Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

बैदिक कालमा कृषिको महत्व र अहिलेको उपेक्षा


२०७७ जेष्ठ ४ गते , आईतवार प्रकाशित

—लोकनारायण सुबेदी—

  मानिसको जीवनको आधारभूत आवश्यकता अन्न र पानी हो । घर बस्त्र आदि त्यसपछिका आवश्यकता हुन् । अन्न नै प्रथम कुरा हो । कृषि भनेको पनि मूलतः यही अन्न उत्पादनको ब्यबस्था हो ।समुन्नत कृषिले नै भरपेट अन्नको प्रत्याभूति दिन्छ । हाम्रा पुराना शास्त्रहरु पनि अन्न प्रतिष्ठाका कुराहरुले भरिएका छन् । ऐतरेय उपनिषदको सम्वन्ध ऋग्बेदसँग छ । तिनमा अन्न र आयुको अन्तर सम्वन्धको कुरा छ । अन्न नभइकन आयु हुदैन । त्यसैले अन्नलाई ‘अन्नायु’ पनि भनिएको छ । अन्न नभइकन जीवन चल्न सक्तैन । अन्न कृषि कर्मसँग सम्बन्धित कुरा हो । तसर्थ कृषि बिना अन्न उत्पन्न हुन सक्तैन । त्यसैले कृषिको सम्बृद्धि अनिबार्य कुरा त्यतिबेलैदेखि रहँदै आएको छ । 

  ऋग्बेदमा कृषि कार्यहरुको प्रायः सर्बत्र भरीपूर्ण उल्लेख रहेको पाइन्छ । ऋग्बेदका देबता पनि किसानलाई नै बताइएको छ । यसबाटै मान्न सकिन्छ कि ऋग्बैदिक समाजमा कृषिको धेरै उच्च प्रतिष्ठा थियो । कृषि एउटा सर्बोपरी सम्मानको कर्म थियो । ऋग्बैदिक ऋषिहरुले आफ्ना कबितामा आफ्ना देवहरुलाई पनि कृषि कार्य गर्दै गरेको देखेका र तिनका बारेमा गीत गाएका छन् ।बैदिक समाजमा कृषि नगर्ने कोही पनि मानिस सम्मानित छैनन् । अश्विनी कुमारहरुलाई श्रेष्ठ बैद्य बताइएको छ । तर तिनले पनि हलो जोत्दछन् । इन्द्रले पनि हलो जोत्दछन् । एउटा देबता छन् क्षेत्रपति । उनले कृषि कार्यमा सहयोग पु¥याउँदछन् । बर्षातका देवता पनि कृषिसँगै सम्वन्धित छन् ।

  बैदिक समाजमा बर्ण या जातिको बिभाजन भएको देखिदैन । त्यो बेला गण, समूह आदि थिए । गणका नेता या आस्थाका केन्द्रलाई गणपति भनिने गर्दथ्यो । गणभन्दा ठूलो सामाजिक इकाई थियो जन । ऋग्बेदमा पाँच मूख्य जन समूको बिभिन्न चर्चा गरिएको छ । तिनलाई पञ्चजना, पाञ्चजन्य आदि नामले पुकारिएको छ । त्यस्ता सबै पाँच जन समूह कृषिसँग सम्बन्धित छन् । त्यसैले तिनलाई ‘पञ्चकष्टयाः’ पनि भनिएको छ । यसरी त्यतिबेला कृषिलाई ‘अन्नदायिनी’ भनेर अत्यन्तै सम्मानित स्थान दिइएको थियो ।

  पछि उत्तर बैदिक कालको साहित्यमा पनि अन्नको ब्यापक महिमा पाइन्छ । अन्न पृथ्वीदेखि आकाशसम्म प्रतिष्ठित छ । तेतरीय उपनिषदमा भनिएको छ ः ‘सबै प्राणी अन्नबाटै पैदा हुन्छन्, अन्नबाटै जीवित रहन्छन् र अन्नमै फर्किन्छन् ।‘अन्नं हि भूतानां जेष्ठम्’–अन्न सबैभन्दा बरिष्ठ हो । यो सर्बोपरी औषधी – ‘सर्बरेषधम्’ हो । त्यसै उपनिषदमा भनिएको छ ः ‘अन्नं न निन्द्यात्’ – अन्नको निन्दा नगर्नु ! ‘तत् ब्रतम्’ – यो ब्रत हो । प्राण अन्न हो । शरीर अन्नको भोक्ता हो । शरीरमा प्राण छ, अन्न प्राण हो। अन्नमा अन्न नै प्रतिष्ठित भइरहेको छ । ऋषिको उदात्त घोषणा के छ भने जसले यो कुरा बुझ्दछन् ती अन्न सम्पन्न र यशस्वी हुन्छन् । अन्न प्राप्ति आवश्यक छ । अन्न अपरिहार्यताको समझ अझ बढी आवश्यक छ । अन्नको आदर प्राचीन भावना हो ।यसै प्रसंगमा अगाडि भनिएको छ ः ‘अन्नं न परिचक्षीत’ – अन्नको अपहेलना नगर ।यो ब्रत संकल्प हो । जल अन्न हो ।अन्न जल ज्योति हो । ज्योति–तेजले अन्न लिन्छ । अन्नमा अन्न प्रतिष्ठित छ –‘अन्नम् अन्ने प्रतिष्ठितम्’ । अगाडि थप के आग्रह गरिएको छ भने – ‘अन्नं बहुकुर्वीत’ – बहुबिधि अन्न पैदा गर । यो ब्रत हो । पृथ्वी अन्न हो, आकाश पनि अन्न हो । पृथ्वीमा आकाश प्रतिष्ठित छ । अन्नमा अन्नको प्रतिष्ठा छ । पृथ्वी, जल, आकाश र तेजलाई अन्न भनिनु अमिल्दो कुरा लाग्न सक्तछ । तर ऋषि बेदान्तको मनोभूमिमा अन्न आवश्यकतामाथि यो टिप्पणी गरिरहेका छन् ।अन्न उत्पादनको कर्म खेतीपाती हो ।किसानी हो । कुनै कारखानामा अन्न उत्पादन हुने गर्दैन । तर आज खेतीपाती सर्बनाशतर्फ अभिमुख छ ।

बैदिक कालको सम्मानित कृषि परम्परा नै ग्रामीण उपमामा आज पनि कतिपय स्थानमा सुन्न पाइन्छ ।उत्तम खेती मध्यम ब्यापार, निषिद्ध चाकरी(कर्मचारी) भन्ने कुरा बैदिक कालकै कुरा हो ।त्यतिबेला कृषिलाई यसरी सम्मानपूर्ण स्थान दिइएको थियो । तर आज कृषि कर्मलाई त्यस्तो सम्मान र आकर्षण नदिइएकोले गर्दा किसानहरुले नै कृषि कर्म परित्याग गर्ने स्थिति बनेको देखिदैछ । खाद्य सुरक्षा खतरामा छ । कृषि बिज्ञान र यस सम्वन्धि जानकारी पनि बढेको छ । मौसमको पूर्वानुमानको शक्ति पनि बढेको छ । यी सबै कुराहरु हुँदाहुदै पनि आज कृषि क्षेत्र उपेक्षित छ । किसान ऋणमा डुबेका छन् । उनीहरुको लगानी उठिरहेको छैन । भारत लगायत कतिपय देशमा त किसानहरुले आत्महत्यासम्म पनि गरिरहेका छन् । यी सब कुराले प्रष्ट पार्दछ कि आज कृषि पहिलो प्राथमिकतामा छैन ।आज त भन्ने नै हो भने ‘औद्योगिक–ब्यापारिक क्षेत्रमा सुबिधा, कृषि क्षेत्रमा द्विबिधा’ जस्तो स्थिति छ । त्यसैले कृषिको चौतर्फी बिकासका लागि जमिन, भूउपयोग, किसान र कृषि समस्यासँग सम्वन्धित समस्याको शिघ्रातिशिघ्र उपचार आजको आवश्यकता बन्न गएको छ । कृषिमा ब्यापक र आमूल सुधार बिना देशको राष्ट्रिय बजार अभिबृद्धि हुदैन र त्यसो नभइकन राष्ट्रिय औद्योगिकरणले पनि सही दिशा र गति प्राप्त गर्न सक्तैन । यो आजसम्मको अनुभवको यथार्थ निचोड हो । बिगतका सही कुरा सिकौं र आजका सही कुरासँग तिनलाई गाँसौ । कृषि लगायत सबै क्षेत्रको समुन्नति यसै सुत्रमा आधारित छ र हुनुपर्दछ । 
   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif