Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

अस्पताललाई क्वारेन्टाइन बनाउँदा झन समस्या


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

   

सागर आत्रेय

    समान्यतया कुनैपनि रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ । कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ ले क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ । त्यहाँ कोरोना संक्रमित भए÷नभएको जाँच पनि गरिन्छ । सरकारले बनाएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डले ‘क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि खानपिनसहितको व्यवस्थापन एवं क्वारेन्टाइनभित्रकोे बन्दोबस्ती नेपाली सेना वा नेपाली सेनाले तोकेको सुरक्षा निकायको जिम्मामा रहनेछ’ भनिएको छ । तर, नेपालमा हाल व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन स्थलमा यी सबै कुराहरु देख्न पाइँदैन् । 

      क्वारेन्टाइन भनेको त्यहाँ रहेका शंकास्पद व्यक्तिको हरेक दिन स्वास्थ्य परीक्षण गर्ने, कुनै समस्या या लक्षण देखिए अस्पतालमा रिफर गर्ने व्यवस्था हुनुपर्छ । तर, यहाँ त क्वारेन्टाइन भनेको जबरजस्ती एउटै कोठामा कोचकाच गरेर राख्ने गरिएको छ । अपराधीलाई जस्तोगरी थुनेर राखिएको छ । क्वारेन्टाइन भद्रगोल र मापदण्डअनुसार नहुँदा कोरोनासहित अन्य संक्रमणको जोखिम अत्यधिक हुने देखिएको छ । सरकारले निश्चित मापदण्ड निर्धारण त गरेको छ, तर त्यो मापदण्डअनुसार क्वारेन्टाइन सञ्चालन भएका छैनन् । मापदण्डको दफा ७ को उपदाफा १ को १ नम्वरमा स्वस्थ खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने र २ नम्वरमा बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीहरुलाई आवश्यकताअनुसारको खानाको व्यवस्था गर्ने उल्लेख गरेको गरिएको छ । तर, अहिले नेपालमा स्थानीय तह र केन्द्रीयस्तरबाट सञ्चालित क्वारेन्टाइन सरकारी मापदण्डअनुसार नभएको स्वयं क्वारेन्टाइनमा बस्नेहरुको गुनासो रहँदै आएको पाइएको छ । मापदण्डअनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि क्वारेन्टाइन भएको ठाउँमै खानाको व्यवस्था हुनुपर्ने उल्लेख छ । तर अधिकांश स्थानीय तहहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा घरबाटै खाना ल्याउने गरिएको छ । यसले जोखिमसमेत बढाउने काम गरिरहेको पाइन्छ । क्वारेन्टाइन कहाँ र कसरी बनाउने भन्ने स्पष्ट खाका नभएकै कारण त्यहाँ बस्नेहरुले गुनासो गर्नुपरेको हो । अधिकाँश क्वारेन्टाइनमा रहेकाहरुले शुद्ध पिउने पानीसमेत नभएको गुनासो गर्दै आएका छन् । पानीसमेत सहजरुपमा उपलब्ध हुन नसकेका त्यस्ता क्वारेन्टाइनमा अन्य खाद्य वस्तुको अवस्था के होला ? सहजै अनुमान गर्न जो कोहीलाई गाह्रो नहोला । अहिले सरकारले क्वारेन्टाइनका लागि विद्यालय, सामुदायिक भवन, अस्पताललगायतको उपयोग गर्दै आएको छ । मापदण्डअनुसार दिनमा दुई पटक खाना र २ पटक नास्ता खुवाउने व्यवस्था भएपनि क्वारेन्टाइनमा बस्दा चाउचाउ र विस्कुट खानुपरेको गुनासाहरु सुन्दै आएका छौँ । कतिपय स्थानका क्वारेन्टाइनमा खाना त पर नास्तासमेत नपाएको पनि सुनिनमा आएको छ । यस्ता नाम मात्रका क्वारेन्टाइनमा बस्दा जोखिम बढीरहेको समेत देखिँदै आएको छ ।


     क्वारेन्टाइमा खसी बोका हुले जसरी मानिसहरुलाई राख्दा संक्रमित नभएकाहरु पनि संक्रमित बन्दै आइरहेका छन् । कोरोना भाइरसबाट जोगिनका लागि हरेक व्यक्तिले सरसफाइसँगै खानपिनमा ध्यान दिनुपर्ने सूचना सामाजिक सञ्जालदेखि रेडियोबाट सुन्ने गरे पनि त्यस्ता क्वारेन्टाइमा बस्नेहरुले पिउनका लागि पानीसमेत नपाएको अवस्थामा सरसफाइ र नुहाइधुवाइका लागि कसरी पानी पाउन सक्छन्– गम्भीर प्रश्न उब्जिएको छ । त्यस्तै कतिपय स्थानहरुमा शौचालयमा दिशा–पिसाव गर्न जाँदा धारामा पानी थप्नका लागि आवश्यक पर्ने बाल्टीसमेत नहुँदा आफूहरु समस्या रहेको क्वारेन्टाइमा बस्नेहरु बताउँछन् । क्वारेन्टाइनमा खानलाई राम्रो पानी छैन्, नजिककाले घरबाटै पानी ल्याउने गरेका छन् । कतिपय स्थानका क्वारेन्टाइनमा मास्क र सेनिटाइजर नै नपाएको अवस्था छ । अधिकाँश क्वारेन्टाइनको अवस्था यस्तै छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म सुरक्षित तथा व्यवस्थित तरिकाले राख्ने भनिए पनि यस्ता संचरनाबाट के आशा गर्ने र क्वारेन्टाइनमा बस्ने ? सरकारले जारी गरेको मापदण्डअनुसार निर्माण गरिएका क्वारेन्टाइनहरु सञ्चालित नदेखिएको यस्ता गुनासाहरुले गिजाइरहेको छ । क्वारेन्टाइनमा बसेका मानिसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने काम स्थानीय तहको हो । स्थानीय तहमा बसेका मानिसहरुलाई कसरी राख्ने, खाना, नास्ता खुवाउने वा घरबाटै व्यवस्था मिलाउने भन्ने काम सम्बन्धित स्थानीय तहको हो ।

    सरकारले क्वारेन्टाइनलाई सुरक्षित बनाउन संक्रमितहरुका लागि विशेष ध्यान दिन जरुरी छ । पछिल्लोसमय देशका विभिन्न ठाउँका क्वारेन्टाइनमै संक्रमण बढ्न थालेपछि विशेषज्ञहरूलेसमेत मापदण्ड नपुगेको क्वारेन्टाइनमा बस्नुभन्दा आफ्नो घरमै विशेष सावधानी अपनाएर बस्नु सुरक्षित हुने बताइसकेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनेका क्वारेन्टाइन मात्र सुरक्षित हुने भन्दै विशेषज्ञहरुको त्यस्तो सुझाव आएको हो । शंकास्पद व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने उद्देश्यले आवश्यक सुविधासहित बनाइएको स्थललाई क्वारेन्टाइन मानिने भएपनि कुनै मापदण्ड नपुगेका कारण त्यहाँबाट संक्रमण फैलिने अवस्था देखिएको छ । अर्कोतर्फ अस्पतालमा क्वारेन्टाइन बनाउने भन्ने कुरा असान्दर्भिक देखिएको छ । अस्पतालमा त संक्रमित देखिएकाहरुको उपचार थलो हो । सिकिस्त देखिएका संक्रमितहरुलाई अस्पतालको आइसोलेशनमा राखेर उपचारको गर्नुको साटो अस्पताललाई नै क्वारेन्टाइन बनाइनु कत्तिको सान्दर्भिक हुन्छ ? कतिसम्म थेग्छ सरकारी खर्चले यसरी अस्पताललाई क्वारेन्टाइन बनाइँदा । खोइ यता ध्यान दिइएको ? कतिपय अस्पतालमा ल्याइएका र संक्रमितको आशंका गरिएकाहरुले सुर्ती–खैनी, गुट्खा र मदिराकोसमेत माग गरिएको पाइएको छ । अब सोच्नुस् व्यवस्थितरुपमा खाना, खाजा र पानीको प्रवन्ध हुन नसकिरहेको अवस्थामा त्यस्ता मागहरु सम्बोधन गर्न सक्छ सरकारले ? क्वारेन्टाइनमा राख्नुको अर्थ कसैलाई संक्रमण रहेछ भने अरूलाई नसरोस् भन्ने नै हो । तर, हामी कहाँ बनाइएका क्वारेन्टाइनस्थल काहीँकतै पाल टागेर राखेको छ, त कतै भुइँमै राखिएको छ ।


कतै एउटै कोठामा लस्करै मान्छे सुताइएको छ । यो त अत्यन्तै अव्यवस्थित र अमानवीय भएन् र ? त्यहाँ बसेकामध्ये एक जनालाई संक्रमण भएको रहेछ भने अरूलाई पनि सजिलै सरिहाल्छ नि । अहिलेको क्वारेन्टाइन स्थल संक्रमण फैलाउने अखडा भएका छन् । पछिल्लो केही ठाउँको केसले त्यस्तै संकेत गरिरहेको छ । क्वारेन्टाइनस्थलबाटै संक्रमण फैलियो भने क्वारेन्टाइनमा राखेको केही अर्थ हुँदैन् । तसर्थ संक्रमितको आशंका गरिएकाहरुलाई बरु घरमै पुगेर चेकजाँच गरी पहिचान भएमात्रै सिधा अस्पताल पठाउने व्यवस्था गर्दा के हुन्छ ? यसले सरकारी खाना, खाजालगायतको खर्चमा मितव्ययीता ल्याउने छ । बरु कम आयस्रोत भएका वा खानै मुश्किल हुनेहरुका लागि केही रकम उपलब्ध गराउँदा ह्न्छ । हरेक मानिसकै घरलाई क्वारेन्टाइन बनाएर आवश्यक स्वास्थ्यकर्मीद्वारा चेकजाँच गरेर मात्रै थप उपचारका लागि अस्पताल पठाउने व्यवस्था गर्न सकेमा यसबाट संक्रमितहरुको संख्यामा कमी आउने निश्चित देखिन्छ । यसले गर्दा कतै क्वारेन्टाइनमा बसेकाहरु भाग्ने, भागेर आत्महत्या गर्ने र अस्पताल पुगेर रातभरी बाहिरै बस्नुपर्ने समाचार सुन्न नपर्ने अवस्था सिर्जना हुन्थ्यो कि ? होइन भने यो गाइजात्रा व्यवस्थापनले कोरोना नियन्त्रणभन्दा काबु वाहिर निश्चित देखिन्छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif