Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

आर्थिक विकास मित्र साकोसका कोरोना प्रभावित सदस्यलाई पुनरोत्थान कर्जा


२०७७ असार १८ गते , विहीवार प्रकाशित

पाँचखाल, काभ्रे,

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसका कारण समस्यामा परेका सदस्यहरुलाई पुनरोत्थानका लागि पुनर्कर्जा प्रदान गर्न शुरु गरेको छ । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रहेको उक्त संस्थाले यस अघि ऋण लिएर व्यवसाय गरिरहेका र अहिले महामारीका कारण व्यवसाय प्रभावित भएकाहरुको व्यवसायलाई सहज बनाउने उद्देश्यले उक्त ऋण दिन लागेको संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले बताए ।

“कोरोनाका कारण पीडामा रहेका सदस्यहरुको व्यवसायलाई सहजिकरण गर्न संस्थाले पुनकर्जा योजना ल्याएको हो,” उनले भने “पुनर्कर्जामार्फत सदस्यले पाँच लाखसम्म ऋण पाउँछन् । कोरोनाका कारण प्रभावित भएका होटल, पर्यटन र यातायात क्षेत्रका सदस्यहरुलाई यसले ठूलो टेवा पुग्ने संस्थाको विश्वास छ । यस अघि ऋण लिएर व्यवसाय गरिराखेका र हाल व्यवसाय प्रभावित भएकाहरुलाई व्यवसाय सुचारु गर्न ३ महिनाका लागि १० प्रतिशत व्याजमा कुनै सेवा शुल्क नलिइ पुनर्कर्जा दिन लागिएको अधिकारीले जानकारी दिए । 

त्यसैगरी संस्थाले लकडाउन अवधिभर ऋणको साँवाब्याज भुक्तानी गर्न नसकेका  सदस्यलाई हर्जानामा शत्प्रतिशत् छुट दिएको छ भने सो अवधिमा साँवाव्याज भुक्तानी गर्नेहरुलाई व्याजमा १० प्रतिशत छुट दिएको छ । उक्त सुविधा असार २५ सम्म भएको संस्थाले जनाएको छ । 

संस्थाले कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैया बराबरको कोरोना बीमा गरिदिएको छ भने कोरोना बीमा गर्न चाहने ईच्छुक सदस्यहरुलाई समन्वय गर्दै आएको छ । हालसम्म संस्थामा संलग्न २०० भन्दा बढिले कोरोना बीमा गरेका छन् भने बीमा गर्ने थपिँदै गएका छन् । 

संस्थाले स्थानीय विपद् व्यवस्थापन कोषमा समेत आर्थिक सहयोग गरेको छ । सरकारको एकद्वार प्रणाली अन्तर्गत पाँचखाल नगरपालिकालाई ३० हजार र मण्डनदेउपुर नगरपालिकालाई २० हजार रुपैया सहयोग गरेको हो । संस्थाले समुदायमा कोरोना भाइरस फैलिन नदिन जनचेतनामूलक कार्यक्रम गर्नुका साथै, सार्वजनिक ठाउँमा पोष्टर ब्यानर राखेर र पर्चामार्फत जानकारी गराएको उनले बताए । 

संस्थाले सुरक्षित बातावरणमा कार्यालय सञ्चालन गरी सदस्यहरुलाई बचत ऋणको सेवा दिँदै आएको छ । संस्थामा तरलता अवस्था सहज रहेको र बचत आउने क्रम बढेकाले तरलता समेत बढ्दै गएको उनले बताए । कोरोनाबाट प्रभावित नभएका ऋणी सदस्यहरुबाट  ऋण असुली राम्रै भएको उनले जनाए । लकडाउन शुरु भएदेखि नै प्रत्येक सदस्यकोमा पुगेर संस्थाले आवश्यक सेवा दिएको उनले जनाए । क्षेत्रिय रुपमा सम्पर्क व्यक्ति तोकि सदस्यको आवश्यकता र चाहना अनुसार सहज सेवा प्रदान गरेको उनले बताए । विपद्को अवस्थामा स्वास्थ्य र खाद्यान्न आपूर्तिलाई सहज बनाउन सदस्यहरुलाई ३० हजार रुपैया सम्मको आपत्कालिन ऋणको व्यवस्था गरिएको उनले जनाए । विपद्का कारण समुदायस्तरमा प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त भएको र यसले संस्था र सदस्यबीच नजिकपन ल्याएको उनको भनाई छ । 

संस्थाले सदस्यहरुको आर्थिक स्तर सुधार्न लघुवित्त कार्यक्रम, सीपमूलक तथा आयमूलक तालिम दिइ व्यवसायमा सुधार गरी आर्थिक स्तरोन्नतिमा भूमिका खेल्दै आएको छ । ससानो बचत र ऋणलाई संस्थाले जोड दिएको छ भने वित्तीय साक्षरता कार्यक्रम सञ्चलान गरी सदस्यहरुमा वित्तीय ज्ञानको विकास गरेको छ । सबै सदस्यहरुको सरल र सहज पहुँच होस् भन्ने उद्देश्यले संस्थाले एसएमएस बैंकिङ शुरु गरेको छ भने आगामी महिनाबाट मोबाइल बैंकिङ शुरु गर्ने जनाएको छ । संस्थाले क्यूआर प्रविधिलाई समेत प्राथमिकतासाथ अगाडि बढाउने भएको छ । रेमिटान्स लगायत विभिन्न बील भुक्तानीको सुविधा समेत सदस्यलाई संस्थाले दिएको छ । त्यसैगरी सुत्केरी भेटघाट, स्वास्थ्योउपचार तथा मृत्यु राहत जस्ता सुविधा दिएर सहकारीले जन्मदेखि मृत्युसम्म आफ्नो भूमिकालाई समाजमा स्थापित गराएको छ । 

प्रोबेशन ब्राण्डको अन्तिम अडिट गराउने प्रक्रियामा रहेको संस्थाको जेष्ठ मसान्तसम्म शेयरपूँजी ५ करोड, बचत ३६ करोड, ऋण लगानी ४६ करोड र सदस्यहरु ११ हजार रहेका छन् । बनेपामा सेवा केन्द्र रहेको संस्थाको कुल कारोबार ५५ करोड रहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif