Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

नेपालको कम्युनिष्ट आन्दोलन


२०७७ असार १६ गते , मंगलवार प्रकाशित


लोकनारायण सुवेदी

नेपालको कम्युनिष्ट तथा बाम आन्दोलनमा धेरै पटक धेरै किसिमको उतार–चढाव आएका छन् । कहिले ती सैद्धान्तिक किसिमका देखिन्छन् भने कहिले अवसरवादी, महत्वाकांक्षी र अविश्वसनीय चरित्रका तर ती सबै फुट वा एकतालाई निरपेक्ष किसिमले सैद्धान्तिक आवरण दिएर सबै उस्तै हुन् भन्ने भ्रम दिन खोजिन्छ । त्यसले गर्दा साधारण कार्यकर्तादेखि आम मानिससम्म कम्युनिष्ट–बामपन्थीहरूप्रति सन्देह जन्मने गर्दछ । फुट्दा होस् या एकजुट हुँदा होस्, यसरी नेपालको बाम आन्दोलनको चरित्रमाथि नै ठूलो भ्रम र आशंकाको बादलले ढाक्दै आएको छ । कतिपय बाम घटकलाई यस्तै भ्रम र अन्योल नै फलिफाप भएको छ र बाम नभए पनि त्यसको कल्की भिरिराख्ने र कर्मकाण्ड गरिराख्ने गरेका छन् ।


नेपालको कम्युनिष्ट तथा बाम आन्दोलनलका पछिल्ला घटना विकासलाई हेर्ने हो भने नेकपा (एमाले) र एनेकपा (एमाओवादी) हरू एकै ठाउँमा आइपुगेका छन् । उनीहरू नेपालको २०६२/६३ को जन–आन्दोलनपछि नेपाल समाजवादमा प्रवेश गर्ने चरणमा पुगेको पुँजीवादी क्रान्ति पूरा भइसकेको, नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भइसकेको र अब शान्तिपूर्ण किसिमले समाजवादमा प्रवेश गर्ने भन्ने निष्कर्षमा पुगेर कार्यकर्तालाई ‘उत्पादनका कार्यक्रमहरूमा लगाउने र देशलाई समृद्धितिर लैजाने’ दिशामा अग्रसर भइसकेका छन् । एमाओवादीले गत वर्ष २० वर्षपछि सम्पन्न आफ्नो पार्टीको हेटौंडा महाधिवेशनदेखि नै यो बाटो लिएको हो भने एमालेले पहिलादेखि नै धरमररूपमा यो कुरा उठाउँदै आए पनि अहिले नवौं महाधिवेशनदेखि प्रष्ट र दृढताका साथ यो बाटोमा अग्रसर भएको छ । यसरी नेपालका आफूलाई मूलधारका कम्युनिष्ट पार्टी दाबी गर्ने दुवै ठूला पार्टीले कम्युनिष्ट आन्दोलनको मूल बाटो भने छाडिसकेका छन् ।


उनीहरू दुवैले ‘मार्क्सवाद–लेनिनवाद’ र एमाओवादीले त ‘माओवाद’ समेतको ‘ट्याग’ झुण्डयाउन भने छाडेका छैनन् । पुँजीवादी संसद्बाटै शान्तिपूर्णरूपमा समाजवादमा संक्रमण गर्ने यो बाटो लेनिनको समयमा कार्ल काउत्स्कीको बाटो थियो भने पछि आएर माओको समयमा त्यो बाटो ख्रुश्चेभको बाटो हो भन्ने कुरा प्रष्ट भइसकेको हो । त्यो गलत ख्रुश्चेभको बाटो हिंड्दा लेनिनले सन् १९१७ मा स्थापना गरेको र स्टालिनले समृद्ध र सम्पन्न तुल्याएको समाजवाद सन् १९९० मा ध्वस्त भयो । सोभियत संघमा पुँजीवादको पुनःस्थापनामात्र भएन त्यो राष्ट्र नै विभाजन र विखन्डको बाटोमा धकेलियो । ख्रुश्चेभकै झन्डा उचालिरहेका पूर्वी युरोपका कम्युनिष्ट सत्ताहरू पनि समाप्त भएर गए । शान्तिपूर्ण समाजवादको यो काउत्स्की र ख्रुश्चेभकोको बाटो कत्तिको दुष्परिणामदायी रहेछ भन्ने कुरा एकदमै प्रष्ट भइसक्दा पनि किन आफूलाई खाँट्टी कम्युनिष्ट दाबी गर्ने एमाओवादी र एमाले लिट्टी कसेर त्यही बाटोमा लागेका छन्

  हुन पनि यी दुई दल हिजो आफूलाई अरूभन्दा बढी चर्कोरूपमा माओवादी वा माओत्सेतुंग विचारधारा मान्ने भनेर निक्कै चर्काचर्का कुरा गर्ने गर्थे । लेनिनले पूर्वका अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक कृषि प्रधान देशहरूले लिनुपर्ने संक्रमणकालीन क्रान्तिको छुट्टै बाटाको दिशाबोध गराएको सन्दर्भ र त्यस आधारमा माओले चीनमा अझ बढी व्यवस्थित विश्लेषणका साथ नयाँ जनवादको विशद संश्लेषण र व्याख्या त्यतिबेला गरेका हुन्, जतिबेला चीनमा अक्टोबर समाजवादी क्रान्ति हुनुपूर्व नै १९११ मै डा. सनयात सेनको नेतृत्वमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको थियो । यसरी मञ्चु वंश नै चीनमा राजतन्त्रको अन्तिम दीपशिखा हुनपुगेको र त्यहाँ गणतन्त्र आएको प्रष्ट इतिहास छ । राजतन्त्रको उन्मूलन भइसकेको चीनमा त्यो पनि त्यसको झन्डै २६ वर्ष पछि सन् १९३५ मा माओ चीनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष भएपछि नयाँ जनवादी कार्यक्रम चीनियाँ क्रान्तिको कार्यक्रम किन हो र हुनुपर्दछ भन्ने विशद व्याख्या गरिएको थियो । त्यसै सफल कार्यक्रममलाई चीनियाँ कम्युनिष्ट पार्टीको सन् १९४५ को अप्रिल २३ देखि जुन ११ सम्म चलेको महत्वपूर्ण र ऐतिहासिक सातौं महाधिवेशनले चीनियाँ समाजमा मार्क्सवाद–लेनिनवादको प्रयोगलाई माओविचारधाराका रूपमा ग्रहण गरेको थियो । त्यतिबेला अध्यक्ष माओ, चाउ एनलाई, चू–तेह, लिओ साउची जस्ता चीनियाँ कम्युनिष्ट आन्दोलनको भट्टीमा खारिएका वरिष्ठ नेतालगायत सिंगो चीनियाँ कम्युनिष्ट पार्टीले त्यो कार्यक्रम र माओ विचारधारालाई एकमतले अनुमोदन गरेको थियो । त्यतिबेला सोभियत संघको नेतृत्व स्टालिनले गरिरहेका थिए भने भियतनाममा काका हो चि मिन्हले नेतृत्व गरिरहेका थिए ।


यस प्रकारको अन्तर्राष्ट्रिय परिप्रेक्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदा रूसको अक्टोबार समाजवादी क्रान्ति, चीनियाँ नयाँ जनवादी क्रान्ति जस्ता त्यसबेलाका विश्व प्रसिद्ध घटनाले प्रभाव नपार्नेे कुरै थिएन । स्वभावतः नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै नयाँ जनवादी प्रकृतिकै कार्यक्रम अघिसारेको थियो । त्यो क्रान्ति सामन्तवाद तथा साम्राज्यवाद र नेपालको सन्दर्भमा भारतीय एकाधिकार पँुजीवादी शोषणबाट देशलाई मुक्त गर्ने क्रान्ति हुने घोषणा गरेको थियो । पार्टीको प्रथम सम्मेलनले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रार्यक्रम हो भन्ने आधिकारिकरूपमा पारितै गरेको थियो तर त्यतिबेला पनि पार्टी नेतृत्वमा घुसेका दरवारपन्थी र संशोधनवादीहरूले त्यस कार्यक्रमलाई सही सन्दर्भमा व्याख्या गर्न र कार्यान्वयन गर्नबाट रोक्ने काम गरिरहे । त्यसक्रममा सामन्ती शोषणविरुद्ध उठेको किसान आन्दोलनलाई ‘अप्रिय’ भन्न र त्यसकैविरुद्ध खडा हुनथाले । राजाको २०१७ सालको प्रतिगामी काण्ड हुँदा किसान आन्दोलनविरोधी नयाँ जनवाद विरोधी नामधारी कम्युनिष्टहरूले नै खुशियालीमा बत्ती बालेका थिए र राजाका भाइभारदारले नेपाली कांग्रेसलाई सत्तोसराप गरेजस्तै गरी कांग्रेसको विरोधमा खडा भएका थिए । यी सबै गलत प्रवृत्ति र सैद्धान्तिक विचलनलाई चिर्दै पुष्पलालले २०२५ सालमा नेपाली क्रान्तिका लागि नयाँ जनवादी क्रान्तिको मूल बाटो अघि सार्दै राजाको पञ्चायती व्यवस्थाविरुद्ध सम्पूर्ण बाम तथा लोकतान्त्रिक शक्ति एक हुनपर्दछ भन्ने कार्यनीति तय गर्दा पुष्पलालको विरोधमा खडा हुने त्यही प्रवृत्ति र शक्ति थियो । यद्यपि, चाहे २०३६ सालको विद्यार्थी आन्दोलनको कुरा गरौं, चाहे २०४६ सालको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरोधी सफल संयुक्त जन–आन्दोलनको कुरा गरौं, चाहे २०६२/६३ सालको राजतन्त्रविरोधी संयुक्त जन–आन्दोलन कै कुरा गरौं, ती सबैमा पुष्पलालले लिएकै नीति र विचार स्थापित भएको देखिन्छ ।


यथार्थतः पुष्पलालको यो नीति विचार र सिद्धान्त नयाँ जनवादी कार्यक्रमबाटै निःसृत भएको हो भन्ने कुरामा दुईमत छैन । यो यथार्थप्रति आँखा चिम्लिएर या यसलाई उपेक्षा गरेर बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद जस्ता प्रकल्प अघि सार्दै नयाँ जनवादलाई विस्थापित गर्ने प्रयत्न हिजो पनि भएका थिए तर केही लागेको थिएन तर अहिले राजतन्त्रलाई सत्ताबाट विस्थापित गरेपछि यो सबै बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको ‘करामत’ हो भन्ने हिसाबले देशबाट सामन्ती, साम्राज्यवादी र भारतीय एकाधिकार पुँजीवादी शोषण, उत्पीडनको अन्त्य नभई पुँजीवादी जनवादी क्रान्ति पूरा भयो भन्ने जुन निष्कर्ष निकालेर नयाँ जनवादी क्रान्तिको कार्यभार समाप्त भएको घोषणा गरिंदैछ, त्यसले बाम–एकताको खोजी होइन ‘बाम ए...कता ?’ को गलत बाटोमा बामशक्तिलाई धकेल्न थालिएको छ । मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा होइन, काउत्स्की र ख्रुश्चोभको ‘संसद्बाटै समाजवादमा पुग्ने’ सामाजिक प्रजातन्त्रवादीहरूको बाटोमा कम्युनिष्ट आन्दोलनलाई अधपत्तन गराउन खोजेको देखिंदै आएको छ । यसलाई चिर्न नसकेसम्म सार्थक बाम–एकता पनि हुनसक्ने स्थिति पनि बन्दैन र वास्तवमा नेपाली जनताको हित हुने सार्थक संविधान पनि बन्दैन । परिणामतः राष्ट्रिय स्वाधीनताको रक्षा र आत्मनिर्भर अर्थतन्त्रको विकास पनि सम्भव हुनसक्दैन, जुन कुरा नयाँ जनवादको आत्मा हो र समाजवादमा जाने मुख्य आधार पनि हो ।
(
२०७१ असार १६ को गोरखापत्रबाट साभार)    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif