्तो राष्ट्रघाती सन्धि भयो । फलतः पार्टी नै विभाजन भयो तथापि कारण नसच्चिएकै अवस्थामा पुनः एकीकरण समेत भयो । 
अहिले सत्ताधारी पार्टी डब्बल नेकपा एमसीसी सम्झौताकै प्रकरणमा कारण विभाजनको संघारमा छ । यहाँ एमसीसी पास हुनु हुँदैन र पार्टी फुट्नु पनि हुँदैन । आजसम्मका सरकारहरू असफल बहुमतको सरकार नभएका कारण भनेर सरकारमा पुगेकाहरूले जनता झुक्याउने कामहरू निरन्तर रुपमा भई रहेका छन् । हिजोका सरकारले पनि जनताको काम गरेका थिएनन् आजको सरकारले पनि गर्न नसक्दो रहेछ भनेर जनस्तरमा सन्देश सरकार र सरकारी पार्टीकै गतिविधिबाट भयो भने यी पार्टी र यो व्यवस्था प्रतिको जनतामा रहेको भ्रमहरू चाँडो हट्न सक्छ । क्रान्तिकारी वैचारिक तथा संगठानिक धुव्रीकरण तीब्र बन्न सक्छ । जो आज ठहरावको अवस्थामा छ ।

पुनर्गठन

देशमा रहेको सामन्तवादी, साम्राज्यवादी, दलाल नोकरशाही पूँजीवाद, प्रभुत्ववादको अन्त्य गर्दै न्याय, समानता, स्वतन्त्रता र भातृत्वको स्थापना र विकास, इष्ट इण्डिया कम्पनी र भारत सरकारसंग भएका असमान सन्धी सम्झौताले बनेको अर्ध औपनिवेशिक र अर्ध सामन्तवादी सम्बन्धको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको सम्बर्धन गर्न नयाँ जनवादी क्रान्ति गर्दै समाजवाद साम्यवादको लक्ष्य लिएर स्थापना र विकास हुँदै गरेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो पुनर्गठन २०२५ को गोरखपुर सम्मेलनमा आइपुग्दा हुन पुग्छ । यस अवधिको मुल प्रबृत्ति संशोधनवादी र पलायनवादी हावी रहेको अवधी रह्यो । विश्व कम्युनिष्ट आन्दोलनको हिसावले यो महान बहसको अवधीको रुपमा रहेको छ । रुसी संशोधनवादी धुरी कि चीनी क्रान्तिकारी धुरी । यसबारेमा १८ बर्षे सिंहावलोकनमा मसिनो गरी चर्चा गरिएकोछ ।

दोश्रो चरणको पुनर्गठन २०६९ मा पुगेर नेपाल कम्युनिष्ट पार्टीको गठन भएर भयो । पुनर्गठनले भने अलि लामो समय लिएको देखिन्छ । यसमा पनि विवाद हुन सक्छ । यसको निरुपण भने सिद्धान्तनिष्ठ समझदारीबाटमात्र हुन सक्छ । वर्ग संघर्षलाई ‘अन्धाले हाति छामे जस्तो’ नबनाउँदा मात्र हुनसक्छ । कम्युनिष्ट आन्दोलन, पार्टी स्थापनाका संकल्प, विचलन विरुद्धको संघर्ष र पुनर्गठनलाई विश्व दृष्टिकोणको आधारमा समाधान गर्नु पर्छ । यो ४४ बर्षको अवधिमा नेपाल कम्युनिष्ट पार्टीको नाम अगाडि पछाडि सिंग पुच्छर जोडेर र नीति तथा कार्यक्रम र सिद्धान्तकै तहमा पनि मनलाग्दी गर्ने कामहरू भए । ती अनेकन नामहरू माथि नै उल्लेख भई सकेका छन् । यो अवधीको मुल प्रवृत्ति उग्रबामपन्थबाट उग्रदक्षिणपन्थी ओरालोको पनि गहिराइमा पतन हुने अवधिका रुपमा रह्यो । २८ को झापा विद्रोहबाट शुरु भएको उग्र प्रवृत्ति ४८ को पाँचौ महाधिवेशनमा आइपुग्दा ‘जनताको बहुदलीय जनवादी’ कार्यक्रमको संसदवादमा पतन भयो । दश बर्षे जनयुद्ध पनि ०६२÷६३ को जन आन्दोलनसम्म पुग्दानपुग्दै संसदवादीमा रुपान्तरित भई उही माओले भने झैं ‘उग्र बामपन्थी क्रान्तिकारी दुस्साहसवाद अन्ततः उग्र दक्षिणपन्थी आत्मसमर्पणवादमा पतन हुन्छ’ भन्ने संश्लेषण प्रमाणित हुन पुग्दछ । यहाँ कार्यनीतिक सवालमा त्रुटिहरू रहेको प्रष्ट हुन्छ । कार्यनीतिका बारेमा पुष्पलाल भन्नु हुन्छ ‘लचकता बिनाको सजगता र सजगता बिनाको लचकता’ को अभावमा क्रान्तिकारी उद्देश्य प्राप्त हुन सक्दैन । यो अतिवादी भड्काव नै नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य समस्याको रुपमा रहेको छ । धुव्रीकरण शुरु भएको छ । सिद्धान्तनिष्ठ पुनर्गठनको कार्यभारलाई पुरा गर्दामात्र आन्दोलनलाई न्याय हुन सक्छ । 

एमसीसी र गद्दार सरकार

एमसीसी भनेको आजको युगको नव औपनिवेशिक शोषण उत्पीडनको नयाँ संस्करण हो । नेपालमा रहेको लोक उखान ‘सियो बनेर छिर्ने, फाली बनेर निस्कने’ अमेरिकी साम्राज्यवादको मुल उद्देश्य रहेको छ । एमसीसीसँग जोडिएका देशहरूको अनुभवले यो तथ्य प्रमाणित भई सकेको छ ।

साम्राज्यवादी प्रभुत्ववादीहरूको स्वार्थ संघर्षमा फसेको, फसाइएको, मुक्त हुन प्रयास नगरिएको नेपाली सरकारको परिचय हो । लगानी गरेर नियन्त्रण गर्ने र निचोर्ने नीति धनीहरूको हुने गर्दछ । यसको नेतृत्व अमेरिकाले गरिरहेको छ । पेन्टागन हमलापछि जन्माइएको एमसीसी, गरिब देशहरूको विकास र गरिबी उत्थानका लागि भनि एक हजार बर्ष पछिसम्म पनि अमेरिकी नेतृत्व कायम गराउने उद्देश्य सहित बाँकी प्रतिस्पर्धीलाई उठ्न नदिने योजना हो एमसीसी । अन्य देशको अनुभवहरूले यो तथ्य पुष्टि भई सकेको छ । तरकारी बिक्री गर्ने साधारण किसानको जतिपनि हेक्का नराखी देशको नेतृत्व गर्नेहरू देशलाई बन्धक वा गुलाम बनाउने कागजमा सही गरे । यसलाई सदनबाट जसरी पनि पास गराउन उनीहरूले गरेको हर्कत देख्दा लाग्छ ठुलै बैना हात पारेको हुनु पर्छ । देश भाडमा जाओस तर आफ्नो गोजी खाली नजाओस् भन्ने तथ्य फेरी पुष्टि हुन्छ ।

एमसीसी नेपालको विकास साझेदार होइन । यो भारत र खुद अमेरिकी लाभको औजार हो । विद्युत भारतलाई बेच्ने, पैसा तथा अधिकार एमसीसीले लिने । एमसीसी अमेरिकी कानुन अनुसार हुने । यसमा रहेका यावत प्रावधानले यो तथ्यलाई पनि पुष्टि गर्दछ । यो त नेपाली सम्पदा र सम्प्रभुता माथिको कब्जा हो । अझ भन्नुपर्दा यो त ‘फ्याउराको कनाएर माया गर्ने तरिका’ जस्तै हो ।
यसरी यो निष्कर्षमा पुग्न सकिन्छ कि यो सरकार तथा प्रतिपक्ष विदेशीका खेताला हुन् । जसले ज्याला बाहेक केही सोच्दैन । वा जनताको भोटले जित्ने तर जनतालाई पूर्ण रुपले धोका दिने व्यवस्था लेनिनले भनेझैं ‘संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ को रुपमा दिनप्रतिदिन प्रमाणित भइ नै रहेको छ । यसरी जनताले लामो बलिदानीपूर्ण संघर्षबाट स्थापना भएको संसदवादी व्यवस्था सामन्ती दलाल नोकरशाही पूँजीवादमा पतन हुँदैछ । यसका पक्षपाती हो यो व्यवस्था जोगाउने हो भने तुरून्त सचेत बन । 

जनवादी व्यवस्था स्थापनार्थ गरिएका संघर्षमा साधन, श्रोत, सम्बन्ध र शक्तिको अनुचित प्रयोग र उपयोग गरेका कारण जनवादी व्यवस्था स्थापना हुन सकेन । जनपक्षीयसम्म पनि हुन सकेन । कम्युनिष्ट आन्दोलन त कता हो कता । बदनाममात्र गराउने काम भयो । पहिले यसलाई बदल्नु पर्छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif