Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

विपदका बेला जिल्ला सहकारी संघ काठमाण्डौ थप सक्रिय


२०७७ असार ९ गते , मंगलवार प्रकाशित

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससँगै सरकारले चैत्र ९ बाट शुरु गरेको लकडाउन पछि जिल्ला सहकारी संघ काठमाण्डौले आफ्ना भूमिकालाई बढाएको छ । 

लकडाउन शुरु भएसँगै सरकारले अत्यावश्यक बाहेकका सेवा र कार्य सञ्चालनमा रोक लगाएपछि संघले आफ्ना मातहतका सदस्य संस्थाहरुलाई विभिन्न माध्यमबाट सूचना तथा परामर्श प्रवाह गरी सतर्कतापूर्वक सदस्यहरुलाई सेवा प्रदान गर्न आग्रह गर्‍यो । 

संघले विषम परिस्थितिमा आफ्ना सदस्य संस्थाहरुको मनोबल बढाई कोरोना भाइरसले मानवीय तथा आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा पु¥याउन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सबै संस्थाहरुलाई सक्रिय भूमिका अपनाउन अपील गर्‍यो । सरकारले अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै संघले चैत्र १० गते नै एक विज्ञप्ति जारी गरी सरकारको निर्देशन पूर्ण पालना गर्न सबै सहकारी संस्थालाई आव्हान गर्‍यो। साथै त्यस अवधिमा सदस्यहरुलाई पर्न सक्ने न्यूनतम आर्थिक आवश्यकता पूरा गर्नका लागि संस्थाहरुले आंशिक रुपमा कार्यालय खोली वा सम्पर्क व्यक्ति तोकेर सेवा दिन आव्हान गरिएको संघ सचिव एवं प्रवक्ता बालकुमार बास्तोलाले बताए । सरकारले चैत्र ९ बाट अत्यावश्यक सेवा बाहेक सम्पूर्ण क्षेत्र बन्द गरेकाले अभियानको तर्फबाट पहिलो चरणमा त्यसको पूर्ण पालनका लागि प्रतिवद्धता जनाउँदै सबै संघसंस्थालाई पनि आव्हान गरिएको उनले बताए । विषम परिस्थितिकाबीच संघ र संस्थाहरुले उच्च सतर्कता अपनाउँदै सदस्यहरुलाई सेवा प्रवाह गरी आफ्नो उत्तरदायित्व बहन गर्न र संस्थाहरुले सम्भव भए पूर्ण वा संस्थाको क्षमता अनुसार कारोबारको व्यवस्थापन गर्न गराउन त्यसबेला अपील गरिएको प्रवक्ता बाँस्तोला बताउँछन् । 

शुरुदेखि नै सबै संस्थाहरुलाई अनुकूलता मिलाई कार्यालय सञ्चालन गर्न संघले आव्हान गरेको र तरलता क्षमताका आधारमा बचत फिर्ता गर्न समेत सुझाव दिएको बाँस्तोलाले जानकारी दिए । समुदायमा कोरोना भाइरस फैलिन नदिन घरदैलो र समुह कार्य स्थगन गर्न संघले भनेको थियो भने भाइरसबाट जोगिन आवश्यक पर्ने मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले बारम्बार हात धुने तथा धुन लगाउने कुरालाई पनि अभियानकै रुपमा अगाडि बढाइएको उनको भनाई छ । 

बाँस्तोला भन्छन्, “जिल्ला संघ जिल्लाभर रहेका सबै प्रकृतिका संस्थाहरुको छाता संगठन हो । हामीले सबै सदस्य संस्थाको अभिभावकत्व ग्रहण गरेका छौं । उनीहरुलाई विपद्का बेलामा संस्था सञ्चालनका विधि देखि अपनाउनुपर्ने सुरक्षा सतर्कता समेतका बारेमा निरन्तर अवगत गराउँदै आएका छौं ।” 

यस्तो अवस्थामा संघले देखाएको सक्रियताप्रति धेरै संस्थाहरुले आभार व्यक्त गरेका छन् । बाँस्तोलाले भने, “पहिलो चरणमा संस्थाहरुलाई सावधानी अपनाएर सदस्यहरुलाई सक्दो सेवा प्रदान गर्न भन्यौं । अहिले महामारीका कारण बजारबाट बचत संकलन तथा ऋणको सावाँब्याज असुलीमा कमी भएकाले यसपछि संस्थाहरुमा आउन सक्ने समस्यातर्फ हाम्रो ध्यान गएको छ ।” 

“शुरुमा दुई साताका लागि गरिएको लकडाउन लम्बिँदै गयो । सोही अनुसार हामीले संस्थाहरुलाई आवश्यक सरसल्लाह र सुझाव प्रदान गर्‍यौं । लकडाउनको मध्यतिर उपत्यकाभित्रका सहकारी संस्थाहरुलाई अभियानको तर्फबाट संयुक्त अपील जारी गर्‍यौं । त्यसका लागि जिल्ला संघ काठमाण्डौले अगुवाई गरेको थियो, ” बाँस्तोलाले थपे । 

अपीलमा सातामा १ एकपटकमा २० हजार रुपैया बचत फिर्ता गर्न, अत्यावश्यक दैनिक आवश्यकता पूर्तिका लागि बाहेक कुनै कर्जा प्रवाह नगर्न, सहकारीको बचत सहकारीका निकायमा नै जम्मा गर्न, दैनिक न्यूनतम ३ घण्टा वा सम्पर्क व्यक्तिहरुमार्फत सेवा प्रदान गर्न र संस्थाहरुले संघसँग समन्वय गरेर काम गर्न आह्वान गरिएको थियो । 

असहज परिस्थितिका कारण अन्यौलमा रहेका सदस्य संस्थाहरुलाई यसबाट मार्गदर्शन प्राप्त भएको उनको दावी छ । त्यससँगै संस्थाहरुले आंशिक वा सम्पर्क व्यक्ति तोकेर सदस्यहरुलाई सेवा दिन थाले । त्यसले गर्दा सहकारीको साख समाजमा कायम गरिराख्न मदत मिलेको बाँस्तोलाको धारणा छ । के गर्ने भन्ने अन्यौलमा रहेका संस्थाहरुलाई सीमित रुपमा भएपनि सक्रिय हुन यसबाट सहज भएको फिडब्याक सदस्य संस्थाबाट पाएको उनले बताए । 

सरकारले लकडाउन निरन्तर थप्दै जाँदा तरलता व्यवस्थापन गर्न कतिपय संस्थाहरुलाई समस्या आउन सक्ने आँकलन बजारमा गरिएपछि त्यसको व्यवस्थापनमा पनि जिल्ला संघले चासो देखाएको छ ।

“विगतको तुलनामा संघ अझ सक्रिय भएको छ । संघका अध्यक्ष ज्ञान बहादुर तामाङ राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहनुभएकाले सहकारी अभियानका सबै निकायमा नेटवर्क राम्रो बनेको छ । यसले पनि संघलाई अझ सुदृढ र सबल बनाएर लैजान मदत मिलेको छ ।” बाँस्तोलाले थपे, “संघमा आवद्ध सदस्य संस्थाको अवस्थाका बारेमा  जानकारी संकलन गर्ने देखि भविष्यमा आउन सक्ने जोखिम व्यवस्थापनमा समेत संघले सघाउनेछ ।”

आफ्ना सदस्य संस्थाहरुलाई पर्न सक्ने कठिनाई एवं तरलता व्यवस्थापनमा सघाउ पुर्‍याउन संघको केहि समय अघि सम्पन्न सञ्चालक समितिको भच्युर्अल बैठकले ५ सदस्यीय विपद् व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । उक्त उपसिमितिको संयोजकमा संघका महासचिव मनोज भण्डारी रहेका छन् भने कोषाध्यक्ष सीता भट्टराई र सञ्चालकहरु सुदर्शन थापा, रमेश विडारी र हेमबहादुर कार्की सदस्य रहेका छन् । बन्दाबन्दीको अवधिमा पनि सहकारीका समस्याका बारेमा सदस्य संस्थासँग जानकारी लिँदै आएको र अप्ठेरोमा परेका सहकारीहरुका लागि जोखिम व्यवस्थापन कोष खडा गरी तरलता व्यवस्थापनमा सघाउन संघ अघि बढेको प्रवक्ता बाँस्तोलाले बताए ।

सहकारी क्षेत्रमा विगतको जस्तो तरलता अभावको समस्या हुन नदिन संघले जोखिम व्यवस्थापन कोषको व्यवस्था गर्न लागेको हो । उनले भने “सहकारीहरु बाटै कोष खडा गर्ने र सोही कोषबाट तरलता अभाव भएका संस्थाहरुलाई सापटीको रुपमा उपलब्ध गराउने हो ।” यसका लागि जिल्लामा भएका सहकारी संस्थाहरुलाई कारोबारका आधारमा बर्गीकरण गर्ने र तिनै संस्थाबाट विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्न लगाउने उनले बताए ।

संघले खडा गर्ने यो कोषबाट सहकारीहरुको तरलता व्यवस्थापनमा केहि हदसम्म सहयोग पुग्ने विश्वास लिइएको छ । यसका लागि संघले कार्यविधि बनाउन शुरु गरेको र साउन महिनाबाट कार्यान्वयनमा लगिने प्रवक्ता बाँस्तोलाले जानकारी दिए । उक्त कोष कार्यान्वयनमा आएपछि संघमा आवद्ध सदस्य संस्थाहरुलाई तरलताको समस्या परेमा त्यसको व्यवस्थापन गर्न सहज हुने उनले बताए ।



सहकारी अभियानमा जोखिम बढी भएको जिल्लाको रुपमा रहेको काठमाण्डौलाई यो कोष स्थापना पछि जोखिम न्यूनिकरणमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ । प्रवक्ता बाँस्तोलाले थपे “संघको नयाँ टिम निष्क्रिय भएर बस्दैन, रचनात्मक र सदस्य संस्थाको प्रवद्र्धनमा क्रियाशील हुन्छ ।” अहिले पनि संघले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति लबिइङ र एड्भोकेसीलाई अगाडि बढाइरहेको छ । सहकारी क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्नका निम्ति बागमती प्रदेश, काठमाण्डौ महानगरपालिका र अन्य नगरपालिकाहरुमा संघले आफ्ना माग प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा सहकारीलाई समावेश गराई बजेट विनियोजन गराउने तर्फ पनि संघ लागि परेको छ । प्रदेश सरकार स्थानीय तहका मेयर, उपमेयर र सहकारी हेर्ने निकायसँग नीतिगत रुपमा नै सहकारीलाई समेट्न संघले सुझाव पेश गर्नुका साथै लबिईङलाई बढाएको छ । त्यसका साथै सदस्य संस्थाको तरलता र वित्तीय व्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकसँग समेत मिलेर काम गर्ने रणनीति संघले अघि सारेको छ ।

सरकारले असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएसँगै उपत्यका भित्रका संघहरुले अभियानका तर्फबाट पुनः संयुक्त विज्ञप्ति जारी गरेका छन् । यसपटक विगतको भन्दा थप सुझाव एवं मार्गनिर्देशनका साथ विज्ञप्ति जारी भएको बाँस्तोला बताउँछन् ।

सरकारले दैनिक क्रियाकलाप सञ्चालनमा केहि खुकुलो बनाएको भएता पनि कोरोना भाइरसको संक्रमण दरमा अझै पनि कमी नआएकाले संस्थाहरुले संयमित र सावधानी अपनाएर सेवा दिन संघले सुझाएको छ । त्यसैगरी संस्थामा तरलता अभाव हुन नदिन सदस्यहरुलाई आफूसँग भएको पैसालाई बचतको रुपमा संस्थामा जम्मा गर्न आव्हान गर्न, आपसी समझदारी निश्चित तालिका तोकी ठूलो रकम भुक्तानी गर्न र सहकारीको बचत सहकारीकै निकायमा जम्मा गराई संकटका बेला सहज रुपमा रकम प्राप्त गर्न संघले आव्हान गरेको छ । त्यसैगरी सामाजिक दुरी कायम गरी न्यूनतम कर्मचारीका माध्यमबाट सम्भव भए १० देखि ५ बजेसम्मै वा तालिका बनाई सेवा प्रदान गर्न सुझाइएको छ । सदस्यहरुलाई नियमित रुपमा मनोवैज्ञानिक परामर्श दिन, संस्थाहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न र बचतऋण कारोबार गर्दा अधिकतम लचकता अपनाई कारोबार गर्न भनिएको छ ।

संस्थाहरुलाई पर्ने तरलता लगायत अन्य समस्याका बारेमा जिल्ला संघमा जानकारी गराउन र संघमा सदस्यता नलिएका संस्थाहरुलाई पनि सदस्यता लिइ संघले दिने सेवाहरु प्राप्त गर्न अपील गरिएको छ । संस्थाहरुले आगामी आर्थिक वर्षको बजेट बनाउँदा विद्यमान विषम परिस्थितिलाई ध्यानमा राखि बनाउन समेत संघले सुझाव दिएको बाँस्तोलाले बताए । विषम परिस्थितिमा वित्तीय सेवा, कृषि उपज संकलन तथा विक्री वितरण, उपभोग्य सामान, स्वास्थ्य सेवा तथा राहत लगायतका सामाजिक क्रियाकलापमा सहकारीहरुले उल्लेख्य भूमिका खेलेको संघको ठम्याई छ ।

वित्तीय कारोबार, सहकारीको संख्या र चलायमान पूँजीका हिसाबले मुलुकै अग्रणी जिल्लाको रुपमा रहेको काठमाण्डौको सहकारी अभियानलाई थप सुदृढ, सबल र विश्वसनीय बनाउन संघ सदैव क्रियाशील रहने बास्तोलाले प्रतिवद्धता जनाए ।

कोरोना महामारीका बेला संघले देखाएको सक्रियता र भविष्यमा आउन सक्ने समस्या समाधानका निम्ति अहिले देखि नै चालेको कदम कदमलाई सदस्य संस्थाहरुले समेत सकारात्मक रुपमा लिएका छन् । संघ जिल्ला भरका सबै संस्थाहरुको अभिभावक भएकाले सदस्य संस्थालाई समस्या पर्दा आवश्यक भूमिका खेल्नेमा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको उनीहरुले बताए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif