Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

रुकुमपश्चिम नरसंहार र अंगिरा पासीको बलात्कारपछि हत्या काण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग


२०७७ असार १२ गते , शुक्रवार प्रकाशित

      काठमाडौं । राष्ट्रिय कलाकार समूहले पश्चिम रुकुम सोती नरसंहार र अंगिरा पासीको सहयोग संकलन अभियान सुरु गरेको छ । अभियानको मूल नारा छ,“अपराधको अगाडि कानून नझुकोस, असत्यको छायाँमा सत्य नलुकोस।” बिहीबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री जितु गौतम, बरिष्ठ कलाकार नीर शाह, बरिष्ठ पत्रकार ऋषि धमला, चलचित्र पत्रकार प्रकाश सुवेदी, यशुकुमार, अमृत खाँतीलगायतले रुकुमपश्चिम घट्नामा दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने धारणा राखेका छन् ।     कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री तथा दलित अगुवा जितु गौतमले नवराज बिकलगायत ६ जनाको पाश्विक हत्या भएको बताउँदै रुकुमपश्चिम घट्नाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने बताए । रुकुमपश्चिममा नवराजलगायत ६ जना युवाहरुको निर्मम र पाश्विक हत्या हुँदा आज पूरै देश र जनता दुःखी रहेको र उनीहरुको न्यायको लागि आन्दोलित रहेको गौतमको भनाई छ । उनले नेपाली माटोमा नवराजलगायत ६ जना युवाहरु जिउँदै रहने पनि बताए ।      उनले भने,‘आज देश आन्दोलित छ । सडक र सदन दुवै आन्दोलित छ । सरकारपनि गम्भिर र होशियार हुनुपर्छ । हामीलाई विश्वास छ सरकारले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्छ र पीडितको पक्षमा न्याय दिलाउन भूमिका खेल्नेछ । सम्मानित अदालतले हत्याराहरुलाई कसरी सजाय दिन्छ र पीडितलाई कसरी न्याय दिन्छ भनेर त्रिनेत्र भएर नेपाली जनताले हेरिरहेका छन् ।’     नवराजकी प्रेमिका अर्थात युवतीकी आमा प्रकाशी मल्ललाई एक लाख धरौटीमा छोडिएकोमा भने उनले अदालतको आदेश बेठीक भएको टिप्पणी गरे । प्रकाशी मल्ल रुकुमपश्चिम नरसंहारको सूत्राधार भएकोले उनलाई तारिखमा छोड्नु गलत भएको उनको भनाई छ । उनले भने,‘यो हत्याकाण्डको मुख्य सूत्रधार युवतीकी आमा प्रकाशी मल्ल हुन् । म घोर भत्र्सना गर्छु । म सम्मानित अदालतलाई आग्रह गर्छु कि अदालतले हत्याको सूत्राधारलाई किन रिहा गर्यो ? यो दशेमा न्याय ठिक ढंगले सम्पादन हुन्छ त ? भनेर अहिले प्रश्न उठेको छ ।’     त्यस्तै, कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाहले रुकुमपश्चिम र रुपन्देहीकी अंगिरा पासीको हत्याकाण्डलाई नेपाली समाजमा कहालीलाग्दो र दुःखद् कथाको उदय भएको रुपमा चित्रण गरे । उनले भने,‘एउटा रुपन्देही र अर्को रुकुमपश्चिममा । नवराज बिकमाथि निर्मम प्रहार हुँदा भेरीको नदीमा जसरी नवराले भोगे, त्यसैगरि मलाई प्रत्येक रात र दिन मन दुःखेको । घोचेको छ ।’     शाहले विश्वभरि नै सांस्कृतिक फाँट भनेको लैङ्गिग, वर्ग, जात र धर्म सबैमा निरपेक्ष रहेको सुनाए । उनले सांस्कृतिक क्षेत्रमा सबै प्रेमको पक्षमा हुने भन्दै घृणालाई कसैले पनि आत्मसात नगरेको र आफूहरुलाई सधैं प्रेमको पक्षमा उभ्याएको पनि सुनाए ।      उनले नवराजले आफ्नो प्रेम माग्दा उनको हत्या गरिएको बताए । अदालतले युवतीकी आमालाई धरौटीमा रिहा गरेकोमा उनले पनि आपत्ति जनाए । उनले भने,‘प्रेम होईन घृणा गर्नेलाई दोषी नै होईन भनेर बचाउन खोजियो । अहिले अनेक किसिमका शंका उब्जन थाले । जघन्य अपराध गर्नेहरुलाई उपयुक्त सजाय दिनुपर्छ । दण्ड त प्राप्त हुनैपर्यो । होनहार ६ जना युवालाई मारेर भेरीको किनारामा बगाए । उनीहरु सबै सजाय र दण्डको भागीदार बन्नुपर्छ ।’     यो हत्यामा संलग्नहरुलाई कारबाही भएन भने कारबाही गर्ने निकायमा बस्नेहरु नै आफैं कारबाहीको भागिदार बन्ने भन्दै होशियारपूर्वक रहन शाहले चेतावनी दिए । उनले दोषीहरुलाई कारबाही नगर्नेमाथि नै कारबाही गर्ने दिनको प्रारम्भ गर्न नपरोस भन्दै कडा चेतावनी दिए । शाहले मानव सभ्यताको शब्दकोशबाट नै दलित भन्ने शब्द हटाउन सकियोस र यसको लागि जागरुक अभियान चलोस भन्दै कलाकार यशकुमारले सुरु गरेको अभियानमा जोडिन विश्वभरि रहेका कलाकारहरुलाई आग्रह गरे ।    कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पनि दुवै घट्ना जघन्य अपराध भएको भन्दै दोषीहरुलाई कानूनी कारबाही र पीडितलाई न्याय दिन आग्रह गरे । उक्त अभियानमा आफू र आफू आवद्ध रहेका सबै संस्थाहरुको साथ र सहयोग रहेको पनि धमलाले प्रतिबद्धता जनाए । उनले नेपालमा जातीय छुवाछुत र भेदभाव अन्त्य भैसक्दापनि यस्तो जघन्य अपराधका घट्ना घट्नु दुःखद् भएको भन्दै कानून बनेरमात्रै नहुने भन्दै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।      त्यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदीले संविधानमै दलित भन्ने शब्द राखिएको सुनाउँदै त्यो शब्द नहटाएसम्म यो विभेद अन्त्य हुन नसक्ने टिप्पणी गरे । उनले आफूले कहिलेपनि जातभात नमानेको जिकिर गरे । 

  नेपाली चलचित्र क्षेत्रमा त झनै कुनैपनि छुवाछुत वा विभेद नभएको उनको दाबी छ । उनले रुकुमपश्चिम घट्नाको न्याय सम्पादनमा कुनै दबाब नहोस र राजनीतिक अभिप्रेरित नहोस भनेर खबरदारी गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले  यो अभियानमा सबैको साथ रहिरहने जनाए ।      कार्यक्रमका सभापतित्व गरेका अभियानका संयोजक यशकुमारले प्रेस विज्ञप्ती वाचन गरेका थिए । उनले आफूहरुको अभियानमा सबै कलाकारहरुको साथ र समर्थन रहेको सुनाए । उनले यो कार्यक्रमको किन आवश्यकत्ता पर्यो ? भन्नेबारेपनि यसको महत्व प्रकाश पारेका थिए ।  उनले आफूहरु कलाकारभन्दा पहिले यही समाजकै मान्छे भएको सुनाए । न्यायको लागि आवाज उठाउनु आफूहरुको दात्यिव भएको उनको भनाई छ । उनले अहिलेको अवस्थामा आफूहरुसँग पीडितहरुलाई न्याय तथा पीडकहरुलाई हदैसम्मको सजाय दिलाउनु पर्ने अवस्था रहेको सुनाए ।      यशकुमारको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पीडितहरु अत्यन्तै आर्थिक संकटमा गुज्रिरहनु भएको छ । जाजरकोट भेरी नगरपालिकाबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा जिल्ला अदालत जान ४० किलोमिटर दुरी रहेकोले अत्यन्त महंगो सावित हुन पुगेको छ । यीनै पृष्ठभुमिमा हामी राष्ट्रिय कलाकार समुहले पिडीतहरुलाई साचो न्याय र आवश्यक पुर्नस्थापना, के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर ढंगले लिएका छौ । तत्काल राहत र दीर्घकालीन रुपमा उनीहरुलाई पुर्नस्थापना गर्नको लागि सहयोग संकलन गर्ने अभियानलाई अगाडी बढाउने निर्णय गरेका छौ । सहयोग संकलन राष्ट्रिय कलाकार समुहबाट रु १,११,००० अक्षरेपी एकलाख एघार हजार रुपैया सहयोग कोषमा जम्मा गर्ने हामीलाई माया गर्नु हुने  देश भित्र र विदेशमा रहनु हुने आदरणीय दाजु भाई दिदी बहिनी तथा मान्यजनहरुमा स्वइच्छा पुर्वक सक्दो आर्थिक सहयोग पुर्याइ दिनु हुन यसै पत्रकार सम्मेलनद्धारा हार्दिक अनुरोध गर्दछौ ।’     कलाकार अमृत खातीले रुकुमपश्चिम नरसंहार, रुपन्देहीकी अंगिरा पासीको बलात्कारपछि हत्या, र धनुषाको २३ वर्षीया युवा सदाको हत्या यी तीनवटै घट्ना जघन्य अपराध भएको बताए । उने भने, यी तीनवटै घट्ना अपराधभित्रको पनि जघन्य अपराध हो । तर, २१औं शताब्दीमा पनि यस्तो विभेद हुनु दुःखद् हो । उनले सभ्य समाजलाई नै चूनौति दिने घट्नाका दोषीहरुलाई कारबाही र पीडितलाई न्याय नदिएसम्म आफूहरुको आन्दोलन, संघर्ष र अभियान जारी रहने बताए । कार्यक्रममा राजेश गहतराजले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्नुपर्ने बताएका थिए । पत्रकार सम्मेलनको सञ्चालन कृष्ण गजमेरले गरेका थिए ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif