Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

नेपाली सेनाका महासेनानी भ्रष्टाचारको आरोपमा बर्खास्त


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित

काठमाडौं । नेपाली सेनाका एक महासेनानी (कर्नेल) भूपालमान अधिकारी आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहरिएका छन् ।
    
कर्णेल अधिकारीलाई नेपाली सेनाको समरी जनरल अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो ।         यस सन्दर्भमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, नेपाली सेनाको कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको छ ।
 
सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ । त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ । सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ ।
   
त्यसरी नै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ ।
    
अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट १० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । लेखातर्फका सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई पनि नसिहत दिने फैसला भएको छ ।
    
सैनिक कल्याणकारी कोषको लगानीमा चलाइएको सैनिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जंगीअड्डामा उजुरी परेको थियो । त्यसपछि एक जना सहायक रथीको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले तत्कालीन सम्पर्क अधिकृत अधिकारीसहित १८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तीमध्ये १३ जनाले भने यो अभियोगबाट सफाइ पाएको बताइएको छ ।

समरी अदालतको फैसलामाथि चित्त नबुझे दोषी ठहरिएका अधिकृत तथा सैनिक कर्मचारीले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने छन् ।
   
सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान रहेको छ । तर ३५ दिनको म्याद भित्र पुनरावेदन  गरिसक्नु पर्ने व्यवस्था छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif