Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

बर्तमान सपना


२०७७ बैशाख ३० गते , मंगलवार प्रकाशित

 

इन्द्रनारायण सुबैदी 

शार्दूलविक्रीडित छन्द-- सम्भावना अलङ्कार ---------------------------------------------------------
  होला शान्ति अवश्य यो भुवनमा फिर्लान् सुनौला दिन।
खुल्ला यो धमिलोपना अब छिटै यौटै रहन्थ्यो किन।
जन्मेलान् युग हाँक्न सक्षम यहाँ सच्चा महानायक।
गिर्लान् ध्वस्त बनेर अक्षम तथा दुर्दान्त नालायक।१।

  फर्केलान् परदेशबाट घरमा रोई बसेका जन।
बन्लान् फेरि हराभरा मुलुकका पाखा पखेरा वन।
चर्लान् खर्क हिमाल छेउ दुहुना गाईहरू लेकमा।
होलान् सुन्दर खेत फाँट हरिया खाली हुने भेकमा।२।

  उर्लेलान् युग फेर्न निश्चय लिँदै छन् क्रान्तिकारीहरू।
देलान् साथ बलिष्ठ बाहुबलले खाली हुने छन् अरू।
खुल्छन् आस गरौं नयाँ किसिमका उद्योगधान्दाहरू।
कार्खाना व्यवसाय उद्यम कला खेती प्रणालीहरू।३।

  बन्लान् उत्तम योजना दिन दिनै बढ्नेछ उत्पादन।
जन्मेलान् नव शिल्प कौशल कला चिर्दै पछौटे पन।
होलान् मानिस भद्र सभ्य रसिला आत्मीयताका धनी।
आस्था भक्त विवेकशील चतुरा यै घामछाँया मनि।४।

  ईर्ष्या द्वेष विहीन सज्जन हुनन् आपस्तमा निर्भर।
राख्लान् स्नेह समानता हृदयमा तोडी सबै अन्तर।
पक्रेला युगले समुन्नत हुने सत्मार्ग चाडैँ अनि।
पार्लान् स्वर्ग समान यो अवनिमा तल्लीन मान्छे बनी।५।
--------------------------------------------------------------
प्रतिभा निकुञ्जमा गरिएको अभ्यास
-----------------२०७७ वैशाख २९ गते-----------      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif